नेपालमा सुत्केरी पछिको परिवार नियोजन सेवाको औपचारिक रुपमा शुरु भएको सात बर्ष पुरा भएपनि सबै संघ तथा प्रादेशिक तहका सबै अस्पतालहरुमासेवा विस्तार हुन सकेको छैन। स्वास्थ्य सेवा विभागले शुरु गरेको सुत्केरीपछिको परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रमले अहिलेको अवस्थामा सुधार ल्याउने आशा जगाएको छ।
गर्भ निरोधक साधनहरुको उपायोगको अवस्था विगत केहि वर्ष यता एउटै विन्दुमा रहेको देखिन्छ। उपलब्ध तथ्यांकलाई अलिक शुक्ष्म रुपमा विश्लेषण गर्दा परिवार नियोजनका साधनहरुको प्रयोग खास समुहहरुमा औसतभन्दा कम रहेको देखिन्छ।
औसतभन्दा कम परिवार नियोजनका साधनहरुको प्रयोगको अवस्था रहेको समुहमा किशोरकिशोरी, सुत्केरीपश्चातका आमाहरु तथा गर्भपतनपश्चातका महिला अग्रभागमा पर्छन। परिवार नियोजनका साधनहरुको न्यून प्रयोग गर्ने यी समुहहरु मध्ये सुत्केरीपछिको आमाहरुको परिवार नियोजनको न्यून ज्ञान तथा उपलब्ध साधनहरुको प्रयोग नहुनु सुखद अवस्था भने पक्कै होइन। साथै यो समुहमा रहेकाहरुको विद्यमान अवस्थामा तत्काल सुधार गर्न सकिने अवसर देखिन्छ।
खासगरी पूर्व प्रसुती जाँच, संस्थागत सुत्केरी र सुत्केरी पछिको जाँचको दर बढीरहेको परिप्रेक्ष्यमा सुत्केरीपश्चातको परिवार नियोजन परामर्श र सेवाको दायरालाई बृद्धी गर्दै थप योजनाबद्ध परिवार निर्माणको काममा तत्काल काम थाल्न सकिने अवस्था विद्यमान छ।
सुत्केरीपछिको परिवार नियोजन भन्नाले सुत्केरी पछिको पहिलो १२ महिना अर्थात एक बर्षको अवधीमा हुनसक्ने अनपेक्षित र नजिकको दूरीको गर्भ रोकथाम भन्ने बुझिन्छ।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ ले हाल देशमा ७९ प्रतिशत संस्थागत सुत्केरी हुने देखाएको छ। यसैगरी कम्तीमा चार पटक पूर्व प्रसुती जाँचको दर ८१ प्रतिशत पुगेको छ भने सुत्केरीपश्चात दुइ दिनभित्र गरिने जाँच ७० प्रतिशत छ। साथै संस्थागत सुत्केरी दर संघ÷प्रादेशिक अस्पतालहरुमा धेरै हुने गरेको पाइन्छ।
माथि उल्लेखीत तथ्यांक परिवार नियोजनको परामर्श र सेवाहरुको दायरा विस्तारका लागि एउटा अवसर पनि हो खासगरी सुत्केरीपश्चातका आमाहरुको हकमा। किनभने गर्भ तथा सुत्केरीअवस्थामा अस्पताल पुग्नेको हकमा परिवार नियोजन सम्बन्धि परामर्श एकैसाथ गर्न सकिने अवस्था रहन्छ। तसर्थ सुत्केरी पश्चातका आमाहरुमा परिवार नियोजन उपायोगको दर बढाउन सकिने अवसर देखिन्छ।
नेपालमा सुत्केरीपछिको परिवार नियोजन सेवाको औपचारिक शुरुवात सात बर्ष अघी अर्थात सन् २०१५ बाट शुरु भएको हो। यद्यपी, देशका सबै संघ तथा प्रादेशिक अस्पतालहरुमा परिवार नियोजन सेवा विस्तार भने भईसकेको छैन। सिमित सेवा उपलब्ध भएता पनि परामर्श र अन्य आवश्यक सेवा नभएकाले परिवार नियोजन सेवाको उपयोग यो समुहमा न्युन छ।
नेपाल स्वास्थ्य संस्था सर्वेक्षण प्रतिवेदनका अनुसार परिवार नियोजन परामर्श पूर्व प्रसुती सेवाग्राहीहरुमा जम्मा १ प्रतिशत रहेको छ। साथै प्रसुतीपश्चातका सेवाग्राहीहरुमा परामर्श जम्मा २३.६ प्रतिशत रहेको छ। समग्रमा यी सेवाग्राहीहरुमा परिवार नियोजन साधनको उपयोग जम्मा ३.६ प्रतिशत रहेको छ।
अहिलेको अवस्थामा सुधार गर्नको लागि चुनौतीहरु भने पक्कै छ। पहिलो त दक्षजनशक्ति निर्माण तथा क्षमता अभिबृद्धीको चुनौती देखिन्छ। कतिपय स्थानहरुमा दक्ष जनशक्तीको अभावको अवस्था देखिन्छ। काम गरिरहेका स्वास्थ्यकर्मीहरुमा परामर्श र सेवाको लागि आवश्यक तालिमको अभाव पनि चुनौतीको रुपमा रहेको छ। यस्तै समन्वय र सञ्चारको कमी, भौतिक पुर्वाधार कमी पनि चुनौतीकै रुपमा रहेका छन्।
जनस्तरमा सुत्केरीपश्चात परिवार नियोजन सम्बन्धी झुटो तथा गलत बुझाई (मिथ) र अफवाहहरु पनि अहिलेको अवस्था सुधार गर्नको लागि चुनौतीको रुपमा रहेको छ। नीतिगत रुपमा हेर्दा स्पष्ट राष्ट्रिय रणनीति र दिशानिर्देशहरू हुँदा सेवा सुदृढीकरण गर्न सजिलो हुने देखिन्छ।
