हरेक वर्ष अगष्त महिनाको १ देखि ७ तारिख (तदनुसार साउन १६–२२) सम्म विश्वव्यापी मुलुकका साथै नेपालमा पनि ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिवद्धता’ भन्ने नाराकासाथ विश्व स्तनपान सप्ताह मनाइदै छ। विश्व स्तनपान सप्ताहको मुख्य उद्देश्य स्तनपानलाई विश्वव्यापी रुपमा प्रवद्र्धन गरी विश्वभरीका आमा, शिशु तथा बालबालिकाको स्वास्थ्य सुरक्षा गर्नु हो। आमा तथा शिशुको सर्वोपरी स्वस्थ जीवनका लागि स्तनपानको महत्वबारे व्यापक चेतना अभिवृद्धि गर्न व्यक्ति, परिवार, समुदाय, स्वास्थ्य शिक्षा सेवा, कार्यस्थलमा समेत शिशुलाई स्तनपानमा सघाउन सम्पूर्ण सरोकारवालाहरुलाई आव्हान गरिएको छ।
स्तनपान: शिशु जन्मनासाथ एक घण्टाभित्रै आमाको बिघौती दूध ख्वाउनु र शिशुले मागे अनुसार तथा आमालाई महशुस भएसम्म २४सै घण्टा कम्तीमा ६ महिनासम्म आमाको दूध मात्र चुसाउनुलाई ‘प्रचुर मात्रामा स्तनपान’ भनिन्छ। अर्थात् शिशुलाई कम्तीमा दुई वर्षसम्म नछुटाइकन चुसाउनुलाई नै स्तनपान भनिन्छ। शिशुका लागि पोषिलो, सुरक्षित, रोगसंग लड्नसक्ने क्षमता भएको, सुरक्षित तथा तयारी खाना एवम् शक्तिको सर्वोत्तम श्रोत नै स्तनपान हो।
ऐतिहासिक पृष्ठभूमि: सन् १९९२ देखि हरेक वर्ष अगष्त महिनाको १–७ तारिखसम्म स्तनपान सप्ताहलाई विश्वव्यापी रुपमा मनाउन शुरु गरिएको हो। सन् २०१६ देखि विश्व स्तनपान सप्ताह र दिगो विकास लक्ष्यको सहकार्य शुरु भयो र सन् २०१८ मा विश्व स्वास्थ्य संघीय साधारण सभाले विश्व स्तनपान सप्ताहलाई स्तनपान प्रबर्धनको महत्वपूर्ण रणनीतिको रुपमा अनुमोदन गरेको हो।
विश्वभरीका ५ जना बालबालिकाकमध्ये ३ जनाले जन्मेको १ घण्टाभित्र स्तनपान गर्न पाएका छैनन्। कुपोषणका कारणले वर्षेनी विश्वका ४५ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ भने करिब ४४ प्रतिशत शिशुले मात्र ६ महिनासम्म र प्रचुर मात्रामा स्तनपान गर्न पाउँछन्। स्तनपानको प्रभावकारी प्रबर्धन गरेमा जन्मेदेखि २३ महिनासम्म सम्पूर्ण शिशुले स्तनपान गर्न पाउने र हरेक वर्ष विश्वभरका ५ वर्षमुनीका करिब ९ लाख बालबालिकालाई बचाउन सकिन्थ्यो। यदि जन्मेदेखि २३ महिनासम्मका सवै बालबालिकालाई राम्ररी स्तनपान गराउन सके उनिहरुको बौद्धिक क्षमतामा सुधार, विद्यालयमा उपस्थिति बढ्नुका साथै वयस्क उमेरमा उच्च आम्दानी गर्न सक्ने थिए।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ तथा स्वास्थ्य सेवा विभागको २०७७/७८ को प्रतिवेदन अनुसार नेपालका ५६ प्रतिशत र जन्मेदेखि ६ महिनामुनिका करिब ३६.९ प्रतिशत शिशुले मात्र प्रचुर मात्रामा र ५६ प्रतिशत बालबालिकाले मात्र स्तनपान गर्न पाउँछन्। भने ११.२ प्रतिशत शिशु जन्मदै कमतौल (२५०० ग्रामभन्दा कम) भएका छन्, ६ देखि २३ महिनासम्मका ६९ प्रतिशत बालबालिका रक्तअल्पता भएका छन्। ५ वर्ष मुनिका बालबालिकामध्ये ३६.९ उमेर अनुसार तौल नपुगेका, २५ प्रतिशत ख्याउटे, ३६ प्रतिशत बामपुड्के, १० प्रतिशत उचाइ अनुसार दुब्लो (लुरे), २९ प्रतिशत उमेर अनुसार कम तौल भएका छन्।
