काठमाडौं– अस्पतालबाट निस्किने फोहर व्यवस्थापन विश्वकै टाउको दुखाइ हो। जोखिमयुक्त फोहर निस्किने भएकाले त्यसको व्यवस्थापनका लागि अस्पतालको ठूलो स्रोत–साधन खर्च हुने गरको छ।
तर, नेपालका १८ ठूला अस्पताल र ५० भन्दा बढी साना अस्पतालले अहिले फोहर व्यवस्थापनमा खर्च होइन, आम्दानी गरिरहेका छन्। त्यसको श्रेय जान्छ, हेल्थ इन्भाइरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसन (हेकाफ)लाई, जसको अवधारणासहित नेतृत्व गरिरहेका छन् महेश नकर्मीले। उनको अनुभव अनुसार ६० प्रतिशत कुहिने, ३० प्रतिशत पुनः प्रयोग हुने र १० प्रतिशत मात्रै काम नलाग्ने फोहोर अस्पतालबाट निस्किन्छ।
अस्पतालजन्य फोहर व्यवस्थापनका लागि नेपालका पायोनियर तथा विश्वमै ख्यातिप्राप्त हेकाफका अध्यक्ष नकर्मीले यसमा दिमाग पछि लगाए। पहिले मनले अस्पतालजन्य फोहरको व्यवस्थापन जरुरी ठानेको हो।
उनको सफा मनले किन फोहर रोज्यो? त्यो कथाका लागि फर्किनुपर्ने हुन्छ, २०५१ सालतिर। जतिबेला नकर्मी लगायतको सहभागितामा मिर्गौलाका बिरामीको उपचारका लागि काठमाडौंको लाजिम्पाटमा हेल्थकेयर फाउन्डेसन खुल्यो। त्यसको तीन वर्षपछि डायलाइसिस सेन्टरका रुपमा विकास गरियो।
त्यो बेलासम्म पेसाले सिभिल इञ्जिनियर नकर्मीको यतातिरको सहभागिता नितान्त समाजका लागि योगदान गर्ने थियो। त्यही क्रममा उनले देखे– आफूले खोलेको संस्थाको फोहोर नगरपालिका उठाउन नआएसम्म त्यहीँ जम्मा भइरहेको छ। फेरि प्रयोग हुने खालका फोहर उठाउन बालबालिका आएका छन्। तर अस्पतालबाट निस्किने भएकाले त्यो जोखिमपूर्ण भएको ती अवोध बालबालिकाले थाहा पाउने कुरै भएन।
त्यसैगरी फोहोर उठाउनेले पनि कुनै सावधानी अपनाएको उनले देखेनन् भने जहाँ फालिन्छ, त्यहाँ पनि समस्या नै हुने भयो। उनलाई लाग्यो, ‘समाजसेवा गरेर पुण्य कमाउन संस्था खोलेको हो। समाजमा उल्टै असर पुग्ने काम पनि नजानिँदो तरिकाले भइरहेको छ। रोगको उपचार गरिरहेका छौं तर रोग निम्त्याउने अवस्था पनि सँगै छ।’
फोहोरका विषयमा आफूलाई लागेका कुरा बोर्ड बैठकमा उठाए। सही व्यवस्थापनका लागि उपाय खोज्नुपर्ने उनको भनाइ थियो। त्यो विषयलाई लिएर नकर्मीको गम्भीर ध्यानाकर्षण देखेपछि बोर्डका अन्य सदस्यले भने– तपाईं इन्जिनियर पनि हो, तपाईं नै यसमा काम गर्नुहोस्। सहयोग गर्नुहोस्। त्यसपछि मैले कसरी गर्ने केही थाहा थिएन। यसबारे कुनै अध्ययन पनि गरेको थिइनँ।’
त्यो बेला नेपालका ठूला अस्पतालले फोहर बाल्थे। अस्पतालजन्य फोहर बाल्दा वातावरणमा झन् हानि पुग्ने उनले त्यही क्रममा थाहा पाए। उनले यस विषयमा विभिन्न ठाउँमा सोधखोज गर्ने क्रममा डब्लूएचओको एउटा किताब हात लाग्यो, जहाँ अस्पतालको फोहोरलाई निर्मलीकरण गर्नुपर्ने विषयमा उल्लेख थियो।