प्रभावकारी अनुगमन तथा मुल्यांकनको र दुरदर्शी नेतृत्व हुँदा समस्याहरुको पहिचान र सम्बोनधनमा रहेका चुनौतीहरु हल गर्न सहज हुने पक्षलाई नकार्न सकिन्न। सरकारका प्रयासहरु यस दिशामा देखिन्छ। विद्यमान अवस्थामा सुधार ल्याउन र सुत्केरीपछिको परिवार नियोजन सेवा संघ÷प्रादेशिक, निजि, सामुदायिक तथा शैक्षिक प्रतिष्ठानका अस्पतालहरुमा सुदृढीकरण गर्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा, परिवार कल्याण महाशाखाले सुत्केरीपछिको परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रमको शुरुवात गरिसकेको छ।
सुदृढीकरण कार्यक्रम पहिलो चरणमा काठमाडौं उपत्यकाका पाटन अस्पताल, सिभिल अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र कान्ति बाल अस्पतालमा शुरु भएको छ। विभागले यी स्वास्थ्य संस्थाहरुमा विभिन्न चरणमा सेवा सुदृढीकरण गरिरहेको छ।
यस कार्यक्रम अन्तर्गत अस्पतालहरुलाई नै संस्थागत कमीकमजोरी पत्ता लगाउन सहयोग गरी उपलब्ध साधनस्रोतको उचित प्रयोगको लागि प्रोत्साहित गर्ने रणनीति विभागले अपनाएको छ। स्वास्थ्य हेर्ने निकायहरुबीच समन्वय, स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण, बिभिन्न चरणहरुमा सेवा विस्तार अनुगमन आदी पनि सुदृढीकरण कार्यक्रमका मुख्य रणानितीहरु रहेका छन। यसका साथै अन्य निकायहरु जस्तै जिल्ला स्वास्थ्य कार्यालय, पालिकास्थित स्वास्थ्य शाखा, अस्पताल प्रशासन, र परिवार कल्याण महाशाखा मिलेर सामुहिक योजना बनाउने पनि यस कार्यक्रमको उदेश्य रहेको छ।
कार्यक्रमले प्रभावकारीता र नतिजाका लागि उपलब्ध साधनस्रोतहरुको परिचालनको क्रममा नियमित समन्वय तथा सञ्चार, अनुगमन, मुल्यांकन आदीलाई प्राथमिकता दिएको छ। सुदृढीकरण कार्यक्रम सरोकारवाला निकायहरुलाई जिम्मेवार र उत्तरदायी बनाउन सहयोग गर्नु साथै सेवा सुदृढीकरण पनि मदत गर्छ।
बढ्दै गइरहेको पुर्व प्रसुती जाँच दर, संस्थागत सुत्केरी र प्रसुतीपश्चातको जाँच सँगै प्रसुतीपछीको परिवार नियोजन सेवालाई एकिकृत गर्न सकेमा यसबाट धेरै सेवा ग्राहीहरु समयमै सेवा लिन पाउने थिए। साथै परिवार नियोजनमा राम्रो सफलता हासिल गर्न सकिन्थ्यो।
यसै मोडालिटीमा अन्य सबै संघ÷प्रादेशिक अस्पत्तालहरुमा सेवा सुदृढीकरण गर्न सकिएमा परिवार नियोजन सेवा उक्त समुहमा निकै फड्को मार्ने थियो। फलस्वरुप परिवार नियोजनबाट हुने फाइदाहरु सुनिस्चित गर्न पनि निकै मदत पुग्ने थियो।
भनिरहन पर्दैन, जब परिवार नियोजन सेवामा महिलाहरुको पहुँछ बढ्छ, यसले महिलाहरुको स्वास्थ्य सुधार, महिला सशक्तिकरण र आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्छ। साथै यसले समुदायलाई पनि फाइदा पुराउँछ।
परिवार नियोजन प्रत्येक मानिसको जीवन र परिवारलाई खुशी, स्वस्थ, समृद्ध र व्यवस्थित बनाउने एउटा आधार हो। नेपाल सरकारले यस कार्यक्रमलाई पहिलो प्रार्थमिकतामा राखेर कार्यक्रम सन्चालन गरिरहेको छ।
स्वास्थ्यको हक प्रत्येक नेपालीको मौलिक हक पनि हो। नेपालको संविधान धारा ३५ स्वास्थ्य सम्बन्धी हकमा, धारा ३८ को महिलाको मौलिक हकमा र आधारभुत आवश्यता सम्बन्धि धारा १० मा परिवार नियोजन सम्बन्धि व्यवस्था गरेको छ। साथै परिवार नियोजन सम्बन्धी सेवा सबै तहको स्वास्थ्य सस्थाहरुबाट पर्दान गर्नु पर्ने भनेर जन स्वास्थ्य ऐनमा उल्लेख गरेको छ।
सुत्केरीपछिको परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रमले नागरिकको स्वास्थ्यको हक सुनिश्चित गर्दै सुखी, खुसी र संबृद्ध परिवारको मर्मलाई व्यवहारीक रुपमा मुर्त रुप दिन सहयोग गर्ने आशा राख्न सकिन्छ।
(लेखक भट्ट पोखरा विश्वविद्यालयमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर तह अन्तिम वर्षका विद्यार्थी हुन्। हाल उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखामा इन्र्टनसीप गर्दैछन्।)