स्तनपानको महत्व: स्तनपानले शिशुलाई स्वास–प्रश्वास, किटाणु तथा जिवाणुको संक्रमण, पेटमा हुने संक्रमण, मधुमेह२ एवम् कतिपय क्यान्सर हुनबाट बचाउँछ भने उमेर बढ्दै गएपछि दम, मोटोपनजस्ता स्वास्थ्य समस्याको जोखिमलाई न्यून गराउँछ। सुत्केरी हुनासाथ स्तनवाट निस्कने पहिलो, पहेंलो, बाक्लो बिघौती दूधमा शिशुको शुरुका ६ महिनाका लागि सम्पूर्ण बृद्धि-विकासमा आवश्यक कार्बोहाईड्रेट, प्रोटिन, बोंसो, भिटामीन तथा खनिज पौष्टिक पदार्थ सही मात्रामा पाइन्छन्। आमाको दूध शिशुका लागि अत्यन्त सफा, स्वच्छ, पोषणयुक्त र रोग प्रतिरोधक क्षमता भएको पूर्ण खाना हो। आमाको दूध तैयारी अवस्थाको, शिशुले चाहेसम्म जुनसुकै वेला सजिलै ख्वाउन सकिन्छ। आमाको दूध ख्वाउँदा मुख, दाँतको समस्या नआउँने, बोली चाँडो आउँने र शरीरको राम्रो बृद्धि विकास हुनुका साथै मृत्यु हुने जोखिम पनि कम हुँदा आमाको दूधलाई अमृत अर्थात् शिशुको पहिलो खोप समेत भनिन्छ।
त्यस्तै स्तनपान गराउने आमालाई सुत्केरी हुनासाथ पाठेघर खुम्च्याउन मद्दत गरी रक्तश्राव हुनबाट बचाउँछ भने स्तन, गर्भाशयको क्यान्सर टाइप२ मधुमेह र सुत्केरी पछि मनोरोग हुनबाट बचाई आमा तथा शिशुबीच मायाँ ममता र प्रगाढ सम्बन्ध कायम राख्न सघाउँछ। प्रचुर मात्रामा स्तनपान गराइरहेकी आमालाई सुरक्षित र प्राकृतिक रुपमा गर्भान्तर गर्न सघाउँछ भने परिवार नियोजनका साधन प्रयोग गर्ने पर्दैन।
स्तनपानका फाइदा:
१. नवजात शिशुका लागि आमाको दूध नै सर्वोत्तम पाेिषलो खाना हो। आमाको दूधमा शिशुको चौतर्फि बृद्धि विकासका लागि आवश्यक सवै पोषक तत्व पाइन्छन्।
२. स्तनपानले शिशुलाई कतिपय आकस्मिक तथा दीर्घ रोग लाग्नबाट बचाउँछ। आमाको दूध मात्र खाएका शिशुलाई मोटोपन,श्वासप्रश्वास, झाडापखाला, निमोनिया, टाइप१ मधुमेह, पेट, कानको संक्रमण तथा अकस्मात शिशुको मृत्युजस्ता समस्याको जोखिम कम हुन्छ।
३. स्तनपान गराएका शिशुलाई आमाको दूधबाट रोग प्रतिरोधात्मक क्षमता प्राप्त हुने हुँदा विभिन्न रोगबाट बच्न सकिन्छ।
४.आमाको दूध तैयारी अवस्थाको र भरपुर पोषक हुने हुँदा बोतल अथवा फर्मूला दूधजस्तो कृत्रिम पदार्थ ख्वाउनु पर्दैन। यसो हुँदा आमाले कहीँ यात्रा गर्दा, मेलामा समेत सजिलै र ढुक्कसंग स्तनपान गराउन सक्छन्।
५.गर्भावस्थामा मधुमेह (जेस्टेसनल डाइबिटिज) भएमा शिशु जन्मेपछि पहिलो छ महिनासम्म प्रचुर मात्रामा स्तनपान गराएमा शिशुमा देखिने सम्भावित मोटोपना आफै हराउँछ।
६. स्तनपान गरेका शिशुको बौद्धिक क्षमता तिक्ष्ण हुन्छ। अतः उनिहरु पढाईलेखाईमा पनि तिक्ष्ण बृद्धिका हुने हुँदा आमाको दुध चुस्न नपाएका शिशुको तुलनामा लामो समयसम्म आमाको दुध चुस्न पाएका शिशुको ३० वर्षको उमेरसम्म वौद्धिक क्षमता र शैक्षिकस्तर समेत बढ्छ, फलस्वरुप अर्थोपार्जन गर्नसक्ने बुद्धिजिवी हुन्छन्।
