हरेक वर्ष झैँ यो वर्ष पनि हामी आज (सेप्टेम्बर १८) विभिन्न कार्यक्रमसहित राष्ट्रिय परिवार योजना दिवस मनाइरहेका छौ। यो वर्षको राष्ट्रिय परिवार योजना दिवसको नारा “परिवार योजना सेवाको लक्ष्य, आमा र बच्चाको स्वास्थ्य सुधार्न जुटौं सबै पक्ष” रहेको छ। अपांगता भएका व्यक्तिहरु शारीरिक, मानसिक, बौद्दिक वा इन्द्रिय सम्बन्धी दीर्घकालिन अशक्तता, कार्यगत सिमितता वा विद्यमान अबरोधको करणले अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन सक्दैनन्।
भर्खरै सम्पन्न जनगणना अनुसार नेपालमा कुल जनसंख्याको दुई प्रतिशत मानिसहरुमा कुनै न कुनै किसिमको अपांगता रहेको पाईएको छ। यसरि हेर्दा कुल अपांगता भएका मानिसहरु मध्ये ३७ प्रतिशत मानिसहरुमा शारीरिक अपांगता, २२ प्रतिशतमा दृष्टि सम्बन्धी, १६ प्रतिशतमा कान नसुन्ने समस्या, २ प्रतिशत मा आँखा र कान दुवैसम्बन्धी, ६ प्रतिशतमा बोली सम्बन्धी, ९ प्रतिशतमा बहु अपांगता, ४ प्रतिशतमा मनोसामाजिक, २ प्रतिशतमा बौद्दिक अपांगता र बाँकी ३ प्रतिशत मानिसहरुमा अन्य किसिमको अपांगता रहेको पाईएको छ। (नेपाल केन्द्रिय तथ्यांक विभाग, २०२१)
सुरक्षित यौन व्यवहार तथा परिवार योजनाले मानिसहरुलाई खुसी, स्वस्थ तथा व्यवस्थित परिवार बनाउन ठूलो भूमिका खेल्दछ। मानिस स्वस्थ हुनको लागि शारीरिक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ हुनुपर्दछ। यौन तथा प्रजनन स्वास्थ्य हरेक मानिसको स्वस्थताको एउटा प्रमुख सूचक हो। मानिसको प्रजनन प्रणाली र यसले गर्ने कार्यहरु स्वस्थ ढंगले नियमित रुपमा सुचारु भई सुरक्षित तथा सन्तुस्ट यौन जीवन यापन गर्न र आफूले चाहेको समयमा आवश्यकता अनुसार स्वतन्त्र ढंगले सन्तान उत्पादन गर्न योग्य हुनु प्रजनन स्वास्थ्यको प्रमुख ध्येय हो (विश्व स्वास्थ्य संगठन)। यौन भन्ने बित्तिकै अधिकांश मानिसहरु खुलेर कुरा गर्न रुचाउँदैनन। यौन धारणा पनि मानिसपिच्छे फरक पर्दछ। गुणस्तरीय परिवार योजनाले आफ्नो चाहना अनुसार चाहेको व्यक्तिसँग यौन सम्बन्ध कायम राख्न, उचित समयमा विवाह गर्न, बच्चाको योजना वनाउन, स्वस्थ यौन जीवन व्यतित गर्न, स्वस्थ गर्भवती समय तथा गर्भान्तर कायम राख्न, आमा तथा बच्चाहरुको स्वास्थ्य प्रवर्द्वन गर्न, विवध कारणले बच्चा पाउन नसकेकाहरुको लागि सहयोग तथा सहजिकरण गर्न, एच. आई. भि. तथा यौन रोगको रोकथाम गर्न, यौन हिंसा रोकथाम गर्न, किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य राम्रो राख्न र अनिश्चित गर्भबाट बच्न सहयोग पुग्दछ।
