शल्यचिकित्सक म। टीबीका बिरामी, झाडा–बान्ताका आहत र मलेरियाले काँपिरहने रोगी मात्र हेरेर चित्त बुझ्ने कुरै भएन। म आफ्नो हात काटिएको अनुभव गर्दै थिएँ। सिङ्गै दिन बहिरङ्ग विभागमा बिरामी भेटेपछि खिन्न मन लिएर क्वाटर फर्कन थालेँ। मानौं मैले केही गरेकै छैन। फर्कंदा मेरो अनुहार निलो स्वच्छ नभएर बादल दर्शाउला भन्ने मनमा डर उब्जन थाल्यो। यस्तो ठाउँमा सर्जनको के कामसमेत केही साथीले भन्न भ्याए।
भर्खर मात्रै पित्तको थैलीको पत्थरी संलग्न प्यान्क्रेआटिक ग्लाण्डको सोथमा देखिने समस्याबारे पीएचडी गर्ने सिलसिलामा ११४ पित्तथैली निकाल्ने शल्यक्रियामा भाग लिएकोले पनि म आत्मलघुता अनुभव गर्दै थिएँ। मेरो थेसिसको गाइड प्रो भ्लादिमिर तेरेनतेभिच जाइचेभले गर्ने थुप्रै शल्यक्रियामा भाग लिएर म आफूलाई जहाँ पनि शरीरमा चक्कु चलाउन सक्छु भन्ने आत्मविश्वास लिएर काठमाडौं उत्रेको थिएँ। राति सुतेका बेला हप्तामा तीन पल्टसम्म पनि डा जाइचेभसँग अप्रेसनमा सहभागी भएको सपना देख्थेँ। ऊ मलाई ‘ल यो तिमी सुुरु गर’ भन्दै छेउमा उभिन्थ्यो। म झस्केर अमिलो मन लिएर बिउँझन्थेँ।
बहिरङ्ग विभागमा बसेर सबैखाले बिरामी हेर्नु हाम्रो कर्तव्य नै थियो तर पनि मेरो आँखा, ध्याउन्न शल्यक्रियाका निम्ति को उपयुक्त हुन सक्छ भन्दै अन्वेषणमा हुन्थ्यो। कसको टाउकामा टुटिलो छ, घाँटीमा गिर्खा, कसका खुट्टाका रगतका नसा फुलेकाछन् त्यो मेरो अन्वेषणको विषय हुन्थ्यो। जति समय लागे पनि बिरामीलाई पल्टाएर, धोती, कुर्ता, कट्टु, कछाड फुकालेर नहेरुञ्जेल ती मबाट मुक्त हुन पाउँदैनथे। कतै हाइड्रोसिल छ कि? वा हर्निया फेला परिहाल्छ कि? अथवा मलद्वारबाट शल्यक्रिया गर्नै पर्ने खालका हेमारोइड (बबाशील) फेला पर्छ कि? यी मेरा खोजतलासका विषय/उद्देश्य थिए।
प्रत्येक दिन एक जना भए पनि कित टाउकोमा बोसोको पोको (सेवासियोसिस सिस्ट) भएको बिरामी पर्थेँ तर त्यो निकाल्ने कि भन्दा ती तुरुन्तै भाग्न खोज्थे मन र अनुहारमा त्रास बोक्दै। होइन भने यो जन्मेदेखिकै धनको पोको भन्दै मलाई अप्रेसनको कुरा नगर डाक्टर भनेर उल्टै तर्साउन खोज्थे। एक डेढ लिटर पानी भरिएका हाइड्रोसिल फेला पार्दा पनि यो दुख्दैन, सधैं यस्तै छ, केही हुन्न भन्दै मलाई यो ब्याधीबारे नयाँ पाठ पढाउँदै फुत्किन्थे। नाइटो वा वरिपरिका हर्नियालाई रोग गन्ने त्यहाँ चलनै रहेनछ। काछका हर्निया (इङ्गुनल इनडाइरेक्ट हर्निया) जत्रै हुन्, त्यहाँका बिरामीहरूले आत्मसात गरिसकेका हुन्थे। ती घुँडाको केही माथिसम्म पुग्दा पनि धोतीले छोपेरै सजिलै त्यसलाई बोकी केही नभएको जस्तो गरी आफ्नो कार्यमा लागिरहन्थे।
