त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ बनेको छ। क्यान्सरबाट पीडित बिरामीलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेन्टरको स्थापना गरिएको हो। सेन्टरमा २५ शैयााको क्यान्सर वार्ड, २० शय्याको आईसीयू, ३० शैयाको एचडीयू, १५ शैयायाको डेकेयर केमोथेरापीलगायतका सेवा प्रदान भइरहेको छ। उक्त सेन्टरमा कार्यरत नर्स ज्योती थापाले आफूसँग रहेको उपचार अनुभूति स्वास्थ्यखबरकी लक्ष्मी चौलागाईंलाई यसरी सुनाएकी छन्ः
०००
विं सं २०६४ मा अध्ययन सकिएसँग मैले औपचारिक रुपमा नर्सका रुपमा काम गर्नका लागि अवसर पाएँ। पढाइ सकिए लगतै ३ वर्ष धुलिखेल अस्पतालमा काम गरें। त्यस्तै ११ वर्षसम्म त्रिवि शिक्षण अस्पतालमा आइसियू नर्सका रुपमा काम गरिसकेपछि विगत २ वर्षदेखि सुरेश वाग्ले क्यान्सर सेन्टरमा कार्यरत्त छु। म यहाँ काउन्सिलरका रुपमा काम गरिरहेको छु।
अन्तिम अवस्थामा उपचारमा आइपुग्छन् बिरामी
क्यान्सर बच्चादेखि बुढासम्म महिला पुरुष दुवैलाई हुन सक्ने रोग हो। यो रोग शरीरको जुनसुकै अंगमा पनि हुन सक्छ। क्यान्सरका बिरामीहरुमा सुरुमा साधारण लक्षणहरु जस्तै ज्वरो आउने, दुखाई हुने जस्ता लक्षणहरु देखा पर्ने गर्छन्। यस्तो अवस्थालाई सुरुवाती वा शुन्य अवस्था भनिन्छ भने अरु अंगमा फैलिसकेको अवस्थालाई चौथो वा अन्तिम अवस्था भन्ने गरिन्छ। हामीले यस सुरेश वाग्ले क्यान्सर सेन्टरबाट सुरुवाती तथा अन्तिम अवस्था सम्मका बिरामीहरुलाई सेवा दिइरहेका छौं। दैनिक २०० को हाराहारीमा हामीले यस सेन्टरबाट क्यान्सर बिरामीहरुलाई सेवा दिदैं आएका छौं।
जटिल अवस्थामा आइपुग्छन् बिरामी
सरकारी स्तरमा क्यान्सरको विशिष्टीकृत सेवा दिने अस्पतालहरुको संख्या एकदमै न्यून रहेका छन्। सुरुवाती अवस्थाका अन्य रोगहरु जस्तो क्यान्सरमा खासै दुखाई नहुने कारणले पनि बिरामीहरु जटिल अवस्थामा मात्रै अस्पताल आइपुग्ने गर्छन्।
करिब आधा भन्दा बढी संख्यामा बिरामीहरु क्यान्सर अन्य अंगमा फैलिसकेको हुन्छ। प्राय बिरामी जटिल अवस्थामा मात्रै यहाँ आइपुग्ने गर्छन्। धेरै जस्तो यहाँ उपचारका लागि आइपुग्ने बिरामीहरुको क्यान्सर अन्तिम अवस्थामा पुगिसकेको हुन्छ।
सहजै स्वीकार गर्दैनन् बिरामी
क्यान्सर भएका बिरामीहरुको रोग पत्ता लगाउनकै लागि धेरै समय लाग्ने गरेको छ। सुरुवाती अवस्थामा क्यान्सर भएको पत्ता नलाग्ने तथा बिरामीहरु उपचारका लागि स्वास्थ्यचौकी तथा साना अस्पताल धाउने गरेको पाइन्छ।
उपचारका लागि यहाँ आउँदासम्म क्यान्सर भएको ६ महिना बितिसकेको हुन्छ। क्यान्सरलाई सहज रुपमा स्वीकार गर्नका लागि बिरामीलाई तयार पार्नका लागि हामीलाई लामो समय लाग्छ। कतिपय बिरामीलाई लामो समयको कुराकानी पछि मात्रै हामीले क्यान्सर भएको थाहा दिन्छौं। यद्यपि क्यान्सर भएको थाहा पाएपछि पनि उनीहरुलाई क्यान्सर भएको स्वीकार गर्न पनि लामो समय लाग्छ। यसरी रोगलाई स्वीकार नगरी कतिपय बिरामीहरु अन्य चिकित्सककहाँ समेत परीक्षणका लागि जाने गर्छन्।
बिरामीहरुलाई क्यान्सर भएको स्वीकार गर्नका लागि घन्टांै तथा महिनौंसमेत लाग्ने अवस्था समेत हुन्छ।
मानसिक सहयोग आवश्यक
अन्य विभागमा उपचारका लागि आएका धेरै बिरामीहरु निको भएर जाने संख्या धेरै हुन्छ।
