नेपाल चिकित्सक संघले यही असोज ४ र ५ गते दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन गर्दैछ। सम्मेलनका मुख्य विषय केके छन्? सम्मेलनको तयारी कसरी हुदैछ? संघको सम्मेलन र अन्य सम्मेलनमा के फरक छ? लगायतका विषयमा संघका अध्यक्ष डा लोचन कार्कीसँग स्वास्थ्यखबरकी रिता लम्सालले कुराकानी गरेकी छिन्। प्रस्तुत छ डा कार्कीसँग गरिएको कुराकानीको अंश:
नेपाल चिकित्सक संघले गर्न लागेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलनको तयारी कस्तो हुँदैछ?
असोज ४ र ५ गते सम्मेलन भएकाले अब केही दिनमात्र बाँकी छ। त्यसैले हामी सम्मेलनको तयारी पुरा गर्ने अन्तिम चरणमा छांै। सम्मेलनका मुख्य ७ वटा विषयवस्तु छनोट भइसकेको छ। त्यसको अध्यक्ष, मोडरेटर, प्यानलिष्टहरुसँग नियमित छलफलमा छौं। सम्मेलन गर्ने स्थानको व्यवस्थापनदेखि रजिष्ट्रेसनको कुरा सबै अन्तिम तयारी गरिरहेका छौं।
यो सम्मेलन पहिलो पटक भएको सम्मेलनभन्दा के फरक छ?
चिकित्सक संघको कार्यभार सम्महालेपछि यो सम्मेलनको कन्सेप्ट ल्याएका थियौं। पहिला–पहिला अल नेपल मेडिकल कन्फ्रेन्स (एएनएमकन) भनेर हरेक दुई वर्षमा हुने गथ्र्यो। त्यो भनेको संघका पदाधिकारीको कार्यकाल दुई वर्षको हुने र एएनएमकनमा त्यही नयाँ कार्यसमितिले पदभार ग्रहण गर्ने र पुरानालाई बिदाइ गर्ने चलन हुन्थ्यो। अहिले ३ वर्षको कार्यकाल हुन थालेपछि एएनएमकन पनि ३ वर्षमा मात्र हुनथाल्यो। अघिल्लो पटक पोखरामा गरेका थियौं। आगामी एएनएमकन विराटनगरमा गर्दैछौं। त्यसले गर्दा काठमाडौंमा सम्मेलन नभइरहेको अवस्था थियो। त्यसैले हामी आएपछि हरेक वर्ष नीतिगत छलफल हुने सम्मेलन हुनुपर्छ भनेर यो सम्मेलन सुरु गर्यौं।
हामीले सम्मेलन सुरु गर्दा कोभिड महामारीको समय थियो। जसका कारण हामीले उक्त सम्मेलन भर्चुअल्ली रुपमा गर्यौं। एपिवान टेलिभिजनको स्टुडियोबाट गर्यौं र केही बोलाउनै पर्ने प्यानलिष्टलाई मात्र बोलायौं। सोही टेलिभिजनबाट लाइभ गर्यौं।
यसपाली सबैको उपस्थितिमा गर्दैछौं। कार्की ब्यांकेटमा ४ र ५ गते सम्मेलन गर्दैछौं। कोभिड कम भएको हुनाले सबैलाई कार्यक्रममा प्रत्यक्ष सहभागी गराएर गर्छौं। काठमाडौं बाहिरबाट आउन नसक्नेहरुका लागि भने टेलिभिजन मार्फत लाइभ पनि हुनेछ।
गत वर्ष भएको पहिलो सम्मेलको उपलब्धिहरु केके छन्?
