काठमाडौं– चिकित्सा विज्ञानको क्षेत्रमा भित्रिरहेको नयाँ प्रविधिले उपचार सेवालाई सहज, छिटोछरितो र गुणस्तरीय बनाउँदै लगेको छ।विश्वबजारमा भित्रिरहेका नयाँ प्रविधि नेपालमा पनि भित्रने गरेका छन्। न्यूरो तथा स्पाइन सर्जरीमा प्रभावकारी मानिने ओ-आर्म प्रविधि भने हालसम्म नेपालको सरकारी संस्थामा उपलब्ध छैन।
विराटनगरस्थित नोबल मेडिकल कलेजले ८ वर्ष अगाडि नेपालमै पहिलो पटक यो उपकरण ल्याएर सेवा दिइरहेको छ। काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालले पनि यो उपकरण ल्याएर सेवा दिन थालेको लामो समय भइसकेको छ।
वीर अस्पतालमा यो उपकरण ल्याउन लामो समयदेखि प्रस्ताव गरेको भए पनि सरकारले रकम उपलब्ध गराउन नसक्दा आउन नसकेको अस्पतालमा लामो समय काम गरेर अवकाश पाएका न्यूरो सर्जन डा प्रकाश विष्ट बताउँछन्। 'न्यूरो र स्पाइन सर्जरीका लागि अति उपयोगी हुने उक्त उपकरण वीर अस्पतालमा ल्याउन हामीले धेरै पहिलेदेखि नै माग गरेका थियौं। तर सरकारले प्राथमिकता नदिँदा उक्त उपकरण वीरमा आएन,' उनले भने, 'म रिटार्ड भएको नै धेरै समय भइसकेको छ। तर वीरमा अझै पनि उक्त उपकरण आएको छैन।'
वीर अस्पतालमै कार्यरत न्यूरो सर्जन प्राडा राजिब झा विगत ५ वर्षदेखि नै उक्त मेसिन खरिद गरी न्यूरो तथा स्पाइन सर्जरीलाई सहज बनाउन अस्पताल निर्देशक, प्रतिष्ठानका उपकूलपति तथा स्वास्थ्य मन्त्रालयमा समेत अनुरोध गरिरहेको बताउँछन्। 'तर हालसम्म प्राप्त हुन भने सकेको छैन,' उनले भने।
सरकारले चालु आर्थिक वर्षभित्र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त उपकरण खरिदका लागि बजेट विनियोजन गरेको छ। उपकरण खरिद प्रक्रिया अगाडि बढाउन लागेसँग यस विषयमा विवाद आइरहेको छ। प्रतिष्ठानहरुले बिरामीलाई सहज रुपमा गुणस्तरीय सेवा उपलब्ध गराउन ओ-आर्मको आवश्यकता देखेर नै खरिद गर्न लागिएको जानकारी दिएका छन्। विज्ञ चिकित्सकहरुले नेपालका लागि आवश्यक उक्त उपकरण पारदर्शी रुपमा खरिद हुनुपर्नेमा जोड दिएका छन्।
यसै सन्दर्भमा स्वास्थ्यखबरले ओ-आर्म स्वास्थ्य उपकरण के हो अनि यसबाट के कस्ता उपचार लिन सकिन्छ? यसको आवश्यकता छ वा छैन? भनेर विज्ञहरुसँग कुराकानी गरेको छ।
विज्ञहरुले न्यूरो र स्पाइनल सर्जरीको उपचारका लागि ओआर्म वरदान स्वरुपमा आएको उपकरण हो भनेर प्रतिक्रिया दिएका छन्। मस्तिष्कको उपचारमा एक मिलिमिटरको फरकले पनि बिरामी बाँच्ने र मृत्युको मुखमा पुग्न सक्ने परिस्थिती सृजना हुने हुँदा मस्तिष्कको संवेदनशिलतालाई हेरेर विश्वसनीय उपकरणको प्रयोग गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन्।
ओ–आर्म मेसिनको प्रयोगले न्यूरो तथा स्पाइन सर्जरीमा जोखिमलाई घटाउँछ। यसले ३ शय ६० डिग्रीमा एक्सरे खिच्ने भएकोले उपचार बढी प्रभावकारी तथा छिटो हुने न्यूरोसर्जनहरु बताउँछन्।
ओ–आर्म के हो?
