अस्पतालको प्राङ्गणमा १२-१५ वर्षको नानीले आफ्नी हजुरआमालाई डोर्याएर घर जाने अटोरिक्सा खोज्दै गर्दा नानीले बोकेको औषधि बारे सोधेँ। औषधिको खोल र बट्टामा मार्करले बनाएको डल्ला देखाउँदै भनिन् 'यो १ पटक, यो २ पटक, यो ३ पटक खाने र ७ दिनपछि निको नभए फेरि आउनु भन्नुभएको छ।
बिहान ६:३० बजे तातोपानी र कालो चिया पाउने ठाउँ खोज्दै गरेको एकजना बिरामी कुरुवाको दुखेसो थियो, 'वार्डमा काम गर्नेहरुले टिकटक बनाउने, हल्ला गर्ने र बिरामीले केही भनेपछि रिसाउने झर्किने गर्दा रहेछन्। बाथरुम ट्वाईलेट फोहोर छ, पिउने पानीको व्यवस्था रहेनछ, बिरामीका कुरुवा भर्याङ र प्यासेजमा बस्नुपर्ने रहेछ, लामखुट्टे र गन्धले हैरान पार्यो।'
'लामो लाइन पार गरेर २ वटा मात्र औषधि लिन पाइयो ४ वटा औषधि त बाहिर नै किन्नु पर्नेभयो। '
'मलाई दिएको ल्याबको रिपोर्ट त अर्कैको पो पर्यो कि क्या हो? मैले त पिसाब जाँचको लागि पिसाब नै दिएको थिएन तर रिपोर्टमा पिसाब जाँचेको पनि आयो।'
'मेरो शारीरिक समस्याहरु धेरै थियो तर डाक्टरलाई बताउन नै पाइएन। बस्ने बितिकै के हुन्छ भनेर सोध्नुभयो, एउटा समस्या भन्ने बितिकै यो-यो जाँच गरेर ल्याउनु, अहिलेलाई यो औषधि खाँदै गर्नु भन्नुभयो। एक्स-रे, ल्याबको रिपोर्ट बिना लेखेको औषधि खाने हो कि होइन अन्यौल भयो। '
इमर्जेज्सी, ओपिडी र वार्डमा आएका बिरामी तथा बिरामीका कुरुवाहरुले धेरैबेर पर्खेर विशेषज्ञ डाक्टर कति बजे आउनुहुन्छ? भनेर त्यहाँ आएका कर्मचारीलाई सोधे भने जवाफ हुन्छ, 'सधैं त आउने बेला भैसक्यो अब आउनुहुन्छ होला।'
माथि भनिएका भनाई त प्रतिनिधि भनाई मात्र हुन,
अस्पताल जस्तो संवेदनसिल ठाउँमा समयमा विषेशज्ञ चिकित्षक, प्राविधिक कर्मचारीहरु नआउने, नभेटिने, अस्पतालमा पिउने पानी, सौचालयको उचित व्यवस्थापन नहुने, बिरामीप्रती संवेदनशील बन्न नसक्ने, अस्पतालजन्य फोहोरहरुको उचित व्यवस्थापन नहुने, बिरामी र बिरामी कुरुवाहरुलाई स्वस्थकर खानाको लागि सरसफाईयुक्त क्यान्टिनको व्यवस्थापन नहुनु, महिलाहरुले बच्चालाई स्तनपान गराउने उचित स्थानको व्यवस्थापन नहुनु र बिरामीमैत्री वातावरण नहुँदा बिरामी र बिरामीको कुरुवाहरुले दुख पाइरहेका छन्।
यस्तो अवस्थालाई सुधार गर्न, गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सेवा तथा प्रवाह गर्न सेवा परीक्षण प्रणाली लागू गर्नु जरुरी छ।
सेवा परीक्षण प्रणाली के हो?
