अमेरिका - विश्वकै 'सबैभन्दा पुरानो भ्रूण'बाट जन्मिएको शिशुको समाचार सार्वजनिक भएको छ। सन् १९९४ मा फ्रिज गरिएको भ्रूणबाट थाडियस ड्यानियल पियर्सको जन्म जुलाई २६ मा ओहायोस्थित एक अस्पतालमा भएको हो।
थाडियसको जन्म लिन्ड्से र टिम पियर्स दम्पतीको सन्तानका रूपमा भएको हो। उनले लिण्डा आर्चर्ड नामकी ६२ वर्षीया महिलाद्वारा तीन दशकअघि दान गरिएको भ्रूणलाई लिएका थिए। आर्चर्ड र उनका तत्कालीन श्रीमान्ले सन् १९९० को दशकमा सन्तान नहुँदा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) विधिको प्रयोग गरेका थिए। त्यस क्रममा तयार भएका चार भ्रूणमध्ये एकले सन् १९९४ मै छोरी जन्माइन्। बाँकी तीन भ्रूणलाई क्रायोप्रिजर्भ गरेर राखिएको थियो।
समयक्रममा आर्चर्डको सम्बन्धविच्छेद भयो र उनले ती भ्रूणहरूको कानुनी अभिभावकत्व पाइन्। पछि उनले भ्रूण दानको विकल्पबारे थाहा पाइन्, जसअनुसार दाता र प्राप्तकर्ता दुवैले साझा सहमति जनाउनुपर्छ।
आर्चर्डले श्वेत, क्रिश्चियन र विवाहित दम्पतीलाई भ्रूण दिन चाहेको जनाएकी थिइन्। यसै मापदण्डमा पियर्स दम्पती छनोट भएका थिए।
'हामी कुनै कीर्तिमान तोड्न खोजेका होइनौं, हामीलाई बच्चा चाहिएको थियो,' थाडियसकी आमा लिन्ड्सेले एमआईटी टेक्नोलोजी रिभ्युसँग भनिन्, 'जन्म प्रक्रिया केही जटिल भए पनि अहिले हामी दुबै पूर्ण रूपमा स्वस्थ छौं।'
आर्चर्डले नवजात शिशुको तस्बिर हेरेपछि आफूलाई थाडियस आफ्नै छोरीजस्तै देखिएको अनुभूति भएको बताइन्। 'मैले पुरानो बेबी बुक निकालेर तुलना गरेँ, हेर्दा उनीहरूमा स्ट्राइकिङ मिल्दोजुल्दो छ,' उनले भनिन्।
उक्त भ्रूण ट्रान्सफर गर्ने क्लिनिक डा. जोन गर्डनको नेतृत्वमा सञ्चालित छ। उनी प्रजनन विशेषज्ञ तथा धार्मिक आस्थावान व्यक्ति हुन्। गर्डन भ्रूणलाई जीवनको अधिकार दिनुपर्छ भन्ने मान्यतामा विश्वास गर्छन्।
'हामी विश्वास गर्छौं, प्रत्येक भ्रूणले जीवनको मौका पाउनुपर्छ,' डा. गर्डनले भनेका छन्, 'जुन भ्रूणलाई गर्भमा राखिँदैन, त्यसले कहिल्यै बच्चा बन्न सक्दैन।'
विश्वका धेरै देशहरूमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ)को प्रयोग उल्लेख्य रूपमा बढेको छ। संयुक्त अधिराज्य (युके) मा आईभीएफ मार्फत् जन्म हुने बालबालिकाको अनुपात सन् २००० मा १.३ प्रतिशतबाट २०२३ मा ३.१ प्रतिशत पुगेको छ। त्यसले झण्डै प्रत्येक कक्षामा एक बालबालकाको प्रतिनिधित्व गर्छ।
४०–४४ वर्ष उमेर समूहका महिलामा यो दर अझ उच्च छ। सन् २००० मा ४% रहेका IVF जन्मदर २०२३ मा ११% पुगेको छ। अमेरिका भने हालसम्म कुल जन्मको करिब २ प्रतिशत आईभीएफ मार्फत् हुने गरेको बताइएको छ।