ओ–आर्म एक अत्याधुनिक मेडिकल इमेजिङ उपकरण हो, जुन शल्यक्रियाको समयमा शरीरको भित्री भागको थ्रीडी (3D) तस्बिर र भिडियो खिच्न प्रयोग गरिन्छ। यो मेसिनले एक्स-रे र सीटी स्क्यान प्रविधिको संयोजन गरी शल्यक्रिया भइरहेकै बेला वास्तविक समयमा उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउँछ।
यो मेसिन 'ओ' (O) आकारको हुन्छ र बिरामीको शरीरलाई पूर्ण रूपमा घेरेर ३६० डिग्रीमा घुम्न सक्छ। यसले गर्दा शरीरको कुनै पनि कोणबाट विस्तृत र सटीक थ्रीडी तस्बिर लिन सम्भव हुन्छ।
न्यूरो र स्पाइन सर्जरीमा ओ-आर्म किन आवश्यक छ?
न्यूरो र स्पाइन सर्जरीहरू शरीरका सबैभन्दा संवेदनशील शल्यक्रियाहरूमध्ये पर्छन्। मेरुदण्ड र मस्तिष्कमा हुने शल्यक्रियामा सानो गल्तीले पनि गम्भीर परिणामहरू निम्त्याउन सक्छ, जस्तै स्नायुमा क्षति पुग्ने, पक्षाघात हुने वा ज्यान जाने सम्भावना पनि रहन्छ। यस्तो अवस्थामा ओ–आर्म मेसिन निम्न कारणले अति आवश्यक मानिन्छ:
१. उच्च सटीकता: मेरुदण्ड र मस्तिष्कका शल्यक्रियाहरूमा पेच (स्क्रू वा किला) वा अन्य उपकरणहरू राख्नुपर्दा सही ठाउँमा र सही कोणमा राख्नुपर्छ। ओ–आर्मले प्रदान गर्ने थ्रीडी तस्बिरले सर्जनलाई वास्तविक समयमा हड्डी, स्नायु र रक्त नलीहरूको सही स्थिति देखाउँछ, जसले गर्दा शल्यक्रियामा सटीकता आउँछ। यसले जोखिमलाई धेरै हदसम्म कम गर्छ।
२. सुरक्षा: परम्परागत शल्यक्रिया विधिमा सर्जनहरूले शल्यक्रियाअघिको स्क्यान र आफ्नो अनुभवको आधारमा काम गर्थे। तर ओ–आर्मले शल्यक्रियाकै क्रममा थ्रीडी तस्बिर दिएर स्नायु र रक्त नलीहरूलाई हुने सम्भावित क्षतिबाट जोगाउन मद्दत गर्छ। यसले बिरामीको सुरक्षा सुनिश्चित गर्छ।
३. पुनः शल्यक्रियाको जोखिम कम: ओ–आर्मको सहयोगले पहिलो पटक गरिएको शल्यक्रिया नै सफल हुने सम्भावना धेरै हुन्छ। यसले गर्दा गलत तरिकाले राखिएका उपकरणहरूलाई सच्याउनका लागि दोहोर्याएर शल्यक्रिया गर्नुपर्ने अवस्था आउँदैन।
४. कम विकिरणको प्रयोग: ओ–आर्मले आवश्यक पर्दा मात्रै स्क्यान गर्छ र परम्परागत सीटी स्क्यानको तुलनामा कम विकिरण प्रयोग गर्छ। यसले बिरामी र शल्यक्रिया गर्ने टोली दुवैलाई सुरक्षित राख्छ।
५. समयको बचत: ओ–आर्मले शल्यक्रियाकै क्रममा तत्काल तस्बिर उपलब्ध गराउँछ, जसले गर्दा सर्जनले शल्यक्रिया बीचमा अन्य इमेजिङका लागि समय खर्च गर्नु पर्दैन। यसले शल्यक्रियाको समग्र समय घटाउँछ र बिरामीका लागि फाइदाजनक हुन्छ।
