काठमाडौं- नेशनल वाथरोग सेन्टरको पहलमा नेक्स्ट जेन ल्याब सोलुसन ले नेपालमा पहिलो पटक बाथरोगको प्रारम्भिक लक्षण पहिचान गर्न सक्षम अत्याधुनिक एचएल-डीआर४, एचएलए-बी५१, एचएलए-बी२७ आधारित डायग्नोस्टिक प्रविधि भित्र्याएको छ।
ट युरोपको चेक रिपब्लिकस्थित एचओएलए बायो ल्याब्ससँगको सहकार्यमा विकास गरिएको हो र दक्षिण एसियामा पहिलोपटक उक्त प्रविधि भित्रिएको नेक्स्ट जेन ल्याब सोलुसनका प्रबन्ध निर्देशक नरेश पाण्डेले जानकारी दिए।
उनले भने, 'पहिले बाथरोग पहिचान गर्न लामो समय लाग्थ्यो, औषधि पनि धेरै वर्ष खानु पर्ने अवस्था थियो। चाँडो पहिचान हुँदा समय र पैसा दुबै बचत हुन्छ। नेपालमै सुलभ दरमा चाँडो वाथरोग पत्ता लगाउन आवश्यक महसुस भएकाले यो प्रविधि ल्याएका हौं।'
नेशनल वाथरोग सेन्टरका अध्यक्ष तथा वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यले उक्त प्रविधि नेपाल भित्र्याउने पहललाई सह्रानीय रहेको बताए। 'वाथरोगका धेरै लक्षण हुन्छन् र परीक्षण महंगो भएकाले हामी पनि जाँच गर्न हिचकिचाउथ्यौं। अब नेपालमै सुलभ दरमा जाँच हुने भएकाले सहज हुनेछ।' उनले एचएलए-बी५१लाई ‘सिल्क–रुट’ क्षेत्रसँग सम्बन्धित मानिने बताए। 'जापानमा धेरै देखिन्छ, नेपाल पनि सो क्षेत्रमा पर्छ। यसले आँखा रातिनु, छालामा घाउ, कम उमेरमा स्ट्रोकजस्ता समस्यामा पहिचान कठिन हुने केस अब पत्ता लगाउन मद्दत गर्छ। एचएलए-डीआर४ लाई सुरुमै पत्ता लगाउन सकियो भने रोगलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ,' उनले थपे, 'दक्षिण एसियामा यस्तो परीक्षण अत्यन्तै सीमित छ। चाँडोभन्दा चाँडो कडा वाथरोग पहिचान गर्न यो प्रविधिले ठूलो सहयोग पुर्याउँछ।'
वाथरोग विशेषज्ञ डा. सुधीर कर्मचार्य विश्वका सीमित देशमा मात्र हुने परीक्षण नेपाल भित्रिएको बताए। 'एचएलए-बी५१ नेपालमै उपलब्ध थिएन, भारतका पनि केही अस्पतालमा मात्रै हुन्थ्यो। एचएलए-बी२७ पनि सामान्यतया भारतमै पठाएर गरिन्थ्यो। अब एउटै मेसिनबाट सबै परीक्षण गर्न सकिने भयो। हामीले धेरै पहिले नै यस्तो मेसिनको माग गरेका थियौं, मेहनतपछि अब नेपालमा उपलब्ध भएको छ,' उनले भने।
उनका अनुसार यो जाँच पीसीआर विधिबाट गरिन्छ। 'वाथरोग एक अटोइम्युन रोग हो, जसमा जीनको भूमिका हुन्छ। एचएल-डीआर४जस्ता मार्करहरूले जटिल केसहरूमा निदान स्पष्ट बनाउन मद्दत गर्छ।
नेशनल वाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले आफू वाथरोगमा केन्द्रित भएर निरन्तर काम गरिरहेका कारण उक्त प्रविधिको आवश्यकता महशुस भएको बताए। नेपालमा नयाँ प्रविधि ल्याउने र आधुनिक उपचार प्रणाली अपनाउने कार्यमा हामी अग्रणी भएकाले यो प्रविधिको आवश्यकता महशुस गरेको उनले बताए। एचओएलए बायोल्याबको अनुसन्धान र विकासबाट उक्त प्रविधि निर्माण उक्त प्रविधि नेशनल वाथरोग सेन्टरको आवश्यकतासँग मिलेकाले नेपाल भित्र्याइएको उनको भनाइ छ। उनले भने, 'यसले नेपाली बिरामीलाई प्रत्यक्ष फाइदा पुर्याउने छ। चाँडो रोग पत्ता लगाएर उपचार गर्न सकिनेमा ढुक्क भएका छौं।'
एचएल-डीआर४, एचएलए-बी५१, एचएलए-बी२७ के हुन् ?
यी सबै ह्युमन ल्युकोसाइट एन्टिजेन (एचएलए) प्रतिरक्षा–सम्बन्धी जीन मार्करको प्रकार हो। यी मार्करले शरीर कसरी संक्रमण वा स्व–प्रतिरक्षा रोगसँग प्रतिक्रिया जनाउँछ भन्ने निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने डा वैद्य बताउँछन्।
उनले भने, 'एचएलए-बी२७ इन्काइलोजिङ स्पोन्डिलाइटिस, रियाक्टिभ आर्थ्राइटिस आदि जस्ता वाथरोगसँग सम्बन्धित हुन्छ। यो परीक्षणले रोगको पहिचानमा चिकित्सकलाई सही बाटो देखाउँछ। एचएलए-बी५१ बेहचेट्स डिजिज (आँखा रातो हुने, छालामा घाउ, मुखमा घाउ, कम उमेरमा स्ट्रोक) सँग जोडिएको मुख्य मार्कर रहेको उनको भनाइ छ। यो सिल्क–रुट क्षेत्रका देशहरू (जापान, टर्की, इरान, नेपाल आदि) मा उच्च दरमा पाइन्छ।'
उनका अनुसार एचएलए-डीआर४ गठिया वाथरोगको जोखिम वृद्धि संकेत गर्ने प्रमुख जीन जाँच हो। प्रारम्भिक पहिचानले रोगलाई गम्भीर हुनुअघि नै नियन्त्रण गर्न मद्दत गर्छ।
कसरी काम गर्छ ?
यो परीक्षण आरटी-पीसीआर प्रविधिमा आधारित हो। जुन नेशनल वाथरोग सेन्टरमै उपलब्ध भएको कक्षपतिले जानकारी दिए। प्रारम्भिक चरणमै जोखिम पहिचान गरिदिने भएकाले चिकित्सकले तुरुन्तै उपयुक्त उपचार सुरु गर्न सकिने उनी बताउँछन्।
धेरै बिरामी गम्भीर लक्षण देखिएपछि मात्र अस्पताल पुग्ने हुँदा उपचार महंगो र जटिल हुने गरेको उनले जानकारी दिए। 'नयाँ किटले प्रारम्भिक पहिचानबाट रोग नियन्त्रण, औषधि अवधि घटाउने र दीर्घ जटिलता रोक्नेछ। नेक्स्ट जेन सोलुसनले भविष्यमा यस परीक्षणलाई देशभर उपलब्ध गराउने योजना बनाइरहेको छ,' उनले भने।