थिए कस्ता मेरा साहसी बिरामीहरू, म लोभी शल्य चिकित्सक उनीहरूको रोग खप्ने क्षमता प्रतिक्रिया देखाउने सीमा घटाउन प्रयत्नरत थिएँ। कुनै बेला म त सोच्थेँ, कस्तो म सर्जन! बहादुर, साहसी बिरामीलाई डरपोक, काँतर बनाउन इच्छुक! कतै म जन्मिँदै उल्टो पनि थिएँ कि? धेरै बिरामीको सोचाइ हर्निया अप्रेसन गर्नुहुन्न त्यसले झन् ठूलो र गारो पार्छ। त्यो धारणा लिएर बाँचेका थुप्रै पाएँ। बुझ्दै जाँदा त उनीहरूका गाउँमा दरभङ्गा गएर शल्यक्रिया गराउनेहरूका घाउ पाकेर महिनौँ दुहुनो गाई भएर उतै बस्थे ड्रेसिङ गराउँदै। अन्तमा घाउ ठिक भएपछि फर्केर आउँदा एक दुई महिनामै फेरि हर्निया देखापथ्र्यो।
जसका घाउ पाक्दैनथे, जसको फेरि हर्निया बल्झिदैनथ्यो ती व्यक्ति प्रचारमा आउने सम्भावना त न्यून हुन्छ नि। ती बाहेक दरभङ्गाका केही पेशागत इमान्दारी बेचिसकेका चिकित्सकहरूले गर्दा पनि आम मानिसमा त्यो ठाउँको उपचारमा बिरामीहरूको धारणा शङ्काले भरिएको थियो। पेटको अप्रेसन गर्दा माथिबाट अलिकता मात्र घाउ पारेर त्यसै सिलाएर पठाउँछन् भन्ने हल्ला थियो।
काठमाडौं गएर कुनै पनि अप्रेसन गराएर आएको भन्ने बिरामी मैले भेटेको थिइनँ। सक्ने बिरामीहरू बरु पटना, दिल्ली र भेलोर जान्थे। खुट्टाका नसा फुलेका रोगी कमै थिए तर त्यस्ता रोगी भेटिए पनि यो यस्तै हो नछुनुस् भन्थे। मैले हातले उनीहरूको खुट्टा छोएर जाँचे बिच्किएर उल्टै दुवै हातले मेरा खुट्टा छोएर ‘गोड लगइ छि’ भन्दै आफ्नो हात आफ्नै माथामा पुर्याउँथे।
म कहिले शल्यक्रिया गर्न सक्छु भन्ने हतारो थियो तर मभन्दा पहिला त्यहाँ शल्यचिकित्सकको खुट्टा नपरेको ठाउँ भएकोले शल्यरोग देखाउन कोही उत्सुक तथा अभिलाशित थिएनन्। म त्यहाँ काम गर्न थालेको करिब दुई हप्तापछि एउटा हाइड्रोसिल बिरामीले लामो परामर्शको अन्तमा शल्यक्रिया गर्ने विचार गर्यो तर उसको स्वीकृति लिन खोज्दा ऊ करिब अर्धवेहोस हुन खोजेजस्तो भइसकेको हुन्थ्यो।
