धेरै मानिसले एनेस्थेसियोलोजिस्ट भनेको बेहोस बनाउने मात्र डाक्टर भन्ने बुझाइ राखेका हुन्छन्। तर एनेस्थेसियोलोजिस्टको जम्मा २५ प्रतिशत काम मात्रै बेहोस गराउने हो। उनीहरूले एनेस्थेसिया दिने, दुखाइ व्यवस्थापन गर्ने, क्रिटिकल केयर (गम्भीर अवस्थाका बिरामीको उपचार) तथा पेरी-अपरेटिभ मेडिसिन (शल्यक्रियाको अघिपछि आवश्यक औषधि र उपचार व्यवस्थापन) समेत सम्हाल्ने गरेका छन्।
नेपालमा पहिलो पटक सन् १९५५ मा डा. भवानीभक्त सिंह प्रधानले एनेस्थेसियोलोजिस्टका रूपमा सेवा सुरु गरेका थिए। अहिले नेपालमा झण्डै ७ सयभन्दा बढी एनेस्थेसियोलोजिस्ट कार्यरत छन्।एनेस्थेसिया के हो? नेपालमा यसको विकास कहिले र कसरी भयो? एनेस्थेसियाका क्रममा के-के जोखिम आउन सक्छन्? एनेस्थेसियाले बिरामीमा अल्पकालीन वा दीर्घकालीन असर के-के पार्छ? यी विषयमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. पवन हमालसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
एनेस्थेसिया भनेको के हो?
चिकित्सा शास्त्रमा एनेस्थेसिया भन्नाले बिरामीलाई शल्यक्रिया वा अन्य पीडादायी प्रक्रिया सहज बनाउने औषधि तथा विधि जनाउँछ। धेरैले यसलाई जनरल एनेस्थेसियासँग मात्र जोड्छन्, तर वास्तवमा बिरामीलाई बेहोस गराउनेका साथै अम्नेसिया (स्मृति हराउने), दुखाइ नियन्त्रण गर्ने लगायतका काम पनि एनेस्थेसियामा पर्छ।
शल्यक्रियाको प्रकृतिअनुसार बिरामीलाई बेहोस बनाउने वा अंगविशेषलाई मात्रै संवेदनाहीन बनाउने एनेस्थेसिया दिइन्छ।
नेपालमा एनेस्थेसियाको विकास कसरी भयो?
सन् १९५५ मा डा. भवानीभक्त सिंह प्रधान नेपालका पहिलो एनेस्थेसियोलोजिस्टका रूपमा आएका थिए। उनले भारतमा अध्ययन गरेर फर्किएपछि नेपालमा सेवा सुरु गरेका हुन्। सन् १९८५ मा क्यानडाका विश्वविद्यालयहरूसँगको सहकार्य तथा डा. रोशन अमात्यको पहलमा इन्स्टिच्युट अफ मेडिसिनमा एनेस्थेसियाको औपचारिक अध्ययन कार्यक्रम सुरु भएको इतिहास छ।
बिरामीहरूले एनेस्थेसियोलोजिस्टलाई कसरी बुझ्ने?
नेपालमा सुरुमा एनेस्थेसियोलोजिस्टलाई केवल बेहोस गराउने डाक्टरका रूपमा बुझिन्थ्यो। त्यो बेला चिकित्सकको संख्या कम हुँदा उनीहरूको काम त्यतिमै सीमित थियो। अहिले भने उनीहरू शल्यक्रियाको पूर्व-परामर्श, दुखाइ व्यवस्थापन, क्रिटिकल केयर तथा पेरी-अपरेटिभ मेडिसिनमा समेत सक्रिय छन्।
नेपाल एनेस्थेसियोलोजिस्ट सोसाइटीमा हाल करिब ७०० सदस्य आबद्ध भइसकेका छन्, जसले उनीहरूको भूमिकालाई अझै फराकिलो बनाएको छ।
एनेस्थेसियाका जोखिम के-के हुन्?
शल्यक्रियाको क्रममा वा त्यसपछिका विभिन्न जोखिम हुन्छन्। शल्यक्रियाका बेला बिरामीको अक्सिजन स्तर, श्वासप्रश्वास, मुटुको चाल ठीक छ कि छैन भनेर हेर्न अत्यन्तै दक्ष एनेस्थेसियोलोजिस्टको भूमिका महत्त्वपूर्ण हुन्छ।
यदि दुखाइ व्यवस्थापन राम्ररी भएन भने शल्यक्रियापछि मुटु वा छातीका रोगको जोखिम बढ्न सक्छ। मिर्गौला, कलेजोका बिरामीलाई एनेस्थेसिया असावधानीपूर्वक दिँदा अंग फेलियरसम्म हुन सक्छ।
एनेस्थेसियोलोजिस्टको भूमिका शल्यक्रियापछि सकिन्छ त?
