व्यवसायिक स्वास्थ्य सुरक्षाको शब्दावलीको अर्थ र महत्व
व्यवसायिक स्वास्थ्य सुरक्षा भनेको विभिन्न व्यवसायिक प्रतिष्ठान वा संघ संस्थामा कार्यरत वा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरुको स्वास्थ्यलाई उनीहरुको कामको दौरानमा सुरक्षित गर्ने कार्यलाई भनिन्छ। यस अन्तर्गत उद्योग, कल खारखाना, खानी, जलबिद्युत परियोजना ,यातायात, कृषि वा गैह्र कृषि लगायतका हरेक श्रम आबश्यक पर्ने क्षेत्रहरु पर्दछन्।
विश्वमा कार्यक्षेत्रमा हुने झन्डै ३४ करोड दूर्घटनाबाट वर्षेनी झन्डै १६ करोड मान्छेहरुलाई चोट पटक लाग्छ वा घाईते हुन्छन् भने २३ लाख मान्छेहरुको मृत्यु हुन्छ र कार्यक्षेत्रमा हुने दूर्घटनाहरुको कारण राष्ट्रहरुको कुल गार्हस्त्य उत्पादनमा ४ प्रतिशत क्षति हुन्छ भनेर अन्तराष्ट्रिय श्रम संगठनले भनेको छ। तर नेपालमा भने यतिनै मान्छेको मृत्यू हुन्छ भनेर कुनै आधिकारीक तथ्यांक पाईँदैन। बरु बैदेशिक रोजगार विभागले नेपाल बाहिर काम गर्न गएका कामदारहरुको मृत्यु र चोटपटकको तथ्यांक निकालेको छ। जसअनुसार गत आव २०७८/७९ मा १२४२ नेपालीहरुले विभिन्न देशमा रोजगारीको सिलसिलामा कामसंग सम्बन्धीत कारणले जीबन गुमाए। तथापी अन्तराष्ट्रिय श्रम संगठनले दिएको विश्वभरको तथ्यांकलाई नेपालको जनसंख्याको अनुपातसंग तुलना गर्ने हो भने नेपालमा कामसंग समन्धीत कारणले वर्षेनी १२ लाख दूर्घटना हुने र त्यसमा ५ लाख ८० हजार जना घाईते हुने वा उनीहरुलाई चोटपटक लाग्ने र ८ हजारको मृत्यु भएको हुन सक्ने अनुमान हुन्छ। विश्वकै हिसाबमा नेपाल जस्तो देशमा कुल गा्हर्थ्य उत्पादनमा ४ प्रतिशतकै हाराहारीमा क्षति पुगेको अनुमान गर्न सकिन्छ र त्यो भनेको नेपालको ठूलो हानी हो।
यसरी अनुमान गर्नुपर्नाको कारण नेपालमा दूर्घटना भएपछि त्यो दूर्घटनालाई तथ्यांकिकृत गर्ने र मानिस मरेपछि वा घाईते भएपछी कुन कारण मृत्यू भयो भनेर बिस्तृत रुपमा टिपोट राख्ने प्रचलन नभएकोले गर्दा हो।
नेपालीहरु बिदेश गएर त्यहाँको ब्यबस्थित कार्य प्रणाली , व्यवसायिक सुरक्षा प्रतिको सचेतता र व्यवसायिक स्वास्थ्य समन्धी कानूनको कडा पालना भएका काम गर्दा त यति धेरै मृत्यु हुन्छ भने भर्खर यस बारेमा छलफल चलाउन थालेको हाम्रो जस्तो देशमा कति मान्छेको मृत्यू होला, अनुमान मात्र गर्न सकिन्छ।
