नेपालमा करिब ५ हजार दन्त चिकित्सकहरु तथा करिब ४ हजारको हाराहारीमा डेन्टल हाइजेनिष्टहरु रहेको तथ्यांक छ। तर पनि अधिंकाश दुरदराजका गाउँमा दन्त स्वास्थ्यको पहुँच पुग्न सकेको छैन। सरकारले मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सन् २००४ मा यससम्बन्धी नीति ल्याएको थियो। सन् २०१४ मा संशोधन गरेको पनि छ। यद्यपि कार्यान्वयन पक्ष फितलो हुँदा दन्त स्वास्थ्य सरकारको प्राथमिकता नपरेको भन्ने विषय पनि बेला बेलामा उठ्ने गरेको छ। नेपालमा दन्त चिकित्सा सम्बन्धी चेतनाको अवस्था, दन्त चिकित्सकहरु पलायनको अवस्था तथा सरकारी तथा निजी स्तरबाट मुख स्वास्थ्य सम्बन्धी भएका कामहरुको बारेमा कान्ति बाल अस्पतालमा कार्यरत दन्त चिकित्सक कुम्भ जोशीसँग स्वास्थ्य खबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीः
मुख स्वास्थ्यलाई कसरी परिभाषित गर्नुहुन्छ?
मुख स्वास्थ्य भन्नासाथ दाँत मात्रैलाई बुझ्ने परिपाटी रहेको छ। कुनै एक दन्त चिकित्सकका अनुसार मुख स्वास्थ्य भन्नाले ओठ तथा ओठभित्रको संरचना तालु, जिब्रो,गाला,दाँत ,घाँटीको अगाडि तर्फको भाग,दाँतलाई समात्ने हड्डी आँखाको मुनिको भाग लगायतको स्वास्थ्यलाई मुख स्वास्थ्यका रुपमा परिभाषित गरिन्छ।
त्यसकारण यी सम्पूर्ण अंगहरुमा आउन सक्ने जुनसुकै समस्यालाई मुख स्वास्थ्यको समस्या भनिन्छ।
मुख स्वास्थ्यका समस्या अन्तर्गत के कस्ता समस्याहरु पर्छन्?
मुख स्वास्थ्यका संरचनामा आउने जुनसुकै समस्या पनि मुख स्वास्थ्य समस्या हुन्।
जसमा दन्त सडनको समस्या, दाँतसँग जोडिएको हड्डी,गिजा,तालु,जिब्रो,गालाको भित्री भाग लगायतमा आउने जुनुसुकै समस्या पनि मुख स्वास्थ्यका समस्या हुन्। त्यस्तै मुख तथा अनुहारमा लाग्ने चोटपटक तथा मुख भित्रका जुनसुकै नरम तन्तुको आउने जुनसुकै समस्यालाई मुख स्वास्थ्य सम्बन्धी समस्या भन्ने गरिन्छ।
अहिले मुख तथा दन्त स्वास्थ्यमा बढी मात्रामा देखिएको समस्या के हो?
नेपालमा मात्रै नभई विश्वमा नै बढी मात्रामा देखिएको समस्याका रुपमा दन्त सडनलाई लिने गरिन्छ। दाँतको सबैभन्दा बाहिरको पत्रलाई इनामेल भनिन्छ। उक्त पत्रमा हामीले खाएका खानेकुरा टाँसिएको अवस्थामा मुखमा भएका असंख्य किटाणु तथा ब्याक्टेरियाले ती खानेकुरालाई सडाउँछन्। उक्त सडेका खानेकुरा एसिडमा परिणत हुन्छन्,जसले दाँतको इनामेललाई जलाइदिन्छ। जसका कारण दाँतको बाहिरी संरचना भत्किन तथा टुक्रिन थाल्छ,विस्तारै भित्री संरचनामा पुगेपछि स्नायुसम्म पनि त्यसको प्रभाव पर्छ जसकारण दाँत दुख्ने समस्या हुन थाल्छ।
विश्वका कति मानिसहरुमा दन्त सडनको समस्या रहेको तथ्यांक छ?
