‘पोषण विकासको आधार र सूचक दुवै हो। उन्नत पोषणले स्वास्थ्य, शिक्षा, रोजगार, महिला सशक्तीकरण, गरिबी न्यूनीकरण र असमानता न्यूनीकरणका साथै शान्तिपूर्ण, सुरक्षित र स्थिर समाजको जग खडा गर्न सक्छ।’ यो भनाइ हो संयुक्त राष्ट्र संघका आठौं महासचिव बान की मुनको। उनको उक्त भनाइबाट के पनि प्रष्ट हुन्छ भने पोषण भनेको स्वास्थ्यसँग मात्र सम्बन्धित छैन। यसलाई बहुपक्षीय रुपमा हेर्नुपर्छ।
दिगो विकास लक्ष्यमा केन्द्रित रहेर हेर्दा पनि पोषणको विषयलाई सबै लक्ष्यसँग जोडेर हेर्न सकिन्छ। पोषणको विषय स्वास्थ्यको लक्ष्यमा मात्र केन्द्रित छैन। कुपोषणसँग जोडिएको विषय दिगो विकास लक्ष्यको १७ वटै लक्ष्यसँग सम्बन्धित छ। दिगो विकासका अन्य विश्वव्यापी लक्ष्यहरू र पोषण लक्ष्यबीच अन्तरसम्बन्ध छ। त्यस कारण दिगो विकासमा प्रगति गर्न पोषणमा प्रगति गर्न आवश्यक छ।
पोषण सुधारका लागि दिगो विकासको लक्ष्य अन्तर्गतको लक्ष्य नम्बर २ मा धेरै कुराहरु पर्छन् भने लक्ष्य नम्बर ३ अर्थात् स्वास्थ्यका विषयमा कुपोषणको अवस्थाका विषयहरु छन्। लक्ष्य नम्बर २ मा भोकमरी अन्त्य गर्ने, खाद्य सुरक्षा र उन्नत पोषण प्राप्त गर्ने र दिगो कृषिको प्रवद्र्धन गर्ने विषय रहेको छ। ऊक्त लक्ष्यमा पोषणको विषय प्रष्ट रुपमा लेखिएको छ। सोही लक्ष्य अन्तर्गत सन् २०३० सम्ममा भोकमरी अन्त्य गर्ने र खासगरी शिशु लगायत गरिब र संकटग्रस्त अवस्थाहरुमा रहेका व्यक्तिहरु सहित सबै जनताको सुरक्षित, पोषणयुक्त र पर्याप्त खानामा वर्षैभरि पहुँच सुनिश्चित गर्ने विषय रहेको छ।
यस्तै लक्ष्य २.२ मा सबै प्रकारका कुपोषण अन्त्य गर्ने, सन् २०३० सम्ममा ५ वर्षमुनिका बालबालिकाहरुको तौल वृद्धि रोक्ने र उचाइ अनुसार कम तौल हुने सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमै सहमति भएका लक्ष्यहरु सन् २०२५ सम्ममा हासिल गर्ने लगायतका परिमाणात्मक लक्ष्यहरु र किशोरी, गर्भवती र दूध खुवाइरहेकी महिला तथा ज्येष्ठ नागरिकको पोषणसम्बन्धी आवश्यकताहरुलाई सम्बोधन गर्ने विषय छ।
एक अध्ययन अनुसार विश्वव्यापी रुपमा भएका प्रयासहरूको बाबजुद पनि सन् २०२२ मा ५ वर्षमुनिका करिब ४ करोड ५० लाख बालबालिका कम तौलका थिए। त्यस्तै, १४ करोड ८० लाख बालबालिकाहरुमा पुड्कोपन र ३ करोड ७० लाख बालबालिकाको ज्यादा तौल रहेको थियो।
बालबालिकाको पोषणको अवस्थामा मुख्यगरी तीन वटा सूचकमा मात्र केन्द्रित रहेर अध्ययन गरेको देखिन्छ। पुड्कोपन (दीर्घ कुपोषण), उचाइ अनुसार कम तौल (शीघ्र कुपोषण) र उमेर अनुसारको कम तौलको तथ्यांक सार्वजनिक गर्ने गरिएको छ। सन् २०२२ मा सार्वजनिक भएको जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण अनुसार नेपालमा कुपोषणका कारण पुड्कोपनको समस्या रहेका बालबालिका २५ प्रतिशत रहेका छन्। यस्तै ८ प्रतिशतमा शीघ्र कुपोषण अर्थात् ख्याउटेपन (उचाइ अनुसार कम तौल) र १९ प्रतिशतमा उमेर अनुसारको कम तौल रहेको देखिन्छ। यसका साथै बालबालिकाको रक्तअल्पता, भिटामिन, माइक्रोन्युट्रेन्ट लगायतका विषयमा पनि हेर्न वृहत रुपमा जरुरी छ।