व्यवसायिक स्वास्थ्य र सुरक्षा लाई जनस्वास्थ्यको यौटा बिधाको रुपमा बुझिन्छ जसको उदेश्य कार्यस्थललाई स्वास्थ्य र सुरक्षाका मापदन्ड अनुसार सुधार गर्नु हो। यसले कामदारहरुको जनसंख्यामा घटित हुने दूर्घटनाहरुबाट सृजित हुने घाउ चोटपटकको चरित्रलाई अध्ययन गर्दछ र कामको समयमा उत्पन्न हुने जोखिमहरुको पहिचान र न्युनिकरण गर्ने विधीहरुबारे उचित पथप्रदर्शन गर्दछ। हरेक व्यवसायमा स्वास्थ्य समन्धी जोखिमहरु रहेका हुन्छन् र कामदारलाई सकेसम्म सुरक्षित तरिकाले काम गराउनु हरेक रोजगारदाताको जिम्मेवारी हो।
यसलाई सामान्य भाषामा ' हरेक श्रमिक जसरी काम गर्न आएको थियो , त्यसरी नै घर फर्कियोस्' भन्ने अर्थमा बुझ्न सकिन्छ ।
नेपालमा व्यवसायिक स्वास्थ्य सुरक्षाको अबधारणाको विकासक्रम
व्यवसायिक स्वास्थ्य सुरक्षा भन्ने अबधारणा प्रचलनमा आएको सन् १९१९ मा अन्तर्राष्टिय श्रम संगठनको स्थापना भएपछि हो। नेपालको सन्दर्भमा भने विसं २०२८ ( सन् १९७१) मा उद्योग मन्त्रालय अन्तर्गत श्रम विभागको स्थापना भएपछि मात्र व्यवसायिक स्वास्थ्यको अवधारणाले प्रवेश गरेको पाईन्छ। यसै क्रममा नेपालमा विसं २०३८ (सन् १९८१) सालमा श्रम मन्त्रालयको स्थापना भयो। यसैगरि २०४२ (सन् १९८५) मा बैदेशिक रोजगार ऐन आयो र त्यसपछि श्रम विभागको नाम परिवर्तन गरेर श्रम तथा रोजगार प्रवर्धन विभाग कायम भयो र यसपछि श्रम समन्धी नीतिगत र कानूनी व्यवस्थामा थप फैलावट आयो।
यसपछि नेपालमा श्रम ऐन २०४८ निर्माण भयो जसले श्रमिकका हक हितका कुरालाई ऐनमा सुनिश्चित गर्ने काम गर्यो ।यसैलाई अझै प्रष्ट पारि लागु गर्न विसं २०७५ मा श्रम नियमावली बन्यो। यो भन्दा अगाडी विसं २०७३ मा राष्ट्रिय व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति बनेको थियो। जसले व्यवसायजन्य सुरक्षा र स्वास्थ्य र समन्धमा गरिनुपर्ने कुराहरु ब्यापक रुपमा उल्लेखित गरेको छ। यसैगरी विसं २०६२ मा श्रम तथा रोजगार नीति र विसं २०७१ राष्ट्रिय रोजगार नीति बनेपछि व्यवसायिक स्वास्थ्यको दायरा अझ बिस्तृत बन्न पुगेको छ। र यी नीतिहरुले श्रमिकको स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्ने प्रयास गरेका छन्।
यसै बीचमा विश्वविध्यालयहरुले छुट्टै डिग्रिको रुपमा नभए पनि स्वास्थ्य, जनस्वास्थ्य वा इन्जिनियरिंग वा यस्तै अन्य विषय अन्तर्गत वा अन्य विषयको पाठ्यक्रमको एक अंशको रुपमा आफ्ना विद्यार्थीहरुलाई अध्यापन गराईरहेका छन् र स्नातक वा स्नातकोत्तर वा पिएचडी तहमा शोध पनि गराईरहेका छन्। यस्तै निर्माण वा श्रमिकको क्षेत्रमा काम गर्दै आईरहेका गैरसरकारी वा नीजि संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रम बनाई लामा वा छोटा अवधिका तालीम वा अभिमुखिकरण कार्यक्रमहरु चलाईरहेका छन्। यस्तै एशियाली विकास बैंक लगायतका संस्थाहरुले पनि आफ्नो सहयोगमा संचालित विकास परियोजनाहरुमा व्यवसायिक स्वास्थ्य सुरक्षाको सुनिश्चिततालाई अनिवार्य गरेका छन्।