पहिलो सम्मेलनको मुख्य विषयवस्तु (थिम) प्यान्डेमिक प्रिपियर्डनेस इन नेपाल थियो। त्यो समय नेपाल कोभिड महामारीबाट गुज्रिरहेको अवस्था थियो। कोभिड लगायत जुनसुकै महामारी आउँदा नेपाल कत्तिको तयारी अवस्थामा रहेछ? महामारीको पूर्वतयारीका लागि हामी कस्तो अवस्थामा रहेछौं? गर्नुपर्ने काम केके हो भनेर थप ५ वटा विषयमा छलफल गर्यौं। स्वास्थ्यसँग सम्बन्धित कुराहरुमा संघीयतामा स्वास्थ्यको पूर्वतयारी कस्तो रह्यो। प्रादेशिक संरचनामा गएपछि महामारीको प्रतिकार्यमा कस्तो अवस्था रह्यो। खोप, औषधि वितरणमा कस्तो अनुभव रह्यो। बहुपक्षिय क्षेत्रसँग सम्बन्धित विषय, दाता, निजी क्षेत्र लगायतको समन्वय, नयाँ रोगहरु आउदा नयाँ अनुसन्धानका विषयहरुमा हामी कस्तो अवस्थामा रहेछौं भन्ने कुराहरुमा ५ वटा विषयमा वृहत छलफल गरी १२ बुँदामा निष्कर्ष निकाल्यौं।
१२ बुँदे निष्कर्ष हरेक थिमको निष्कर्ष थियो। त्यसलाई हामीले स्वास्थ्य मन्त्रालय र अन्य सम्बन्धित निकायलाई दियौँ। पहिलो सम्मेलनको छलफल र निष्कर्ष कोभिडसँग सम्बन्धीतसँगै नेपालको जनशक्ति, भौतिक संरचना, इनोभेसनका कुरा, तीन तहको सरकारबीच हुनपर्ने समन्वय र ग्यापको विषय, जनशक्ति अभावका कुराहरुलाई उठाएका थियौँ। हामीसँग कोभिड महामारीमा कम जनशक्ति थिए, आफ्नै देशमा उत्पादित मास्क समेत थिएन। भेन्टिलेटर, औषधि उपकरणहरुको अभावको अवस्था थियो। औषधिमा आफैं आत्मनिर्भर हुनपर्ने रहेछ, महामारीको समय सबै देश आफ्नै समस्यामा केन्द्रित हुने भएकाले हामी पनि आत्मनिर्भर हुनुपर्ने रहेछ। सूचना प्रविधिका कुराहरु कस्तो हुनुपर्छ भनेर १२ बुँदे निष्कर्षलाई सम्बन्धित निकायमा सुझावको रुपमा दिएर सोही अनुसार कार्ययोजना भएको छ वा छैन फलो पनि गरिरहेका छौँ।
यो पटकको सम्मेलनमा के कस्ता विषयमा छलफल हुँदै छ?
अरु सम्मेलनमा वैज्ञानिक अनुसन्धानहरु प्रस्तुत गरिन्छ। तर यो भने नितान्त फरक छ। यसमा हामीले नीतिगत कुराहरुलाई फोकस गरेर छलफलका विषयवस्तु तय गरेका छौं। अघिल्लो सम्मेलनको निरन्तरता नै दोस्रो सम्मेलन हो। त्यसैले पहिलो सम्मेलन भन्दा धेरै फरक छैन। पहिलो सम्मेलनमा प्यान्डेमिक प्रिपियर्डनेस इन नेपाल थियो भने दोस्रो सम्मेलनको मुख्य विषय पोष्ट प्यान्डेमिक एचिभमेन्ट, अपरच्युनिटी एण्ड च्यालेन्ज भनेर राखेका छौं।
पहिलो सम्मेलन पछि दोस्रो सम्मेलनसम्म आइपुग्दा हामीले केके अचिभमेन्ट गर्यौं? केके अचिभ गर्न सकेनौं यसको लेखाजोखा गर्छौं। खोप, औषधिको विषय पनि छ। स्वास्थ्य पर्यटन, सुर्तीजन्य पदार्थको प्रयोगको असर, स्वास्थ्य जनशक्तिलाई कसरी नेपालमानै अवसर सिर्जना गर्ने, चिकित्सा शिक्षा लगायतका सात मुख्य विषयमा छलफल गर्दैछौं।
यी विषयवस्तु के आधारमा छनोट गरिएको हो?
