काठमाडौं- गत चैतमा राजावादी समर्थकहरुले तोडफोड तथा आगजानी गरेपछि बन्द भएको सन्चो उत्पादन जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले पुन गर्न थालेको छ।
सञ्चो बजारमा बढी लोकप्रिय भएकोले त्यसलाई प्राथमिकतामा राखी उत्पादन सबैभन्दा पहिला सुरु गरिएको कम्पनीका सूचना अधिकारी धर्मलाल नेपाल बताउँछन्।
‘दैनिक ५० कार्टुनको हाराहारीमा हाललाई उत्पादन सुरु गरिएको छ’ नेपालले भने, ‘गर्मी सिजनमा बजारको माग पनि यति नै हो’,उनले भने ‘जाडो केही बढी माग हुन्छ। हालको बजारलाई ध्यानमा राखी उत्पादन गरिएको हो।’
कम्पनीलाई पुरानो लयमा फर्काउनका लागि अझै ६ महिनादेखी १ वर्षसम्मको समय लाग्न सक्ने नेपाल बताउँछन्। ‘मेसिन खरिद तथा निर्माण गर्नुपर्ने तथा घर बनाउनुपर्ने छ’, ‘पुरानै लयमा ल्याउन अझै १ वर्षसम्मको समय लाग्न सक्छ’, उनले भने ।
सन्चो उत्पादनका लागि आवश्यक कच्चा पदार्थ मोरङ, सुनसरी, जारजरकोट लगायतका शाखामा स्टक रहेकोले छोटा समयमा नै उत्पादन सम्भव भएको सूचना अधिकारी नेपाल बताउँछन्। २०५६ सालदेखि सञ्चो उत्पादन गर्न थालेको उक्त कम्पनीको सन्चो स्वदेश तथा विदेशमा बढी लोकप्रिय भएको उक्त उत्पादनसँग निजी स्तरका कम्पनीहरु प्रतिस्पर्धामा जान सकेका छैनन् ।
सञ्चो उत्पादनमा प्रयोग हुँदै आएको स्वचालित मेसिन जलेकोले हाललाई हाते मेसिनबाट नै उत्पादन सुरु गरिएको हो। कम्पनीले ५ र १० मिलिलिटरमा सञ्चो बजारमा ल्याउने गरेमा हाललाई ५ मिलिलिटर मात्रै उत्पादन गर्दै आएको छ।
वार्षिक ११ करोड बराबरको सन्चो कम्पनीले बजारमा लैजाने गरेको छ । यो कम्पनीलाई टिकाउने उत्पादन समेत हो।
आगजनीका कारण क्षति पुगेको भवनको पुननिर्माणका लागि कम्पनीले १० करोड मागसहितको पत्र अर्थ मन्त्रालयमा पठाइसकेको छ । २०३८ सालमा स्थापना भएको उक्त कम्पनीले सञ्चो, सञ्चोबाम, बाम तेल, सञ्चो जटा केश तेल, सञ्चो पेन रिलिफ ओयल लगायतका उत्पादन बजारमा ल्याइरहेको छ।
मुलुककै गर्वका रुपमा रहेको उक्त कम्पनीमा राजावादी समर्थकहरुले तोडफोड तथा आगजनी गर्दा करिब २८ करोड बराबरको क्षति भएको थियो । आगजनीबाट केन्द्रका १३ वटा गाडी, ६ वटा मोटसाइकल, लाखौंको पर्ने तयारी औषधि तथा कच्चापदार्थमा समेत जलेर नष्ट भएका थिए