यसरी विभिन्न समयक्रममा भएका यी विकासहरुले व्यवसायिक स्वास्थ्य सुरक्षालाई एउटा कार्यक्षेत्रको वा ज्ञान बिस्तारको लागिमहत्वपूर्ण बिधाको रुपमा स्थापित गराएका छन्।
व्यवसायिक स्वास्थ्य सुरक्षाका उदेश्यहरु
१. कामदारहरुको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई कायम राख्नु।
२. कार्यक्षेत्रको अवस्थाको कारण कामदारको स्वास्थ्यमा आईपर्ने कठिनाईहरुलाई नियन्त्रण गर्नु।
३. कामदारहरुको शारीरिक र मानसिक आवश्यकताको वातावरणको बारेमा जानकार हुनु।
४. औद्योगिक सुरक्षा र व्यवसायिक चिकित्सा, औद्योगिक सरसफाई, तालीम र शिक्षा, मनोबिज्ञान र यस्तै अन्य समन्धीत कुराहरुद्वारा सृजित समस्याहरुको निराकरण गर्नु।
५. कार्यक्षेत्रमा हुने दूर्घटनाहरुबाट हुने मानबिय , सामाजिक र आर्थिक क्षतिहरुको न्यूनिकरण गर्नु।
व्यवसायिक स्वास्थ्य र सुरक्षाको दायरा
१. व्यवसायिक सुरक्षा – यस अन्तर्गत कार्यक्षेत्रमा हुने दूर्घटना र असुरक्षित कार्यअवस्था र कामदारहरुको असुरक्षित तरिकाले काम गर्ने बानिमा सुधार पर्दछ।
सुरक्षित तरिकाले काम गर्नु भन्नाले निम्न कुराहरु पर्दछन् –
१.१ काम गर्दा शरीरलाई सुरक्षा दिने वा कामको दौरान शरीरका विभिन्न अंगहरु जोगाउने सुरक्षा कवचहरु ( पिपिई) जस्तै – टाउको जोगाउन हेल्मेट, आंखा जोगाउन गगल्स, अनुहार छेक्न फेसशिल्ड वा भाईजर, कानको लागि ईयरप्लग वा ईयरमफ, श्वासप्रश्वास प्रणालीलाई बचाउन मास्क ( सामान्य वा विशेष प्रकारको ), हात जोगाउन उचित प्रकारको पञ्जा, शरीर जोगाउन परावर्तनिय ( रिफ्लेक्टीभ) सेफ्टीज्याकेट, खुट्टा जोगाउन सेफ्टीबुट र उचाईमा काम गर्न डोरी सहितको सेफ्टी हार्नेस लगाउने।
१.२ गहिरो खाडलमा काम गर्दा त्यहाँको अक्सिजनको तह परीक्षण गरि आवश्यक अक्सिजन भएमा मात्र काम गर्ने।
१.३ गहिरो ट्रेन्चहरु खन्दा त्यहाँ बेन्चिंग र स्लोपिंग गर्ने।
१.४ उचाईमा वा स्क्याफोल्डिंगमा काम गर्दा प्लेटफर्म र रेलिंगहरु राखेर मात्र काम गर्ने।
१.५ काम भैरहेको स्थान वरिपरि हरियो रंगको जालि वा कडा खालको छेकवार प्रयोग गर्ने।
१.६ कुनै पनि मेशिनको कामको लग शिट तयार गर्ने र त्यसको काम सकिएवपछि वा त्यसले काम गर्न छोडेपछि वा त्यसमा समस्या आएपछि त्यसलाई बन्द गरेर मात्र छोड्ने।
१.७ परियोजना स्तरमा 'व्यवसायिक सुरक्षा नीति' बनाई लागु गर्ने।
१.८ सुरक्षाका नियमहरु राम्ररी पालन गर्ने कामदारलाई पुरस्कार र पालना गर्न अटेरी गर्ने कामदारहरुलाई नसिहतको व्यवस्था गर्ने।
