एकातिर पानी पर्नासाथ पहिरो गई सडक अवरुद्ध हुन्छ भने अर्कोतिर स्वास्थ्य संस्था नै जोखिमपूर्ण स्थानमा बनाइएका छन्।
बाह्रबिसे (सिन्धुपाल्चोक) - २०७७ साल भदौ २७ गते मध्य राती आफ्नो नवजात शिशुलाई दुध खुवाउन उठिन्, सिन्धुपाल्चोकको घुम्थाङ, नागपुजेकी ३४ वर्षीया सरिता थापा। तीन चार दिनदेखि लगातार पानी परिरहेको थियो। एक्कासी बाहिर ठूलो आवाज आयो। छिमेकीहरु चिच्याएको सुनियो।
बाहिर निस्किएर हेर्दा ठूलो पहिरो खसिरहेको थियो। उनी आत्तिइन्, कराइन्। के गरुँ कसो गरुँ भयो। २० दिनकी सुत्केरी उनी काखे छोरालाई लिएर सकी नसकी कुद्न थालिन्। उनी खेतको कान्लै कान्ला भागिन्।
‘मलाई भाग्न धेरै गाह्रो भएको थियो। तान्नु भएको मलाई सबै जनाले भाग्न नसकेर। बाबु लिएरै बारी बारी भागेँ,’ पहिरो गएको ठाउँ नजिकै ३ वर्षपछि कुरा गर्दै उनले भनिन्।
त्यस दिन नागपुजे पहिरोमा ३१ जनाले ज्यान गुमाएका थिए। १३ जना बेपत्ता भए भने ४० घाइते भएका थिए।
पहिरोले उनको घरमा क्षति नगरेपनि दुधे शिशुलाई लिएर उनले त्यो रात खेतमै बिताउनु पर्यो। पहिरोको कारण ढुंगा खस्ने क्रम नरोकिएपछि उनी घरबाट करिब १० किलोमिटर टाढा बलेफी गाउँपालिका, जलबिरेमा रहेको माइत गइन्। जलबीरेमै उनले उपचार गरिन्। फेरि पहिरो आउने डरले उनी एक महिनासम्म नागपुजे फर्किनन्।
अहिले पनि ठूलो पानी पर्याे भने पहिरो आउँछ कि भन्ने डर लाग्छ उनलाई। भन्छिन्, ‘पानी ठूलो आयो भने डर लाग्छ अहिलेसम्म पनि। राति झन् डर लाग्छ।’
नेपालको जटिल भौगोलिक अवस्था र बर्खाका कारण वर्षेनि बाढी पहिरोमा परी धनजनको ठूलो क्षति हुने गर्छ। विपदका कारण कैयौँले ज्यान गुमाउँछन् भने कैयौँ घाइते हुन्छन्। विपदमा सबल व्यक्तिको तुलनामा वृद्धवृद्धा, अपाङ्ग र सुत्केरी महिला बढी जोखिममा हुन्छन्। विपदको मारमा पर्ने सिन्धुपाल्चोकजस्ता बहुप्रकोपबाट उच्च प्रभावित जिल्लामा घाइते र जोखिम समूहका लागि राज्यले स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नुपर्ने हो।
तर विपदपछि अग्रपंक्तिमा रहनुपर्ने अधिकांश स्वास्थ्य संस्था नै जोखिमपूर्ण स्थानमा बनाउने गरिएको विभिन्न अध्ययनले देखाएको छ।
सिन्धुपाल्चोक जिल्लाका कुल १३० स्वास्थ्य चौकीमध्ये ७६ स्वास्थ्य चौकीमा पुग्न कच्ची बाटो प्रयोग गर्नुपर्ने जुन बर्खामा नचल्ने सिन्धुपाल्चोकको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० मा जनाइएको छ। जुगल गाउँपालिकाको स्वास्थ्य चौकीमा त झन् सडक नै पुगेको छैन। उक्त प्रतिकार्य योजना अनुसार जिल्लामा पहाडी ७१ प्रतिशत, लेकाली भूभाग १८ तथा टार, वेसी र समथर भूभाग ११ प्रतिशत छ। २०७८ सालको जनगणना अनुसार सिन्धुपाल्चोकमा २ लाख ६२ हजार ८५२ जनसंख्या छ । बाह्रबिसे