वि.सं. २०७८ को दशैं र तिहारको समयमा विभिन्न राष्ट्रिय पत्रिकाहरूमा मदिराजन्य पदार्थका विज्ञापनहरू पूर्ण पृष्ठमा छापिए। उक्त विज्ञापनहरू जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ (१) तथा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ दफा ५ को उपदफा १(छ) विपरीत रहेको भनि विज्ञापन बोर्डले सो किसिमको विज्ञापन नगर्न/नगराउन र सो किसिमको विज्ञापन रहेको बोर्ड समेत हटाउन सूचित गर्दै २०७८ कार्तिक २५ गते प्रेस विज्ञप्ति निकाल्यो। सोभन्दा अगाडी यसै खालका विज्ञापनहरू नछापिएका भने होइनन्।
वि.सं. २०७९ जेठ १३ गते प्रेस काउन्सिलले नेपालको एउटा राष्ट्रिय दैनिकको सम्पादकका नाममा भ्रामक शीर्षक राखी प्रकाशन गरिएको एक सामाग्रीको सन्दर्भमा स्पष्टीकरण पत्र काट्यो। प्रेस काउन्सिलले उल्लेख गरेको कारणहरूमध्ये एक थियो उक्त सामग्री जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ (२) विपरीत देखिनु। वास्तवमा उक्त सामग्री एक मदिराको सम्बन्धमा लेखिएको थियो। काउन्सिलले स्पष्टीकरण पत्रमा उल्लेख नगरे पनि उक्त सामग्री जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ (१) विपरीत पनि रहेको थियो। २०७९ भाद्र र असोजमा सोही पत्रिकासहित अन्य विभिन्न पत्रिकाहरूका कभर पेजमा विज्ञापन बोर्डको प्रेस विज्ञप्तिको अवहेलना गर्दै मदिराहरूको पूर्ण पृष्ठका विज्ञापनहरू छापिए। सोही विरुद्द परेको रिटमा सर्वोच्च अदालतले २०७९ फाल्गुन ११ गते विज्ञापन नगर्न अन्तरिम आदेश जारी गर्यो र सोही आदेशमा टेकेर विज्ञापन बोर्डले २०७९ फाल्गुन २८ गते प्रेस विज्ञप्ति जारी गर्यो। ती विज्ञापनहरू अझै पनि ती पत्रिकाका इ-पेपरहरूमा देख्न सकिन्छ।
यी सम्पूर्णमा मुख्यतः पत्रपत्रिकाहरूलाई लक्षित गरिएका थिए। मदिराको विज्ञापन विरुद्द लेखिएका लेखहरू पनि प्राय: पत्रपत्रिकालाई नै लक्षित गरेर लेखिएका हुन्छन्। मदिरा उत्पादकहरू ले अपनाएका पत्रिकाभन्दा धेरै प्रभावकारी र उमेरको खासै हद नभएका विज्ञापनको अन्य माध्यमहरूका बारेमा पर्याप्त बहस गरिँदैन। सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढिरहेको छ। यस्तो अवस्थामा कुनै पनि विज्ञापनको लागी यो एक राम्रो ‘प्लेटफर्म’ हो र मदिरा उत्पादकहरूले यसको राम्रो सदुपयोग गरेका छन्। फेसबुक र इन्स्टाग्राममा विभिन्न मदिराको ब्राण्डका नाममा आधिकारिक चिन्ह भएका पेजहरू छन्। यी पेजहरूले समय समयमा मदिराका तस्विरहरू अपलोड गरी “पेड प्रोमोशन” गर्ने गर्छन्। कतिले त तस्बिरसँगै मदिरा सेवन गर्न प्रोत्साहित गर्ने किसिमका वाक्यहरू र रमाइला मिमहरू बनाई पोष्ट गर्ने गरेका छन्। कतिले आफ्नो पेजबाट लक्की ड्र जस्ता खेलहरू खेलाएको नि देख्न सकिन्छ जसले त्यसको विज्ञापन झनै बढाउँछ। ती पेजहरूमा दर्शकको उमेरको कुनै हदबन्दी छैन। ती पेजले अपलोड गर्ने तस्बिरहरूमध्ये अधिकांशमा न उत्पादकको नाम, ठेगाना हुन्छ, न अल्कोहलको मात्रा, न कुनै स्वास्थ्य चेतावनी। कतिपयले त उल्टै “बियरले खराब कोलेस्ट्रोल घटाउँछ” जस्ता अधुरो र भ्रामक सन्देशहरू दिने गरेका छन्।
