नेपालमा पनि हरेक वर्ष जस्तै यस वर्ष पनि डिसेम्बर १ तारिखका दिन 'समुदायको नेतृत्वमा एड्सलाई अन्त्य गरौं' भन्ने नाराकासाथ ३५ सौं विश्व एड्स दिवस मनाईदै छ। यस वर्षको विश्व एड्स दिवसको नाराको मूख्य उद्देश्य विश्वव्यापी रुपमा एड्सलाई अन्त्य गर्न समुदायलाई नेतृत्व प्रदान गरी उनिहरुलाई नै सहभागि गराउनु रहेको छ। अर्थात् यस वर्षको विश्व एड्स दिवसको नाराले विगतका वर्षहरुमा देखिएको एचआइभी/एड्सबाट संक्रमित तथा मृत्युको भयावह स्थितिलाई ध्यानमा राखी सन् २०३० सम्ममा विश्वबाटै एड्सलाई अन्त्य गर्न समस्त समुदायलाई अगाडि सार्ने सन्देश दिएको छ।
एचआइभी./एड्सको ऐतिहासिक पृष्ठभूमि
सर्वप्रथम सन् १९८८ मा दक्षिण अमेरिकी मुलुक हाइटीमा पहिलो एच.आइ.भी संक्रमित व्यक्तिको पहिचान भएको थियो। नेपालको कास्की पोखरामा एकजनालाई एचआईभी संक्रमण भएको पत्ता लागेको थियो। अहिले विश्वका धेरैजसो मुलुकमा एचआईभी/एड्सका थुप्रै जनसंख्या पाइएको छ। सन् १९८८ देखि २०२२ सम्म झण्डै २७ हजार व्यक्तिको मृत्यु भएको छ।
एचआइभी/एड्सको वर्तमान अवस्था
विश्वभरीका मुलुकमा फैलिएको एचआइभीबाट हालसम्म अर्थात् सन् २०२२ को अन्त्यसम्म जम्मा ३ करोड ९० लाखजति संक्रमित भएका व्यक्ति छन्, तीमध्ये ३ करोड ७५ लाख १५ वर्षमाथिका वयश्क छन् भने १ करोड ३० लाख नयाँ संक्रमित भएका छन्, झण्डै २ करोड ९० लाख एड्सको उपचार सुविधा पाएका छन् भने ६ लाख ३० हजारजति एड्ससँग सम्बन्धित स्वास्थ्य समस्याबाट मृत्यु भएका छन्, तीमध्ये १ लाख ५० हजार जन्मेदेखि १४ वर्षसम्मका बालबालिकाको समेत मृत्यु भएको छ।
स्वास्थ्य सेवा विभागको २०७७/७८ को प्रतिवेदन अनुसार नेपालका ३१ हजारभन्दा बढी तथा १४ वर्षसम्मका १ हजार ३ सयभन्दा बढी बालबालिका एचआइभी संक्रमित व्यक्तिले जीवन यापन गरिरहेको अनुमान गरिएको छ। नेपालमा सबैभन्दा बढी संक्रमितमध्ये १५ देखि ४९ वर्ष उमेरका झण्डै ७२ प्रतिशत पाइएका छन्। नेपालका १५ वर्षदेखि ४९ वर्षसम्मका वयश्कमध्ये ०.१२ प्रतिशत नयाँ तथा पुराना एचआईभी संक्रमित भएका छन्। सुदूरपश्चिममा ३ वर्षमा २ सय २६ जना एचआइभी संक्रमितको मृत्यु भएको छ। १९ हजारभन्दा बढी एचआइभी./एड्स पीडित व्यक्तिले औषधि एन्टिरेट्रोभाइरल सेवन गरिरहेका छन्। २०७७/७८ मा नेपालमा यौनरोगका बिरामीको संख्या १२ हजारभन्दा बढी छ भने झण्डै ३४ हजार एचआइभी/एड्स पीडितले एन्टिरेट्रोभाइरल थेरापी सेवन गरिरहेका छन्।
एचआइभी/एड्स को परिभाषा
मानवको प्रतिरक्षा प्रणालीलाई नष्ट गर्ने जिवाणु (ह्युमन इम्युनी डेफिसेन्सी भाइरस) कुनै माध्यमबाट शरीरमा प्रवेश गरेमा रगतमा यसको बृद्धि विकास हुनु नै एचआइभी संंक्रमण हो। एचआइभीले मानव शरीरको रोगसँग लड्नसक्ने क्षमतालाई कमजोर बनाउदै लगेपछि जुनसुकै रोगले पनि आक्रमण गरी रोगी तुल्याउन सक्ने अवस्था नै एड्स हो।