१.९ हरेक कार्यस्थलमा काम सुरु गर्नुअघि र बीच बीचमा हाजार्ड आईडेन्टिफिकेशन तथा रिस्क एसेसमेन्ट गर्ने।
१.१० हरेक शिफ्टमा काम सुरु गर्नुअघि कामदारहरुलाई त्यो दिनको काम र त्यसमा अपनाउनु पर्ने सुरक्षाको बारेमा जानकारी (टुलबक्स टक) दिने।
१.११ कामदारहरुले ब्यक्तिगत सुरक्षाका साधनहरु प्रयोग गरे नगरेको नियमित रुपमा अनुगमन गर्ने।
१.१२ कामदारहरुको व्यवसायिक स्वास्थ्य सुरक्षाको लागि २५ जना भन्दा बढी कामदार भएका परियोजनामा ‘कामदारहरुको व्यवसायिक सुरक्षा समिति गठन गरि परिचालन गर्ने।
२. व्यवसायिक स्वास्थ्य – कार्यक्षेत्रमा हुने कामसंग सम्बन्धीत स्वास्थ्य समस्या र बिमारीहरुको उपचार र ति समस्या वा बिरामी गराउने जोखिमहरुको पहिचान गरि तिनिहरुबाट गरिने बचावटका उपायहरु यस अन्तर्गत पर्दछन्।
यस अन्तर्गत कार्यक्षेत्रमा कार्यरत कामदारको स्वास्थ्य जोगाउनकोलागि निम्न कुराहरुको व्यवस्था गर्नु पर्दछ–
२.१ कामदारहरुले पिउनको लागि पर्याप्त मात्रामा स्वच्छ पानी उपलब्ध गराउने।
२.२ आवश्यक मात्रामा पर्याप्त पानी र अध्यारो हुन नदिन बत्ती राखिएका अनि नियमित रुपमा सफा राखिएका उचित सम्बातनयुक्त शौचालयहरुको व्यवस्था गर्ने।
२.३ कार्यस्थलमा दूर्घटना भैहालेमा घाईतेलाई सुताएर उपचार गर्नको लागि म्याट, ब्ल्यांकेट र सिरानी सहितको प्राथमिक उपचार कक्षको व्यवस्था गर्ने।
२.४हरेक कार्यस्थलमा पर्याप्त औषधिसहितको प्राथमिक उपचार बाकस, स्ट्रेचर र स्ट्रेचरमा लाग्ने फित्ता सहितको ब्याकबोर्डको व्यवस्था गर्ने।
२.४ कार्यस्थलमा हुन सक्ने आगलागीको नियन्त्रणकोलागि अग्नि नियन्त्रकको व्यवस्था गर्ने।
२.५ कार्यस्थलमा दूर्घटना भैहालेमा घाईतेलाई तुरुन्त अस्पताल लैजानको लागि सुबिधायुक्त एम्बुलेन्सको ब्यबस्ता गर्ने।
२.६ कार्यस्थलमा कुनै दूर्घटना भए प्राथमिक उपचार पश्चात थप उपचारको लागि पठाउननजिकको सुबिधायुक्त अस्पतालसित ‘उपचार सम्झ्यौता’ गर्ने।
२.७ परियोजनामा हरेक १५ जना कामदारको लागि कम्तिमा एकजना तालिम प्राप्त प्राथमिक उपचारकको व्यवस्था गर्ने।
२.८ बेला बेलामा दूर्घटनाको उचित व्यवस्थापनको लागि काल्पनिक दूर्घटना अभ्यास ( एक्सिडेन्ट ड्रील) को आयोजना गर्ने।
२.९ कुनै पनि दूर्घटना पछि त्यसको कारणको बारेमा छानबिन गर्ने।
२.१० दूर्घटना निवारणको लागि आबश्यक नीति तथा कार्यक्रम तय गरि लागु गर्ने।
३.औद्योगिक सरसफाई – यस अन्तर्गत निर्माण क्षेत्रमा हुने भौतिक, रासायनिक जैबिक र मानबिय कारणले हुने जोखिम र तिनीहरुबाट न्यूनिकरणको लागि तिनीहरुको पहिचान , मूल्यांकन र नियन्त्रण आदि पर्दछ।