तथ्यांक अनुसार कुनै पनि मान्छे आफ्नो जीवनकालमा दन्त सडनको समस्याबाट ग्रसित हुने सम्भावना करिब ८० देखी ९० प्रतिशत रहन्छ। यसरी हेर्दाे नेपालमा मात्रै नभई विश्वमा नै दन्त सडनको समस्या भयावह रुपमा रहेको छ। नेपालको कुरा गर्नुपर्दा सन् २००४ मा बालबालिकाको हकमा एक सर्वेक्षण गरिएको थियो। उक्त सर्वेक्षण अनुसार करिब ६० देखी ७० प्रतिशत बालबालिकाहरु दन्त सडनको समस्याबाट ग्रसित हुने गरेका छन्।
उक्त तथ्यांक अनुसार नेपालमा करिब ६४ प्रतिशत बालबालिकाहरु कुपोषित,५८ प्रतिशत बालबालिकाहरुमा भिटामिन ए को समस्याबाट ग्रसित हुने गरेको पाइएको छ।
मुख स्वास्थ्य नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन सरकारी तथा निजी स्तरबाट के–कस्ता काम हुनु जरुरी छ?
नेपालमा हाल उत्पादित दन्त चिकित्सकहरुलाई दरबन्दी खडा गरी सरकारी संरचनामा ल्याउन जरुरी छ। जसले दन्त चिकित्सकहरुको जीवनभरको लगानी खेर जान दिदैंन। त्यस्तै मुख स्वास्थ्य सम्बन्धी रोगहरुको भारबाट व्यक्ति,परिवार,समाज र राष्ट्रलाई कम गराउन सकिन्छ। यसको लागि सरकारले सबै प्रकारका दन्त चिकित्सकहरुको दरबन्दी सरकारी स्वास्थ्य संस्थाहरुमा खडा गर्न आवश्यक छ। साथै निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्नका लागि सरकारले प्याकेज ल्याउन आवश्यक हुन्छ। त्यसका साथै मुख स्वास्थ्य सम्बन्धी जनचेतना बढाउनका लागि सरकार, स्वास्थ्यकर्मी, सञ्चार माध्यम लगायत सम्पूर्णले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।
पछिल्लो समय दन्त चिकित्सकहरु विदेश पलायनको दर बढ्दो रहेको छ, यसलाई कसरी रोक्न सकिन्छ?
विशेषगरी युवा दन्त चिकित्सकहरु विदेश पलायनको अवस्था एकदमै जल्दोबल्दो समस्याका रुपमा देखा परेको छ। नेपालमा स्वदेश र विदेशमा गरी वार्षिक १ हजारको हाराहारीमा दन्त चिकित्सकहरु उत्पादन हुँदै आएका छन्। त्यसमा ७ सय संख्यामा दन्त चिकित्सकहरु नेपालमै उत्पादन हुने गर्छन् भने बाँकी विदेशमा अध्ययन गरेर नेपाल आउने गर्छन्। यसरी वार्षिक हजारौंको संख्यामा उत्पादित दन्त चिकित्सकहरुका लागि नेपालमा काम गर्ने अवसर छैन। सरकारी स्तरमा एकदमै कम मात्रै दन्त चिकित्सकहरुको माग हुने गरेको छ। त्यस्तै निजीमा काम गर्न चाहनेहरुका नेपालमा दन्त चिकित्सा क्षेत्र त्यति फस्टाएको पाइँदैन। आफू यस क्षेत्रमा लगानी गरेर आउनका लागि अध्ययनमा नै ठूलो धनराखी खर्च हुने भएकोले सबैका लागि सम्भव समेत हुँदैंन। यसरी लगानी र रोजगारी बीच तालमेल नमिल्दाको अवस्थामा धेरैको संख्यामा दन्त चिकित्सकहरु पलायन हुने गरेको तीतो यथार्थ छ। विश्वको सन्दर्भमा भन्नुपर्दा दन्त चिकित्सकहरुको आम्दानीको स्तर एकदमै राम्रो छ। तर नेपालको कुरा गर्नुपर्दाे सरकारले समेत ४०/५० लाखको लगानीमा उत्पादित दन्त चिकित्सकलाई ४०/५० हजारमा काम लगाइरहेको अवस्था छ।
बेरोजगारी तथा रोजगारीमा समेत जीवकोपार्जन हुने आम्दानीको अभाव,काम गर्ने उपयुक्त वातावरणको अभाव जस्ता कारण धेरै दन्त चिकित्सकहरु विदेसिन बाध्य भएका छन्।
दन्त चिकित्सकहरु पलायनको अवस्थालाई कसरी रोक्न सकिन्छ?