यी विषयलाई छोन्ने आधार भनेको पहिलो सम्मेलनको निरन्तरता दोस्रो सम्मेलन हो। त्यसकारण नीतिगत विषयहरुलाई कसरी अगाडि बढाँदै जाने र निरन्तरता दिने भन्ने पनि हो। अब आउने तेस्रो सम्मेलन पनि पहिलो र दोस्रोको निरन्तरता नै हो। यसमा पहिलो सम्मेलनका निष्कर्ष अनुसार सरकारका काम, नीति परिवर्तन भए वा भएन भन्ने विषयमा कोभिडमा के कुरा अचिभ गर्यौं र अब पोष्ट कोभिडमा के कस्तो चुनौती र अवसर छ भनेर विषय छनोट गरियो। यस्तै अहिलेको जल्दोबल्दो विषय भनेको जनशक्तिको हो। डाक्टरहरु किन नेपाल बस्न चाहिरहेका छैनन्, किन विदेशिएका छन्? ३० हजार डाक्टर नेपालमा दर्ता छन् तर नेपालमै काम गर्ने वातावरण भएन? यहाँ डाक्टरहरुलाई रहने वातावरण कसरी बनाउन सकिन्छ? भनेर विषय केन्द्रित गरिएको छ। अर्को मेडिकल टुरिजमको विषय पनि महत्पूर्ण छ। सुर्तीजन्य पदार्थको सेवनले पैतालादेखि टाउकोसम्म असर गर्छ। त्यसकारण यसको नियन्त्रणका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषय पनि हामीले छनोट गरेका छौं।
यो सम्मेलन पछि घोषणा पत्र पनि जारी गर्नुहुन्छ होला। त्यसलाई कार्यान्वयनका लागि कसरी अगाडि बढ्ने सोच्नुभएको छ?
चिकित्सा संघको सम्मेलनलाई सम्मेलनलाई संसददेखि स्वास्थ्य मन्त्रालयसम्मका नीति निर्माताहरुका लागि थिंक ट्यांकको रुपमा प्रस्तुत गर्न लागिरहेका छौं। यहाँ हुने छलफलबाट निस्केका निष्कर्ष नीति निर्माणमा महत्वपूर्ण रहनेछ। त्यसकारण नीति निर्माताले हेर्ने गरी प्रस्तुत गर्न लागिरहेका छौं। स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, लोकसेवा आयोग, उद्योग वाणिज्य मन्त्रालय सबै सरोकारवालालाई सम्मेलनको निष्कर्ष बुझाउछौं। त्यसलाई हामी अर्को सम्मेलनसम्म निरन्तर फलो गर्छौं। निष्कर्षहरु जुन निकायसँग सम्बन्धित छ उनीहरुसँग सम्मेलन सकिएपछि पनि प्रगाति के भइरहेको छ भनेर समय समयमा कुराकानी गरिनै रहनेछौं। जसका कारण ती कुराहरु कार्यान्वयनमा लैजान निकै सहयोग हुनेछ।
नेपाल चिकित्सक संघको पछिल्ला गतिविधि हेर्दा अनुसन्धानमा पनि केन्द्रित भएको जस्तो देखिन्छ। संघले आफ्नो दायरा फराकिलो बनाउँदै लगेको हो?
पहिला पहिला चिकित्सक संघ भन्ने वित्तिकै यो चिकित्सकको हक हितको लागि लड्ने ट्रेड युनियन जस्तो संस्थाको रुपमा मात्र थियो। वास्तवमा नेपाल चिकित्सक संघ ट्रेड युनियनको अंग होइन। यो प्रोफेसनल नन्पोलोटिकल अंग हो। एनएमएको लागोलाई हेर्दा पनि प्रष्ट छ, युनिटी, फटर्निटी र सर्भिस। हामी आइसकेपछि चिकित्सक संघले एकातिर चिकित्सकहरुको हकहितका लागि लडिरहेको छ भने अर्को कोभिड लगायत कुनै पनि स्वास्थ्य आपतकालमा सेवा पनि दिइरहेको छ। जनताप्रति पनि उत्तिकै उत्तरदायी भएर काम अगाडि बढाएको छ। कोभिड महामारीमा संघले टेलिमेडिसिन सेवा, इहेल्थ, एम्बुलेन्स लगायत थुप्रै सेवा दिएका थियौं।
यस्तै एकेडेमिकमा पनि चिकित्सकहरुको क्षमता वृद्धिविकासका लागि हामीले मेडिकल एजुकेसन र रिचर्जमा पनि काम गरिरहेका छौं। १९६३ मा बनेका जर्नललाई रिसर्च र डेभलपमेन्टको शाखाको रुपमा विस्तार गर्दैछौं। कोभिडको समयमा १२ हजार चिकित्सकलाई आइसीयुको तालिम दियौं। हरेक तीन महिनामा प्राकाशित हुने जर्नललाई एक एक महिनामा प्रकाशित गर्न थालेका छौं। तालिम पनि एनएमएको काम हो भनेर काम गरिरहेका छौं। चिकित्सकहरुको हकहितका लागि पनि लागिरहेका छौं। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संसोधन गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई हातपात गरेमा धरौटीमा रिहा नहुने व्यवस्था गर्यौं। यसपल्ट जुम्लामा भएको घटनामा त्यही कानुनलाई टेकेर कारबाही पनि गराउन सक्यौं। चिकित्सकहरुको हक हितका लागि त लडिरहेकै थियौ। सँगै जनताको लागि, सेवाका लागि, डाक्टरको क्षमता विकासका लागि र सरकारसँग नीति बनाउन पनि थिंक ट्यांक्क बनिरहेका छौं।
चिकित्सक संघले गर्ने सम्मेलन ‘नीतिगत रुपमा कता जाने भनेर समुन्द्रमा हराइरहेको सरकारलाई लाइट हाउसको रुपमा यतातिर जाने भनेर बाटो देखाउन कोशेढुंगा सावित हुन्छ’ भन्ने लागेको छ।
तपाईंको कार्यकाल पनि अब सकिन लागेको छ, आफ्नो कार्यकालको अन्त्यतिर केही नयाँ कार्यक्रम ल्यउँदै हुनुहुन्छ?
