आयुर्वेद चिकित्साको चार पाद वा आधार भनेर; चिकित्सक, औषध-द्रव्य, परिचारक र रोगीलाई बुझिन्छ। यीनीहरुमध्ये चिकित्सकको महत्वपूर्ण भूमिका त हुन्छ नै त्यसपछि दोस्रो ठूलो महत्त्व औषध द्रव्यलाई दिइएको छ। किनभने रोगीको चिकित्सामा सफलता प्राप्त गर्न औषध-द्रव्य गुणवान् हुन जरुरी हुन्छ। आफै आयुर्वेद चिकित्सक भएको हुनाले नेपालमा पाइने जडिबुटीको ज्ञान, आयुर्वेद औषधिहरूको ज्ञान हुन अत्यन्त जरूरी हुन्छ।
त्यसैको अध्ययन गर्ने क्रममा मैले नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा ईसं. २००९ मा प्रकाशित अनुसन्धान प्रतिवेदन पढ्ने मौका पाएँ। उक्त प्रतिवेदनको अध्ययन टोलीमा डा श्याममणि अधिकारी र डा बाल मुकुन्द रेग्मी हुनुन्थ्यो भने उक्त प्रतिवेदन डा श्याममणि अधिकारीद्वारा लेखिएको थियो। यो प्रतिवेदन पूर्व पनि यस्तो अध्ययन भएको थिएन र यो प्रतिवेदनपश्चात् आजको मितिसम्म पनि नेपालमा यस्तो अध्ययन भएको छैन। तसर्थ पनि यो एक महत्वपुर्ण वैज्ञानिक अध्ययन मान्न सकिन्छ।
उक्त प्रतिवेदनको मुख्य उद्देश्य प्याकिङ, लेबलिङ र सामान्य गुणहरूको हिसाबले नेपाली बजारमा उपलब्ध आयुर्वेदिक औषधिहरूको स्थिति पत्ता लगाउनु तथा तिनको गुणस्तर नियन्त्रण एवं सुनिश्चित गर्न सम्भावित उपायहरूको सिफारिस गर्नु थियो। यस अध्ययनको लागि उपत्यकाको ३ प्रमुख शहरहरू; काठमाडौं, भक्तपुर तथा ललितपुर साथै आयुर्वेदका औषधिहरुको धेरै स्टोरहरू भएको र बढी मात्रामा औषधि बिक्रि हुने उपत्यका बाहिरका ६ प्रमुख शहरहरू; विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरलाई अध्ययन स्थानको रुपमा चयन गरियो। यीनै स्थानहरुबाट अध्ययनमा आवश्यक पर्ने डाटा र नमूनाहरूको संकलन गरियो।
यी शहरहरूका ८७ आयुर्वेद औषधि स्टोरहरूबाट बिक्रि हुने प्रमुख औषधिहरू पत्ता लगाइयो र तिनीहरूमध्ये पनि लोकप्रिय तथा विभिन्न डोसेज फर्ममा रहेको ५ औषधिहरूलाई अझ गहन अध्ययनको लागि छानियो। उक्त ५ औषधिहरू; अविपत्तिकर चूर्ण, त्रिफला चूर्ण, च्यवनप्राश अवलेह, अशोकारिष्ट र योगराज गुग्गुलुको अझै विस्तृत अध्ययन गरियो। काठमाडौं उपत्यकाका खुद्रा बिक्रेताहरूबाट विभिन्न प्याकिङ साइज र उत्पादकहरूलाई प्रतिनिधित्व गर्ने यी औषधिहरूको कुल १२७ नमूना सङ्कलन गरि विस्तृत अध्ययन गरिएको थियो। केही उपलब्ध औजारहरू र मापन विधिहरू जस्तै: नाप्ने टेप, भेर्नियर क्यालिपर, मेजरिङ सिलिन्डर, प्यान ब्यालेन्स, इलेक्ट्रोनिक वेट मेसिन, इन्क्यूबेटर, वाटर बाथ, पीएच मिटर, रिफ्रेक्टोमीटर र डिजिटल क्यामराको प्रयोग गरेर छनोट गरिएका पाँचवटा शास्त्रीय औषधिहरूको प्याकिङ, लेबल र गुणहरूको अवलोकन र अध्ययन गरियो। अध्ययनको नतिजाहरू बिकसित गरिएको विशेष फारमहरूमा नोट गरिएको थियो।