एचआइभी सर्ने तरीका
असुरक्षित यौन सम्पर्कः एचआइभी संक्रमित व्यक्तिसँग असुरक्षित यौनसम्पर्क गरेमा एचआइभी सर्दछ।
असुरक्षित रगत आदानप्रदानः स्वच्छ व्यक्तिले एचआइभीबाट प्रदूषित रगत लिएमा एचआइभी सर्दछ।
एचआइभी संक्रमित आमाः एचआइभी संक्रमित गर्भवती आमाबाट शिशुमा एचआइभी सर्ने सम्भावना ४५ प्रतिशत रहन्छ।
लागुपदार्थ/औषधि सेवनः एचआइभी संक्रमित व्यक्तिले नसाद्वारा लागुपदार्थ/औषधि सेवन गर्दा प्रयोग गरेका प्रदूषित सिरीञ्ज–सुई स्वस्थ व्यक्तिले प्रयोग गरेमा एचआइभी सर्दछ।
एचआइभी/एड्सका चिन्ह र लक्षणहरुः
१. बिना कारण हरेक महिनामा १० प्रतिशतसम्म तौल घट्नु।
२. एक महिनाभन्दा बढी पखाला लागि रहनु।
३. जुनसुकै स्वास्थ्य समस्याले आक्रमण गरिरहनु।
४. एक महिनाभन्दा बढी ज्वरो आउनुका साथै अन्य संक्रमण भइरहनु।
५. मुखभित्र ढुसी देखिनु।
६. शरीर जिर्ण हुँदै जानु।
७. अन्त्यमा मृत्यु समेत हुनु।
एचआइभी/एड्स तथा क्षयरोगको सह–संक्रमण
एचआइभी/एड्स व्यक्तिमा प्रतिरक्षा प्रणाली कमजोर हुदा क्षयरोगको समेत संक्रमण बढिरहेको छ र एचआइभी/एड्स, क्षयरोग सह–संक्रमणका कारणले मृत्युसमेत बढीरहेको छ। यसबाट नागरिक, परिवार, समुदायका साथै देशकै सामाजिक, आर्थिक अवस्थामा समेत नकारात्मक असर पर्दछ।
एचआइभी संक्रमित नभएका व्यक्ति भन्दा संक्रमित व्यक्तिलाई क्षयरोगको संक्रमण हुने सम्भावना १० गुणासम्म बढी रहन्छ। तसर्थ समयमै परीक्षण गरी पूरा उपचार गर्नुपर्दछ। समयमैं परीक्षण, परामर्श, नियमित पूरा उपचार, माया र हेरचाह गरेमा एचआइभी/क्षयरोगको सह–संक्रमणबाट हुने मृत्युदर घटाउन सकिन्छ।
एचआइभी/एड्स नियन्त्रणमा चुनौती
नेपालमा २०७७/७८ मा १२ हजार भन्दा बढी यौनरोगी पाइएको तथ्यांकले बताउँछ, जसमा १.५ प्रतिशत क्लामाइडिया ट्रेकोमाइटिस र १ प्रतिशत जति निसेरिया गोनोरियाबाट संक्रमित देखिन्छन्। तर यौनरोगको खोजपडताल तथा उपचारमा सरकारको ध्यान पुगेको छैन। १५ देखि ४९ वर्षका उत्पादनशील व्यक्तिनै सबैभन्दा बढी एचआइभी/एड्सबाट संक्रमित र पीडित छन्। असुरक्षित यौन सम्पर्क, सुइद्वारा नसालु पदार्थ सेवन, समलिंगी यौनसम्पर्क, घरदेखि टाढा रहेर व्यवसाय गर्दा असुरक्षित यौन सम्पर्क तथा कण्डम प्रयोग नगरीकनै यौनसम्पर्क गर्दा सवै यौनरोगको रोकथाम/नियन्त्रणमा चुनौती छ।
कुनै व्यक्तिलाई एच.आइ.भी.संक्रमण भएको थाहा पाउँदा वा शंका लाग्नासाथ भेदभाव तथा सामाजिक बहिष्कार गरिन्छ।
एच.आइ.भी./एड्स नियन्त्रणमा राजनैतिक प्रतिबद्धता र दिगो राजनैतिक शासन व्यवस्था कायम नहुँदा पनि समस्या देखिन्छ।
