अभाव, दुख र व्याधीबाट तड्पेका बिरामीका जलेका शरीरमा अलिकता भए पनि राहत पुर्याउने धोको थियो ममा। भलै त्यो मरुभूमिमा एक बाल्टी पानी खन्याउनु जस्तो मात्रै किन नहोस्। त्यसैमा म आफ्नो जीवनको सार्थकता अनुभव गर्न चाहन्थेँ। सर्जिकल ज्ञान, सिप र ऊर्जा बोकी रसियाबाट मातृभूमि नेपाल फर्कन आतुर थिएँ। मेरो लक्ष्य, अठोट र अभिप्राय त्यसैमा पूर्ण रूपमा जेलिएको थियो। र, मसँग परिवारको पनि साथ थियो।
म र मेरी प्रियालाई पनि प्रष्ट थाहा थियो, हामीले रोजेको जीवनमार्ग ज्यादै कठोर, समस्यामुलक, दुष्कर र असहयोगी हुन सक्छ। तर पनि हामी छनोटमा दृढ संकल्पित थियौँ। अभावपूर्ण जीवन, कर्मक्षेत्र र अन्योलका स्थितिमा हामी आफ्नो पौरखको खोजमा निस्केका थियौँ। यो सार्थक श्रम धेरैलाई अभिसप्त लाग्न सक्थ्यो। मैले विदेश पढ्न जानु अगाडि नै ‘उसको टोपी’ भन्ने निबन्ध लेख्दा दरिद्र, दुःखी र समाजबाट तिरस्कृतको ज्वालाले नै आफ्नो हृदयको एउटा संवेदनशील शीघ्रचेतन भागलाई डढाइसकेको थियो। त्यो डढेको हृदयको घाउ र खतले मलाई सधैं असह्य वेदना दिन्थ्यो। त्यही वेदना र छट्पटी कम गर्न म अभावग्रस्त ठाउँमा आफ्नो शल्यकर्म क्षेत्रको केन्द्र बनाउन चाहन्थें।
त्यसैले विदेशको विलासी जीवनलाई छाडेर आफ्नै मातृभूमि फर्कें सन् १९७४ को जुलाईमा। गर्मी र वर्षाको याम। सोभियत संघबाट दिल्ली हुँदै काठमाडौँ। करिब डेढ महिनापछि एक हजार नेरु सापट लिएर प्लेनबाट ओर्लियौँ। तराईको गर्मीले स्वागत गर्यो। प्लेनमा केही तराईवासी र अरु पहाडी मुलका। त्यसमा हाम्रो नजिकै थिइन् एउटी बजै। श्रम र अनुभवले अनुहारभरि बुट्टा बनाउन भ्याइसकेकी। मेरा बच्चाहरू देखेर उनी मुग्ध भइन्। कस्ता सेता? कस्ता साना? कस्ता सुकिला? लगातारको उनको उद्घोष। मुटु मस्तिष्कदेखिकै मिठो मलिन स्वर। जीवनमा निकै संघर्ष गरेर चाउरी परेका सुन्दर हातले बच्चाहरूलाई पालैपालोसँग सुम्सुम्याइन्। श्रीमती अक्सानासँग एकतर्फी कुरा गरिन्। उनी भने कृतज्ञ भावले मुस्कुराउँदै उनैतिर हेरी मात्रै रहिन् किनकि उनलाई नेपालीको नाममा खालि नमस्ते, ठिकै छ, भात, पानीजस्ता शब्दहरूमात्र आफ्नै तरिकाले भन्न आउँथ्यो।
निकै परिचितजस्तै हामी एकआपसमा विदा भयौँ मिठो सम्झनामात्र मस्तिष्क र मुटुमा जम्मा गर्दै। जनकपुर एयरपोर्टमा जलेश्वर अञ्चल अस्पतालको मोटर हामीलाई लिन आएको थियो। हामी १५ किलोमिटरको यात्रामा रमाना भयौं। भर्खर बनाएको पीच थियो क्यारे, बाटो हामीले सोचेभन्दा निकै उत्तम तथा स्तरीय लाग्यो। आँखाले नभ्याउने गरी दुवैतर्फ धानका हरिया खेत हेर्दै आँखा र मन एकैपल्ट खुशी, प्रसन्न र शान्त हुने। आँखाले भ्याएसम्म जताततै हरियाली। झ्याम्म परेर झुलिरहेका आँपका गाछी।