सेवा सेवा परीक्षण प्रणाली भनेको स्वास्थ्य संस्थाहरुमा आउने बिरामी र बिरामीका कुरुवा वा सहयोगीहरुमार्फत अस्पताल वा स्वास्थ्य संस्थाहरुमा बिरामीको उपचारमा संलग्न विशेषज्ञ चिकित्सक, चिकित्सक, नर्सिङ स्टाफ, पारामेडीक्स तथा सेवा सहयोगीहरुको व्यवहार, उपचार गर्ने तरिका र विधिलाई आधार मानेर गरिने परीक्षण हो। अस्पताल तथा स्वास्थ्य संस्थाहरुको भौतिक संरचना, सरसफाइ, अस्पतालमा भएको शौचालय, पिउने पानी, फोहोर व्यवस्थापन, पार्किङ जस्ता आधारभूत संरचनाको यसमा परीक्षण गरिन्छ।
यसका अतिरिक्त नेपाल सरकारबाट उपलब्ध गराइएका स्वास्थ्य सेवाहरु र निःशुल्क प्राप्त गर्ने औषधिहरु, रोग निदानका लागि गरिने परीक्षणहरु (ल्याब ,एक्सरे ,भिडियो एक्सरे ,सिटी,एम.आर.आइ) को सेवा प्रवाह कस्तो छ?कत्तिको झन्झटिलो वा विश्वसनिय छ त्यसको पनि परीक्षण हो।
स्वास्थ्य सेवालाई बिरामीहरु समक्ष लैजाने विधि प्रक्रिया कस्तो छ? भिड नियन्त्रण गर्ने विधि, सुरक्षा ,चिकित्सकले बिरामीलाई दिने समय, प्रयोग गर्ने भाषा , बिरामीका कुरा सुन्ने धैर्यता, रोग निदानको लागि गरिएको ल्याब परीक्षणको रिपोर्ट दिने समय तथा विधि समेत सेवा परीक्षणमा समेटिएको हुन्छ।
स्वास्थ्य संस्था वा अस्पतालमा बिरामी २ तरिकाबाट आउँछन्। पहिलो ओ.पि.डी. र दोस्रो इमर्जेन्सी। फार्मेसीले औषधि उपलब्ध गराउँदा बिरामीले उक्त औषधि कति पटक र कसरी खाने, औषधि सेवन गरेको बेला के खाने के नखाने जस्ता कुराहरु पूर्ण जानकारी दिने गरेको छ कि छैन? औषधिको लागि बाहिर किन्न पठाउँछ्न कि पठाउँदैनन्? रोग निदान गर्ने सेवाहरु ल्याब, रेडियोलोजी सेवा अस्पतालमै उपलब्ध छ कि बाहिर पठाउने गरेको छन्? जस्ता विषयहरु पनि सेवा परीक्षण भित्र पर्दछन।
सेवा परीक्षण प्रणालीको सबैभन्दा भरपर्दो विधि भनेको सेवासँग जोडिएका सेवाग्राहीहरु, कुरुवा वा सहयोगीहरुको अन्तरक्रिया हो। स्वास्थ्य संस्था वा अस्पतालहरुले उपलब्ध गराउने तत्थ्याङ्कमा जीवन्त गुनासाका पक्षहरू,असन्तुष्टी भेटिँदैन। प्रतक्ष्य संलग्न व्यक्तिहरूबाट आएका राम्रा नराम्रा पक्षहरू केलाउने,कमजोरी भएका ठाउँहरुमा स्वास्थ्य संस्था वा अस्पतालले सुधार गर्ने,बिरामीमैत्री वातावरण तयार पार्ने, सेवा दिनेहरुको सिप वा क्षमताको बढवा तथा गुणस्तरीय स्वास्थ्य सेवा दिने विधिलाई मजबुत बनाउने प्रक्रिया नै स्वास्थ्य परीक्षण विधि हो।
स्वास्थ्य सेवा परीक्षणको उदेश्य
१. तोकिएको स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले उपलब्ध गराउने .