यौनरोग लागेका व्यक्ति लाज, संकोच तथा सामाजिक/मनोवैज्ञानिक कारण समयमै स्वास्थ्य संस्थामा परीक्षण/उपचारका लागि आउँदैनन्। यसले गर्दा दीर्घ यौनरोगका कारण एच.आइ.भी. सर्ने बलियो संभावना रहन्छ। यौनरोगको परीक्षण/उपचार तथा परामर्शमा सरकारको ध्यानै पुग्न सकेको छैन।
हालसम्म झण्डै ५२ प्रतिशत गर्भवतीले मात्र एन्टिरेट्रोभाइरल थेरापी प्राप्त गरेका छन्। एच.आइ.भी./एड्स नियन्त्रणमा तालिम प्राप्त स्वास्थ्यकर्मीको कमी, औषधि,उपकरणको आपूर्तिमा कमी, आवश्यक प्रयोगशालाको कमी, भएका प्रयोगशालामा प्रयाप्त परीक्षण क्षमतामा कमी, सुपरिवेक्षण/अनुगमनमा कमीले चुनौती देखिन्छ।
विश्वव्यापी सामाजिक, आर्थिक समस्याले एच.आइ.भी./एड्स स्वास्थ्य क्षेत्रको प्राथमिकतामा पर्न सकेको छैन।
मुलुकबाट रोजगारको सिलसिलामा बाहिर जाने कामदारलाई एच.आइ.भी./एड्सका वारेमा चेतना अभिबृद्धिका साथै स्वास्थ्य प्रबर्धन गर्न सकिएको छैन। संयुक्त राष्ट्रसंघीय संगठनबाट प्रदान गर्दै आएको एच.आइ.भी./एड्स नियन्त्रणमा प्राप्त बजेट धेरै वर्षदेखि एड्स, क्षयरोग तथा औलो रोगको एकिकृत नियन्त्रणमा ग्लोवल फण्ड मार्फत प्राप्त बजेट एकलौटी अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्था सेभ द चिल्ड्रेनलाई उपलब्ध गराइएको छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले कार्यक्रम नबनाई उसैको भरमा सम्पूर्ण काम सुम्पदा एच.आइ.भी./एड्स नियन्त्रणमा समुदायस्तरसम्म चेतना, परामर्श, परीक्षण र उपचार पुग्न सकेको छैन। एच.आइ.भी./एड्स संक्रमित भएका तर परीक्षणको पहुँच र जानकारी नहुदा परामर्श परीक्षण तथा उपचारको अभावमा पिल्सनुपरेको छ।
एच.आइ.भी./एड्स परामर्श र परीक्षणः
सरकारी अस्पताल १ सय ३६ तथा नीजि अस्पतालमा रहेका ३९ गरी जम्मा १७५ स्वैच्छिक परामर्श र परीक्षण केन्द्र मा एच.आइ.भी.को परामर्श तथा परीक्षण निशुल्क गरिन्छ। हालसम्म ७६ जिल्लामा ८४ वटा एन्टिरेट्रोभाइरल थेरापी केन्द्र, क्लिनिक र ४५ वटा औषधि वितरण केन्द्र छन्, २७ जिल्लामा ३३ वटा सिडि फोर काउन्ट जति सेवा उपलब्ध छ। हाल (२०७३/७४ देखि २०७७/७८) सम्म नेपालभरका झण्डै ३४ हजार संक्रमितले एन्टिरेट्रोभाइरल थेरापी प्राप्त गरेका छन्।
एच.आइ.भी./एड्स परामर्श र परीक्षणका फाइदाहरुः
एच.आइ.भी./एड्सको परामर्शबाट संक्रमण नभएमा र संक्रमण भएमा गर्नुपर्ने सावधानी वारे थाहा पाउन सकिन्छ।
संक्रमण भएको खण्डमा आफ्नो परिवार, सन्तान समेतको परीक्षण गराई औषधोपचार र स्याहार सुसार गर्न मद्दत पुग्छ भने यौनसाथीको समेत एच.आइ.भी.को अवस्था थाहा पाई आवश्यक कदम चाल्न सकिन्छ।
एच.आइ.भी. संक्रमित भएमा समयमै औषधिको सेवन गरी स्वस्थ रहन र अरुलाई एच.आइ.भी. सर्नबाट बचाउन सकिन्छ।