नकर्मीले डब्लूएचओसँग त्यस विषयमा संवाद गरे। उनले सिधै भने, ‘मलाई फोहोर निर्मलीकरण गर्न मेसिन चाहियो।’ त्यो बेला आफैंले त्यस्तो मेसिन किन्न सकिने अवस्था थिएन। एउटा अमेरिकन संस्थाले दिएका दुई वटा त्यस्ता मेसिन ओखलढुंगाको चौतारामा बिग्रिएर थन्किएको उनले जानकारी पाए। उनले ती मेसिन झिकाएर मर्मत गर्दै फोहर निर्मलीकरण सुरुवात गरे। नेपालमा फोहोर निर्मलीकरण गर्ने पहिलो मेसिन नै त्यही थियो। जसको पहिलो प्रयोगकर्ता नकर्मी मानिन्छन्।
उनले त्यस्तो गर्न थालेपछि केहीले उत्सुकता देखाए। केहीले भने उल्टै उनलाई नहुने बाटोतिर लागेको समेत भने। उनलाई अस्पतालजन्य फोहोरबाट हुने जोखिमले पिरोलेको थियो। त्यसैले नकारात्मक कुरातर्फ ध्यान नै नदिई आफ्नै तालमा काम अघि बढाए।
सन् २००७ तिर डब्लूएचओमा काम गर्ने मान्छे हान हेनेन उनको कामबारे सुनेर हेर्न र भेट्न आए। नेपाललाई नजिकबाट नियालिरहेका उनी नेपाली भाषा समेत बोल्थे। नकर्मी सम्झिन्छन्, ‘हाम्रो कामका विषयमा बताएपछि उनी प्रभावित भए। डब्लूएचओको हेडक्वाटर जेनेभामा आएर प्रस्तुति दिन भने। मैले आफूले गरेका कामको भिडियो बनाएर लगेको थिएँ। त्यो देखाएपछि उनीहरुले भने, ‘ओहो, नेपालीले त अचम्मको काम गरेका रहेछन्। आजदेखि तपाईं डब्लूएचओको एक्सपर्ट भनेर घोषणा पो गरे।’
हान हेनेनले विश्वका विभिन्न अस्पताल पुगेर काम गर्न नकर्मीलाई सुझाएका थिए। नकर्मीले त्यो बेलासम्म एउटा टिम बनाइसकेका थिए। सन् २०१० मा वीर अस्पतालमा फोहर व्यवस्थापनको काम थाले। त्यो बेला डा बुलन्द थापा निर्देशक थिए। डा नकर्मीको फोहर व्यवस्थापनको उपायलाई सहज स्वीकार गरेर त्यहाँ काम सुरु भयो।
नकर्मी सम्झिन्छन्, ‘हामीले अस्पतालको फोहोर व्यवस्थापन प्रणाली लागू गरेपछि पुनः प्रयोग हुने फोहर बिक्रीबाट आम्दानी हुन थाल्यो। कुहिने फोहोरबाट बायो ग्याँस पनि निकाल्यौँ (अहिले त्यो भत्काइएको छ)।’
त्यसपछि निजी क्षेत्रबाट सञ्चालित नर्भिक अस्पतालमा २०१३ बाट उनीहरुले काम थाले। सोही मोडलमा परोपकार स्त्री रोग उपचार केन्द्रमा काम सुरु भयो। जहाँ साल–नालबाट ग्यास निकालिएको थियो, जुन संसारमै नयाँ काम भएको उनको भनाइ छ।
यसैगरी शिक्षण अस्पताल हुँदै सबैभन्दा पछि अहिले सशस्त्र प्रहरी अस्पतालमा नकर्मीले विकास गरेको प्रणाली लागू भएको छ। समग्रमा अहिले १८ वटा ठूला अस्पतालमा त्यही मोडलमा फोहोरको व्यवस्थापन भइरहेको छ। उनले भने, ‘पहिले शिक्षण अस्पतालमा फोहोर बाल्ने गरिन्थ्यो, जुन वातावरणका लागि हानिकारक थियो। त्यो हटाएर नयाँ सिस्टम राख्यौँ।’
सन् २०१८ देखि साना स्वास्थ्य केन्द्रमा समेत सोही प्रणाली र प्रविधि लागू गर्न हेकाफ सक्रिय भयो। अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गरेर ५० वटाभन्दा बढीमा फोहर व्यवस्थापनको उक्त प्रणाली लागू भइसकेको छ।
त्यति मात्रै होइन, म्याद गुज्रिएका औषधिको व्यवस्थापन पनि जटिल हुन्छ।