जलेश्वरमा शल्यक्रिया अगाडि रगत–पिसाब जाँच्ने, छातीको एक्स–रे वा मुटुको जाँच तथा इसीजी गर्ने, रगतमा चिनीको मात्रा हेर्ने, रक्तसमूह छुट्याउने इत्यादि सम्भावना बिल्कुलै छँदै थिएन। मैले बिरामीलाई प्रशस्त समय लगाएर जाँच्नसम्म जाँचेँ। उसको नङ, हत्केला, जिब्रो, आँखाको परेला तलमाथि सार्दै शरीरमा रगतको मात्रा शल्यक्रिया गर्न मिल्ने तल्लो स्तरको खुड्किलो (१० ग्राम प्रति मिलिमिटर) सम्म होला कि भन्दै म आफैंसँग वादविवाद गर्थें। सोधपुछ गरेर दिसामा उसको रगत त जाने गरेको छैन? त्यो थाहा पाउने कोसिस गर्थें। दिसाको रङ कालो अलकत्रा जस्तो लेसाइलो कहिले भएको थियो कि? दिसामा आलो रगत गएको थियो कि? इत्यादि सबै रिपोर्ट मेरा मस्तिष्कमा हुन्थ्यो। बिरामीको रगतमा चिनीको मात्रा बढी छैन भन्ने अनुमान गर्न ऊ पानी प्यास कति अनुभव गर्छ, पिसाब कति पटक हुन्छ, राति पिसाब फेर्न उठ्छ कि उठ्दैन, पिसाब गरेको ठाउँमा कमिला लागेको अनुभव वा देखेको छ कि? एक्कासि तौल घटेको छ कि? जस्ता प्रश्नले बिरामी दिक्क भइसकेको थियो।
ऊ वाक्क थियो, म आएर उसको अगाडि उभिएँ। ऊ पिसाब फेर्ने निहुँले भाग्न चाहन्थ्यो। म ऊ नआउञ्जेल पर्खी बस्थेँ। सोच्दै, यो शल्यक्रिया बिरामीलाई होइन, मलाई पो चाहिएको रहेछ अनि हाँस्न मन हुन्थ्यो तर डाक्टर पागल भएछ भन्लान् भन्ने डरले मनमनै खित्का छुटाउँथेँ! हाँस्थेँ! म आफ्नै कार्य र अधैर्यप्रति व्यङ्गय गर्दै। यो सबै थियो तर अति गोप्य अड्डाबाट आएका लाहाछाप लागेका खामभित्रका पत्रजस्तै। स्टेथेस्कोप आला छातीमा अगाडि पछाडि राखेर, खोक्न लगाएर नथाकुञ्जेल छातीभित्रका ध्वनि सुन्ने गर्थेँ। किनकि टीबीका बिरामी देख्दा म औधी सतर्क थिएँ।
तराईमा प्रायः सबै मानिस दुब्ला कतै टीबी बोकेर हिँडिरहेका छैनन्? सबैमा शङ्का। मेरो बिरामी ४५ वर्षको, बिरामीको भनाइ अनुसारको हो त्यो उमेर तर भनेको उमेरको खासै विश्वस्तता हुँदैन। त्यो थाहा पाउन मलाई एक हप्ता भए पुग्यो। त्यसैले रक्तचाप र मुटु मलाई राम्ररी अध्ययन गर्नुपर्ने थियो। म केही समय मेडिकल इन्स्टिच्युटको तेस्रो वर्षको विद्यार्थीमा परिणत भएँ। मैले मुटुको किनारा–सिमाना (बोर्डर) कहाँसम्म पुगेको छ, त्यो आँैलामाथि औंलाले ट्वाकट्वाक गर्दै थाहा पाउने निर्णय गरेँ।
छैन एक्स–रे, गरुँ के त अब? मुटुको टुप्पो र माथिल्लो भागतिर स्टेथेस्कोप राख्दै मुटुका भल्ब साँघुरिएका वा लुज भएका छन् कि त्यो मुटुबाट निस्केको ध्वनि रगतको बेगसँग निस्किने आवाजबाट निर्णय गर्न बाध्य भएँ। सबै ठिक पाएपछि मैले आफ्नो बिरामीलाई मेरा तर्फबाट शल्यक्रिया गर्नका निम्ति उपयुक्त उम्मेदवार सम्झें। ऊ भर्याङ उक्लिँदा स्वाँस्वाँ गर्दैनथ्यो। पूर्ण रूपमा गहिरो श्वास लिँदा र पूरा श्वास बाहिर फाल्दा फोक्सोको तलमाथि गर्ने किनारा उत्तम थियो। सबै अवस्थामा मुटुको चाल नियमित हुन्थ्यो।
