दसैं नजिकिएको छ। लगत्तै अरु चाडपर्व पनि आउँछन्। यी चाडपर्व मूलतः खानपिन, आराम र मनोरञ्जनसँग सम्बन्धित छन्। मासु र मदिराजन्य पदार्थ मनमौजी खाने र कसरत नपर्ने खेल तथा भर्चुअल मनोरञ्चनमा व्यस्त हुने शैली धेरैले अपनाएको पाइन्छ। पछिल्लो समय त यस्तो शैली चाडपर्वको पर्याय नै हुँदै आएको छ। जुन तत्काल र दीर्घकालका लागि समेत जोखिमपूर्ण छ। त्यसैले चाडपर्व मनाउने हाम्रो पछिल्लो शैलीमाथि पुनर्विचार आवश्यक छ।
कतिपय विकसित देशमा जस्तो नियमित स्वास्थ्य जाँच गर्ने प्रचलन हामीकहाँ छैन। जाँच नै नगरेपछि आफ्नो स्वास्थ्य अवस्था कस्तो छ, रिपोर्टहरुले के संकेत गरका छन्, सम्भावित स्वास्थ्य समस्या के–कस्ता हुन सक्छन्, खाने, कम खाने र नखाने खानाहरुका बारेमा पनि हामी अनभिज्ञ हुने नै भयौँ। जसका कारण खानै नहुने वा कम खानुपर्ने खानाहरु हामीले मनमौजी ढंगले खाइदियौँ भने कुनै रोग लाग्ने सम्भावना नजिकिन्छ। मानौँ, हामीमध्ये कसैको शरीरमा मधुमेह लाग्ने सम्भावना नजिकएको छ तर जाँच नगरेका कारण थाहा भएन। तर खानपिनमा मतलब गरेनौँ भने मधुमेह लाग्ने सम्भावना झन् नजिकिन्छ। मुटु रोग तथा युरिक एसिड जस्ता समस्याको हकमा पनि त्यही हो।
यी विषय किन चर्चा गर्नुपर्ने भएको छ भने, हाम्रा तथ्यांकहरुले दसैं–तिहार जस्ता चाडपर्वपछि कैयौँ व्यक्तिहरु नसर्ने रोगको समस्या लिएर अस्पताल पुग्ने गर्छन्। चिकित्सकहरुका अनुसार, आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी नराखी जथाभावी रुपमा खानपिन गर्नाले यस्तो हुने गरेको छ। त्यसैले आफ्नो स्वास्थ्य परीक्षण गर्ने, सूचकहरुको बारेमा जानकारी राख्ने र चिकित्सकहरुको सल्लाह अनुसार खानपिन शैली अपनाउने गर्नु बुद्धिमत्तापूर्ण हुन्छ।
चिकित्कहरुका अनुसार, हामीलाई कैयौँ स्वास्थ्य समस्या देखिने ४० वर्ष कटेपछि हो। यद्यपि, स्वास्थ्य समस्याका लागि कुनै निश्चित उमेर भने हुँदैन। तैपनि, ४० कटेपछि भने अतिरिक्त चनाखो हुनुपर्ने जरुरत रहन्छ। यसो भन्नुको मतलब आफ्नो स्वास्थ्य अवस्था र विभिन्न परीक्षणबाट आएका नतिजाका बारेमा जानकार बन्ने र सोही अनुसार जीवनशैली अपनाउने हो।
खानपिनमा मात्रै होइन। शारीरिक व्यायाममा पनि जोड दिनु वाञ्छनीय हुन्छ। पानी प्रशस्त पिउने गर्नुपर्छ। आजकाल पानीको सट्टामा अनेक पेयपदार्थ पिउने प्रचलन पनि छ। यसो गर्दा प्रतिष्ठा बढेको भ्रम राख्नेहरु पनि छन्। तर त्यो स्वास्थ्यका लागि फाइदाजनक छैन। स्वास्थ्य बिगारेर प्रतिष्ठाको भ्रममा जिउनुको के अर्थ ?
अर्को विषय, अहिले दुई वटा स्वास्थ्य समस्या बढिरहेका छन्– कोरोना र डेंगु। हाम्रा सामान्य असावधानीका कारण यसबाट हामी संक्रमित हुनु परेको छ। मानिसबाट मानिसमै सर्ने कोरोना होस् वा लामखुट्टेले सार्ने डेंगु, दुवैबाट अनावश्यक हैरानी बेहोर्नुपरेको छ। त्यसैले यात्रा गर्दा र नयाँ ठाउँमा पुग्दा यसको जोखिम अरुबाट आफूमा र आफूबाट अरुमा पनि बढ्ने हुन सक्छ। किनकी, मानिसहरुको आवातजावत बढ्नासाथ संक्रमण गराउने भाइरसको प्रसारमा पनि सहयोग पुग्छ। जसले युवादेखि बालबालिका र बुढाबुढी सबैलाई जोखिममा पुर्याउँछ। जोखिम कम गर्नका लागि चनाखो हुन जरुरी छ।
दसैं–तिहारका लागि ठूलो संख्यामा मानिसहरु मुख्य सहरबाट गाउँ–ठाउँ पुग्ने गर्छन्। अझ भन्नुपर्दा, काठमाडौं जस्तो ठूलो सहरबाट दुर्गम गाउँसम्मको यात्रा हुने गर्छ। यतिबेला कैयौँ गाडी पहिलो पटक ती यात्राका सारथि बन्छन्। यात्रुको चाप, जोखिमपूर्ण बाटो र नयाँ चालक एकसाथ हुँदा दुर्घटनाको सम्भावना पनि बढ्छ। साथै, सडकमै गाडीको चाप अत्यधिक हुने समयमा मोटरसाइकलमा गरिने यात्रा र असावधानीले पनि दुर्घटना बढाएको पाइन्छ। अन्य धेरै कारण छन्, तर दुर्घटनाबाट जोगिनु र दीर्घकालसम्म स्वास्थ्य समस्या आउन नदिनु सबैको हितमा हुन्छ।
चाडपर्व कहिलेकाहीँ आउने उत्सव हुन्। रमाउने र पारिवारिक खुसी आदान–प्रदान हुने भएकैले यसको चर्चा हुने गर्छ। उत्सवमय माहोल सिर्जना हुने गर्छ। तर आफ्नो र परिवारको स्वास्थ्यको बारेमा सचेत रहेर मनाउन सकियो भने चाडपर्डकै क्रममा वा त्यसपछि अनावश्यक तनाव बेहोर्नु नपर्ने हुनसक्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने, चाडपर्व केही दिनको हो, जीवन धेरै लामो छ।