नगरपालिकामा ११ हजार ९८० पुरुष र १२ हजार १७८ महिला गरी कुल २४ हजार १५८ जनसंख्या छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको प्राविधिक सहकार्यमा २०७८ सालमा सिन्धुपाल्चोकको भौगर्भिक अध्ययन गरेको थियो। सो अध्ययन अनुसार बाह्रबिसे नगरपालिकाका कुल ८३ वस्तीमध्ये ५१ वस्तीका १ हजार ७४७ घरधूरी पहिरोको जोखिममा छन्। ५१ वटा वस्तीमध्ये १६ उच्च, २६ मध्यम र ९ वस्ती न्यून जोखिममा छन्।
बाह्रबिसे नगरपालिकामा वडा नं १ घोर्थली, वडा नं २ कर्थली, वडा नं ३ र ४ बाह्रबिसे, वडा नं ५ र ६ गाती, वडा नं घुम्थाङ, वडा नं ८ मानेश्वारा र वडा नं ९ राच्चे गरी ९ वटा वडा छन्। उक्त प्रतिवेदन अनुसार २, ३, ५, ६, ७, ८ र ९ गरी ७ वडाहरु पहिरोको उच्च जोखिममा छन्।
वडा नं ७ मा पर्ने घुम्थाङमा नागपुजेमा शहरी स्वास्थ्य केन्द्र भएता पनि त्यहाँ सामान्य उपचार मात्र हुन्छ। नागपुजेवासी उपचारका लागि बाह्रबिसे नगई धर छैन। तर त्यहाँ पनि प्राथमिक स्वास्थ्य केन्द्र मात्र छ।
नागपुजेबाट बाह्रबिसे पुग्न गाडीमा एक घण्टा र हिँडेर दुई तीन घण्टा नै लाग्छ। नागपुजे जाने बाटोमा गाडीको सुविधा नभएको होइन। तर यो बाह्रैमास चल्दैन । खासगरी बर्खामा ठाउँ ठाउँमा झर्ने पहिरोले अवरोध गर्छ। जसको असर साना बच्चा भएका महिला र वृद्ध वृद्धाहरुलाई बढी पर्छ।
बाह्रबिसे नगरपालिकाका कुल १४ वटा स्वास्थ्य संस्थामध्ये एउटा प्राथमिक स्वास्थ्य केन्द्र, पाँच स्वास्थ्य चौकी, तीन आधारभूत स्वास्थ्य केन्द्र, तीन शहरी स्वास्थ्य इकाई र दुई सामुदायिक स्वास्थ्य केन्द्र छन्। तर सबैमा सडक सुविधा छैन। वडा नं २ को बुधेपा स्वास्थ्य चौकी, वडा नं ८ को मानेश्वारा, वडा नं ५ को गाती स्वास्थ्य चौकीमा कच्ची सडक भएकाले वर्खामा नचल्ने प्रतिकार्य योजनाले नै औँल्याएको छ।
तर वडा नं ६ गातीमा रहेको स्वास्थ्य चौकी मात्र विपद्को जोखिममा रहेको नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजकुमार पौडेलले बताए। अत्यधिक जोखिम भएको भन्दै स्वास्थ्यकर्मी समेत त्यहाँ जान नमान्ने उनी बताउँछन्।
‘कुनै वस्ती नै बाढी पहिरोको उच्च जोखिममा छ भने स्वास्थ्य चौकी मात्र जोखिममा पर्दैन भन्न चाहिँ मिल्दैन,’ उनले भने ।
भीरको बाटो
नागपुजेमा पुग्न झोलुङ्गे पुल तरेर ३० मिनेट भीरको बाटो हिँड्नुपर्छ। त्यही बाटामा आठ महिने छोरीलाई पछाडि बोकेर हिँड्दै थिइन्, २४ वर्षीया प्रविता श्रेष्ठ।
२०७७ सालको नागपुजे पहिरोले उनको घर मात्र बगाएन, सासु पनि बेपत्ता भइन्। श्रीमान घाइते भए। पहिरोबाट बचेर भाग्न लाग्दा श्रीमानको खुट्टा र ढाडमा चोट लाग्याे । त्यो बेला पनि उपचार गर्न बाह्रबिसे नै पुग्नु परेको उनी सुनाउँछिन्।