अस्तिभर्खरै आफ्नो कार्यकाल सुरु भएको जस्तो लाग्छ। हामी आउँदा चुनौतीहरु थुप्रै थिए। कोभिड आयो। कोभिडको समयमा देशलाई नै यो महामारीबाट निकाल्नु थियो। कोरोना महामारी नियन्त्रणमा नेपाल चिकित्सक संघले राम्रो भुमिका खेलेको थियो भन्ने मलाई लाग्छ। बाँकी त अरुले पनि मुल्यांकन गर्नुहुन्छ। महामारीको समयमा एकातिर चिकित्सकको मनोबल बढाउनुपर्ने अवस्था थियो, उहाँहरुको सुरक्षा गर्नु थियो। अर्कोतिर जनतालाई स्वास्थ्य सेवा दिनुपर्ने थियो। कोभिडको समयमा हामीले ३० करोडभन्दा बढीको मेडिकल सामानहरु, मास्कहरु अस्पतालमा बाड्यौं। विभिन्न ठाउँमा अक्सिजन प्लान्ट बनाइदिएका छौं। अक्सिजन सिलिण्डर बाँड्ने, विश्व स्वास्थ्य संगठनसँग मिलेर चिकित्सकको क्षमता विकास गर्ने कामहरु गरेका छौं।
स्वास्थ्य सुरक्षा ऐन परिमार्जन गरी धेरौटीमा रिहा नहुने व्यवस्था स्थापित गर्न सकेका छौं। महिला चिकित्सकहरुलाई प्रोत्साहन गर्न राष्ट्रपतिको हातबाट सम्मान गर्ने गरी महिला चिकित्सकलाई पुरस्कार वितरण गर्ने काम गरेका छौं। अब कार्यकाल धेरै लामो छैन, तर यो समयमा पनि अझ धेरै कामहरु गर्ने योजना छ। हामीले योजनाहरु बनाएका छौं। मेडिकल म्युजियमदेखि हेल्थ जर्नालिजमको विषयमा पनि कार्यक्रम गर्दैछौं। चिकित्सकको जस्तै मेडिकल जर्नालिष्टको पनि क्षमता विकास गर्ने कार्यक्रम ल्याउदै छौं। जसले गर्दा चिकित्सक र बिरामीको सम्बन्ध सुमधुर हुन पनि सहयोग पुग्छ। प्रेस काउन्सिल र मेडिकल काउन्सिलसँग मिलेर मेडिकल जर्नालिजम तालिमको आयोजना गर्दैछौं।
रिसर्च र डेभलपमेन्टका लागि भक्तपुरमा २२ रोपनी जग्गाको व्यवस्थापन सरकारबाट गर्न लागिरहेका छौं। त्यहाँ रिसर्च र डेभलपमेन्टसहित कम्युनिटी अस्पताल बनाउने योजना पनि छ। हाम्रो गेष्ट हाउसलाई नयाँ बनाउने योजना छ। कतिपय काम टुंग्याएर, कतिपय काम सुरुवात गरेर जाने योजना छ। चिकित्सा शिक्षा र चिकित्सकको तलब, सरकारी दरबन्दी, सामाजिक सुरक्षा, स्वास्थ्य बिमाका विषयमा पनि सम्बन्धित निकायसँग छलफल गर्ने र तत्काल गर्न सकिने काम गर्ने र समय तोकेर गर्न सकिने कुरा सोही अनुसार गर्ने योजना छ।