सडकको छेउमा फाट्टफुट्ट बयलगाडा। टाउकामा फेटा गुथेका बयलगाडा चालक बीचबीचमा ती बयलगाडाका स्टेरिब डोरी तान्दै गोरुलाई दायाँबायाँ साइड लाग्न वा छिटो अगाडि बढ्न समादेश दिन्थे तर सुनेनन् भने आज्ञा नमाने बापत दुई तीन लठ्ठी थप्न अलिकति पनि हिच्किचाउँदैनथे। यो देख्दा अक्साना र मेरा अवोध बच्चाहरू किन पिटेको भन्दै मलाई प्रश्नमाथि प्रश्न खन्याउँथे। म उनीहरूको करुणामय निर्दोष मन नकुँडियोस् भन्न ध्यान अर्कैतर्फ मोड्ने प्रयत्न गर्थें।
जलेश्वर अस्पताल कम्पाउण्डभित्रै चिकित्सकहरूको आवासक्षेत्र थियो। त्यो बेलाको स्तर, देशको आर्थिक अवस्था र हामी नेपालीको अनुशासन झल्काउने खालको। डा रामबहादुर सिंह अञ्चल अस्पतालको सिभिल सर्जन। हामी आउँदा उहाँ दुई हप्ताको लागि काठमाडौं जानु भएको थियो। उहाँको निर्देशनमा हामी उहाँकै क्वाटरमा अस्थायी बसोवास गराइयौं। सँगै रहेको ट्वीन क्वाटरमा हामीलाई स्थायी रूपमा घरजम गर्नुपर्ने थियो। त्यसको सरसफाइ अक्सानाको सक्रिय संलग्नतामा शुरु भयो। त्यो मुसाहरूको महत्वपूर्ण वासस्थान भएको रहेछ। यद्यपि कमिला, साङ्ला र अरु थुप्रै किरा पनि आफ्नो हिस्साबाट बञ्चित थिएनन्। सफाइमा सहयोग गर्न व्यवस्थित व्यक्ति स्थानीय र मुसा खान रमाउने परेछ। खास गरेर भान्सामा चुह्लोभित्र उसले थुप्रै ठुल्ठूला मुसा फेला पार्यो। ती सबैलाई मारेर ऊ बाहिर निस्कँदा सबै मुसाका पुच्छर उसका दुवै मुठ्ठीमा बल्लबल्ल अटेका थिए। मुठ्ठीबाट तल टाउको पारेर झुन्ड्याइएका मुसाको दृश्य देख्दा अक्साना र बच्चाहरूको भागाभाग चल्यो। भर्खर दुई वर्ष नाघेको तर मोटो शरीर भएकोले छोरो दगुर्न नसक्दा अक्सानाले आफ्नो मातृकोखमा शरण दिएर शान्त पार्नु पर्यो।
थियो त्यो क्रुर दृश्य मानवले जमीन हत्याउन युद्ध गर्दाको जस्तै तर हामीलाई डा सिंह आउनु अगाडि नै आफ्नो क्वाटरमा सर्नु पर्ने बाध्यता पनि थियो। हिंसाको वास्ता नगरी सफाइ आन्दोलन द्रूत गतिमा चलाउनु नै थियो। त्यो बेलाको मुख्य कीटनाशक र रोगाणु नष्ट पार्ने औषधि फिनेल, क्लोरिन इत्यादि नाक र आँखाले सहुञ्जेलसम्म प्रयोग गरेको सहेर बस्थ्यौं। अन्ततोगत्वा एघारौं दिनमा हामी आफ्नै क्वाटर सर्यौं। दाउरा र गुइँठाको चुह्लो, टुकीको प्रकाश, कलधाराबाट बाल्टीमा ओसार्दै ल्याएको पानी। सबैले चारैतिरबाट कौतुहलपूर्ण हेरिरहेको दृश्य। यस्तैमाझ हाम्रो नयाँ जीवन संघर्ष सुरु भयो। थियो हामी आफैंले चुनेको जीवन। अमेरिका वा युरोप गएको भए हाम्रो संघर्षको रूप अर्कै हुन्थ्यो तर जीवन चलाउन संघर्ष अनिवार्य नै छ। हामीले नेपाललाई नै प्राथमिकतामा राखेर खुशी र हर्षसाथ सक्दो छिटो उडेका थियौं खार्कोभबाट। हामीलाई कुनैप्रति गुनासो गर्नुपर्ने वा बात लगाउने ठाउँ थिएन। मन जत्तिकै डराए पनि तुरुन्त हामी सम्हालिन्थ्यौं। सबै गाहारालाई नयाँ अनुभव सम्झी रमाउँथ्यौं। भित्री मनैदेखि गद्गदाउँथ्यौं। वास्तवमा सबै गाह्रो र कष्टको बोझ अक्सानाको काँध र माथामा थियो तर उनी भन्न छोड्दिनथिन् – यो हाम्रै उत्कृष्ट छनौट हो।