पहिरोपछि बनाइएको प्रविता श्रेष्ठको घर र साथमा उनको आठ महिने छोरी। तस्विर : कमला गुरुङ बाह्रबिसेमा राम्रो स्वास्थ्य सेवा नभएकै कारण छोरीलाई जन्माउन काठमाडौंको प्रसुति गृह पुगेको बताइन्। बच्चाको फोक्सोमा पानी जमेका कारण बाह्रबिसे प्राथमिक स्वास्थ्य चौकीले उनको सुत्केरी गराउन नमानेपछि काठमाडौँ लगियो।
कतिपयले पहिरोको जोखिमका कारण परिवार नै अन्तै राखेका छन्। २०७७ सालमा नागपुजेमा पहिरो गएपछि नागपुजेका ३५ वर्षीय खड्ग बहादुर भण्डारी श्रीमती र दुई छोरीलाई बनेपा पठाएका छन्।
‘मेरो परिवार बनेपा लगेर राखेको छु। पहिरो आउने बेलामा मेरो बच्चा यहीँ थियो। धन्न केही भएन,’ लामो सास फेर्दे उनले भने।
नागपुजे निवासी खड्ग बहादुर भण्डारी। विपद्मा हुने स्वास्थ्य समस्या र जोखिमका भुक्तभोगी उनले छिमेकीको शव आफैँले उठाए। घाइतेलाई स्ट्रेचरमा राखेर बाह्रबिसेसम्म पु¥याए। पहिरो उनको घरभित्रसम्म पस्यो। तर घर पहिरोले बगाएन। उनको मोबाइलमा पहिरो आउन सक्ने पूर्व सूचना आएता पनि विनाशकारी पहिरो जाला भन्ने उनले सोचेका थिएनन्।
घुँडेवासीको पीडा
बाह्रबिसे नगरपालिकाको वडा नं ८ को घुँडेमा ४५ घरधूरी छ। यहाँ गाडी नियमित चल्दैन। आरुखर्कसम्म सडक पिच भएपनि घुँडे पुग्ने बाटो पुरै कच्ची छ। त्यो पनि बर्खाको बेला त हिलाम्य नै हुन्छ।
घुँडे बस्ती जाने कच्ची बाटो । स्वास्थ्य उपचार गर्न होस् या कुनै किनमेलका लागि, बाह्रबिसे हिँडेरै पुग्नुपर्ने बाध्यता छ घुँडेवासीको। वडा नं ९ राम्चेमा सामुदायिक स्वास्थ्य इकाई नभएको होइन। तर त्यहाँ रुघाखोकी, ज्वरो, टाउको दुखेको मात्र उपचार हुन्छ।
घुँडेका २७ वर्षीया सोनुमाया तामाङ काखमा ११ महिनाको बच्चालाई बोकेरै बाह्रबिसे पुग्छिन्। बिहानै घरबाट निस्कदा बेलुकी मात्र घर आइपुग्ने उनले बताइन्। बर्खाको बेला बाटो चिप्लो हुने भएकाले चिप्लेर लडिएला कि भन्ने उनलाई डर लाग्छ। आफ्नो भन्दा पनि काखे छोरीको चिन्ता लाग्ने उनले बताइन्। घर नजिकै सबै सुविधा भएको स्वास्थ्य सेवा भए सहज हुने उनी बताउँछिन्।
घुँडेकै ५७ वर्षीय जितबहादुर तामाङ अहिले पनि उपचार गर्न तीन घण्टा हिडेर बाह्रबिसे पुग्ने गरेको सुनाउँछन्। गाउँघरमा कोही बिरामी भए डोको वा स्ट्रेचरमा आफैँले पनि बाह्रबिसेसम्म पु¥याउनको उनी बताउँछन्।
उपचार गर्न तीन घण्टा बढी पैदल हिडेर बाह्रबिसे पुग्नुपर्ने गुनासो गर्दै घुँडेबासी।
बाह्रबिसे नगरपालिका नै बाढी पहिरो जस्ता विपद्को जोखिममा पर्ने नगरपालिकाका विपद् शाखाका फोकल पर्सन दुर्गाप्रसाद भण्डारी बताउँछन्। उनका अनुसार जोखिममा पर्नेमध्ये १२३ घर पुनर्निर्माण गर्नुपर्ने र १४३ घर परिवार पुनःस्थापना गर्नुपर्ने देखिएको छ। जसमध्ये वडा नं ७ को टंसार वस्तीका सबै १४ घर परिवारलाई नगरपालिकाले डाँडा गाउँमा पुनःस्थापित गरिएको छ। एक परिवार बाहेक अन्यको घरहरु लगभग तयार भइसकेको उनले बताए।
