कुनै-कुनै ऐतिहासिक पात्रको मृत्युको समय उसको समग्र योगदानको अवमूल्यन भइरहेको समयमा हुनसक्छ। मिखाइल गोर्बाचोभको यही अगस्ट ३० मा निधन भयो। यतिबेलै रसिया-युक्रेनको युद्दमा आणविक संकटको त्रास भन्ने समाचारहरु सुनिएकै छन्।
१९८५ मा तत्कालीन सोभियत संघको नेतृत्व गरेका उनले त्यतिबेलाको पूर्व र पश्चिमको बीचमा बढ्दो आणविक तनावलाई कम गर्दै आणविक निशस्त्रीकरण गर्न विश्वलाई अपिल गर्दै सन्धि-सम्झौता गरेका थिए। सोभियत संघ टुक्रिनुमा उनले अघि सारेका पुन:संरचना र खुलापन (पेरेस्त्रोइका र ग्लासनोस्त)को नीति कारण रहेको विश्लेषणहरु पढ्न पाइन्छ। राजनीतिक वृत्तको यो बहस अनन्त चल्नेछ।
गोर्बाचोभले मानव जातिको लागि गरेका महत्वपूर्ण योगदान, आणविक निशास्त्रीकरणको निम्ति गरिएका प्रयासहरु हुन्। सन् १९८५ मा अहिलेको युक्रेनको उत्तरी भेगको प्रिपयत शहरमा अभूतपूर्व आणविक दुर्घटना भयो जसलाई ‘चेर्नोव्यल डिजास्टर’ भनिन्छ। यस आणविक दुर्घटनाको जनस्वास्थ्यमा भयावह, व्यापक र दूरगामी नकारात्मक असर देखिने कुरालाई प्रत्यक्ष बुझ्न परेपछि गोर्बाचोभले आणविक निशस्त्रीकरणको पैरवी गर्न थालेको भनिन्छ।
सन् १९९० को नोबेल शान्ति पुरस्कार पाएका गोर्बाचोभलाई उनको प्रयासको भन्दा राजनीतिक अवसानको कुहिरोमा परस्पर विपरीत राजनीतिक वृत्तले उनको योगदानलाई फरकफरक ढंगले व्याख्या गरेको पाइन्छ।
८० को दशकमा जन्मेको जोकोहीले पनि सानो छँदा गोर्बाचोभको नाम रेडियो, टिभीमा सुनेकै होलान्।
जनस्वास्थ्य र बीसौं शताब्दीको भविष्यसँग जोडिएको अहं विषयमा काम गर्ने गोर्बाचोभले कोरोना महामारी सुरु भएपश्चात अप्रिल १५ २०२० मा टाइम पत्रिकामा लेख लेखेका थिए। उक्त लेख उनको मृत्युपश्चात् फेरि पढे। भावानुवाद गर्न मन लाग्यो। गोर्भाचोभको लेख:
'महामारीको अन्त्य भएपछि, संसार एकढिक्का हुनै पर्छ'
यस वर्ष (२०२०) को पहिलो केही महिनामै हामीले फेरि एक पटक देखिसक्यौं कि, यो भूमण्डलीकृत विश्व कति कमजोर र गडबड हुने कति ठूलो जोखिममा छ। कोभिड-१९ को महामारी सबै देशहरुको साझा सत्रु हो र कुनै देश यससँग एक्लै लड्न सक्दैन।
अहिलेको चुनौती यस नयाँ र दुष्ट सत्रुलाई परास्त गर्नु हो। तर अहिले नै पनि हामीले यसपश्चातको जीवनको बारेमा सोच्न थाल्नु पर्नेछ।
धेरैले भनिरहेका छन्, अब विश्व फेरि कहिल्यै उस्तै हुने छैन। तर यो कस्तो हुनेछ त? त्यो हामीले यस महामारीबाट कस्तो पाठ सिक्नेछौं त्यसमा भर पर्छ।
मलाई सम्झना छ, कसरी मध्य १९८० मा हामीले आणविक चुनौतीको सम्बोधन गर्यौं। त्यो सफलता, आणविक चुनौती हाम्रो साझा सत्रु र साझा जोखिम हो भन्ने बुझेपश्चात् नै सम्भव भएको थियो। त्यसबेला सोभियत संघ र संयुक्त राज्य अमेरिकाका नेताहरुले बुझे, ‘आणविक युद्द’ जित हुने युद्ध होइन, तसर्थ कहिले लड्न हुँदैन। त्यसपछि आयो- रेक्ज्याभिक सम्मेलन र आणविक हतियार निशस्त्र गर्नेबारेका सुरुवाती सन्धिहरु! तर हालसम्म ८५ प्रतिशत त्यस्ता हतियार नष्ट गरिए पनि खतरा कायम नै छ।