६. शल्यक्रियाको सफलतामा वृद्धि: थ्रीडी तस्बिरका कारण सर्जनहरूले शल्यक्रियाको क्रममा हड्डी, स्नायु र रक्त नलीहरूको सही स्थिति हेर्न सक्छन्। यसले शल्यक्रियाको सफलताको सम्भावना बढाउँछ र त्रुटिहरू कम गर्छ।
ओ–आर्म मेसिनका विषयमा न्यूरो सर्जनहरुले दिएको जानकारी उनीहरुकै शब्दमा :
बिरामी र चिकित्सक दुबैका लागि उपयोगी र फाइदाजनक

डा प्रकाश विष्ट
वरिष्ठ न्यूरो सर्जन, ह्याम्स अस्पताल
सिआर्म भन्दा यो प्रभावकारी र बढी उपयोगी हुने आधुनिक उपकरण हो। यसले थ्री डाइमेन्सनबाट तस्बिर दिन्छ। जसका कारण सर्जनहरुलाई सही उपचार गर्न सहज हुन्छ। टाउको र मेरुदण्डको जटिल शल्यक्रियाका लागि यो उपकरण निकै उपयोगी हुन्छ। बिरामी एउटै स्थानमा रहँदा तीनवटा डाइमेन्सनबाट तस्बिर खिच्न सक्ने प्रविधि हो यो। तर सिआर्ममा यो सुविधा छैन। सिआर्मले दुई पटक गर्ने काम यसले एकैपटक गर्छ। बिरामी र चिकित्सक दुबैका लागि यो उपकरण उपयोगी र फाइदाजनक छ। म वीर अस्पतालमा हुँदा ल्याउन कोशिश गरेको थिएँ, तर सकिएन। अहिले त म आफैं रिटायर्ड भइसकेको छु। तर वीरमा अझै आएको छैन।
ओ–आर्मले जटिल शल्यक्रियाको जोखिमलाई उल्लेखनीय रूपमा घटाउँछ
प्रा.डा. प्रकाश काफ्ले
न्यूरो सर्जन, नोबेल मेडिकल कलेज
नोबेल मेडिकल कलेजले आठ वर्षअघि नेपालमा पहिलोपटक ओ–आर्म प्रविधि भित्र्यायो। यो मेसिनले ढाडको नशा च्यापिएको, हड्डी भाँचिएको वा अन्य स्पाइन समस्यामा ३६० डिग्रीको तस्बिर खिच्छ, जसले बारम्बार एक्स–रे गर्नुपर्ने आवश्यकता हटाउँछ।
यसले रेडिएसनको जोखिमबाट बचाउँछ र जटिल स्पाइन सर्जरीलाई सरल बनाउँछ। यो सिटी स्क्यानजस्तै प्रविधि हो, तर अत्याधुनिक र महँगो छ। सी–आर्म मेसिनलाई बारम्बार घुमाउनुपर्छ, तर ओ–आर्मले बिरामीको वरिपरि आफैं घुम्छ। एकपटकको तस्बिरलाई न्याभिगेसन प्रणालीमार्फत बारम्बार हेर्न सकिन्छ, जसले शल्यक्रियाको समय छोटिन्छ।
यो अमेरिकी प्रविधि हो, जसले जटिल शल्यक्रियाको जोखिमलाई उल्लेखनीय रूपमा घटाउँछ।
५ वर्षदेखि यो मेसिन ल्याउन भनिरहेका छौं
प्रा.डा. राजीव झा
न्यूरो सर्जन, वीर अस्पताल
सामान्य एक्स–रे मेसिनले साधारण तस्बिर खिच्छ, तर गोलाकार संरचनाको ओ–आर्म मेसिनले ३६० डिग्रीमा तस्बिर लिन्छ। विशेषगरी स्पाइन सर्जरीमा विभिन्न कोणबाट तस्बिर खिच्नुपर्ने हुन्छ। ओ–आर्मले १ मिनेटमै यो काम गर्छ, जसले उपचारलाई छिटो र प्रभावकारी बनाउँछ। सी–आर्म मेसिनले यस्ता तस्बिर लिन धेरै समय लाग्छ र विभिन्न कोणबाट खिच्न सक्दैन। स्पाइन सर्जरीका साथै दिमागका केही जटिल शल्यक्रियामा पनि यो मेसिन प्रयोग हुन्छ।
नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल वीरमा यो प्रविधि अझै उपलब्ध छैन। यो मेसिन महँगो भएकाले हामीले प्रयोग गर्न पाएका छैनौं। हाल सी–आर्म मेसिन विकल्पका रूपमा प्रयोग भइरहेको छ, तर यो कम प्रभावकारी छ। १ मिनेटमा हुने कामका लागि ५–६ मिनेट लाग्छ। विगत ५ वर्षदेखि हामीले यो मेसिन ल्याउन अस्पताल प्रशासन, प्रतिष्ठान र स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरिरहेका छौं, तर अझै प्राप्त भएको छैन।
ओ-आर्म थ्रीडी तस्बिर प्रदान गर्ने अत्याधुनिक प्रविधि हो
डा. आलोक दाहाल
न्यूरो सर्जन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
ओ–आर्म मेसिनको आकार ‘ओ’ जस्तो हुने भएकाले यसलाई ओ–आर्म भनिएको हो। यो न्यूरो न्याभिगेसन प्रणालीसहितको थ्रीडी तस्बिर प्रदान गर्ने अत्याधुनिक प्रविधि हो। विकल्पमा प्रयोग हुने सी–आर्म मेसिनले टुडी तस्बिर मात्र दिन्छ। दिमागको जटिल शल्यक्रियामा यो मेसिनले वास्तविक र सटीक तस्बिर प्रदान गर्छ।
स्पाइन सर्जरीमा, विशेषगरी ढाड बाङ्गिएका बिरामीमा स्क्रू राख्दा रगतको नली वा स्पाइनल कर्डमा चोट पुग्ने जोखिम हुन्छ। ओ–आर्मले यस्तो जोखिमलाई रोक्छ। साथै, पार्किन्सन्स रोगको उपचारमा मस्तिष्कमा डिप ब्रेन स्टिमुलेसन (डिबिएस) राख्दा यो मेसिनले सटीकता प्रदान गर्छ, जसले उपचारलाई प्रभावकारी बनाउँछ।
जटिल शल्यक्रियामा यो मेसिन निकै फाइदाजनक छ। यसले सर्जनलाई आत्मविश्वासका साथ काम गर्न सहयोग गर्छ। हाल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सी–आर्म मेसिन प्रयोग भइरहेको छ, तर ओ–आर्मले उपचारको प्रभावकारिता २० प्रतिशतले बढाउँछ। विकल्पमा इन्ट्रा–अपरेटिभ सिटी स्क्यान र एमआरआई पनि प्रयोग हुन्छ, तर यी उपकरण शल्यक्रिया कक्षमै जोड्नुपर्छ।
न्यूरो र स्पाइन सर्जरीमा ओ-आर्मले सुरक्षित र प्रभावकारी नतिजा दिन्छ
डा. निकुन्ज योगी
न्यूरो सर्जन, विभाग प्रमुख, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल
ओ–आर्म मेसिन एक प्रकारको एक्स–रे मेसिन हो, तर यसले ३६० डिग्रीमा तस्बिर खिच्ने गर्छ। यो सिटी स्क्यानजस्तै भए पनि शल्यक्रिया कक्षमै प्रयोग गर्न सकिने मोबाइल प्रविधि हो।