मैले बिरामीलाई उसको इच्छा अनुसार कुन दिन शल्यक्रिया गराउने मन छ त्यो दिन नै गरौंला भनेर सुनाएँ। निर्णय लिएपछि शल्यक्रियाको दिन तोकेर एक दिन अगाडि भन्न अनुरोध गरेँ। अस्पतालमा खाली शड्ढया प्रशस्त भएकाले मैले बिरामी अगाडि नै भर्ना गरेँ। परिचारिकासँग आफैं थुप्रै पटक शल्यकक्ष सफा गर्ने काम र औजार निर्मलीकरण गरेको अवलोकन गरें। फरमालडिहाइडले शल्यकक्ष पुछ्दै दुई दिन पूर्ण रूपमा बन्द गरेरै राख्यौं। हन्टिङ टर्चलाइटको प्रयोग गरेर अण्डकोषमा टाँस्दै रातो गुलाफी रङको दृश्य दोहोर्याएर हेरेँ। त्यहाँ कुनै शुक्रग्रन्थी क्यान्सरको सम्भावना मेरो नजरमा देखा परेन। प्रत्येक दिन तीन पल्ट बिरामीलाई भेटेर कुरा गर्थें। उसका कुनै पनि प्रश्नको जवाफ दिन्थें। कहिले शल्यक्रिया गर्ने त्यो पनि प्रश्न गर्थें। जवाफ उधारै थियो। ऊ भोलि भनँुला मात्रै भन्थ्यो। मैले कुन कुरामा बिरामी चिन्तित छ र किन ऊ अप्रेसनको समयबारे निर्णय लिन सकिरहेको छैन, त्यो घुमाएर बुझ्न परिचारिकालाई आग्रह गरें तर सिष्टर पनि यो कुरो बुझ्न खासै सफल भएको पाइनँ। अर्काे दिन बिहानको राउण्डमा बिरामीलाई आजकै दिनमा कहिले अप्रेसन गर्ने निर्णय गरेर १२ बजे दिउँसोसम्म भन्न अनुरोध गरेँ। बिरामी र उसका दुई पारिवारिक सदस्यले पनि हुन्छ भने। नभन्दै ११ बजे बिहान एक सिष्टर मेरो बहिरङ्ग विभागमा आएर बिरामीले भोलि अप्रेसन गर्ने निर्णय लिएको सुनाइन्।
मैले सो बमोजिम पूर्ण तयारी बिहान ९ बजेलाई सम्पूर्ण टीम– १ मेडिकल अफिसर र दुई जना परिचारिका तयार हुन भनेँ। ८ बजे बिहान बिरामीलाई नयाँ लुगा लगाएर (गाउन औपचारिक सफा लुगा) तयार पारेर राखेका थिए। मुटुको चाल, शरीरको तापक्रम र रक्तचाप सबै ठिक अवस्थामा थियो।
८ः३० बजे बिरामीलाई शल्यकक्षमा छिराएर रौं खौरने कार्य गरियो। बिना बेहोस गराई अप्रेसनस्थल मात्र अचेत गरेर शल्यक्रिया गर्ने भए पनि बिहानै ५ बजेपछि बिरामीलाई पानी नपिएर बस्न भनिएको थियो। परिचारिका र मेडिकल अफसरले हात धोएर निर्मलीकरण गरिएका लुगा लगाएर शल्यकक्ष प्रवेश गरेपछि म हात धुन र निर्मलीकरण गरिएको गाउन लगाउन निस्केंँ।
यो छोटो अवधिमा महत्वपूर्ण घटना घटेः
बिरामीले यही क्षणमा प्रश्नको शृङ्खला उठायो–
१. यहाँ कत्तिका अप्रेसन हुन्छन् ?
२. दुख्छ कि दुख्दैन ?
३. कतिबेर लाग्छ ?
४. धेरै त दुख्दैन ?
५. रगत धेरै बग्छ कि कसो ?