अन्य विश्वव्यापी चुनौतीहरु विद्यमान छन्, जसको सम्बोधन अत्यावश्यक भइसक्यो। गरिबी र असमानता, वातावरणको विनाश, माटो र समुद्रको क्षयीकरण, बसाइँ सराइको समस्या। र, अहिले अर्को गम्भीर खतराको घण्टी, रोगहरु र महामारी आजको भूमण्डलीकृत र अन्तरसम्बन्धित विश्वमा अभूतपूर्व गतिमा फैलन सक्छ।
यस नयाँ जोखिमयुक्त चुनौतीको सामना कुनै राष्ट्रिय विषय मात्र हुन सक्दैन। राष्ट्रिय सरकारहरु अफ्ठ्यारा उपायहरु अवलम्बन गर्नुपर्ने पीडामा छन्, यसबारेको निर्णय विश्व समुदायले लिनु पर्नेछ।
अहिलेसम्म मानवजातिको लागि साझा लक्ष्य र त्यसलाई पहिल्याउने रणनीतिहरु विकास गर्न र लागू गर्नबाट हामी चुकेका छौं। सन् २००० मा संयुक्त राष्ट्रसंघमार्फत अघि सारिएको सहश्राब्दी विकास लक्ष्यहरु (मिलेनियम डेभलपमेन्ट गोल्स) को प्रगति अत्यन्त असमान रहेको थियो। हाल हामी देख्न सक्छौं, यो विश्वव्यापी महामारी र यसको असरले खासगरी गरिबलाई नै प्रभावित पारेको छ र असमानताको व्याप्त समस्यालाई बढाएको छ।
अब हामीलाई तत्कालै चाहिएको कुरा हो- हाम्रो सुरक्षाको सम्पूर्ण अवधारणा माथि पुनर्विचार। शीतयुद्दको अन्त्यपछि समेत सुरक्षाको परिकल्पना शैन्यकरणमै सीमित भयो। केही वर्षदेखि हामीले यसबारे सुनेको भनेकै हतियार, मिसाइल र हवाई हमला हो।
यस वर्ष विश्व द्वन्द्वको संघारमै पुगिसकेको छ जसमा शक्ति राष्ट्रहरू समेत संलग्न हुने निश्चितप्राय: छ र जसको खराब असर इरान, इराक र सिरियामा देखिँदैछ। अस्थिरता र खतराको संकेत दिएर यसमा संलग्नहरु थामिएका छन्।
के अझै पनि अहिलेको विश्वव्यापी समस्याहरु युद्द र हतियारको होडबाजीले समाधान गर्न सक्दैन भन्ने स्पष्ट भएन र? युद्ध राजनीतिको असफलता र पराजयको चिह्न हो।
सबैको बृहत्तर लक्ष्य मानव जातिको सुरक्षा खाना, पानी र स्वच्छ वातावरण र स्वास्थ्यको हेरचाह हुनुपर्छ। जसको प्राप्तिको लागि हामीले रणनीतिहरु विकास गर्न, तयारी गर्न र योजना बनाई स्रोत-साधन जुटाउन आवश्यक छ। तर यदि देशहरुले हतियारको होडबाजीमा पुँजी सकाइरहेमा, मानव जातिको सुरक्षाका सारा प्रयासहरु विफल हुनेछन्।
मैले बारम्बार भन्ने गरेको छु, हामीले विश्वलाई, अन्तर्राष्ट्रिय राजनीति र राजनीतिक विचारहरुलाई अशैन्यीकरण (डिमिलिटाराइज) गर्न आवश्यक छ।
यसलाई उच्च तहबाट यथाशीघ्र सम्बोधन गर्न विश्वका नेताहरुलाई तथा संयुक्त राष्ट्रसंघसँग आग्रह गर्छु। अब, कम्तीमा विश्वका एजेन्डाहरुको पुनरावलोकन हुनुपर्छ। खासगरी, सैन्य खर्चमा १०/१५ प्रतिशत कटौती गर्न म आग्रह गर्छु। नयाँ चेतना वा नयाँ सभ्यताको लागि कम्तीमा यति गर्नुपर्छ भन्ने त यतिबेलासम्म थाहा भइसक्नुपर्ने हो।