जलेश्वर पुगेको बेलुका नै मैले त्यहाँ कार्यरत डाक्टर साथीसँग भेटेँ। उहाँहरूकै सहयोगमा अस्पतालभित्रको अवलोकन गरेँ। फलामका जब्बर खाट तर प्रायः खाली। भएका बिरामी कुनै बिना तन्ना ओछ्यानमा पल्टिरहेका यो दृश्यले एकछिन् त म छानाबाट झरेजस्तो भएँ। प्रायः बिरामी टीबी, मलेरिया, फाइलेरिया—हात्तीपाइले, झाडापखाला र ज्वरोका कारण थाहा नभएर रोग निरूपण तथा उपचार गराउँदै। खाना बिरामीलाई सरकारी। उपचारबिना महशुल तर पनि ५० शैयाको अस्पतालमा ११ जनामात्र बिरामी भर्ना। त्यसमध्ये आधाभन्दा बढी भारतीय। किन त्यति शैया खाली ? मेरो मनमस्तिष्क अन्योलमय थियो। किन बिरामी आकर्षित नभएका? कस्तो राम्रो !! म अनुसन्धान कार्य गरेर त्यहाँ खट्न सक्छु !!
जलेश्वर पुगेको दोस्रो दिन बिहान आठ बजे बहिरङ्ग विभाग गएँ। आएका बिरामी हेर्न थालेँ। लाग्यो एकैदिनमा सबै शय्या भर्न मिल्नेगरीकन बिरामी छन्। पछिल्लो बिरामी हेर्दासम्म १२ जना भर्ना गरेँ। बच्चा कुपोषित, पेट, हात, खुट्टा, अनुहार ओसाएका÷अनुहारमा न जीवन, न ओज, न हाँसो, झिङ्गा नाकमुनिको बग्ने सिंगानमा भन्किदासम्म आफैं हात उठाएर धपाउन नसक्ने के उसलाई भर्ना नगरी दुइटा भिटामिनका पहेंला गोटी, जुकाको औषधि र फुस्रा आँखाका निम्ति फलामका काला चक्की कागजमा पोको पार्दै घर पठाउने ? लौरो टेकी एक्लै आएको वृद्ध हिँड्दा स्वाँस्वाँ, बस्दा लर्खराउने, टाउको ठाडो गरेर हेर्नसम्म हिम्मत नभए, पचास शैड्ढयाको अस्पताल रासन त सबैका निम्ति छदैछ नि। भर्ना! यस्तै भर्नाको लहर! उपचार देखावटी नै हो। कमसे कम भात, दाल, दूध, कहिलेकहीँ अण्डा मासु खाउन्। केही गरी शय्या नपुग्ने अवस्था भए अनि हेर्नु पर्ला कस्ता बिरामीलाई प्राथमिकता दिने ? अस्पताल जान थालेर धीत मर्ने गरी बिरामी हेर्ने आफ्नो रहर पूरा गर्दै आएको जीवनसाथी देखेर अक्साना बच्चाहरू खेलाउँदै र कहिले समाप्त नहुने गृहकार्यमा सघाउँदै आफू पनि बानी पर्दै आएकी थिइन्। भाषा नबुझिने प्रायः जो पनि आउँछन् दुब्ला,पातला मान्छे देख्दा उनी भावविभोर भएर हेरेको हेर्यै हुन्थिन्। बाहिर हेर्यो हराभरा फसल लोभलाग्दा, आँप, केरा, बिना खोट, किन मान्छेमात्र त्यस्ता? उनी प्रश्नमाथि प्रश्न गर्थिन्।