स्तनपानमा देखिएका समस्या: नेपालका महिलाको शैक्षतस्तर कमजोर, चेतनाको कमी, परिवार, समाजमा स्तनपान सम्बन्धी रुढीवादी परम्पराले असहयोग, नकारात्मक र अस्वस्थकर संस्कार छँदैछ। पहिलोपटक सुत्केरी भएका धेरैजसो महिलालाई स्तनपानको महत्वबारे ज्ञान, धारणामा परम्परागत शैली,साल ननिस्केसम्म दुध चुसाउन नहुने, जन्मनासाथ शिशुलाई स्तनपानको सट्टा घिउ, मह, चिनी, सख्खर ख्वाउने प्रचलन छँदैछ। शुरुमा स्तनपान गराउँदा दूध कम आए पनि नछोडिकन नित्य चुसाउँदै जाँदा दूध आउन थाल्छ भन्ने चेतनाको कमीले गर्दा परिवारबाट काममै जोड दिने, कम दूध आएको वहानामा नचुसाउने, अरु सुत्केरीलाई चुसाउन लगाउने, एकातिरको स्तन मात्र चुसाउने, जहाँ, भएपनि टुसुक्क बसेर, वा उठेरै स्तनपान गराई काममा हिड्ने अनुचित चलनले ठूलो समस्या उत्पन्न भएको छ भने बढ्दो र विग्रदो शहरीकरण, देखासिकीले सुत्केरी समस्या उत्पन्न भएका छन् भने बजारमा स्तनपानलाई प्रतिस्थापन गर्ने सेरेलेक, ल्याक्टोजिन जस्ता हानीकारक पदार्थको उपलब्धताका कारणले पनि प्रभावकारी स्तनपानमा अनगिन्ती समस्या छन्।
प्रायजसो नवसुत्केरीहरुले स्तनपान गराउने सही तरिकाको ख्यालै नगरी दुध चुसाईरहँदा शिशुले पूर्णरुपमा दूध खान पाउँदैन र अघाउँदैन, स्तनको मुन्टो धसिएको, सानो हुनु, स्तनपान गराउँदा स्तनको मुन्टो (निपल) वरिपरिको कालो भाग शिशुको मुखभित्र पस्ने गरी नचुसाउनु, आमाका हातका औंलाले दुधको मुण्टो थिचि सजिलोसंग स्तनपान नगराउनाले स्तनले शिशुको नाक थिचेर श्वास फेर्न नसकि मृत्युसमेत हुन सक्छ। स्तनपान गराउँदा आरामकासाथ नबस्ने, चेतनाको कमीले पहिलो दूध पातलो हने, बाक्लो दूध आउन एकछिन समय लाग्ने, एकपटकमा एकातिर कम्तीमा १५ मिनटसम्म चुसाई पालैपालोसंग अर्को दुध चुसाउनु पर्नेमा कामको बोझ वा लाजले गर्दा पहिलो पातलो दूधमात्र चुस्न पाएको शिशुले बाक्लो दूध आउने बेलामा चुस्न नपाई अघाउनै पाउँदैन।
गर्भावस्थामा दुधको मुन्टो धसिएको भए तेल लगाई आफै विहान/साँझ तन्काउनु पर्छ। यसोृ गर्दा मुन्टो (निप्पल) माथि उठ्छ र शिशुले चुस्न सक्छ। स्तनको मुन्टो वरिपरिको कालो भाग शिशुको मुखभित्र पूरै पस्नेगरी चुसाएमा मात्र पूर्णरुपले चुस्न सक्छ।
स्तनपान प्रबर्धनमा सरकारी कार्यक्रम: नेपाल सरकारले स्तनपानलाई प्रतिस्थापन गर्ने वस्तुमा प्रतिबन्ध लगाउने कानुन वनाएको छ तर कार्यान्वयन पक्ष अत्यन्त फितलो छ। पोषण कार्यक्रममा संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) र अमेरिकी सहयोग नियोग (युएसएआईडि)ले सहयोगी संस्था देखिन्छन्, सुआहारा कार्यक्रम लागु भएको तीन वर्ष पुगेको छ, तर सुनौला हजार दिनमा शिशुको अवस्था वर्षेनी खस्कदो मात्र नभई कुपोषित बालबालिकाको संख्या वर्षेनी बढ्दो छ। विश्व स्तनपान सप्ताहमा (अगष्त १–७ ) सम्म एउटा ब्यानर टागिन्छ, कार्यक्रम गरे पनि तारे होटलमा १–२ घण्टाको कार्यक्रममा सिमित हुन्छ।