यसले अपांगता भएका व्यक्तिहरुमा यौन तथा प्रजनन स्वास्थ्य राम्रो राख्नको साथै गुणस्तरीय जीवन यापनको लागि समेत सहयोगी भूमिका खेल्दछ। हरेक व्यक्ति जस्तै अपांगता भएका व्यक्तिहरुले पनि आवश्यकता अनुसार गर्भ निरोधका साधन वा विधि प्रयोग गर्नु महत्वपूर्ण हुन्छ। परिवार योजनाले व्यक्ति वा दम्पतिलाई उनीहरुको अवस्था अनुसार कहिले र कति बच्चा जन्माउने भन्ने निर्णय गर्न सहयोग पुग्दछ। हरेक प्रजनन उमेरको व्यक्तिलाई गर्भनिरोधक साधन वा बिधि बारेमा बिस्तृत जानकारी हुनु पर्दछ। हरेक बिधि वा साधनको प्रभाबकारिता, फाइदा र जोखिमहरू तथा सम्भावित असरहरुको बारेमा पूर्ण जानकारी हुनुपर्दछ। अपांगता भएका व्यक्तिहरुले प्रभाबकारी रुपमा सेवा प्रदायक संग आफ्नो अपांगता तथा सम्भावित गर्भनिरोधकको बारेमा छलफल गर्नु पर्दछ।
अपांगताको किसिम अनुसार गर्भनिरोधकले उनीहरुको स्वास्थ्यमा पर्नजाने प्रभाबको बारेमा जानकार हुनुपर्दछ। कुनै कुनै गर्भ निरोधकहरु अपांगता भएका व्यक्तिहरुमा शारीरिक अशक्तताको कारणले उपयुक्त नहुन सक्दछन। शारीरिक चाल तथा समन्वयमा भएको अशक्तताको कारणले केही गर्भनिरोधक उपयुक्त नहुने सन्दर्भमा शारीरिक चाल तथा समन्वय नभए पनि उपयुक्त हुने खालका विधिहरु अविलंबन गर्नुपर्दछ। शारीरिक अशक्तताको कारणले कुनै व्यक्ति औषधिको सेवन गरिरहेको छ भने निजलाई उपयुक्त हुने साधन वा बिधिको प्रयोग गरिएको सुनिश्चित हुनुपर्दछ। यसको लागि अपांगताको किसिम अनुसार उपयुक्त विधि प्रयोग गर्न दक्ष स्वास्थ्यकर्मिको सल्लाह लिनुपर्दछ।
अपांगता भएका व्यक्तिहरुको लागि गर्भवती हुनु तथा मातृत्वको अवस्था वा आमा हुनु आफैमा कठिन कार्य हो। तर उपयुक्त तयारी तथा सबैको सहयोग प्राप्त भएमा उनीहरु सजिलै यो अवस्थालाई सजिलै पार गर्न सक्दछन। अपांगता भएका व्यक्तिहरुले आफ्नो अवस्थाको बारेमा दक्ष स्वास्थ्य सेवा प्रदायकहरु संग सर सल्लाह गरि उपयुक्त समय तथा जन्मान्तर कायम गरि गर्भाधान गर्नुपर्दछ। अपांगता भएका व्यक्तिहरुले आफ्नो अवस्था अनुसार औषधि वा उपचार गर्नु पर्ने भएमा उक्त उपचार पेटमा भएको बच्चा र आमाको लागि सुरक्षित भए नभएको एकिन गर्न र अत्याबश्यक तथा ध्यान पुर्याउनु पर्ने कुराहरुको बारेमा सेवा प्रदायक संग सल्लाह गर्नु पर्दछ। गर्भवती स्याहारलाई अपांग मैत्री बनाउन दक्ष सेवा प्रदायकको उपलब्धता तथा अन्य सुविधाहरु जस्तै सजिलो जांच टेबल, सांकेतिक भाषा आदिको समुचित प्रयोग गर्नु उपयुक्त हुन्छ। अपांगता भएका व्यक्ति सम्म गर्भवती, प्रसूति र सुत्केरी स्याहारसम्बन्धी शिक्षा तथा सूचनाको पहुँच सुनिस्चित गर्न आवश्यक श्रब्य दृश्य सामग्रीहरुको व्यवस्था गर्नुपर्दछ।
सुरक्षित प्रसूति सेवाको लागि दक्ष स्वास्थ्यकर्मी तथा सेवा प्रदायक संस्थासंग समयमै संचार गरी आवस्यक व्यवस्था मिलाउनु पर्दछ। सुत्केरी तथा नबजात शिशु स्याहारको लागि आफ्नो परिवार, साथीभाई तथा अन्य व्यक्तिहरुसंग आवश्यक सहयोग माग्नु पर्दछ। अपांगता भएका व्यक्तिहरुले आफू शारीरिक, मानसिक तथा भावनात्मक रुपमा स्वस्थ हुन प्रयाप्त मात्रामा खाना, आराम तथा अन्य सहयोगको व्यवस्था मिलाउने र आवश्यकता अनुसार थेरापिष्ट, सहयोगी समूह तथा अन्य सहयोगीहरुको मद्दत लिनु पर्दछ।