प्रश्नको लहर उब्जेको देखेर कुनै व्यक्तिले इमान्दारीपूर्वक जवाफ दिन सुुरु गरेछ। उसको अप्रेसन यो ठाउँमा पहिले हो कसरी थाहा पाउने दुख्छ वा दुख्दैन, कति समय लाग्छ सिद्धिएपछि थाहा होला। यो उत्तर पाएपछि बिरामी एक्कासि उठेर पिसाब फेर्ने भन्दै हातमा लगाएको इन्जेक्सन निकाल्न भन्दै कराएर आफैंले फुत्तै निकालेर शल्यकक्षबाट बाहिरियो। त्यसबेला आईभी ड्रीप सोझै सुइरोले नै लगाउनु पर्ने हुन्थ्यो। आईभी क्यानुला थिएनन्। अलिकति तान्दा त्यो र्सुइ त्यसै निस्कन्थ्यो। यो अप्रत्यासित बिरामीको क्रियाकलापले सबै खिन्न थिए। शल्यकक्षभित्र म छिरेँ, हेर्छु मुर्दा शान्ति! शान्त भएर सबै घटना सुनेपछि मैले सबैलाई सम्हालिन र बिरामीको आदर गर्न भनेँ।
त्यसपछि गाउन निकालेर बिरामीलाई भेट्न गएँ जुनसुकै कारणले किन नहोस् तपाईंलाई अप्रेसन गराउन मन छैन भने कुनै करकाप छैन। तपाईँ अस्पतालबाट निसङ्कोच बिदा भएर जान सक्नुहुन्छ। हामी एकछिनमै कागजपत्र तयार गरिदिन्छौं तर म दोहोर्याउँछु कुनै सङ्कोच नलिनुस्। भविष्यमा शल्यक्रिया गर्ने निर्णय भएपछि कुनै बेला पनि आउन सक्नुहुन्छ तर भित्री मनले निर्णय लिएपछि कसैको करकापले होइन। हामी तपाईँको स्वागत गर्नेछौं।
बिरामीले दुई हात जोडेर माफ गर्न भन्यो। मैले उसलाई माफी माग्नु पर्दैन, आफू तयार नभई अप्रेसन गर्न जानु हुन्न भनेँ। डरको कारणले त्यस्तो हुन पुग्यो भनेपछि म झन् ऊप्रति सहानुभूतिपूर्ण भएँ। डरमुक्त नहुञ्जेल अप्रेसन नगर्न पनि सल्लाह दिएँ।
बहिरङ्ग विभागमा एक घण्टा बसेर म नयाँ योजना मनमनै सोच्दै थिएँ, एक्कासि अञ्चलाधीश कार्यालय जाने र भेटेर मन साट्ने विचार आयो। तुहाइएको प्रथम शल्यक्रियाको तितो अनुभवको भारी बोक्दै अञ्चलाधीशज्यूको अगाडि बसेको छु। दूध हालेको हेर्दै मिठो चिया मेरो अगाडि राखियो। मैले पिउन सुरु गरेँ र एक घुट्को निलेपछि कसरी मेरो शल्यक्रिया आज तुहियो सुनाउन थालेँ। यही क्षणमा एक वृद्ध व्यक्ति आइपुगे भित्र। सुरुवाल, कमिज र टोपीमा ती व्यक्तिको सुरुवाल बाहिरबाटै केही ठूलो पोकोभित्र झण्डै दाहिने घुँडासम्मै फैलिएको देखिन्थ्यो। ती वृद्ध अलि कुप्रा पनि थिए। उनको प्रत्येक पाइलामा म शल्यबिरामीको लक्षण नियाल्न उद्यत थिएँ। बाहिर निस्कनु अगाडि झ्याल नजिकै तिनले तीनपल्ट खोके। खोक्दा उनले आफ्नो बायाँ हातले त्यो सुरुवालभित्रको पोको खुब बल लगाएर थिचेको प्रष्ट देखिन्थ्यो।
मैले अञ्चलाधीशज्यूलाई प्रश्न तेस्र्याएँ। यी वृद्ध को हुन्? उनको ठूलो हर्निया छ जस्तो छ। त्यो त शल्यक्रिया गरे पूर्ण रूपमा निको हुने रोग हो। जवाफमा उहाँले ती वृद्ध व्यक्ति माली भएको र लामै समयदेखि हिँड्दा, खोक्दा पेटबाट डल्लो तल झर्ने रोगबाट पीडित भएको बताउनुभयो। सबै कुरा बुझेपछि शल्यक्रिया गर्न मिल्ने यकिन गर्न साथमै अस्पताल लैजान्छु भन्दा ती वृद्ध र अरु सबै खुसी भए। अस्पताल लगेर ती वृद्ध व्यक्तिको मैले फेरि मेडिकल इन्स्टिच्युटको तेस्रो वर्षको नियम अनुसार सबै परीक्षण गरेँ।