गर्भवतीले औषधि सेवन गरेमा गर्भको शिशुलाई एच.आइ.भी.सर्ने सम्भावना न्युन हुन्छ।
एच.आइ.भी./एड्स रोकथाम
असुरक्षित यौनसम्पर्क गर्दा एच.आइ.भी. सर्ने जोखिम अत्यधिक बढ्ने हुनाले असुरक्षित यौनसम्पर्क गर्नु हुँदैन। एकपटक प्रयोग गरिएका सिरीञ्ज, सुई तथा अन्य छाला छेड्ने औजारहरु निर्मलीकरण नगरी प्रयोग गर्नु हुँदैन।
यौनरोग लागेको संका लाग्नासाथ स्वास्थ्य संस्थामा निशुल्क परीक्षण तथा उपचार गर्नु पर्दछ एच.आइ.भी संक्रमित आमाले आफू र शिशुलाई एच.आइ.भी.संक्रमणबाट बचाउन पूरा औषधि खानु पर्दछ। बीचमा औषधि कदापि छोड्नु हुँदैन।
यौनरोगबारे व्यापक जनचेतना जगाई यौनरोगीको खोजपडताल गरी परीक्षण/उपचार गर्न स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिई परिचालन गरिनुपर्छ।
परीक्षण नगरिएको र असुरक्षित रगत प्रयोग गर्नुहुदैन। संकास्पद साथीसंग यौनसम्पर्क गर्दा सही तरीकाले कण्डम प्रयोग गर्नुपर्दछ। समुदायस्तरसम्म निशुल्क यौनरोग (एच.आइ.भी.समेत) को परीक्षण सुविधा विस्तार गर्नुपर्दछ
लागुपदार्थ/औषधि सेवन गर्नुहुँदैन। हानीकारकक मद्यपान सेवन गर्नुहुँदैन।
विश्व एड्स दिवस काठमाण्डौका होटलको साटो खुला मैदान, हरेक स्थानीय तह र स्वास्थ्य संस्थामा जनचेतना मूलक कार्यक्रमकासाथ व्यापकरुपमा मनाइनुपर्दछ। यदि संक्रमण भइहालेको खण्डमा लास र डर नमानी निशुल्क हुने परीक्षण गराई स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पूरा र नियमित औषधि सेवन गर्नुपर्छ।
एच.आइ.भी./एड्सको उपचार तथा हेरचाह
एच.आइ.भी/एड्स पीडित व्यक्तिलाई विभिन्न ८४ वटा एआरटी केन्द्र तथा ४५ वटा डिस्पेन्सिङ क्लिनिकबाट निशुल्क परीक्षण गरी एण्टिरेट्रोभाइरल औषधि दिइन्छ। एच.आइ.भी–क्षयरोग सह–संक्रमण भएमा पनि दुवै समस्याका औषधि नियमित र पूरा मात्रामा सेवन गरेमा एच.आइ.भी तथा क्षयरोग निको पार्न सकिन्छ।
एच.आइ.भी./एड्स पीडितलाई घरपरिवार अथवा समुदायस्तरसम्म हेरचाह
एच.आइ.भी./एड्स संक्रमितलाई हेरचाहबारे जानकारी मूलक शिक्षा दिनुपर्छ।
एच.आइ.भी./एड्स पीडितलाई व्यक्तिगत सरसफाई, स्वस्थ खानपानको व्यवस्था गरिदिनुपर्छ। कुनै समस्या परेमा स्याहार सुसारका साथै सामाजिक तथा भावनात्मक सहयोग गर्नु पर्दछ।
आय आर्जन गर्न आर्थिक व्यवस्था तथा अन्य सरसल्लाह दिई सघाउनु पर्दछ।
जुनसुकै कारणले एच.आइ.भी. संक्रमित भएपनि सकारात्मक स्वास्थ्य प्रबर्धन गर्नु पर्दछ।
सरकारी अस्पताल १ सय ३६ तथा नीजि अस्पतालमा रहेका ३९ गरी जम्मा १७५ स्वैच्छिक परामर्श र परीक्षण केन्द्रमा एच.आइ.भी.को परामर्श तथा परीक्षण निशुल्क गरिन्छ।