जलेश्वर पुगेको करिब एक महिना हुँदै थियो। अस्पतालबाट फर्केर खाना खाइसकेपछि दुई जना मान्छे घरमा बिरामी हेरिदिनु पर्यो भन्दै मलाई लिन आए। मैले डा.सिंहलाई सोधेर सुरक्षित छ भन्ने यकिन गरेपछि जान सहमत भएँ। हस्पिटल कम्पाउण्ड बाहिर निस्केपछि बयलगाडामा बसेर दायाँबायाँ ढलिदै करिब एक घण्टापछि बिरामीको घर पुग्यौं। पक्कीघर, झ्यालढोका नीलो रङले पोतेका, कोठामा सामान्यभन्दा फराकिला खाट, झुलले लामखुट्टे विरुद्ध सुसज्जित। करिब ७० वर्षकी वृद्धा खाटमा। बोली मधुर, भाषा मैले बुझ्ने होइन। नाडी मन्द, १०२ प्रतिमिनेट, रक्तचाप ९०÷५०, पेट एकदमै फुलेको। सुन्दा आन्द्राको गति कतैकतै त्यो पनि अति मन्द। पेट हलुकासँग छुँदा पनि दुख्यो भन्ने। दाहिने भाग बढी संवेदनशील। दिसा पहिलेदेखि नै पाँच दिनमा एकपल्ट हुने रे। यो पल्ट दिसा नभएको आठ दिन भइसकेछ। पेटको माथिल्लो भाग नाइटोमाथि र देब्रेतिर मोटो आन्द्रा रहने ठाउँमा कडा डल्लाजस्ता सजिलै स्पर्श हुने संरचना। साथमा ल्याएको पञ्जा र उनीहरूसँगै मागेको घिउले औंला केही चिप्लो पार्दै मलद्वारबाट जाँच गरेँ – लामो इन्कार र वादविवादपछि। मलद्वार जाम भएको ढोकाजस्तो तर मानौं त्यो भागमा दिसाको एउटा सारो लामो अन्तहीन लिन्डो। विस्मयकारी पदार्थले भरिएको दिसाको लिँड। मलद्वारभित्रबाट निकालेको औंलाको टुप्पोमा पञ्जामा न रगत न कुनै अलकत्राजस्तो कालो दाग। फेरि मैले अरु घिउ मागेर हातका तीन औंला (अन्य छेउका दुई बाहेक) मा लगाएँ र बिस्तारै “दुख्छ है आमा बरु गाली गर्नुहोस् तर नचल्नुहोस्” भन्दै दुई औंलाले मलद्वार तन्काएँ र तीन औंला भित्र पसाउँदै दिसाको एउटा टुक्रा –डल्लो बाहिर तानेँ। बिरामी दुखेको भाव दर्शाउँदै मलाई केही भन्दै थिइन्। एकैपल्ट खुट्टा सिधा गर्दै उनले जोडले दुर्गन्धित वायु त्याग गरिन्। त्यो देख्दा मेरो मन केही हलुङ्गो भयो। पाँच मिनेट उनकी बुहारीलाई सबै बताउँदै परामर्श गरिरहेँ। त्यसपछि उनले फेरि औंलाले दिसा झिक्न स्वीकृति दिइन्। यो पल्ट केही कम पीडामै बढी दिसा निकाल्न सकेँ तर मलद्वार केही अरु तन्काएँ। यो पीडादायी क्रुर तरिका थियो दिसा गराउने तर मसँग अर्को उपाय थिएन।
गएँ म बाहिर आँगनमा हात धुन स्टिलका दुई गिलास पानीले। त्यसपछि म फेरि बिरामी भएकै कोठा जान सोच्दै थिएँ तर रुमाल दिने व्यक्तिले अर्को कोठामा मालिक हुनुहुन्छ उता जाऊँ भन्दै वाणीले तान्दै लग्यो। कोठामा हिउँजस्तै सेतो धोती र कुर्ता लगाएको अधवैंसे पुरुष। निकै भद्र देखिने खुट्टामा छालाका बाटा कम्पनीका चप्पल। चियाकप देखाउँदै चिसो हुनै लाग्यो भन्दै मलाई बस्न अनुरोध भयो। हेर्छु, त्यहाँ चिया, स्टिलको बटुकामा छाली भएको दही, नजिकै दुइटा परौठा र आलुको तरकारी जिरा हालेको मलाई खानै पर्ने सर्तमा राखिएको। फसाद म