उक्त अध्ययन अनुसार बजारमा पाइएको ६५६७ थरीका औषधिहरूमध्ये ७३.८२ प्रतिशत औषधि भारतमा बनेको र २६.१८ प्रतिशत औषधि नेपालमा बनेको थियो। साथै अध्ययनअनुसार शास्त्रीय औषधिहरू ४४.५१ प्रतिशत र पेटेन्ट औषधिहरू ५५.४९ प्रतिशत थियो। बजारमा सबैभन्दा बढी बिक्री हुने औषधिहरूमध्ये यी एघार औषधिहरू प्रमुख थिए:
१. अविपत्तिकर चूर्ण,
२.अशोकारिष्ट,
३. त्रिफला चूर्ण,
४. दशमूलारिष्ट,
५. च्यवनप्राश अवलेह,
६ . लिभ-५२
७. कस्तुरी भूषण,
८ . योगराज गुग्गुलु,
९ . शुद्ध शिलाजीत,
१०. हिंग्वाष्टक चूर्ण,
११. सितोपलादी चूर्ण।
उक्त अध्ययनअनुसार औषधिहरूको बिक्री प्रायः आफैले मागेर (५०.११ प्रतिशत) र त्यसपछि प्रेस्क्रिप्सन (३१.०३ प्रतिशत) र अरुहरूको सल्लाह (१८.८५ प्रतिशत) अनुसार हुने गरेको पाइएको थियो। उक्त अनुसन्धानमा चयन भएको पाँचवटा शास्त्रीय औषधिहरूको विभिन्न कम्पनीका नमुनाहरूमा रङ्ग, स्वाद, गन्ध, सूक्ष्मता, पीएच, एकाइ डोज आदिमा भिन्नता पाइएको उल्लेख गरिएको छ। विभिन्न उत्पादकहरूले उत्पादन गरेका एउटै औषधिहरू र कतिपय अवस्थामा एउटै निर्माताका एउटै औषधिका विभिन्न ब्याचहरूमापनि गुणस्तरमा ठूलो भिन्नताहरू पाइएको भनि उल्लेख गरिएको छ। सामान्य आयुर्वेद औषधिहरू चौध विभिन्न प्रकारका खुराक फर्ममा भेटिए। धेरैजसो औषधिहरू सिरप, पाउडर र ट्याब्लेट फर्ममा थिए।
थोरै औषधि मलहम, पिस्टी र जेल फर्ममा थिए। अधिकांश औषधिहरू सिसा (४३ प्रतिशत) र प्लास्टिक (४२.१प्रतिशत) मा प्याक गरिएको थियो। एकदमै थोरै औषधिहरू टिन बक्समा, पेट बोतलमा, नेपाली कागज र कुटमा प्याक गरिएको भेटियो। अधिकांश नेपाली उत्पादकले आफ्नो औषधिको लेबलमा दुवै नेपाली र अङ्ग्रेजी भाषाको प्रयोग गरेका थिए भने थोरैले नेपाली भाषामात्र प्रयोग गरेको पाइयो। शास्त्रीय औषधिहरूको सन्दर्भ ग्रन्थको भाषा र शब्दहरूमा त्रुटी पाइयो र कतिपय अवस्थामा अप्रासंगिक सन्दर्भपनि पाइएको उल्लेख गरिएको छ जस्तै: एउटै कम्पनीद्वारा निर्मित योगराज गुग्गुलुको दुई साइजका डब्बाहरूमा अतिसार रोगाधिकार र वात रोगाधिकार लेबलमा उल्लेख भएको पाइयो। विभिन्न कम्पनीका एउटै औषधिको लेबलमा उल्लेख गरिएको जानकारीहरूमा पनि भिन्नताहरू भेटिए।
आयुर्वेदिक औषधिको गुणहरू कच्चा पदार्थको गुणस्तर, औषधिको मिश्रण, उत्पादनको मात्रा, औषधि बनाउने विधि, भण्डारण, प्याकिङ आदि जस्ता विभिन्न कारकहरूमा निर्भर हुने भएकाले यो अनुसन्धानमा देखिएको गुणहरूमा भिन्नताको सही कारण पत्ता लगाउनुपर्ने कुराको उल्लेख गरिएको छ। साथै नेपालमा आयुर्वेदिक औषधिको गुणस्तर नियन्त्रण गर्ने कुनै प्रभावकारी संयन्त्र नभएको कुराको उल्लेख गरिएको छ जुन वर्तमान समयसम्म आउँदापनि उत्तिकै सान्दर्भिक देखिन्छ। गुणस्तरीय र सुरक्षित आयुर्वेदिक औषधि उत्पादन गर्नसके औषधिहरूको प्रभावकारिता र लोकप्रियता अझ बढ्ने कुरा उल्लेख भएको छ।