जसको व्यवस्थापन पहिलो पटक हेकाफले नै गरेको थियो। कोरोना भ्याक्सिनको सुरक्षित निर्मलीकरण पनि यही संस्थाको नेतृत्वमा भएको हो। नकर्मी भन्छन्, ‘हामीले कोभिड भ्याक्सिनमा पनि काम ग¥यौं। ती भ्याक्सिनलाई वातावरण मैत्री बनाएर अटोक्लेभ गरी माइक्रोहेड टेक्नोलोजी पनि प्रयोग गरेर व्यवस्थापन गर्यौं।’
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभागको निर्देशनमा प्रयोग गरिएका खोपको व्यवस्थापनमा समस्या भएपछि नकर्मीलाई गुहारिएको थियो। हेकाफले त्यसको सुरक्षित व्यवस्थापन ग¥यो। जसको रिपोर्टलाई डब्लूएचओले उत्कृष्ट ठह¥याएको छ। उक्त प्रणालीलाई अहिले प्रविधिसँग जोडेर अझै स्मार्ट बनाउन खोजिएको छ।
सिन्धुलीको झाँगाझोलीमा त्यस्तो स्मार्ट प्रणली जडान गरिएको छ। त्यहाँको अस्पतालमा फोहर वर्गीकरणदेखि निर्मलीकरणसम्मका काम भए÷नभएको नकर्मीको मोबाइलमा देखिने गरी प्रणाली बनाइएको छ।
जसले कामको अनुगमनका साथै मेसिनरीहरु बिग्रिँदा समेत यहीँबाट सहजीकरण गरेर सुचारु गर्न सकिने उनी बताउँछन्। उनको दाबी छ, ‘यो मेसिनलाई स्मार्ट अटोक्लेभ्स भनिन्छ। यो संसारमै पहिलो स्मार्ट सिस्टम हो यो।’
नेपालबाट सुरु भएको यो प्रणाली नकर्मीकै नेतृत्वमा विदेशमा समेत फैलिन थालेको छ। अहिले भुटान, बंगलादेश, श्रीलंका र लाओस गरी चार देशमा यो प्रणाली आफैं गएर सुरु गरिदिएको नकर्मी बताउँछन्।
अस्पतालमा मात्रै नभई त्यस्ता फोहर निस्किने अन्य ठाउँमा समेत यसबारे ज्ञान बाँड्ने काम उक्त संस्थाले गरिरहेको छ। कोरोनाकालमा एअरलाइन्सहरुले प्रयोग गर्ने मास्क र अन्य सुरक्षाका सामग्रीको व्यवस्थापनमा समेत यही संस्थाले नेतृत्व गरेको थियो।
फोहोर व्यवस्थापन मात्रै होइन, फोहोरका प्रकारको लेखाजोखा गर्ने प्रणाली समेत हेकाफले बनाएको छ। जसले गर्दा फोहरको मिहीन ढंगले वर्गीकरण गरी उचित व्यवस्थापनमा अझै सहज हुने गरेको छ। उनले थपे, ‘हामी विद्यालयहरुमा पनि फोहोर व्यवस्थापनका काम गरिरहेका छौँ। जहाँ फोहोर बाल्छन् तर हामी फोहोरलाई स्रोतमा परिवर्तन गर्न सिकाउँछौँ। फोहोरले वातावरणमा प्रदूषण नहोस् भन्ने हाम्रो लक्ष्य हो।’
अहिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग मिलेर वातावरणीय प्रदूषण रोक्न अन्य क्षेत्रमा समेत काम गरिरहेको नकर्मीले बताए। उनले भने, ‘अहिले पानीमा पनि काम गर्छौँ। सुरक्षित पानी कसरी बनाउने भनेर काम गरिरहेका छौँ।
पिउने पानीको गुणस्तर ठाउँठाउँमा गएर जाँच गर्ने र जानकारी दिने काम गरेका छौँ। त्यसपछि वातावरण र जलवायु परिवर्तनका बारेमा पनि काम गरिरहेका छौँ। जुम्ला, बागलुङ र रौतहटको गौर गरी तीन वटा हिमाली पहाडी र तराई जिल्लामा कस्तो असर पर्छ भन्नेबारे डब्लूएचओसँग मिलेर काम गरिरहेका छौँ।’