अपांगता भएका व्यक्तिहरूलाई पनि अरु मानिसहरु जस्तै आफ्नो शरीर, यौन सम्बन्ध, यौनिकता र यौन स्वास्थ्यका बारेमा जानकारी प्राप्त गर्ने र आवश्यकता अनुसार गुणस्तरीय सेवा लिन पाउने अधिकार नीतिगत तथा कानुनी रुपमा सुरक्षित छ। अपांगता भएका र नभएका मानिसहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सेवाको आवश्यकता उस्तै भए पनि अपांगता भएका मानिसहरुमा सेवाको पहुँच तथा उपयोग कम हुने गरेको छ। अपांगता भएका व्यक्तिहरुलाई पनि अपांगता नभएका व्यक्तिहरु जस्तै सम्मान तथा आदर भावले हेर्नुपर्दछ। अपांगता भएका व्यक्तिहरुको पनि अपांगता नभएका व्यक्तिहरु जस्तै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी आवश्यकता र अधिकार हुन्छ तर प्राय: जसो उनीहरुले आफ्नो आवश्यकता अनुसार यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना तथा सेवा पाईराखेका हुदैनन्। अपांगता भएका व्यक्तिहरु तुलनात्मक रुपमा अन्य सेवाग्राहीहरु भन्दा यौन हिंसाको समेत जोखिममा पर्ने गरेका छन्।
आम ग्राहकहरु जस्तै अपांगता भएका व्यक्तिहरुलाई पनि स्वतन्त्र रुपमा उपयुक्त गर्भ निरोधक वा परिवार योजनाको साधन सुसुचित रुपमा छनोट गर्न सक्ने हुनकोलागि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा अति नै आवश्यक पर्दछ। मुख्यतया अपांगता भएका व्यक्तिहरुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको लागि व्यहोर्नुपर्ने समस्याहरुमा भौतिक कठिनाई (जस्तै अपांगता मैत्री संरचना तथा सूचना र संचारका सामग्रीको अभाब), बढ्दो खर्च तथा श्रोत साधनको अभाब, अपांगता मैत्री सेवाको अभाब (जस्तै सांकेतिक भाषा तथा संचार सामग्रीको कमी) र अपांगता भएका व्यक्तिहरु प्रति गरिने भेदभाव जन्य व्यवहार प्रमुख हुन्।
अपांगताको प्रकार हेरेर अपांगता भएका व्यक्तिहरुको संचारको तरिका फरक फरक हुन सक्दछ। त्यसैले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा तथा सूचना प्रदान गर्दा अपांगता भएका हरेक व्यक्तिको रुची, प्राथमिकता तथा सिमालाई ध्यान दिएर सबै भन्दा उपयुक्त संचारको तरिका अपनाउनुपर्दछ। यौनिकता, सम्बन्ध र यौन स्वास्थ्यको बारेमा सुचनाको पहुँच महत्वपूर्ण हुन्छ। अपांगता भएका व्यक्ति अनुसार यस्तो सूचनालाई सरलीकृत भाषा, श्रब्य दृश्य सामग्री, सांकेतिक भाषा अथवा अन्य सहायक प्रविधियुक्त बनाएर सम्प्रेषण गर्न सकिन्छ। अपांगता भएका व्यक्तिहरुका लागि बिस्तृत एवं समावेशी यौन शिक्षा आवश्यक छ। यस अन्तर्गत धेरै बिषयहरु (जस्तै सुरक्षित यौनकार्य, प्रजनन स्वास्थ्य, भावनात्मक सम्बन्ध आदि) पर्दछन। अपांगता भएका व्यक्तिहरुलाई पनि अरु मानिस जस्तै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यकता, चाहना तथा सिमाहरुको बारेमा खुलेर संचार गर्न सशक्त बनाउनु जरुरि छ। यसले उनीहरुलाई सम्मान जनक ढंगले जीवन यापन गर्न सहयोग पुग्दछ। उनिहरुलाई हेरचाह गर्ने व्यक्ति, परिवारका सदस्य तथा सहयोगीहरु मार्फत यौन र सम्बन्धको बारेमा संचार गर्नुपर्दछ। सुरक्षित, गोप्य तथा सम्मानजनक बताबरणमा उनीहरु खुलेर कुरा गर्न सक्छन र आफ्नो प्रजनन स्वास्थ्य तथा परिवार योजनाको निर्णय आफै गर्न सक्दछन।