अन्कनाएँ। बिरामीको छोराले त्यो नखाई जानै पाइदैन भन्दै अनुरोध गरे। अक्साना चिन्तित होलिन्, बच्चाहरु ‘पापा’ भन्दै खोज्दै होलान् भनी म चिन्तामा थिएँ। हड्बडाउँदै खानै पर्यो। फेरि हात धुने र मुख पखाल्ने कार्य अनि म फेरि बिरामीको कोठामा छिरेँ। त्यहाँ दुर्गन्धित वातावरण थियो। सायद बिरामीकी सुसारे होलिन् थुप्रै दिसा भएको छ, बाहिर गइहाल्नोस् भनी मलाई अत्याइन्। जे कुरो भयो वा भएन भनी हेर्न भित्र गएको थिएँ। त्यसको उत्तर पाएपछि मलाई भित्र पस्नुको अर्थै थिएन। खाली फाल्नु अगाडि दिसा कस्तो छ मलाई देखाउनु भनी म बाहिर निस्केँ। समय ढल्कदै थियो। साँझ पर्ला, चूक पोखेझैं अँधेरो छरिएला, मेरो मनमा त्रासले छोयो। त्यो बुझेर बिरामीको छोराले अलि पर एउटा खुट्टा फलामको मोटो सिक्रीले बाँधेको हात्ती देखाउँदै भन्यो– यसैमा जानु होला, छिटै पुगिन्छ। त्यो बीचमा मैले बिरामीको दिसा हेरिसकेको थिएँ। न आलो रगत, न अलकत्राजस्तो रङ र लेसाइलो। थिएन आउँ पनि कतै। अब बिरामीको पेट प्रायः स्याप्पै थियो। पहिले सुनेको कम संवेदनशील आन्द्राको गति सुन्दा निकै फूर्तिलो। त्यो बेलाको औषधि बारलगन र भिटाजाइम मात्रै लेखेर बसेकी केही हँसिली वृद्धालाई छाडी निस्केँ बाहिर। हात्तीमा अस्पताल सवार भएँ ढल्कदैँ तर निकै छिटो। उता बच्चा र अक्साना ‘पापा’ हरायो भनी छट्पटाइरहेका थिए। डा सिंह र हाम्रो घरका सहयोगीहरू मिली अक्सानालाई आश्वासन बाड्दै रुनमात्रबाट बचाइरहेका थिए। करिब ७ बजेको थियो। अक्साना र बच्चाहरू एकटक लगाएर अस्पतालको मुल गेटतिर एकोहोरिइरहेका थिए। एक्कासि हात्ती भित्र लम्क्यो। म अब क्वाटरको छेवैमा थिएँ। सहयोगीले डा साव आउनु भयो भनी घोषणा नै गरिदिए। अझै अक्साना र मेरा सन्तान विश्वस्त थिएनन् जब क्वाटरको अगाडि आँगनमा हात्ती गजधम्म बसिदियो र मलाई उत्रन सजिलो पार्यो। ती सबै रोऔं कि हाँसौं अवस्थामा छट्पटिन थालें।
मेरा छोरी र छोरा दुवैले सन्तोषको सास फेर्दै आफ्नो हराएको ‘पापा’ देख्न पाउँदा चोर औंला ठड्याउँदै “औन प्रियखल” (ऊ आयो रुषी भाषामा) भन्दै अक्सानालाई आश्वस्त पार्न थाले। फेरि हामी सबै सँगै भयौं। वास्तवमा यस्ता होमकल अगाडि पनि ५–७ पल्ट नै म अस्पतालमा भएको बेला आएका रहेछन् तर अक्सानाले नबुझेर डा सिंहलाई खोजेको ठान्दै पठाउने गरेको रहेछ। कसैले मलाई डा बाबु ! भनेर सोध्यो भने त्यसमा मेरो नाम नभएकाले त्यस्तो मान्छे यहाँ हुनुहुन्न, अर्कै ठाउँ सोध्नुहोस् भन्ने गरेको रहेछ। जे होस् होमकलले मेरो आर्थिक अवस्थालाई केही टेवा पुर्याउँथ्यो। होमकलमा यति देऊ भन्ने मेरो हिम्मत हुँदैनथ्यो तर हेरी हेरी १५० देखि २०० सम्म दिने गर्थे। त्यो जमानाको १५०!