शल्यक्रिया सकिएपछि पनि बिरामीको दुखाइ व्यवस्थापन र अन्य शारीरिक क्रियाकलापको निगरानीमा एनेस्थेसियोलोजिस्टको भूमिका झन् महत्त्वपूर्ण हुन्छ। क्याथेटर, सुई वा औषधिको सहायताले उनीहरूले दुखाइ घटाउने काम गर्छन्।
अरू के काम गर्छन्?
जटिल मुटु शल्यक्रिया, न्युरो सर्जरी जस्ता जोखिमयुक्त शल्यक्रियामा बिरामीलाई स्थिर राख्ने, शल्यक्रियापछि होसमा ल्याउने, दीर्घकालीन दुखाइ नियन्त्रण गर्ने जिम्मेवारी पनि एनेस्थेसियोलोजिस्टकै हुन्छ।
नेपालमा पर्दा पछाडिको हिरोजस्तै भूमिका किन भनिन्छ?
नेपालमा एनेस्थेसियोलोजिस्टको भूमिकालाई अझै पर्दा पछाडिको हिरोजस्तै लिने गरिन्छ। तर विदेशमा भने सर्जनजस्तै उनीहरूलाई पनि उत्तिकै सम्मान र मान्यता दिइन्छ।
लामो समयको एनेस्थेसियाले कस्ता असर पार्न सक्छ?
एनेस्थेसिया अत्यन्त संवेदनशील औषधि हो, यसलाई एनेस्थेसियोलोजिस्टबाहेक अन्य चिकित्सकले प्रयोग गर्न नपाउने नियम हुन्छ। रक्तचापमा एक्कासी उतारचढाव आउनु, लामो शल्यक्रियापछि बिरामी उठ्न नसक्नु, श्वासप्रश्वासमा समस्या आउनुजस्ता खतरा हुन्छ। तर दक्ष चिकित्सकबाट एनेस्थेसिया लिँदा डराउनु पर्ने छैन।
बिरामीलाई बेहोस किन बनाइन्छ?
शल्यक्रिया गर्न सजिलो होस् र बिरामीलाई दुखाइ नहोस् भनेर बिरामीलाई बेहोस बनाइन्छ। अहिले केही शल्यक्रियामा बेहोस नगराई अंगविशेषलाई मात्रै संवेदनाहीन बनाउने विधिहरू पनि विकसित भइसकेका छन्। शल्यक्रिया अघि अनिवार्य रूपमा एनेस्थेसियोलोजिस्टसँग परामर्श लिन बिरामीलाई सुझाव दिइन्छ।
श्वासप्रश्वास कसरी व्यवस्थित गरिन्छ?
एनेस्थेसियाका औषधिले श्वासप्रश्वास थोरै समयका लागि रोकिदिन्छ। त्यसैले बिरामीलाई भेन्टिलेटर र ट्युबमार्फत कृत्रिम रूपमा सास फेर्न सहयोग गरिन्छ।
इन्टरभेन्सनल पेन म्यानेजमेन्ट भनेको के हो?
दुखाइ व्यवस्थापन अर्थात् पेन म्यानेजमेन्ट पनि एनेस्थेसियाको महत्त्वपूर्ण अङ्ग हो। नेपालमा यसको अभ्यास विश्वका अन्य मुलुकभन्दा ढिलो सुरु भएको हो। एउटा रोचक प्रसङ्ग — राजपरिवारका एक सदस्यलाई ढाड दुखेपछि अमेरिकाबाट पेन म्यानेजमेन्ट विशेषज्ञ ल्याएर सुई दिएर उपचार गरिएको थियो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. बालकृष्ण भट्टराईले यसको औपचारिक अभ्यास सुरु गर्नुभएको मानिन्छ। सन् २०१५ पछि नेपालमा यस विधिको विकास तीव्र भएको छ।
कस्तो दुखाइमा पेन म्यानेजमेन्ट चिकित्सक भेट्ने?
तीन महिनाभन्दा बढी समयसम्म दुखाइ रहिरहेमा पेन म्यानेजमेन्ट विशेषज्ञको सल्लाह लिनुपर्छ। ढाड दुखाइ, मांसपेशी दुखाइ वा क्यान्सरजन्य दुखाइमा इन्टरभेन्सनल पेन म्यानेजमेन्ट उपयोगी हुन्छ।
हेरौं भिडियो