युरोलोजिस्ट भन्नाले मुत्र रोग विशेषज्ञ बुझिन्छ। जसले महिला, पुरुष, बच्चा तथा वृद्धको मुत्र प्रणालीका अंगहरु (जस्तैः मिर्गौला, मुत्र बाहिनी नली, मुत्रथैली, मुत्रनली र लिङ्ग) सम्बन्धी रोगको निदान र उपचार गर्छन। यसबाहेक प्रजनन प्रणाली र एड्रिनल ग्रन्थीसम्बन्धी अवस्थालाई पनि उपचार गर्ने गर्दछन्।
युरोलोजिस्ट र नेफ्रोलोजिस्टमा के भिन्नता छ?
यी दुवै जना मिर्गौला रोग विशेषज्ञ हुन् तर नेफ्रोलोजिस्ट भन्नाले साधारण भाषामा मिर्गौला रोगको फिजिसियन हुन् भने युरोलोजिस्ट भन्नाले मुत्र प्रणाली सम्बन्धी रोगको सर्जन।
कस्तो अवस्थामा युरोलोजिस्टलाई कन्सल्ट गर्नुपर्छ?
१. पिशाब सम्बन्धी समस्या (जस्तैः छिटो-छिटो पिसाब लाग्नु, पिसाब पोल्नु, राति धेरै पटक पिसाब लाग्नु, धारा मसिनो आउनु, राम्ररी ननिख्रिनु, पिसाब निकाल्न पेटको बल लगाउनु ईत्यादी)
२. पुरुष वा महिलामा पिसाब चुहिने समस्या
३. पिसाबमा रगत देखिनु
४. कोखा अथवा तल्लो पेट दुख्नु
५. कोखा दुखाई, पिसाबमा रगत संगै ज्वरो तथा वान्ता आएमा युरेटर (मुत्र बहिनी नलीमा पत्थरी हुन सक्छ)
६. मिर्गौलाको पत्थरी देखिएमा
७. प्रोस्टेटको समस्या
८. पिसाबको संक्रमण देखिएमा
९. यौन समस्या (इरेकटाइल डिसफन्सन/लिङ्ग उत्तेजना मा समस्या, सिघ्र स्खलन)
१०. पुरुषमा बाँझोपनको समस्या
११. मुत्र प्रणालीको क्यान्सर (मृगौला, मुत्र थैली , मुत्र नली, लिङ्ग, प्रोस्टेटको क्यान्सर)
१२. लिङ्ग तथा अन्डकोष वरिपरि समस्या देखिएमा (छालामा खटिरा, हर्निया, हाइड्रोसिल),
१३. महिलामा पिसाब पोल्नु, कोख दुख्नु र पुसाब चुहिने समस्या भएमा ),
१४. बच्चामा पिसाबको मसिनो धारा आउनु, तल्लो पेट दुख्नु र ज्वरो आउनु,
नोट: पिसाब भनेको युरोलोजी हो, तसर्थ महिला होस् या पुरुष, बच्चा होस् कि बृद्ध पिसाबसम्बन्धी कुनै किसिमको समस्या देखिएमा युरोलोजिस्टसँग सल्लाह लिनुपर्दछ।