परम्परागत रूपमा हामीले सी–आर्म मेसिन प्रयोग गर्थ्यौं, जसले एक दिशाबाट मात्र एक्स–रे लिन्छ र कोण परिवर्तन गर्न ९० वा १८० डिग्रीमा घुमाउनुपर्छ। यसले समय धेरै लिन्छ र बिरामीले लामो समय मेसिनमा बस्नुपर्ने हुन्छ। तर, ओ–आर्मले एकैपटक ३६० डिग्रीको तस्बिर लिएर उपचार प्रक्रियालाई छिटो र सहज बनाउँछ।
ओ–आर्म मेसिनले बिना हलचल ३६० डिग्रीमा एक्स–रे लिन्छ र स्पाइन सर्जरीका क्रममा थ्रीडी तस्बिर प्रदान गर्छ। यसले शल्यक्रियामा राखिएका उपकरण सही ठाउँमा छन् कि छैनन्, नशामा चोट पुगेको छ कि छैन, र हामी सही स्थानमा काम गरिरहेका छौं कि छैनौं भन्ने कुरा थाहा हुन्छ।
ओ–आर्मसँगै न्याभिगेसन प्रणाली पनि हुन्छ, जसले एकपटक थ्रीडी तस्बिर लिएपछि बारम्बार एक्स–रे गर्नु पर्दैन। यसले उपचार प्रक्रियालाई सही दिशामा लैजानुका साथै शल्यक्रियालाई सुरक्षित बनाउँछ। विकल्पका रूपमा सी–आर्म वा थ्रीडी सी–आर्म मेसिन प्रयोग गर्न सकिन्छ, तर ओ–आर्म अत्याधुनिक र विश्वसनीय प्रविधि हो, जसले उपचारलाई सहज र प्रभावकारी बनाउँछ।
नेपालमा हाल नोबेल मेडिकल कलेज र बाँसबारीस्थित न्यूरो अस्पतालमा यो मेसिन प्रयोगमा छ। न्यूरो र स्पाइन सर्जरीमा यो प्रविधिको प्रयोगले सुरक्षित र प्रभावकारी नतिजा दिन्छ।
यो मेसिन निकै उपयोगी छ
डा. उपमा शर्मा
न्यूरो सर्जन, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
ओ–आर्म मेसिन एक्स–रे प्रविधिमा आधारित मेसिन हो, जसको प्रयोग सिटी स्क्यान वा एक्स–रे जस्तै हुन्छ। यो गोलाकार संरचनाको हुन्छ, जसमा बिरामीलाई राखेर ३६० डिग्रीमा तस्बिर खिचिन्छ। यो मेसिनले खिचेका तस्बिरहरू सबै कोणबाट हेर्न सकिन्छ, त्यसैले यसलाई ओ–आर्म भनिएको हो।
यो विशेषगरी शल्यक्रिया कक्षमा प्रयोग हुन्छ। टाउको र मेरुदण्डको सर्जरीमा हड्डीको अवस्था थाहा पाउन नेपालका धेरै अस्पतालमा सी–आर्म मेसिन प्रयोग हुन्छ, जसलाई बारम्बार माथि–तल घुमाउनुपर्छ। तर, ओ–आर्मले मेरुदण्डमा राखिने स्क्रू वा रड सही ठाउँमा छन् कि छैनन्, टाउकोको सर्जरीपछि रगत जमेको छ कि छैन भन्ने जाँच्न सहयोग गर्छ। यो मेसिन सर्जनका लागि निकै उपयोगी छ, किनभने यसले समय बचत गर्छ। सी–आर्मले ५ मिनेटमा गर्ने काम ओ–आर्मले १ मिनेटमै गर्छ। यसले उपचारको प्रभावकारिता पनि बढाउँछ।
हाल नेपालका दुई निजी अस्पतालमा मात्र यो प्रविधि छ। विकल्पमा सी–आर्म मेसिन प्रयोग हुन्छ, तर भेन्टिलेटरमा रहेका वा हलचल गर्न नसक्ने बिरामीका लागि ओ–आर्म विशेष लाभदायक छ।