औद्योगिक सरसफाईमा निम्न लिखित कुराहरु पर्दछ।
३.१ कार्यक्षेत्रमा फोहर व्यवस्थापनको लागि कार्यबिधि वा निर्देशिका बनाएर लागु गर्ने।
३.२ फरक फरक खालका फोहरकोलागि फरक फरक रंगका फोहर फ्यांक्ने डस्टबिनहरुको व्यवस्था गर्ने।
३.३ कार्यक्षेत्रको नियमित सफाई गर्ने।
३.४ सामानहरु राख्ने स्टोरलाई तालाबन्दी गरेर निश्चित ब्यक्तिको जिम्मामा छोड्ने।
३.५ कामदारहरु क्याम्पलाई निश्चित मापदंड अनुसारको बनाउने।
३.६ कामदारहरुले खाना बनाउने भान्सामा आबश्यक सफाई गर्ने।
३.७कामदारहरुले प्रयोग गर्ने शौचालयमा आबश्यक सम्बातन, बत्ती , पानी र सफाईका साधन राख्ने
३.८ कामदारहरुको आवासबाट निस्केको फोहर पानीलाई निश्चित तरिकाले बिसर्जन गर्ने।
३.९ कार्यक्षेत्रमा निर्माणका सामाग्रीहरु थुपारेर नराख्ने।
३.१० कामदारहरु सुत्ने ओछ्यान, प्रयोग गर्ने कपडा र खाना खाने भाँडाहरुको नियमित सफाईको व्यवस्था गर्ने।
३.११ कामदारहरु सुत्ने कोठामा उचित दूरीमा उचित उचाईका खाट , सफा ओछ्यान र आबश्यक झुलको व्यवस्था गर्ने।
१२. कामदारहरु सुत्ने कोठामा मुसा वा अन्य किरा फट्यांग्राहरु छिर्न नसक्ने गरि प्वाल टाल्ने र जालीले छोप्ने।
कार्यस्थलमा हुने मुख्य दूर्घटनाहरु
नेपालको सन्दर्भमा कार्यस्थलमा हुने मुख्य दूर्घटनाहरु यस प्रकार छन्।
१. चिप्लिनु, झर्नु, खस्नु।
२. मांशपेशि मर्किनु।
३. झरेका सामाग्रीले ठोकिएर चोट लाग्नु।
४. शरीरका अंगहरुमा दबाब पर्नु।
५. कुनै पनि कडा बस्तुमा ठोकिनु।
६. शरीररका अंगहरु काटिनु वा घसारिनु र ज्यादा रक्तश्राब हुनु ।
७. श्वास प्रश्वासबाट बिषालु ज्ञाँसहरु शरीर भित्र प्रबेश गर्नु।
८. चर्को आवाजले असर गर्नु।
९. धारिला वा हानिकारक सामानहरुसंग ठोकिनु।
१०. शरीर भित्र जस्तै आँखा, कान, नाक र मुखमा बाह्य बस्तुको प्रबेश हुनु।
११. कार्यस्थलमा बिभिन्न बिषालु हानिकारक किराहरुले टोक्नु।
१२. कार्यस्थलमा झैझगडा हुनु।
कार्यस्थलमा दूर्घटनाका कारणहरु
१. कार्यस्थलमा असुरक्षित बातावरण हुनु।
२. सुपरिबेक्षण, अनुगमन र मूल्यांकनअपर्याप्त हुनु।
३. दूर्घटनाहरु अबश्यम्भावि हुन्छन् र यिनलाई घटाउन सकिदैन भन्ने धारणा हुनु।
४. बित्तिय र ब्यबहारिक कारणले सुरक्षालाई कम प्राथमिकतामा राखिनु ।
५. सुरक्षा सम्बन्धी शिक्षा र तालीमको अभाव हुनु।
६. सरकारद्वारा निर्मित सुरक्षा सम्बन्धी नीतिहरुको प्रभावकारी कार्यान्वयनमा कमि हुनु।
७. दूर्घटनाहरुको नियन्त्रणको लागि आबश्यक उपायहरुको प्रयोगमा उदासिनता हुनु।
दूर्घटनाको निवारणको लागि आवश्यक कार्यहरु