काछको ठूलो हर्निया पल्टिएको बेला पूर्ण रूपमा पेटभित्र छिथ्र्याे। लामो समयदेखि पीडित। कुनै काम गर्न लाग्दा, खोक्दा, हाच्छिउँ गर्दा, पिसाब फेर्दा, अलिकति बल गर्दा वा दिसा कब्जियत भए निकै सास्ती भोग्नु पथ्र्यो। त्यसैले सक्दो छिटो अप्रेसन गराउन उनी राजी थिए। अञ्चलाधीशज्यूको सहमतिमा दुई दिनपछि मैले उनको शल्यक्रिया गरेँ।
दुई दिन ढिलो गर्नुको कारण पनि त्यो बेला अस्पतालमा भर्ना गराएर बाहिर निस्केको हर्निया भित्र पठाएर त्यो नयाँ वातावरणमा उनलाई बानी पार्नु थियो। उनी पटुका बाँधेर दिसापिसाब गर्दा हातले यो ठाउँ थिचेर हर्निया झर्न रोक्दथे। उनी मानसिक रूपमा निश्चिन्त थिए तर मैले के पाएँ भने उनी आफैं अभिप्रेरित थिए।
‘म मर्दैन, खाली यो दुलो टाली दिनुहोस्। बरु म जे पनि सहन्छु, तपाईँ पीर नमान्नुहोस् म डराउने मान्छे होइन।’ यसो भन्दै उनी मलाई पो बढी ढुक्क हुन र साहस बटुल्न सहयोग गर्थे।
शल्यकक्षको सरसफाइमा हामीले राम्रो पूर्वाभ्यास (रिहर्सल) गरिसकेकाले थोरै समयमै सबै तयारी पूर्ण भयो। भनेकै दिन शल्यक्रिया भयो। मैले पूर्वानुमान गरेभन्दा अप्रेसन पनि धेरै गुना सजिलो लाग्यो। बिरामी ज्यादै सहनशील। प्रत्येक पटक म उसलाई केही असुविधा छ कि सोधिराख्थेँ। पीर नमान्नेुहोस्, गारो भए म भन्छु भन्दै बिरामी उल्टै मलाई सहयोग पुर्याउँथ्यो।
हर्नियाको थैलो काटेर अलग गरेपछि प्रोलिन धागोले सिलाउँदै, इन्ग्युइनल क्यानल पछाडिको भागलाई मरमत गरेर टाल्दै बलियो बनाए। फाससिया र दुइटा मांसपेसीका तल्ला भागलाई प्रोलिनले राम्ररी लिएर इन्ग्युइनल लिगमेन्टसँग जोडेँ। यो हर्निया मध्येमा टेढो (इनडाइरेक्ट हर्निया) थियो। त्यसैले मैले त्यो बेलाको ज्यादै प्रख्यात र प्रचलित बासिन तरिकालाई अपनाएँ। यसरी तीन तहले प्वाल टालेपछि अब फेरि दोहोरिँदैन भन्नेमा म ढुक्क थिएँ। त्यो बेला जालीले टाल्ने उपाय नै विकास भएको थिएन। मेरो बिरामीको हर्निया नदोहोरिएला भन्नेमा म आशावादी थिएँ
किनकि–
१. शल्यक्रिया ज्यादै राम्रो भएको थियो
२. बिरामी सचेत भएकोले शुरुको तीन महिना गरुङ्गो नउठाउने, खोकी भए तुरुन्त उपचार गर्ने, दिसापिसाब सुचारु राख्न बल नगर्न सबै प्रयत्न अपनाउने इत्यादि। यी सबै कुरा बिरामीले पालना गर्नेछन् भन्नेमा विश्वस्त थिएँ।
