काठमाडौं- सम्यक डायग्नोस्टिकका अध्यक्ष समेत रहेका डा केयूर गौतमलाई बायोफायर प्रविधि (BioFire FilmArray) भित्र्याउने रहर केही वर्षअघि नै जागेको हो। उनले ल्याब बनाउँदै गर्दा एउटा कुनो उक्त मेसिनका लागि छुट्याए। तर, तुरुन्तै ल्याउन सम्भव भएन।
उनी र उनको टिमलाई त्योबेला रोक्न मुख्य कुरा थियो- महंगो लागत र चिकित्सा जगतमा प्रशस्त जानकारीको अभाव ।
गम्भीर संक्रमण (खासगरी म्यानेनजाइटिस र निमोनिया)को उपचारमा यो प्रविधिमा आधारित जाँचले निकै राम्रो भूमिका खेल्छ। डा गौतमका अनुसार म्यानेनजाइटिसदेखि निमोनियासम्मका संक्रमणले केही घण्टामै ज्यानै लिने स्थितिमा पुर्याउँछ। तिनको निदान एकै घण्टामा हुनुका साथै विश्वसनीय नतिजा प्राप्त हुनु यसको ठूलो उपलब्धि हो। त्यसैले विश्वमा यसलाई 'जीवन-रक्षक' प्रविधिका रुपमा लिइएको छ।
बायोफायर र पुरानो प्रविधि
नेपालमा गम्भीर संक्रमणको पहिचान अझै पनि पारम्परिक विधिमै निर्भर छ। त्यसका अनेक कारण छन्, त्यसमध्ये एउटा विश्वले अपनाएका प्रविधि समयमै नेपाल नभित्रिनु हो भने अर्को त्यसबारे चिकित्सा क्षेत्रदेखि आमजनसम्म ज्ञानको अभाव हो।
पुरानो प्रविधिमा जाँच गर्दा ब्याक्टेरिया 'ग्रो हुन' ७२ घन्टा लाग्छ । भाइरस पहिचान गर्न ११४–११७ घन्टा लाग्छ । हरेकको छुट्टाछुट्टै परीक्षण, जनशक्ति धेरै आवश्यक, रिपोर्टलाई एकीकृत गर्न चिकित्सकलाई समय लाग्ने गर्छ।
'एउटा भाइरस वा जिवाणु छुट्टाछुट्टै पीसीआर गर्नुपर्ने पुरानो प्रणालीमा प्रत्येक परीक्षणलाई करिब ३ घन्टा लाग्छ, त्यसैले ९ वटा भाइरस हेर्न मात्रै २७ घन्टा बित्थ्यो। त्यसमाथि जनशक्ति धेरै खपत हुने, सेन्सिटिभिटी–स्पेसिफिसिटी पनि कम हुने र कुन भाइरस वा ब्याक्टेरिया भन्ने यकिनमा पनि कमी थियो,' उनले भने, 'ब्याक्टेरियल कल्चरमा केही ब्याक्टेरिया सजिलै उम्रिए पनि स्लो-ग्रोइङ वा एनाइरोबिक ब्याक्टेरिया छुट्टै प्रविधिबिना पहिचान गर्नै नसक्ने स्थिति हुन्थ्यो। बायोफायरमा भने यस्तो जटिलता हुँदैन।'
जसले मुख्यत: दुईटा जटिलता निम्त्याउँछ- पहिलो, उपचारमा ढिलाइका कारण जटिलता बढ्ने र दोस्रो, अनावश्यक एन्टिबायोटिक प्रयोग बढ्ने ।
उनले भने, 'आइसीयु/सीसीयु/एनआईसीयुमा रहेका बिरामीमा केही घण्टाको ढिलाइले नै जीवन तलमाथि हुने अवस्था रहन्छ। सही एन्टिबायोटिक नपाएको अवस्थामा संक्रमण थप फैलिन सक्छ।'
पुरानो प्रविधिमा जाँचमा समय लाग्न भएकाले अनुमानका आधारमा (इम्पेरिकल थेरापी) चलाइने एन्टिबायोटिकले एन्टिबायोटिक रेसिस्टेन्सजस्तो विश्वव्यापी संकटलाई बढाइरहेको डा गौतम बताउँछन्।
बायोफायरको मूल शक्ति : सिन्ड्रोमिक टेस्टिङ
बायोफायरको सबैभन्दा सबल पक्ष 'सिन्ड्रोमिक टेस्टिङ मोडेल' हो। अर्थात्, बिरामीमा देखिएको लक्षणसँग सम्बन्धित किटाणुहरूको पूरै समूह एउटै स्याम्पलबाट एकैचोटि परीक्षण हुन्छ।