२. कमि कमजोरीहरुलाई उजागर गर्ने
३. चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको क्षमता वृद्धिको मापदण्ड तयार गर्ने
४. बिरामीमैत्री वातावरण तयार गर्ने र सेवालाई नियमित एवं मर्यादित बनाउने
५. बिरामीले गर्ने गुनासोको सम्बोधन गर्ने
६. स्वस्थ्य सेवा लिन आउने बिरामीहरुप्रति सेवाप्रदायकलाई जवाफदेही बनाउने
७. अस्पतालमा सेवा लिन आउने बिरामी र बिरामीका कुरुवाहरुको सन्तुष्टिलाई केन्द्र बनाई गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चित गर्ने।
सेवा परीक्षणको विधि एवं प्रक्रिया
माथि उल्लेख गरिएजस्तै स्वास्थ्य संस्था वा अस्पतालमा बिरामीको प्रवेश बहिरंग विभाग (ओ.पि.डी.) र आकस्मिक कक्ष (इमर्जेन्सी विभाग) बाट हुन्छ भने बिरामी निस्किने अन्तिम बिन्दु फार्मेसी हो। स्वास्थ्य संस्था वा अस्पतालको सेवा कस्तो छ भनेर परीक्षण गर्न बिरामी निस्कने अन्तिम बिन्दु अर्थात फार्मेसीको नजिकै सबैको सहज पहुँच भएको जेठाउँको छनौट गर्नुपर्दछ। फराकिलो तथा वातानुकुलित, हावादार, उज्यालो र भेन्टिलेसन भएको एउटा हल जहाँ २०-२५ जना बिरामी वा कुरुवा तथा सहयोगी बस्न सक्ने ठाउँ होस्। पिउने पानी नजिकै महिला र पुरुषको छुट्टाछुट्टै शौचालय, जेष्ठ नागरिक, गर्भवती महिला अपाङ्ग र असक्त बिरामीहरु बस्न मिल्ने हत्तावाला कुर्सीको व्यवस्था गर्नुपर्छ।
सेवा परीक्षणका केही नमुना तयार गर्ने। आफैं लेख्न पढ्न सक्नेहरुलाई फर्मसँग कलम पेन्सिल दिने। अस्पताल वा स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामी, सहयोगी र कुरुवाहरु लेख्ने पढ्ने तयारीमा नहुन सक्छन्। त्यस्तो अवस्थामा स्वास्थ्य सेवा परीक्षणका सहयोगीहरुले उनीहरुले राखेका कुराहरु टिपोर्ट गरिदिने र पढेर सुनाउने।
सहभागीहरुको नाम,ठेगाना, सम्पर्क नम्बर टिपोर्ट गर्ने। प्रत्येक दिन विभिन्न विभाग, वार्ड, रोग निदान गर्ने ठाउँहरु एक्स-रे, भि.डि.यो.एक्स-रे, सि.टी स्क्यान, एम. आर.आई.,इसिजी, ल्याबमा काम गर्ने विशेषज्ञ चिकित्सक, चिकित्सक, नर्सिङ स्टाफ, प्राविधिक, प्रशासनिक र सहयोगी कर्मचारीहरुका बारेमा आएको असन्तुष्टी, गुनासो, समय व्यवस्थापन तथा सेवासम्बन्धी अन्य समस्याहरु, असल कुराहरु एकिकृत गरेर दैनिक वा साप्ताहिक रुपमा सुनुवाइ गर्ने। जुन विभाग वार्ड र ठाउँको नियमित गुनासो आउँछ उक्त ठाउँका व्यक्तिहरूलाई सम्बन्धित ईन्चार्ज मार्फत छलफलमा बोलाउने। सुधारका लागि सुझाव दिने। तत्काल सुधार गर्न सकिने व्यक्तिका बानी व्यहोरा, सरसफाई, पानीको व्यवस्था, बिजुलीको व्यवस्था लगाएत आकास्मिक आउने समस्याले बिरामीलाई सकस बनाएको हुन्छ। त्यस्ता कुराहरुलाई तत्काल हल गर्ने।
स्वास्थ्य सेवा परीक्षण कक्षमा निम्नानुसारको व्यवस्था हुनुपर्छ
१. हत्तावाला कुर्सी र टेबल २०-२५ थान
२. चिसो र तातोपानीको व्यवस्था
३. शौचालय (महिला र पुरुषको लागि छुट्टाछुट्टै)
४. पानी पिउने डिस्पोजेवल (कागजको) गिलास वा कप।
५. गुनासो बक्स
६. सेवा सहजकर्ताहरुको व्यवस्था (सिएमए वा अनमीहरु)
७. सेवासम्बन्धी फर्म, डटपेन वा पेन्सिल
सेवा परीक्षणमा सहभागी जनशक्ति
(क) सेवा सहजकर्ताहरु
(ख) सम्बन्धित विभागका इन्चार्जहरु
(ग) अस्पताल व्यवस्थापक
(घ) अस्पताल प्रमुख
(ङ) संचालक तथा व्यवस्थापन समिती
(च) क्विक रेस्पोन्स टिम
अन्तमा
स्वास्थ्य सेवा परीक्षणले,
(क) स्वास्थ्य संस्था वा अस्पतालले दिइरहेको सेवाको स्तर मापन गर्छ।
(ख) बिरामीमैत्री वातावरणको सृजना गर्छ।
(ग) आफूभित्रका कमी कमजोरी हटाई चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई बिरामीप्रति जिम्मेवार बनाउँछ।
(घ) बिरामी कुरुवाहरुलाई र सहयोगीहरुलाई अस्पतालप्रति भरोसा जगाउँछ।
(ङ) सेवा प्रभावकारी बन्छ।