स्तनपान प्रवर्धन अभियान:
१. स्तनपानमा सहयोग र सुविधा: संघ/संस्थामा कार्यरत सुत्केरी आमालाई अन्तरराष्ट्रिय श्रम संगठनको कानून/निर्देशिका अनुसार आवश्यक विदा, कार्यकक्षमा स्तनपान कक्ष तथा परिवारका सदस्यहरुले आमा तथा शिशुको चाहना अनुसार जन्मेको ६ महिनासम्म प्रचुर मात्रामा र कम्तीमा २ वर्षसम्म स्तनपानमा सघाउनु पर्छ।
२. स्तनपान प्रवर्धनमा राज्यको सहयोग: जन्मनासाथ आमाको नाङ्गो छातीमा टाँसेर स्तनपान गराउन सुरु गर्ने, एकपटकमा कम्तीमा १५/१५ मिनेट गरी ३० मिनेटसम्म दुवै दुध चुसाएपछि शिशुलाई घोप्टो पारी छातीमा टाँसेर पिठ्युमा थमथमाउनु पर्छ, यसो गर्दा शिशले डकार्छ र वान्ता गर्ने डर पनि हुँदैन भन्ने शिक्षा सन्देशसहित राज्यका ७ सय ५३ स्थानीय तहका सम्पूर्ण सरोकारलवालाहरुको संलग्नतामा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलगायत अन्य जनशक्तिलाई अभिमूखिकरण प्रदान गरी समुदायस्तरसम्म सही किसिमबाट व्यापक रुपमा स्तनपानको प्रवर्धन गरिनु पर्दछ। स्तनपानमा प्रभावकारी सहयोग गर्न प्रतियोगितात्मक सडकनाटक, लेख, कविता, निबन्ध, स्थानीय शैक्षिक तथा जानकारी मूलक कार्यक्रम गरिनु पर्छ।
३. आमाको दूधलाई प्रतिस्थापन पदार्थ प्रतिवन्ध: सरकारले स्तनपानलाई प्रतिस्थापन गर्ने बजारमा सेरेलेक, ल्याक्टोजिनजस्ता विभिन्न दुग्ध पेयपदार्थ बिरुद्ध अनुगमन बढाई कृत्रिम पदार्थको विक्री वितरणमा पूर्णरुपमा रोक लगाउनु पर्दछ।
४.स्तनपान र मात्रृ–शिशुको पोषण: किशोरी, गर्भवतीलाई पोषिलो खाना तथा सुत्केरीलाई स्तनपानबारे राम्ररी शिक्षा दिनु पर्दछ। पोषण नै स्वास्थ्यको बलियो आधार भएकाले गर्भवती र सुत्केरीलाई घरमा वनाइने दाल, भात, गेडागुडीको रस, ज्वानोको झोल, हरियो तरकारी/सागपात र मौषम अनुसारका फलफूल तथा भएसम्म दूध,अण्डा, माछा–मासु आदि पोषिलो खानेकुरामा बढी जोड दिनु पर्दछ। साथै ६ महिनाको वरिपरि शिशुलाई स्तनपानका साथै घरमै तयार गरिएका दाल, भात, गेडागुडी, दूध, अण्डा, राम्ररी पकाएको माछा,मासुको रस, फलफूल विस्तारै खुवाउन सुरु गर्नुपर्छ। विरामी परेमा पनि शिशुले चाहेजति नरम र झोलिलो खानेकुरा खुवाउनु पर्छ।
५. स्तनपानमैत्री कार्यस्थल प्रवर्धन अभियानः कामकाजी सुत्केरी आमालाई कार्यस्थलमै कामकासाथै स्तनपानमा ध्यान दिन यस वर्षको नाराले आव्हान गरेको छ। अतः आमासमूह, गर्भवती, सुत्केरी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, अभिभावक, नागरिक समाजका सदस्य सवैले कामकाजका साथै शिशुलाई कार्यकक्षमै स्तनपान कक्षको अनिवार्य स्थापना गरी सही तरीकाले, सही मात्रामा स्तनपानका लागि कार्यकक्ष नजिकै स्तनपान कक्ष प्रवर्धन गरिनु पर्छ।
(लेखक अर्याल स्वास्थ्य प्रबर्धन विशेषज्ञ हुन्)