काछको टेढो वा अप्रत्यक्ष हर्निया भनेको अण्डकोषतिर रगत लैजाने रक्तनसा, अण्डकोष उठाउने मांसपेसी जाने प्वाल ढोकाको छेउ भएर जाने हुन्छ। यस्तो थैलीभित्र आन्द्रा वा पेटभित्र हुने बोसो छिर्न सक्छ। यसरी छिरेको अङ्ग कुनै कारणले फेरि फर्केर पेटभित्र छिर्न वा फर्कन नसकेको अवस्था आए वा हर्नियाको थैलोभित्र छिरेको आन्द्राको रक्तसञ्चारमा कमी आए आन्द्रा मृत्यु हुने, कुहिने हुन्छ। यही कारणले नै अप्रत्यक्ष हर्निया बढी खतरनाक हुन्छ। मैले जनकपुर जलेश्वरमा हर्निया शल्यक्रिया गर्ने समयमा अप्रेसनपछि प्रायः बिरामीलाई एक हप्ता बस्नसम्म नदिएर सुताएरै राख्ने चलन थियो। यो अवैज्ञानिक नियम थियो। पछि विस्तारै यो नियम संशोधन भयो। हाल अप्रेसन गरेको दोस्रो बिहान नै बिरामीलाई हामी हिँडाउने गर्छौँ। सायद त्यो बेला हामी डराएर हिँड्न दिँदैनथ्यौं।
मेरो जलेश्वरको पहिलो बिरामीलाई चौथो दिनमा हिँड्न सुझाएँ। ऊ त केही कुप्रेर (त्यसै पनि ऊ कुप्रो नै हो दाहिने हातले पट्टी भएको ठाउँ हलुका समर्थन दिँदै झ्यालसम्मै पुग्यो। यी सबै मैले आफ्नो र परिचारिकाको अगाडि गर्न लगाएको थिएँ। शल्यक्रिया गरेको दस दिनमा उसको टाँका निकालेँ, घाउ राम्रो जुटेको थियो। धन्यवाद मेरो बिरामीलाई जसको खुब हिँड्ने र काम गर्ने बानी, सकारात्मक सोच, खोकी नहुनु, मधुमेहको रोग नभएको अवस्था र केही हदसम्म पेन्सिलिन सूक्ष्म जीवाणुनाशक औषधि जो अलेक्स ज्यान्डर फ्लेमिङले लण्डनमा पत्ता लगाएका थिए। दोस्रो विश्वयुद्धमा यो औषधिले लाखौंको ज्यान बचाएको थियो युद्धको घाउ पाक्न नदिएर।
अप्रेसन गरेको ११ दिनपछि बिरामी घर गयो। यो शल्य उपचारले उसलाई निकै सहज पारेको थियो हिँड्न तर मलाई भने त्यो अप्रेसनले ‘पहिलो हुन नसकेको शल्यक्रिया’को कारण खुलायो। म बढी अनुभवी भएँ। मानौं उसले जलेश्वर अस्पतालका ढोका सबै शल्य बिरामीहरूका लागि पूर्ण रूपमा उघारेर गयो। मैले ठूलो पाठ सिकेँ, सुरुको समयमा शल्यक्रियाका निम्ति बिरामी छान्दा स्वअभिप्रेरित (सेल्फ मोटिभेटेड) लाई प्राथमिकता दिनुपर्छ। शङ्कालु, डराउने, अस्थिर मन भएका, स्वनिर्णय लिन हिच्किचाउनेजस्ता बिरामीलाई भरसक पहिलो शल्यक्रियाका निम्ति त्यो पनि मजस्तो शल्यचिकित्सकले पहिला खुट्टा नटेकेको ठाउँमा प्राथमिकता दिनु असफलतातिर आफूलाई धकेल्नु हो।
अञ्चलाधीश कार्यालयकै बिरामी, त्यसमा पनि वृद्ध, कुप्रो, ठूलो प्रायः सबैले बाहिरबाट अड्कल काट्न सक्ने पोको भएको व्यक्ति ठिक भएर १५ दिनपछि काममा फर्केको देख्दा सबै तीन छक थिए। मेरो प्रचार र विज्ञापन यति धेरै हुन थाल्यो कि म आफैं आश्चर्यमा डुबेँ। मैले त सिर्फ हर्नियाको अप्रेसन गरेको थिएँ तर केके न गरेकोजस्तो प्रचार। जुन प्रचार/प्रसार रेडियो र टीभीमा लाखौं खर्च गरेर पाइँदैन। त्यो म बिना पैसा प्रत्येक दिन लामो समयसम्म पाउँदै गरेँ। धन्य त्यो जुरेको सञ्जोग!