हामीले खार्कोभबाट आपत्काल पर्दा प्रयोगमा ल्याउन सकिने करिब १० थरीका औषधि ल्याएका थियौं। कसैले पेट दुख्यो, झाडापखाला लाग्यो, ज्वरो आयो इत्यादि भनेमा आफैं अक्सानाले मेरो अनुपस्थितिमा खास गरेर वृद्ध तथा माग्नेहरूलाई औषधि दिने गरेको रहेछ। एक गिलास सर्वत, केही बिस्कुट दिँदै आफ्नै आँखा अगाडि औषधि खुवाउने गरेकोले पछि चिकित्सक तथा नर्सहरूले यसरी मगन्तेलाई प्रोत्साहन नदिन भने। हामीले ल्याएको औषधि पनि सकियो तैपनि उनी खास गरेर लठ्ठी टेकेर आउने वृद्ध, छाला र अस्थिपञ्जरका फु गर्दा ढल्ने जस्ता मान्छे देख्दा केही नभए कुनै एउटा फलफूल, एक गिलास नुनचिनी पानी नदिँदासम्म आँखा चिम्लेर बस्न सक्दिनथिन्। वर्षातको समय मुसलधारे पानी अक्सानाले मात्र होइन, मैले पनि पहिलो पल्ट अनुभव गरें। करिब बेलुका ४ बजेपछि कालो बादल मडारिदै मानौं ऊ हाम्रो साहस नाप्न चाहन्छ, सातो जाने गरी तर्साउन खोज्थ्यो।
चट्याब, बिजुली चम्कने, साँझ नपर्दै रातको भान हुने, हावाहुरी त्यस्तै। हामी थियौँ टुकी र लाल्टिनवाला। चट्याङ पर्दा कहिले त हाम्रै ढोकाभित्र पल्लो कोठामा छिरेर कान फुटाल्न आयो कि भनेजस्तो, अति हुँदा बच्चाहरू तर्सेर उठ्ने र रुने। अक्साना तकियाले आफ्नो टाउको छोपी दुवैतर्फ बच्चा च्याप्दै केही राहतको अनुभव गर्थिन्। सत्य भन्नु पर्दा मलाई निद्राले त्यति गहिरो साथ दिन्थ्यो कि प्रायः म अर्को बिहान राति के भयो चाल पाउँथें –अक्साना र बच्चाले गुनासो गरेपछि। जाडोमा कुकुरहरू नजिकै भएर सुतेझैं जति गर्मी भए पनि हामी सबैजना टाँसिएर एक आपसको भरमा मेघ गर्जन र चट्याब्को त्रासबाट भाग्ने देखावटी झुटो प्रयास गरेर मन बुझाउँथ्यौं।
जलेश्वर सम्झिँदा पनि अक्साना भन्छिन् झोकिएका बेला मैले कति टुकी भुइँमा बजारेर फुटाएकी छु। सलेदो तान्दा नतानिने, आधा मिटर पर केही नदेखिने टुकीको के अर्थ ? लाल्टिन केही सजिलो– प्रकाश भनेर सम्झन लायक होइन। हावाहुरी पनि सधैं धान्ने सक्ने होइन तर मट्टितेलको गन्ध कम र कालो धुँवा नछोड्ने। टुकीभन्दा त्यसैले बढी उपयोगी र स्वीकार्य!