पहिरोको उच्च जोखिममा रहेको नागपुजे वस्तीको १२ घरधुरीलाई पुनःस्थापना गर्ने निर्णय भइसकेको उनले बताए। बाँकी ८६ घरको पुनर्निर्माण हुँदैछ।
वडा भित्रको वस्ती पहिरोको जोखिममा पर्ने भएपछि स्वास्थ्य संस्था जोखिमबाट अछुतो रहन नसक्ने भण्डारी बताउँछन्।
भन्छन्, ‘स्वास्थ्य संस्था पनि जोखिममै हुन्छ। किनभने पहिरो आएपछि यता पनि बाटो छैन। उता पनि बाटो छैन भने स्वास्थ्य संस्था जाने ठाउँ हुँदैन।’
चार वर्षमा ७५ जनाको मृत्यु, ५९ जना बेपत्ता
सिन्धुपाल्चोकमै किन हुन्छन् बढी विपदका घटना ? धेरै वर्षा हुनु, खुकुलो माटो, अव्यवस्थित पानी निकासी (सडक र बस्तीमा), भूकम्प, चिरा परेका चट्टान, चिराहरुको अवस्थिति, सडक कटान, भिरालोपन, भिरालो जमिनको फेदी कटान, बाढी जाने भूभागमा वस्ती विकास, ग्रामीण सडक निर्माण आदिका कारण यस्तो भएको भौगर्भिक अध्ययन प्रतिवेदनले देखाएको छ।
गत चार वर्षमा जिल्लामा बाढी र पहिरोमा परी ७५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७९/८० सम्म पहिरोमा परी ६९ जनाको मृत्यु, ३७ घाइते र ३८ जना बेपत्ता भएका छन्। सोही अवधिमा बाढीमा परी ६ जनाको मृत्यु, ६ जना घाइते र २१ जना बेपत्ता भएका थिए।
जिल्ला विपद् व्यवस्थापन समितिसँग बाढी पहिरो जस्ता विपद्बाट हुने घटनाको विवरण छैन। विपद्जन्य घटनाको सबै विवरण प्रहरीसँग लिने गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी निराजन श्रेष्ठले बताए।
सिन्धुपाल्चोकमा इन्द्रावती, भोटेकोशी, ब्रम्हयणी, सुनकोशी, मेलम्ची, सिन्धुखोला, गोहारेखोला, झयाँडीखोला, हाँडीखोला, महादेवखोला, तौथलीखोला र बाफलखोला प्रमुख नदीहरु हुन्।
प्रतिकार्य योजनाका अनुसार सिन्धुपाल्चोक जिल्लाभर पहिरोका कारण हरेक वर्ष करिब ४ हजार २ सय घर परिवार प्रभावित हुन सक्ने र करिब ९ सय घर परिवार उच्च जोखिममा रहेका छन्। हरेक वर्ष ९५० परिवार बाढीको जोखिममा हुन सक्नाले उनीहरुलाई केन्द्रविन्दुमा राखी पूर्वतयारी, खोज तथा उद्दार र प्रतिकार्य योजना तयार गरिएको हुन्छ। यस वर्षपनि तीन हजार जनसंख्या बाढी, दुई हजार पहिरो र ४१ हजार १७० जनसंख्या भूकम्प तथा अन्य प्रकोपबाट प्रत्यक्ष प्रभावित हुन सक्ने अनुमान छ।
पूर्व तयारीभन्दा प्रतिकार्यमा जोड
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० मा विपद्बाट हुने क्षतिमा कमी ल्याउन बस्ती समुदायस्तरसम्म विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता विकासका लागि गाउँपालिका तथा नगरपालिकाको वडा तहसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
