हामी कोभिड–१९ महामारीको सामना गरिरहेका छौं। सर्वसाधारण नागरिकहरुको जनजीविका तथा समाजमा परेको प्रभाव वा विश्वव्यापी महामारीको प्रभाव अत्यन्त ठूलो छ। यसै सन्दर्भमा नेपाल चिकित्सक संघले गतबर्ष नेपालमा महामारीको तयारीका बिषयमा केन्द्रीत रहेर पहिलो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनको आयोजना गरेको थियो। त्यसैको निरन्तरता स्वरुप यस बर्ष ‘महामारीपछिको चुनौती, उपलब्धी र अवसरहरु’ नामक सन्देश सहित ७ वटा बिषयवस्तुहरु जस्तैः पहिलो राष्ट्रिय सम्मेलनको उपलब्धी, महामारीपछि स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरु, खोप, औषधि र उपकरणहरुबारे, स्वास्थ्य पर्यटनको सम्भावना र सुर्तीजन्य पदार्थले स्वास्थ्यमा पारेको असर लगायतका बिषयवस्तुहरुमा बौद्धिक व्यक्तित्वहरुको संलग्नता गराई विस्तृत छलफल गर्ने कार्यक्रमको तर्जुमा गरी नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनको आयोजना गरेकोमा म अत्यन्तै खुसी भएको छु।
तपाईंहरुको सम्मेलनको पूर्ण सफलताको कामना गर्दै सम्बन्धित क्षेत्रको विज्ञहरुको संलग्नतामा सम्मेलनको समापन पश्चात् यहाँहरुले सम्प्रेषण गर्ने निचोडलाई नेपाल सरकारले प्राथमिकतामा राख्दै सोही अनुरुपका नीति, योजना तथा रणनीतिहरुको तर्जुमा गरेर नेपालले सामना गरेको महामारीलाई नियन्त्रण गर्दै आगामी दिनमा नेपाल सरकारले अवलम्बन गर्नु पर्ने रणनीतिक योजनामा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरेको छु।
काेभिडको महामारी रहिरहेको समयमा फेरि डेंगुले सताउन थालेको छ। डेंगुबाट धेरैकाे मृत्यु भएकाेप्रति गहिराे दु:ख छ। सबैकाे साथ र सहयोगमा डेंगुलाई पनि सामान्य अवस्थामा लैजान आवश्यक देखिएको छ।
नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणाली भित्र रही नेपाली जनतालाई यो विद्यमान महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने सम्बन्धमा नेपाल सरकार निरन्तर लागि परिरहेको व्यहोरा यहाँहरुलाई विदितै छ। कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी कार्यलाई व्यवस्थित बनाउनका लागि ऐन समेत निर्माण गरीसकिएको छ। नेपालमा कोभिडविरुद्धको खोपको उपलब्धताले सर्वसाधारण नागरिकहरुलाई महामारीसँग जुध्न सहज भएको तपाईंहरुलाई अवगत नै छ।
नेपाल सरकारले शुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरुको निर्धारण, पालना, आवश्यक सामाग्रीहरुको आपूर्ति र वितरण, कोभिड–१९ संक्रमित व्यक्तिहरुको उपचार र व्यवस्थापनमा निरन्तर लागि परिरहेको छ। कोभिड–१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखी सम्पूर्ण नागरिकहरुका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागि रहेको र करोडौं नागरिकहरु यसबाट लाभान्वित भइसकेको विद्यमान अवस्था छ।
यस शिखर सम्मेलनका लागि छनौट गरिएका विषयवस्तुले कोभिड–१९ को महामारीलाई मात्र नभई अन्य प्राकृतिक विपत्तिहरुको सामना गर्नका लागि राज्यको तर्फबाट संचालन भएका गतिविधिहरुलाई थप प्रभावकारी बनाउन, र भावी दिनमा अवलम्बन गर्न सकिने विशेष रणनीतिलाई मापनयोग्य र सर्वसुलभ बनाउन उल्लेख्य सहयोग मिल्नेछ भन्ने मैले विश्वास लिएको छु। यहाँहरुको छलफल, परामर्श र वैज्ञानिक आधारबाट तयार गरिने नीतिगत सुझाव सल्लाह नेपाल सरकारको आधिकारिक दस्तावेजको रुपमा रहन सकोस् भन्ने अपेक्षा राख्दछु।
कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहन्छ। जसरी कोभिड–१९ को महामारीमा होस् वा महाभूकम्पको समयमा नै किन नहोस् हाम्रो एकताबद्ध प्रयासबाट प्राकृतिक विपत्ति र माहामारीको सामनालाई सदैब प्ररास्त गर्दै आइरहेका छौं। यस्ता प्रकारका विपत्तिको सामना गर्नका निमित्त अवलम्बन गर्नु पर्ने आधारहरुलाई नीतिगत रुपमा समावेश गर्न सकेको अवस्थामा नेपालको स्वास्थ्य सेवालाई हामीले परिकल्पना गरे बमोजिमको सर्व सुलभ, सहज र पारदर्शी बनाउँदै नेपाली जनताको जीवन रक्षा गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ।
कोभिड महामारीको समयमा नेपाल चिकित्सक संघले निर्वाह गरेको भूमिका प्रसंसनिय रहेको एवं विद्यमान अवस्थालाई ध्यानमा राख्दै यो शिखर सम्मेलनको आयोजना गरेकोमा नेपाल चिकित्सक संघ, सम्मेलन आयोजक समितिप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु।
-(प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन २०७९ मा व्यक्त गरेको धारणाको अंश)