साथीभाइ भेट्दा होस् या लोकसेवा आयोगको अन्तर्वार्ता दिँदाहोस्, मलाई बारम्बार सोधिएको प्रश्न हो। 'आखिर ल्याबै पिच्छे फरक-फरक रिपोर्ट किन आउँछ?' सेवाग्राहीहरुमा पनि यो जिज्ञासा पक्कै हुँदो हो। कारण अनेक छन्, तर यो लेखमा सबै समावेश गर्ने मेरो प्रयास रहने छ।
पहिलो त 'फरक'को अर्थ कतिसम्म फरक भन्ने हो। फरक-फरक प्रयोगशालामा (ल्याबमा) जाँच गराउन जाँदा हामी फरक-फरक समयमा जान्छौं। अघिल्लो दिन वा नमुना दिनुभन्दा पहिले फरक-फरक कुराहरु खाएका हुन्छौं। ल्याबमा काम गर्ने जनशक्तिहरु फरक-फरक हुन्छन्। जडित मेसिन र उपकरणहरु पनि फरक-फरक हुन्छन्। ती मेसिनमा प्रयोग गरिने रिएजेन्ट र केमिकल फरक-फरक हुन्छन्। कार्यप्रक्रिया र तरिका-विधि फरक-फरक हुन्छन्। यी तमाम् विविधताले गर्दा कसैको कहिं त्रुटि नहुँदा नहुँदै पनि ल्याब बिचको रिपोर्टमा केही झिनो फरक आउनु स्वभाविक हो। झिनो फरक भन्नाले कुनै संख्यात्मक नतिजा हो भने त्यसमा केही अंकले तलमाथि पर्नु हो। तर अस्वभाविक नतिजा वा पोजेटिभ र नेगेटिभ नतिजामा फरक पर्न गयो भने केही न केही त्रुटि भएको हुन सक्नेमा शंका गर्न सकिन्छ।
मुख्यतया त्रुटिहरुलाई हामी ३ भागमा बर्गिकरण गर्छौँ
१-विश्लेषणपुर्व हुने त्रुटि
२-विश्लेषणको समयमा हुने त्रुटि
३- विश्लेषणपश्चात हुने त्रुटि
१-विश्लेषणपुर्व हुने त्रुटि
प्रयोगशालामा परीक्षण हुनुपुर्वको समयमा सबैभन्दा धेरै लगभग ७० प्रतिशत त्रुटिहरु हुने गरेको पाइन्छ। ल्याबमा सही समयमा सही नमुना नदिनु, नमुना दिनुभन्दा पहिले खान हुने र नहुने खानेकुराको ख्याल नगर्नु, नमुना सही तरिकाले जम्मा नहुनु, नमुनामा सही नाम र नम्बर नहुनु, उचित समयावधिभित्र परीक्षण हुने ठाउँसम्म सही तरिकाले नमुना नपुग्नु आदि कुराहरु विश्लेषणपुर्व हुने त्रुटिमा पर्दछन्।
२-विश्लेषणको समयमा हुने त्रुटि
विश्लेषणको समयमा हुने त्रुटि लगभग १० प्रतिशत मात्रै हुन्छ। यस अन्तर्गत नमुनाको मानक संचालन प्रक्रियाअनुसार परीक्षण नहुनु र अन्य मेसिनरी समस्याहरु हुन सक्छन्।
३- विश्लेषणपश्चात हुने त्रुटि
विश्लेषणपश्चात हुने त्रुटिहरुको सम्भावना २० प्रतिशत जति रहन्छ। आएको नतिजा उचित एकाइमा नढाल्नु, सम्बन्धित नम्बर नहुनु,टाइप प्रिन्ट सही नहुनु आदि यसमा पर्दछन्।
यी त्रुटिहरु न्युनिकरण गर्न सर्वप्रथम त सेवाग्राहिहरुलाई सम्बन्धित परीक्षणको लागि कसरी तयार हुने भन्नेबारे पर्याप्त ज्ञान दिनु आवश्यक हुन्छ। प्रयोगशालामा कार्यरत कर्मचारीहरुलाई उचित तालिम र प्रशिक्षणद्वारा दक्ष बनाइनुपर्छ। साथै नियमित Continuing Medical Education 'CME' कक्षा संचालन गरिनुपर्छ।
गुणस्तरीय सामानहरुको मात्रै प्रयोग गर्नाले पनि धेरै हदसम्म यसको समाधान हुनसक्छ। ल्याबहरुबीचको रिपोर्टमा एकरुपता ल्याउन सरकारको सम्बन्धित निकाय नै यसमा अग्रसर हुन जरुरी देखिन्छ। देशभरिका सम्पुर्ण ल्याबहरु दर्ता भए/नभएको यकिन गर्ने, नभएकालाई दर्ता प्रक्रियामा ल्याउने, राष्ट्रिय र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट हुने बाह्य गुणस्तर मुल्याङ्कन प्रणाली 'EQAS' मा सबै ल्याबहरुलाई अनिवार्य संलग्न गराउने र समय-समयमा अनुगमन गर्ने आदि गर्न सकियो भने पक्कै पनि प्रयोगशाला सम्बन्धी जनगुनासोमा कमी आउने छ। देशमा बढ्दो आधुनिकिकरण र स्वास्थ्य सेवाको पहुँचसँगै हरेक जिल्लामा जिल्ला जनस्वास्थ्य प्रयोगशालाको अवधारणा र स्थापना गर्न सकेमा यस्ता त्रुटि कम गर्न सकिन्छ।
(लेखक डडेल्धुरा अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट हुन्।)