अपांगता भएका व्यक्तिहरु प्रायजसो अनेकौ मिथ्या, अबहेलना तथा अपुरो बुझाईको शिकार भइरहेका हुन्छन। यसको बारेमा अन्य व्यक्तिहरुलाई बुझाउनु जरुरि हुन्छ। अपांगता भएका व्यक्तिहरुले गर्भ निरोधक प्रयोग गर्न र यौनजन्य गतिविधिको लागि आफु अनुकुल विधिहरु (जस्तै उपयुक्त यौन आसन, सहयोगी सामग्रीको प्रयोग आदि) अपनाउन सक्छन। अपांगता भएका व्यक्तिहरुमा हुने लैंगिक असमानता र भिन्नताहरुलाई सम्मान तथा आदर भाबले हेरेर सबैलाई आवश्यक सेवा तथा सूचना प्रदान गर्नु जरुरी छ। आवश्यकता अनुसार आफ्नो यौन स्वास्थ्य सम्बन्धी निर्णय गर्न, जबरजस्ती करणी, यौन शोषण वा दुरुपयोग बिरुद्द कदम चाल्न, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको प्रयोग गर्ने जस्ता कानुनी र नैतिक पाटोहरुको बारेमा अपांगता भएका व्यक्ति लगायत सबैलाई बुझाउनु जरुरी छ।
शारीरिक अशक्तताको कारणले कुनै व्यक्ति सहयोगी डिभाईसहरु जस्तै व्हीलचेयर, मोबिलिटी एड आदि प्रयोग गरिरहेको छ भने निजलाई उपयुक्त हुने साधन वा विधिको प्रयोग गरिएको सुनिश्चित हुनु पर्दछ। यसकोलागि अपांगताको किसिम अनुसार उपयुक्त विधि प्रयोग गर्न दक्ष स्वास्थ्यकर्मिको सल्लाह लिनु पर्दछ। इन्द्रियजन्य अशक्तता भएका व्यक्तिहरुलाई परिवार योजनाको बारेमा सूचना तथा सेवा दिन बैकल्पिक संचारका प्रभाबकारी उपायहरु अपनाउनु जरुरि हुन्छ। अपांगताको प्रकार अनुसार दिनहुँ अरुको सहयोग चाहिने गर्भनिरोधक प्रयोग गर्नु पर्ने अबस्थामा हेरचाह गर्ने व्यक्ति, परिवारका सदस्य तथा सहयोगीहरुको नियमित सहयोग आवश्यक पर्दछ। अपांगता भएका व्यक्तिहरुले आफ्नो अबस्था अनुसारको गर्भनिरोधकलाई लामो समयको लागि भरपर्दो विधिको रुपमा अपनाएर गुणस्तरीय जीवन यापन गर्न सक्दछन। तर अपांगताको किसिम अनुसार गर्भनिरोधकले उनीहरुको स्वास्थ्यमा पार्न सक्ने प्रभाबको बारेमा सुसुचित हुनु पर्दछ। अपांगता भएका व्यक्तिहरुको हकमा नियमित जांच तथा फलोअप आवश्यक पर्ने गर्भनिरोधक उनीहरुकोलागि प्रभाबकारी भए नभएको र अपाङ्गमैत्री भए नभएको एकिन गर्नु पर्दछ र अबस्था अनुसार गर्भनिरोधकलाई सुचारु गर्ने नगर्ने निर्णय लिनु पर्दछ। अपांगता भएका व्यक्तिहरुलाई कुनै पनि गर्भनिरोधक प्रदान गर्नु अघि उनीहरुको सुसुचित सहमति लिएर मात्र सेवा दिनु पर्दछ। अपांगता भएका व्यक्तिहरुलाई प्रभाबकारी एब गुणस्तरीय सेवा प्रदान गर्न उनीहरुसंग सम्मानजनक अन्तरक्रिया गर्नु पर्दछ।
(लेखक प्रजनन स्वास्थ्य र परिवार योजनाको क्षेत्रमा कार्यरत छन्)