१. सधैँ आफ्नो काम प्रति सजग रहने, गराउने।
२. सूरक्षा चेतना र शिक्षालाई प्रबर्धन गर्ने।
३. घाउचोट पटक र मांसपेशिका समस्याहरु प्रति सदा सचेत रहने।
४. ब्यक्तिगत सुरक्षाका सामाग्रीहरुको अनिवार्य प्रयोग गर्ने गराउने।
५. कार्यस्थलमा सूचना र संचार प्रभावकारी बनाउने।
६. कार्यस्थलमा उपयुक्त प्रकारका लुगा कपडाको पहिरन गर्ने।
७. सुरक्षाका जोखिमहरुको नियमित परिक्षण गरिरहने।
८. दूर्घटना र जोखिमहरु घटाउने योजना तयार गर्ने।
९. दूर्घटना र जोखिमहरु न्युनिकरण गर्ने नीति र योजना तयार गरि लागु गर्ने।
१०. कामदारहरुलाई आबश्यक पर्दा मनोबैज्ञानिक परामर्श प्रदान गर्ने।
११. हरेक रोजगारदाताहरुलाई व्यवसायिक सुरक्षाकालागि आबश्यक अव यबहरु तयार गर्न प्रेरित गर्ने वा गर्न लगाउने।
१२. व्यवसायिक स्वास्थ्य सुरक्षाकालागि आबश्यक तालिम जस्ता जनशक्ति बिकासका कार्यक्रम चलाउने।
१३. व्यवसायिक स्वास्थ्य सुरक्षाका लागि आबश्यक नियमन र अनुगमन प्रणालिको बिकास गरि लागु गर्ने।
व्यवसायिक स्वास्थ्य सुरक्षा र प्रबर्धनको लागि गर्नु पर्ने नीतिगत कार्यहरु
व्यवसायिक स्वास्थ्यमा ध्यान पुग्न नसक्दाहाम्रो राष्ट्य उत्पादकत्वमा क्षति पुग्ने र उपचार तथा क्षतिपुर्तिमा ठूलो रकम खर्च हुने हुँदा यसको न्यूनिकरणकोलागिनीतिगत व्यवस्था हुन जरुरी छ।
यसमा निम्न कुराहरु गर्न आबश्यक छ।
१. हरेक प्रतिष्ठान र निर्माण क्षेत्रमा ब्यबसायिक स्वास्थ्य सुरक्षा नीति बनाई लागु गर्ने गराउने।
२. हरेक प्रतिष्ठानमा श्रम ऐन लागु गर्न बाध्यकारी व्यवस्था गर्ने।
३. हरेक प्रदेशमा ‘श्रम तालिम केन्द्र’ र ‘परामर्श केन्द्रको’ स्थापना गर्ने।
४. फरक फरक खालका प्रतिष्ठान र फरक फरक खालका कामदारको लागि फरक फरक खालका निर्देशिका र कार्यविधि तय गर्ने।
५. हरेक प्रतिष्ठानलाई आफ्ना कामदारको बिमा गर्न बाध्यकारी व्यवस्था गर्ने।
६. हरेक कामदारलाई काम शुरु गर्नु अघि सम्बन्धित कामको बारेमा आधारभूत तालिम दिन अनिवार्य गर्ने।
७. हरेक प्रतिष्ठानमा काम गर्ने कामदारको नियमित स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गराउने।
८. अरेक प्रतिष्ठानहरुमा नियमित अनुगमन गर्ने गराउने।
९. नेपालको लागि आफ्नै ‘राष्ट्रिय व्यवसायिक सुरक्षा सम्बन्धी सर्भेक्षण’ गर्ने।
१०. नेपालमा भैरहेका व्यवसायिक घटना र दूर्घटनाहरुको लागि यौटा अलग्गै सूचना प्रणालीको बिकास गर्ने।
११. हरेक प्रदेश र स्थानीय तहमा व्यवसायिक स्वास्थ्य सूरक्षा सम्बन्धी जागरण ल्याउने कार्यक्रमहरु संचालन गर्ने।
(लेखक व्यवसायिक स्वास्थ्य सुरक्षा विज्ञ हुन्।)