जोखिमका बावजुद पूर्वतयारीमा नगरपालिका खासै केन्द्रित भएको देखिँदैन। पूर्व सूचना प्रणालीको विकास गरेको, जोखिममा रहेका व्यक्तिहरुलाई विपद्बाट बच्न सतर्कता तालिम दिएको नगरपालिकाको दाबी छ। तर नागपुजे, घुँडे वस्तीका स्थानीयले हालसम्म पूर्व सतर्कता तालिम नपाएको बताउँछन्। यो सँगै विपद्मा सबैभन्दा बढी समस्या पर्ने सक्ने भन्दै गर्भवती महिला, बालबालिका, अपांग र ज्येष्ठ नागरिक सहितको गरी हालसम्म ५ सय जनाको सम्पर्क नम्बर नगरपालिकाले राखेको छ।
तत्काल कुनै विपद् आए वडा नं ५ मा ४० जना व्यक्ति बस्न मिल्ने आपतकालीन आश्रय स्थल भवन तयार रहेको नगरपालिकाले जनाएको छ। जसमा गर्भवती महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिइएको उनले बताए। प्रतिकार्य स्वरुप हालसम्म ५४ जनालाई खोज उद्दार र प्राथमिक उपचारसँग सम्बन्धित तालिम दिइएको श्रेष्ठले बताए।
बाह्रबिसे नगरपालिका आफैँमा विपद्को जोखिममा भएपनि जनप्रतिनिधिले सडक, खानेपानी, भवन जस्ता भौतिक पूर्वाधारलाई मात्र विकासको रुपमा बुझ्ने गरेको उनी बताउँछन्। वस्ती संरक्षण तर्फ जनप्रतिनिधिको चासो कम भएको उनको अनुभव छ। विपद् व्यवस्थापनका लागि गत वर्ष र यस वर्ष एक एक करोड विजियोजन भएको छ। तर उनका अनुसार यो बजेट पर्याप्त छैन ।
‘पुनःस्थापना र पुनर्निर्माण गर्न चार करोड पैसा लाग्छ। पुनर्निर्माण, पुनःस्थापना र जग्गा खरिद गर्न पनि यही पैसाबाट गर्नुपर्छ,’ उनी भन्छन्, ‘विपद्मा परेका भौतिक संरचनाको क्षतिलाई सुचारु गर्न पनि यही पैसाभित्रबाट व्यवस्थापन गर्नुपर्छ।’
प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयबाट प्राप्त १० लाख रुपैयाँबाट खोज उद्दारका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरिएको उनले बताए। वडा नं ४ को सानो पहिरोले विपद्को रुप लिए वडा नं ९ को एक सय घरधूरी र ४ का चार सय घरधूरी प्रभावित हुन सक्छन्। यस्तो जोखिम बाह्रबिसेमा धेरै भएकाले बेलैमा पूर्व तयारी र प्रतिकार्य जरुरी हुने उनी बताउँछन्।
नेपालको संविधानको धारा ३५ ले स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गरेको छ। स्वास्थ्यमा सर्वव्यापी पहुँचको उद्देश्य लिइरहँदा यहाँका स्थानीयहरु भने बर्खा लागेपछि स्वास्थ्य सेवाबाटै हुने अवस्था छ।
नागपुजे पहिरो गएको स्थानबाट करिब १५ मिनेटको दूरीमा ३५ वर्षीया माइली लामाको घर छ। उनको घर छेवैमा करिब पाँच मिनेटको दूरीमा एउटा खोला पनि छ। त्यही खोलामा बाढी पहिरो आउने हो कि भन्ने डर माइलीको मनमा सधैँ रहन्छ।
‘हामीले केही पनि सोचेको छैन। पहिरो आइहाल्यो भने मर्छ भन्ने मात्र सोचेको छ। माथिबाट कतिखेर पहिरो आउने हो भन्ने डर लाग्छ,’ उनले भनिन्।
(प्राक्टिकल एक्सनको सहकार्यमा तयार पारिएको रिपोर्ट )