पुड्कोपन शहरी क्षेत्रमा २२ प्रतिशत र ग्रामीण क्षेत्रमा ३१ प्रतिशत छ। भौगोलिक क्षेत्र अनुसार हेर्दा पहाडी क्षेत्रका २२ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ भने तराइमा २५ र हिमाली क्षेत्रमा ४२ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या छ। समग्रमा हेर्दा सन् २००१ को तुलनामा पुड्कोपनको समस्यामा सुधार आएको देखिन्छ। सन् २००१ मा ५७ प्रतिशतमा पुड्कोपनको समस्या थियो भने अहिले २५ प्रतिशत रहेको छ। यस्तै ख्याउटेपनको समस्या सन् १९९६ मा १५ प्रतिशत थियो अहिले ८ प्रतिशतमा झरेको अवस्था छ। तर यो नै सन्तोषजनक अवस्था भने होइन। दिगो विकासको लक्ष्य अनुसार पुड्कोपनको समस्या सन् २०३० सम्ममा १५ प्रतिशत र ख्याउटेपनको समस्या ४ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ। अब सुधारका लागि धेरै नै मिहिनेत गर्नुपर्ने देखिन्छ।
कुपोषणको अवस्थामा सुधार आउने हो भने त्यसले समग्र विकास र अन्य सूचकको सुधारमा समेत मद्दत गर्छ। स्वास्थ्य सेवाको सुधार मात्र होइन, देशको अर्थतन्त्र सुधारदेखि गरिबी निवारणसम्म योगदान गर्न सक्छ। त्यसैले, पोषणमा सुधार आवश्यक छ। दिगो विकासमा प्रगति गर्नको लागि पनि पोषणमा प्रगति गर्नु आवश्यक छ। त्यसैगरी, यो लक्ष्य हासिल गर्दै गर्दा सफा पानी र सरसफाइको क्षेत्रमा, नवीकरणीय ऊर्जा, शिक्षा र लैङ्गिक समानत लगायत अन्य धेरै दिगो विकासका लक्ष्यहरुलाई हासिल गर्न सहयोग हुन्छ नै।
उन्नत पोषणका लागि पर्याप्त र दिगो लगानी नगरे दिगो विकास लक्ष्य अनुरुपमा उद्देश्य हासिल हुन सक्दैनन्। ‘भोकमरी अन्त्य गर्ने, खाद्य सुरक्षा र उन्नत पोषण प्राप्त गर्ने र दिगो कृषिको प्रवद्र्धन गर्ने’ दिगो विकास लक्ष्य २ मा तय गरिएको छ।
दिगो विकास लक्ष्य र पोषणका क्षेत्रमा केन्द्रित रहेर युरोपिएन पब्लिक हेल्थ सोसाइटीले तयार पारेको एउटा प्रतिवेदन अनुसार कुपोषणको विषय दिगो विकासका लक्ष्यमध्ये सबै विषयसँग सम्बन्धित रहेको उल्लेख गरेको छ।
हेरौं तालिकाः
यो टेबलले पनि के प्रष्ट गर्छ भने पोषणको विषय बहुआयामिक छ। यसलाई एकपक्षीय रुपमा हेरेर मात्र पुग्दैन। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार बालबालिका कुपोषणको सिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक रूपमा मात्र होइन, वौद्धिक रुपमा पनि कमजोर हुनु हो।
संसारमा जति रोगहरू छन्, तीमध्ये धेरैको कारक तत्व कुपोषण हो। त्यस कारण यी तमाम समस्या समाधान गर्दै दिगो विकासका सबै लक्ष्य प्राप्तिका लागि पोषणलाई बहुपक्षीय रुपमा हेर्न जरुरी छ। नेपालका सन्दर्भमा तीन तहको सरकारलाई लक्ष्य प्राप्तिका लागि अवसरका रुपमा हेर्नुपर्छ। स्वास्थ्यले सार्वजनिक गर्ने तीन वटा सूचकमा मात्र केन्द्रित नभई थप सूचकमा पनि अध्ययन गरी काम अगाडि बढाउन जरुरी छ।
नेपालमा खाद्यान्न उत्पादन हुने तर त्यसलाई सही तरिकाबाट खान नजान्ने, स्थानीय उत्पादनलाई भन्दा जंक फुडमा बढी जोड दिने, गलत मान्यताका कारण अन्डा, माछा–मासु लगायतका पोषिलो खाने कुरा नखाने जस्ता विषयलाई पनि सुधार गर्दै लैजानु पर्ने देखिन्छ। यसैगरी, कुपोषणका विषयमा भएका तथ्यांकहरुलाई विश्लेषण गर्दै हालसम्म देखिएका कमीकमजोरीहरु पहिल्याउँदै, चुनौतीहरुलाई समाना गर्ने उपाय खोज्दै नयाँ ढंगले अगाडि बढ्न सकेमा धेरै उपलब्धि हासिल हुने देखिन्छ।
युरोपिएन पब्लिक हेल्थ सोसाइटीले तयार पारेको टेबल अनुसार नै नेपालले पनि पोषणका विषयलाई स्वास्थ्यसहित कृषि, शिक्षा, भौतिक पूर्वाधार, स्थानीय विकास, सञ्चार, गृह लगायतका सबै मन्त्रालय र सरोकारवाला निकायहरुको समन्वयमा कुपोषणका क्षेत्रमा सामुहिक प्रयास गर्न सक्यौँ भने लक्ष्य हासिल गर्न सहज हुने देखिन्छ।
(डा भण्डारी अन्तर्राष्ट्रिय स्वास्थ्य, पोषण तथा विकास क्षेत्रमा क्रियाशील छन्।)