बिरामी निको पार्ने अस्पताल आफैं फोहोरले बिरामी पर्ने अवस्थामा रहेकोबारे उनी गम्भीर भए। त्यसैले पनि यो काममा उनले आफ्नो आवश्यकता महसुस गरेका हुन्।
केमिकल, जलवायु परिवर्तन, वातावरण प्रदूषण, पानी प्रदूषण, पिउने पानी, हाइजिन लगायतमा पनि अहिले यो संस्थाले काम गरिरहेको छ। हाल प्रयोगमा रहेका स्यानिटरी प्याडको व्यवस्थापन मात्रै होइन, स्वास्थ्यमा हानि गर्न सक्ने सम्भावना देखेर अनुसन्धान पनि गरिरहेको उनी बताउँछन्। यसैगरी ग्रिन इनर्जी र स्वस्थ शहरमा समेत संस्थाले काम गरिरहेको छ।
श्रावस्ती कर्माचार्य, कार्यक्रम प्रबन्धक
म यो संस्थामा इन्टर्न गर्न आएकी थिएँ। वातावरण विज्ञानकी विद्यार्थी भएकाले फोहोर व्यवस्थापन पनि पढ्नुपथ्र्याे। त्यहाँ हामीले फोहोर बाल्ने कुरा पढ्यौं। त्यो ज्ञानमा अपडेटको कमीका कारण रहेको पछि यहाँ आएपछि थाहा भयो। यो संस्थाले गरिरहेको काम निकै रुचिकर लाग्यो।
विशेषगरी अस्पतालको हानिकारक फोहर नबालेर निर्मलीकरण गर्ने प्रणाली मन प¥यो। अन्य फोहर व्यवस्थापनका पनि सजिला उपाय हुँदाहुँदै वातावरणमा हानि गरिरहेको कुरा बुझेँ। त्यसपछि म यहीँ जोडिएर काम गर्न थालेँ। काम गर्न थालेकै १२ वर्ष भइसक्यो।
वातावरण प्रदूषणका कारण जलवायु परिवर्तन, ग्लोबल वार्मिङ लगायतका असर देखिन थालेका छन्। त्यो कम गर्न हाम्रो कामले सघाउ पुगेको महसुस भइरहेको छ। फोहोरलाई ल्याण्डफिल साइटमा पठाउँदा पनि मिथेन ग्याँस उत्पन्न हुन्छ जुन वातावरण प्रदूषणको ठूलो स्रोत हो। त्यसैले सकेसम्म अन्य तरिकाले नै व्यवस्थापन गर्ने प्रणालीमा हामीले काम गरिरहेका छौं।
प्रेरणा डंगोल, नर्स
मैले नर्सिङ पढ्दा अस्पतालमा फोहोर फाल्ने बाल्टी हुन्छ, त्यही अनुसार फाल्नुपर्छ भन्ने सिकाइएको थियो। तर पढ्दै जाने क्रममा अस्पतालको फोहोर व्यवस्थापन ठूलो विषय हो भन्ने महसुस भयो।
कत्ति प्रयोगात्मक परीक्षा दिँदा पनि अस्पतालले हामीसँग फोहोर फाल्ने बाल्टी छैन, बरु विद्यार्थीले बाल्टी ल्याइदिए अस्पताललाई सहज हुने बताइन्थ्यो र बाल्टी ल्याउने विद्यार्थीलाई अझै राम्रो नम्बर दिने भन्ने गरेको पनि सुनिन्थ्यो। त्यही क्रममा डब्लूएचओले निकालेको ब्लुबुक पढियो। त्यहाँ फोहोरका प्रकारको बारेमा पढ्यौँ र त्यो अनुसार कति समुदायमा काम गर्नेहरुलाई पनि फोहोर व्यवस्थापनबारे सिकायौँ।
त्यसपछि चाहिँ म यो संस्थामा जोडिन आएँ। मैले जे पढेको थिएँ, त्यही कुरा लागू गर्न पाएँ। कतिपयले नर्सिङ पढेर किन अस्पतालमा काम नगरेको पनि भन्छन्। तर मलाई मैले अस्पतालमा बिरामीको सेवा होइन, अस्पताल नै बिरामी हुन नदिने उपायमा काम गरिरहेकी छु। मेरो कामप्रति गौरव पनि छ।
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिगो विकासका लक्ष्यभित्र स्वास्थ्यका विषयमा हेकाफको योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका हुन्।