स्पोंसरशिप, मदिरा व्यवसायीहरूले आफ्नो मदिराको विज्ञापनको लागी अपनाउने अर्को उपाय हो। एक-दुई वर्ष अगाडि राष्ट्रिय स्तरको खेल भइरहेको स्थानमा खुल्लमखुल्ला मदिराका ब्यानरहरू देख्न सकिन्थ्यो। केही कपहरूको त नाम नै मदिराको नामबाट राखिएका थिए। अचेल सरकारले नै रोक लगाएको हुँदा यस्ता किसिमका विज्ञापनहरू देखिएका छैनन्। तापनि विभिन्न सांगीतिक कन्सर्ट र केही अन्य इभेन्टहरु को स्पोन्सरका रूपमा विभिन्न मदिरा ब्राण्डका नामहरू देख्न सकिन्छ। कन्सर्टको प्रचार प्रसारका लागी ठाउँ ठाउँमा होर्डिङ बोर्ड र पोस्टरहरू लगाइन्छ, माइकिङ गरिन्छ जसले कन्सर्ट सँगसँगै मदिराको विज्ञापन पनि गरिरहेको हुन्छ।
सरकारले मदिराको विज्ञापन गर्ने होर्डिङ बोर्ड राख्न निषेध गरेपनि वास्तविकता फरक छ। अझै पनि राजमार्ग वरिपरि, रक्सि पसलको बोर्डमा, विभिन्न होटेल अगाडि त्यस्ता होर्डिङ बोर्डहरु राखिएको देख्न सकिन्छ। टेलिभिजनमा विज्ञापन गर्न नपाए पनि कम्पनीले आफ्नो ब्राण्डको नाममा युट्युब च्यानेल खोलेर “चिसो चिसो पानी” र “सारंगी” जस्ता गीतहरूका माध्यमबाट मज्जाले विज्ञापन गरिरहेका छन्। यी गीतहरूमा नाच्ने गाउने मोडेलहरूलाई धेरैले पछ्याउने गरेका छन्। विभिन्न नेपाली चलचित्रहरूमा कलाकारहरूले रक्सि खाइरहेको दृश्यमा ब्राण्डको नाम प्रष्ट देख्न सकिन्छ। यस्ता किसिमका विज्ञापनहरूले नयाँ प्रयोगकर्ता बनाउन विशेष भूमिका खेल्छन्।जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४५ (१)मा “मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न नपाइने” उल्लेख छ भने ४५ (२)मा “मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न नपाइने” उल्लेख छ।
विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को दफा ५(१)(छ) ले प्रचलित कानुनले विज्ञापन गर्न निषेध गरेको विषयमा विज्ञापन गर्न बन्देज लगाएको छ भने दफा ९ मा विज्ञापनमा विज्ञापन कर्ताको नाम, ठेगाना तथा चेतावनिमुलक संदेश उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ। यस ऐन अनुसार विज्ञापन भनेको “कुनै वस्तु, सेवा, कार्यक्रम वा अवसरको बारेमा छापा, विद्युतीय माध्यम, अनलाइन, सामाजिक संजाल, होडिङ बोर्ड, बेलुन वा कुनै संरचना लगायतका माध्यमबाट सार्वजनिक रुपमा प्रचार प्रसार गरिएको वा प्रचार प्रसार गर्न तयार गरिएको शब्द, वाक्य, चित्र, तस्विर, संकेत, पोस्टर, पर्चा, प्रकाश, चिन्ह, संरचना वा जुनसुकै किसिमको श्रव्यदृश्य” हो। तसर्थ यस ऐनले सामाजिक संजालका पोष्टहरु, स्पोनसरशिपका होर्डिङ बोर्ड र साथै प्रचारप्रसारका उद्येश्यले लेखिएका मदिराको ब्राण्ड सम्बन्धी समाचारहरुलाई पनि विज्ञापन मान्दछ। हाल यस किसिमका विज्ञापनविरुद्द नियामक निकायद्वारा कुनै कदम चालिएको देखिँदैन।
विज्ञापनकर्ताले मदिरालाई विभिन्न रीतिरिवाज र पर्वहरूसँग जोडेर विज्ञापन गर्दा मदिरा सेवन गर्नु बिस्तारै हाम्रो संस्कृति नै बन्दै गइरहेको छ। दशैँ तिहारमा परिवारसँगै बसेर रक्सि सेवन गर्नु, रमाइलो भनेकै साथीभाईसँगै बसेर रक्सि नै खानु, घुम्न जाँदा रक्सि खान अनिवार्य जस्तै हुनु इत्यादि परिवर्तनहरू आएको धेरै भएको छैन र यी परिवर्तनहरूमा विज्ञापनको ठूलो हात छ। यी सम्पूर्ण माध्यमबाट गरिने विज्ञापनहरू पूर्णरुपमा बन्द नगरिएसम्म उपरोक्त ऐनहरूको उद्देश्य पुरा हुने छैन।
राघवेन्द्र मिश्र