अध्ययनका केही कठिनाईहरू र सिमाहरूको पनि उल्लेख भएको छ। सीमित समय र बजेटका कारण शहरी क्षेत्रबाट मात्रै विस्तृत अध्ययनका लागि औषधिको तथ्याङ्क र नमूना सङ्कलन गरिएको, यस्तो अध्ययन नयाँ भएको हुनाले पर्याप्त साहित्य, विगतका अध्ययन प्रतिवेदन र स्थापित विधि र पर्याप्त सुविधाहरू सहज रूपमा उपलब्ध नभएकोपनि अध्ययनमा बताईएको छ। केवल एक अध्ययन र त्यसबाट आएका सिफारिसहरू सबै समस्याहरू पहिचान गर्न र सम्बोधन गर्न पर्याप्त नहुने कुरा बताइएको छ।
तसर्थ, औषधिको गुणस्तरीयता र प्रभावकारिता सुनिश्चित गर्न सम्बन्धित निकायले गम्भीर प्रयास गर्नुपर्ने सल्लाह दिईएको छ। नेपालका जिम्मेवार सरकारी निकाय र संस्थाहरू जस्तै औषधि व्यवस्था विभाग, आयुर्वेद विभाग, नेपाल आयुर्वेद चिकित्सा परिषद् र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् आदिले आफ्नो तोकिएको जिम्मेवारी पूरा गर्न नसकेको कुराको उल्लेख गरिएको छ। जुन वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ। साथै औषधि व्यवस्था विभागमा सम्बन्धित विज्ञहरू भएको आयुर्वेदको एक अलग इकाई विकास गरिनुपर्ने जसले आयुर्वेदका यस्ता मुद्दाहरूको पहिचान, निरीक्षण र प्रभावकारी अनुगमन गरोस् भनि सल्लाह दिईएको छ जुन आजको मितिसम्म आइपुग्दा पनि पुरा भएको छैन।
राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ मा उल्लेख भएअनुसार, एक आयुर्वेदिक औषधि परीक्षण समिति र प्रयोगशालाको विकास गरिनुपर्ने जसले बजारमा उपलब्ध आयुर्वेदिक औषधिहरूको गुणस्तर परीक्षण गर्न सकोस् भनि सुझाव दिइएको छ। जुन आजसम्म पनि पुरा भएको छैन। साथै आयुर्वेद मेडिकल काउन्सिलले आयुर्वेद आचार संहिताको निर्माण एवं कार्यन्वयन गर्नुपर्ने, आयुर्वेदमा जिएमपी गाइडलाईनको निर्माण हुनुपर्ने, गुणस्तर आश्वासनको लागि मानक मापदण्डहरूको बिकास गर्न यस दिशामा थप अध्ययन एवं अनुसन्धान गर्नुपर्ने जस्ता सुझावहरू उक्त प्रतिवेदनमा प्रस्तुत छन्।
समग्रमा भन्नुपर्दा आज भन्दा एक दशकअघि नेपालको प्रतिष्ठित र एकमात्र अनुसन्धान निकाय "नेपाल आयुर्वेद अनुसन्धान परिषदद्वारा अनुसन्धान भएर प्रतिवेदन तयार गरियो। तर त्यस अनुसन्धानका नतिजाहरू र सुझावहरू आजसम्म पनि उत्तिकै सान्दर्भिक देखिन्छन्। किनकि बजारमा आयुर्वेद औषधिहरूको र सेवाहरूको अवस्थामा केहि सुधार भएको भएपनि सन्तोषजनक परिवर्तनहरू भएका छैनन्। साथै सम्बन्धित निकायहरूले त्यस दिशामा ठोस कदमहरू लिएको देखिँदैन। यसले नेपालमा अध्ययन अनुसन्धानको कुनै महत्व नरहेको कुरालाई दर्शाउँछ। शिक्षा ,अनुसन्धान तथा नीतिनिर्माण र कार्यान्वयनबीच खासै सम्बन्ध नरहेको र साझा वैज्ञानिक-अनुसन्धानमा आधारित उद्देश्य निर्माण गरेर समन्वयात्मक विकास गर्ने संस्कृति अझैपनि विकास नभएको देखिन्छ। तसर्थ यस दिशामा सम्बन्धित निकायहरूको ध्यानाकर्षण होस् र आयुर्वेदको गुणस्तरीय औषधिहरू तथा सेवाको विकास होस् भन्ने आशा गर्दछौँ।
जय धन्वन्तरी ! जय आयुर्वेद !
(क्षेत्री भास्कर हर्बासिउटिकल्स प्रालिका भेषज विज्ञ हुन्।)