सरकारले पर्याप्त मात्रामा दन्त चिकित्सकहरुको दरबन्दी खडा गर्नु,सरकारले प्रदान गर्दे आएको सेवा सुविधामा हेरफेर,निजी क्षेत्र फस्टाउने उपयुक्त नीति सरकारले ल्याएमा दन्त चिकित्सकहरु पलायन हुने अवस्थालाई केही रोक्न सकिन्छ।
नेपाली समाजमा मुख तथा दन्त स्वास्थ्य सम्बन्धी चेतनाको स्तर कस्तो रहेको पाउनुभएको छ?
पछिल्लो समय गाउँ गाउँसम्म सुचना प्रविधिको पहुँचले मुख स्वास्थ्य सम्बन्धी सचेतना केही बढेको पाइन्छ।
यद्यपि उक्त सुचनालाई ज्ञानमा परिणत गर्न नसक्दा धेरै मानिसहरु यसको उपचारको पहुँचभन्दा बाहिर नै रहेको स्थिती छ। जस्तै धुम्रपान, मद्यपान जस्ता पदार्थहरु सेवनले मुखको क्यान्सरको सम्भावनालाई बढाउने तथ्य विभिन्न अध्ययनहरुले फेला पारेको छ। मानिसहरुलाई उक्त ज्ञान हुँदाहुँदै पनि त्यस्ता पदार्थहरुको सेवन गरिरहेको हुन्छ। त्यसकारण सबैमा जीवनउपयोगी ज्ञानको आवश्यक पर्छ भन्ने मलाई लाग्छ।
अधिकांश दन्त चिकित्सकहरु सहर केन्द्रित रहेको अवस्थामा गाउँ गाउँमा मुख तथा दन्त स्वास्थ्य सेवाको पहुँच पुर्याउन के गर्नुपर्ला?
सन् १९५० को दशकमा अमेरिकाको न्युयोर्कमा समेत बच्चाको दाँतमा समस्या आएमा उपचार गर्ने परिपाटीको विकास भइसकेको थिएन। त्यतिबेला बच्चाको दाँत महत्वपूर्ण छ भन्ने ज्ञानको अभाव तथा त्यससम्बन्धी काम गर्ने जनशक्तिको अभावका कारण अमेरिका जस्तो विकसित मुलुकका मानिसहरुमा समेत त्यस प्रकारको गलत धारणा रहेको थियो। नेपालको सन्दर्भमा भन्नुपर्दा यस क्षेत्रमा जनशक्ति उत्पादन भइसकेको तथा मानिसमा मुख स्वास्थ्य सम्बन्धी चेतना समेत पुगिसकेको अवस्था छ। बनिसकेको नीतिलाई परिमार्जन तथा कार्यान्वयन पक्षलाई ध्यान दिन सकेको अवस्थामा नेपालका गाउँ गाउँमा दाँत तथा मुख स्वास्थ्यको पहुँच पुर्याउन सहज हुन्थ्र्याे भन्ने लाग्छ।