एच.आइ.भी./एड्ससँगै क्षयरोग संक्रमण भएमा दुवैथरी औषधि सँगै खानुपर्दछ। शिशुलाई स्तनपान गराउने एच.आइ.भी.संक्रमित आमाले नियमित स्तनपान गराइरहनु पर्दछ। एच.आइ.भी./एड्स संक्रमितको रगतमा एच.आइ.भी.को बोझ २०० भन्दा कममा सिमित राख्न ३३ वटा केन्द्रमा पाइने निशुल्क रगतको सिडीफोर काउन्ट नियमित गराइ भाइरसको बोझ यकिन गर्नुपर्दछ। किनभने एच.आइ.भी./एड्सको औषधि (एन्टी रेट्रोभाइरल थेरापी) ले भाइरल लोड घटाउँछ। एच.आइ.भी./संक्रमित व्यक्तिलाई समुदायस्तरसम्म स्वास्थ्य सेवाको पहुँच बढाउनु पर्दछ।
समुदायस्तरसम्मका हरेक स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई यौनरोगको सिन्ड्रोमिक दृष्टिकोण तालिम प्रदान गरी खोजपडताल, परीक्षण तथा उपचारमा परिचालन गरिनुपर्छ। स्वास्थ्यकर्मीलाई सकेसम्म एच.आइ.भी./एड्स पीडित व्यक्तिको घर–घरमै पुगेर स्वास्थ्य सेवा दिने व्यवस्था गर्नुपर्दछ। एच.आइ.भी./एड्स पीडितलाई परि आउने स्वास्थ्य हेरचाह तथा संक्रमण रोकथाम गर्न परिवारका सदस्य, स्वास्थ्य स्वयम्सेवक तथा एच.आइ.भी./एड्स संक्रमित समेतलाई तालिम दिई परिचालन गर्नु पर्दछ। एआरटी केन्द्रका कर्मचारी र एआरटीबारे जानकारीमूलक होर्डिङ बोर्डको संख्या बढाइनुपर्दछ।
एच.आइ.भी./एड्स नियन्त्रणमा स्वास्थ्य प्रवर्धन
एच.आइ.भी.संक्रमणबाट बच्न यौन व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु पर्दछ। असुरक्षित यौन सम्पर्कका हानी वारे समुदायस्तरसम्म व्यापक चेतना जगाउनु पर्दछ। यौनरोग/एच.आइ.भी.संक्रमणको अवस्थाका लागि समयमैं परामशर्, परीक्षण /उपचार गर्नुपर्छ। यौनसम्पर्क गर्दा सही तरीकाले कण्डमको प्रयोग गर्नु पर्दछ। एच.आइ.भी/एड्स पीडित गर्भवती आमाले आफू र गर्भको शिशुलाई संक्रमणबाट बचाउन स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित र पूरा औषधि सेवन गर्नु पर्दछ।
हरिया तरकारी, फलफूल सहित स्वस्थकर र पोषिलो खानेकुरा खानुपर्दछ।
हरेक जुन महिनाको २७ तारिखका दिन मनाइने एच.आइ.भी.परीक्षण दिवस नेपालका हरेक स्वैच्छिक परामर्श र परीक्षण केन्द्रमा समेत चलाउनुु पर्दछ भने हरेक प्राथमिक स्वास्थ्य केन्द्रस्तर वा स्थानीय तहसम्म यस्ता केन्द्रको विस्तार गरिनुपर्दछ। यौनरोग/एच.आइ.भी.संक्रमण भएको शंका लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा निशुल्क परीक्षण तथा उपचार गर्नु पर्दछ।किशोरकिशोरीलाई यौन, यौनरोग/एच.आइ.भी.वारे स्पष्ठ जानकारी गराउनु पर्दछ। .विद्यालयस्तरदेखि शैक्षिक पठनपाठनमा यौन क्रियाकलाप, यौनरोग/एच.आइ.भी./एड्सबारे जोड दिनुपर्दछ। सुरक्षित व्यवहार परिवर्तनबारे स्थानीय सरकार तथा स्थानीय विद्यालय, स्वास्थ्यसंस्थामार्फत् सूचना, शिक्षा तथा सञ्चार कार्यक्रमलाई व्यापक वनाइनु पर्दछ।
(लेखक स्वास्थ्य प्रवद्र्न विज्ञ तथा पूर्व स्वास्थ्य निर्देशक हुन्।)