अर्को आश्चर्यको समय, एक महिनापछि म सधैंझैं बहिरङ्ग विभागमा बिरामी हेर्दैछु। टुप्लुक्क मेरो अगाडि शल्यकक्षबाट डराएर पिसाब फेर्ने निहुँले भागेको बिरामी दुई हात जोड्दै रोलाजस्तो अनुहार गरेर प्रार्थना गर्न खोज्दैछ। ‘मेरो पनि शल्यक्रिया गरिदिनुस्, भूल भयो माफी पाऊँ’ मैले बिरामीसँग धेरै कुरै नगरेर भनेँ बिल्कुलै माफी माग्नु पर्दैन। लिनुहोस् कागज भर्ना हुनुहोस्। ऊ तीन छक पर्यो। खुसी भएर तुरुन्तै भर्ना भयो। दुई दिनसम्म परिचारिका, डाक्टरहरू र अरु स्वास्थ्यकार्यकर्ता उसलाई देख्दा आश्चर्यचकित भए।
हामी सबैले उसलाई मानौं पुरानो सम्झना हामीमा छैन, हृदय खोलेर स्वागत गर्यौं। दुई दिनपछि अप्रेसन भयो। मलाई लाग्यो त्यो मान्छे रूपमा मात्र पहिलेको छ तर व्यवहार र मानसिक अवस्था अर्कै। डर, शङ्का, निर्णय लिन नसक्ने मस्तिष्क–मन, हिच्किचाहट कुन्नि कता फालेर आयो। कसरी ऊ यति फरक हुन सक्यो! बरु यो बिरामीमा मैले आफ्नो कमजोरी पढ्न, अनुभूतिगर्न भ्याएँ। मलाई त्यो बेला दुवैतिर ठूलो हाइड्रोसिल हुँदा एउटै घाउ बनाएर अप्रेसन गर्ने आँटै थिएन। गर्न त मैले दुवैतिर अप्रेसन गरेँ तर दुई घाउबाट। जे होस् ऊ शल्यक्रिया हुँदा ज्यादै सहयोगी थियो। दुखेको छ वा केही गाह्रो छ भनी सोध्दा ‘अलि असजिलो हुन्छ नि केही खास छैन’ भनेर जवाफ दिन्थ्यो।। उसका घाउहरू पनि राम्रै गरी जुट्दै गए। कोरुगेरेड ड्रेन दुई दिनमा निकालेपछि ऊ निकै हिँड्ने गर्थ्यो। १२ दिनमा मात्रै मैले टाँका निकाल्ने हिम्मत गर्न सकेँ। १४ दिनको दिन निकै खुसी भएर घर गयो सायद अहिले भएको भए म दोस्रो दिनमा एउटा घाउसहित घर जान भन्थेँ होला। म त्यस बेलासम्म त्यति ठूला दुवैतिरको हाइड्रोसिलको कल्पनासम्म गर्न नसक्ने ठाउँमा थिएँ। उसले मलाई निकै अनुभवी बनायो।
धेरै कुरामा ऊ मेरो गुरु नै हो! बिरामीभन्दा बढी खुसी हाम्रो सम्पूर्ण शल्यटिम थियो त्यो बिरामीलाई शल्यकक्षमा पाउँदा। अब हामीलाई हप्तामा २/३ अप्रेसनको खाँचो हुन छोड्यो। हाम्रो टिममा डा रामबहादुर सिंह, सिभिल सर्जन पनि समावेश हुनुभयो। यसले मलाई दुई हातको सट्टा चार हात भएको अनुभूति गरायो। म अब जलेश्वर गएर काम गर्न पाएकोमा गौरव गर्ने भएँ।