जस्तै: म्यानेनजाइटिस/इन्सेफ्लाइटिस प्यानलमा १४ टार्गेट हुन्छ । जहाँ ६ ब्याक्टेरिया, ७ भाइरस, १ इस्ट हुन्छन्। जसको रिपोर्ट १ घन्टाभित्र आउँछ भने सेन्सिटिभिटी ९४ प्रतिशत स्पेसिफिसिटी ९९ प्रतिशत भन्दा बढी हुन्छ।
त्यसैगरी निमोनिया प्यानलमा जम्मा ३४ टार्गेट हुन्छ । जसमा १८ ब्याक्टेरिया, ९ भाइरस, ७ रेसिस्टेन्स जीन हुन्छन्।ब्याक्टेरिया मात्रा पनि देखिन्छ। रेसिस्टेन्स जीनका कारण कुन औषधि नचल्ने हो- सीधा रिपोर्टमा आउँछ।
उपचार व्यवस्थापनमा बायोफायरको प्रभाव
यसले एक घन्टामै नतिजा दिने भएकाले गम्भीर बिरामीको समयमै र सही उपचार हुने सम्भावना बढाउँछ । त्यसकारण यसलाई 'जीवन-रक्षक' प्रविधिका रुपमा पनि अर्थ्याउन सकिन्छ।
यसबाहेक अर्को लक्ष्यित एन्टिबायोटिकको प्रयोग हो। जसले अन्धाधुन्ध एन्टिबायोटिक चलाउनुपर्ने अवस्था घटाउँछ ।
कुन ब्याक्टेरिया कुन औषधिमा सेन्सिटिभ छ- एकै रिपोर्टमा देखिन्छ।
चाँडो निदान, चाँडो उपचार निर्णय र चाँडो बिराम निको हुने हुनाले यसले अस्पताल बसाइ घटाउँछ। जसका कारण बिरामी पक्षको खर्चमा कटौती हुन्छ। अस्पतालका लागि आइसीयु तथा बेड अक्युपेन्सी दर घट्छ र अस्पतालजन्य संक्रमण जस्ता जोखिम पनि घटाउँछ।
गम्भीर बिरामीका लागि गेम–चेन्जर
गम्भीर अवस्थाका बिरामीमा २४–७ चल्ने उपचार प्रक्रियामा छिटो नतिजा नै पहिलो प्राथमिकता हो। विशेषगरी नवजात वा वृद्धहरूमा म्यानेनजाइटिस–निमोनियाले एकैछिनमै अवस्था बिगार्ने हुन्छ । यस्तो अवस्थामा बायोफायरले जीवनरक्षा दर बढाउने डा गौतमको बुझाइ छ।
विश्व स्वास्थ्य संगठनलगायत अन्तर्राष्ट्रिय क्लिनिकल गाइडलाइनहरूले गम्भीर निमोनिया, म्यानेनजाइटिस/इन्सेफ्लाइटिस र आइसीयुजन्य संक्रमण मा सिन्ड्रोमिक टेस्टिङ सिफारिस गरिरहेको डा गौतम बताउँछन्। उनले थपे, 'बिरामी व्यवस्थापनमा प्रमाण-आधारित निर्णय छिटो गर्न सकिने भएकाले यसको प्रयोग बढेको हो।'
चुनौती अर्थात् प्रविधिको उच्च लागत
यो प्रविधि उपचारमा जति सहज छ, यसको लागतले त्यत्तिकै चुनौती थपेको डा गौतम बताउँछन्। उनका अनुसार मेसिनको लागत नै ६० लाख नेपाली रुपैयाँ पर्छ । एक टेस्टको रिएजेन्टका लागि २७ हजार लाग्छ । त्यसकारण ल्याबले जनशक्ति र मेसिनको लागत हिसाब गरेर परीक्षण शुल्क ३४–३५ हजारसम्म लिन सक्छन्।
आफूहरुले यसलाई गम्भीर अवस्थाकव बिरामीको जीवन रक्षालाई केन्द्रमा राखेर भित्र्याएको उनले बताए। 'धेरै स्वास्थ्य संस्थामा यसलाई नियमित सेवाको रूपमा राख्न कठिन छ।
सस्तो नभएकै कारण धेरैले यो प्रविधिलाई ‘फाइदा दिने’ जाँच ठान्न सक्छन्। तर, यो प्रविधि बिरामी बचाउने, गलत औषधि रोक्ने परीक्षण हो, व्यापारिक लाभका लागि होइन।'
गम्भीर संक्रमणमा समयभन्दा ठूलो औषधि केही हुँदैन। बायोफायरले यही समयलाई बचाएर उपचारलाई सही, प्रमाणित र लक्षित बनाइदिने डा गौतम बताउँछन्।