जलेश्वरको अर्को विशेषता सर्पको बिगबिगी। रैथानेहरू त ती सर्प नै होइनन् ढडिया भन्थे तर हाम्रो सातो लिन कोब्राभन्दा कम थिएनन्। कलधाराको नगिच, आँगनमा, कम्पाउण्डभित्रै नजिकै रहेको सानो पोखरीको डिलैमा कहाँ थिएनन् ती? एउटा खैरे कुकुर मेरो परिवारको सर्पनाशका काम गर्न कहाँबाट आयो थाहा छैन। सुरुमा बच्चाहरू ‘कुकुल’ भन्दै चोर औंलाले देखाउँदै अक्सानातिर शरण लिन भाग्थे तर एक दिन त्यो खैरे कुकुरले अक्साना र सबैको अगाडि दुलोबाट भर्खरै निस्केको सर्पको पुच्छर मुखले च्याप्दै आकाशतिर हुर्याइदियो। सर्प ज्यान जोगाउँदै कुकर भएको उल्टो दिशातिर घस्रिदै विलिन भयो। मेरा सन्तान कति खुसी भए, त्यो कुकुरको विरतादेखि! प्रत्येक दिन कम्तीमा तीनपल्ट खान दिन थाले स्टिलको सानो भाँडोमा त्यो वीर कुकुरलाई। त्यसको ऋण खैरेले पुच्छर हल्लाउँदै उनीहरू क्वाटरबाट निस्कदा सँगै हिँडेर तिर्थ्यो। उसको टाउको र जिउ पनि बच्चाहरू मुसारि दिन्थे। क्वाटर उक्लनासाथ साबुनपानीले तीनतीन पल्ट हात धुन्थे।
एक साँझको दृश्य हो म आँगनमा थिएँ, हन्टिब टर्चलाइटसँगै टाढा बत्ती देखाउँदा एउटा गोमन सर्प आफ्नो फँणा फैलाउँदै जिब्रो बाहिरभित्र गर्दै उठेजस्तै गरेर मभन्दा करिब ५ मिटर पर स्थिर भएर रह्यो। ठ्याक्कै मेरो पछाडि डा.रा.ब.सिंह कहाँबाट आइपुग्नु भयो। म लठ्ठीले सर्पलाई हान्ने सुरमा थिएँ। डा सिंहले आफ्नो टर्चलाइट सर्पको टाउकोतिर ताक्दै मलाई तानेर पछाडि लैजानु भयो। गर्नै नहुने गल्ती मैले गर्न तम्सेको उहाँले बुझ्नु भयो। कोब्रा यस्तो अवस्थामा सहजै झम्टिन आउँछ रे!
कसरी हामी समय बिताउँथ्यौ जलेश्वरमा? मेरा परिवारलाई आर्मी ब्यारेकले आफ्नो ढोका सहजै खोलिदिन्थ्यो। खाली हामीले जाने इच्छामात्र देखाउनु पर्थ्यो। हस्पिटलको गाडीले हामीलाई त्यहीँ पुर्याउँथ्यो वा रसियन जीप लिन आउँथ्यो। खास गरेर उनीहरूको सांस्कृतिक प्रोग्राम हुँदा अक्साना र बच्चाहरू प्रथम दर्शक अतिथि हुन्थे...। एक दिन कुनै प्रोग्राममा एउटाले अर्कोलाई बन्दुकले हानेर मारेको अभिनय रहेछ। त्यो देख्दा मेरो छोरो डरले रोएर उफ्रेर आमाको काखमा टाँसिन पुग्यो। तुरुन्तै सिपाहीहरू आएर उसलाई काखमा लिई भुल्याउन थाले। जब त्यो मरेको अभिनय गर्नुपर्ने मान्छे बाँचेको उसले देख्यो हाँस्दै आफ्नो भुकुल्ले हातको चोर औंलाले त्यता देखाउँदै धेरै बेरसम्म केही भन्दै रह्यो ..। वास्तवमै जलेश्वरको जीवन पूर्ण अर्थमा संघर्षरत, औधी रमणीय, सौहार्द र अविस्मरणीय थियो।
(डा अर्जुनदेव भट्टको समय यात्रा (जलेश्वर—जनकपुर अस्पतालको सम्झना) शृंखला हामी नियमित प्रकाशित गर्ने छौं।)