क्यान्सर लाग्दा भने बिरामीको उपचार अवधि लामो हुन्छ। अन्य रोगको तुलनामा यसको उपचार प्रक्रिया लामो हुने भएकोले पनि उपचार महँगो समेत छ। यसमा विभागमा कार्यरत्त हामी जस्ता नर्स तथा चिकित्सकहरुले बिरामीको कुरा धेरै सुन्ने तथा मानसिक रुपमा उनीहरुलाई सहयोग समेत दिने अवस्था आउने गर्छ। त्यसैले अन्य विभागको तुलनामा यस विभागको अझै जटिल तथा पृथक छ। पहिलो तथा दोस्रो अवस्थामा उपचारका लागि आएका बिरामीहरु पूर्णरुपमा निको हुन सक्छन्। यद्यपि तेस्रो तथा अन्तिम अवस्थामा रहेका बिरामीहरुको समेत आयु बिरामी बढाउन भने सकिन्छ।
शरीरमा क्यान्सर फैलिएर अन्तिम अवस्थामा पुगिसकेका बिरामीहरुलाई क्यान्सर सरभाईभर ग्रुपसँग कुराकानी गराउन समेत हामीले सहयोगी भूमिका खेल्नुपर्ने हुन्छ।
जब २५ वर्षिया युवतीले भनिन्– निको हुन चाहन्छु
केही समयअघि मात्रै घटेको एउटा घटनाले मेरो दिमागमा गहिरो प्रभाव छोडेको छ। गुल्मी घर भएकी एक जना २५ वर्षकी युवती हामीकहाँ उपचारका लागि आउनुभएको थियो। उहाँको ३ वर्षको बच्चा पनि रहेछ। सुरुमा पेट दुख्ने लक्षण देखियो। दुखाइ कम गर्ने औषधि खानुभएछ। लक्षण मिल्दो लागेपछि मेडिकल पसलले ग्यास्टाइटिसको औषधि दिनुभएछ। मेडिकलबाट दिइएको औषधि खाँदा निको नभएपछि उपचारका लागि यहाँ आइपुग्नुभयो। उहाँलाई क्यान्सर भएको पत्ता लाग्यो। आन्द्राको क्यान्सर भएको थियो र शरीरभरि नै फैलिसकेको रहेछ। चिकित्सकहरुले क्यान्सर अन्तिम अवस्थामा पुगिसकेको बताउनुभयो। त्यहीअनुसार हामीले काउन्सिलिङ गर्न थाल्यौं। आफूलाई भएको क्यान्सरका बारेमा जानकारी नपाएकी उहाँले चाँडै निको पारिदिन अनुनय गर्न थाल्नुभयो। निकै आग्रह गर्नुभयो। त्यो घटना सम्झिँदा म अहिले पनि विक्षिप्त हुन्छु।
विश्वस्तरीय उपचार सेवा नेपालमै
पछिल्लो समय चिकित्सा क्षेत्रमा भएको नयाँ–नयाँ खोज तथा आविष्कारले क्यान्सरको उपचार समेत सम्भव भएको छ। पहिले पहिले ‘क्यान्सर ह्याज नो एन्सर’ भन्ने प्रचलन थियो। त्यस्तै क्यान्सर उपचारका लागि विदेश धाउनुपर्ने अवस्थाको समेत पछिल्लो समय अन्त्य भएको छ। हाल नेपालमा नै विश्वस्तरीय उपचार सम्भव छ। यस सुरेश वाग्ले क्यान्सर सेन्टरमा प्राय सबै प्रकारका क्यान्सरका बिरामीहरु उपचारका लागि आउने गरेका छन्। यद्यपि स्तन, फोक्सो तथा आन्द्राको क्यान्सरका धेरै बिरामीहरु यहाँ उपचारका लागि आउने गरेका छन्।
क्यान्सर पहिचान, निदान तथा उपचार
हामीले बिरामीलाई प्राथमिकताका आधारमा परामर्श तथा उपचार दिने गछौं। सुरुमा हामीले बिरामीको कुरा सुनेर उनीहरुलाई मनोवैज्ञानिक तथा भावनात्मक रुपमा सहयोग गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा उपचारकै क्रममा हामीले बिरामीलाई दुखाइमुक्त हुने विधी समेत प्रयोग गरिरहेका हुन्छौं। बिरामीलाई परामर्श दिँदा हामीले रेडियोथेरापी, केमोथेरापीको ज्ञान, क्यान्सरका औषधिहरुले शरीरमा पार्न सक्ने असर तथा त्यसको निराकरण लगायतका बारेमा जानकारी दिने गर्छाैं। जस्तै केमोथेरापी दिइरहेको अवस्थामा विभिन्न प्रकारका इन्फेक्सनबाट जोगाउनुपर्ने हुन्छ। क्यान्सरको उपचारका लागि यहाँ आइपुग्ने धेरै बिरामीहरुमा यसबारेको चेतना नै हुँदैन। धेरै बिरामीहरुमा क्यान्सर लागिसकेपछि पुन निको हुँदैन भन्ने धारणा रहेको पाइन्छ। समग्रमा भन्नुपर्दा उहाँहरुमा क्यान्सर बारेको सचेतना पाइँदैन।
सहुलियत रकम बढाउनुपर्छ
क्यान्सरको उपचारका लागि नेपालका सबै प्रदेशहरुले १ लाख रुपैयाँ बजेट दिने गरेको छ। बागमती प्रदेश सरकारले भने थप ५० हजार सहित क्यान्सर उपचारका लागि १ लाख ५० हजार क्यान्सर बिरामीहरुलाई उपचारका लागि प्रदान गर्दै आइरहेको छ। त्यसको अतिरिक्त महिनाको ५ हजार पोषण प्रदान गरिने व्यवस्था सरकारले गरेको छ।
सरकारी तवरबाट भएको यो राम्रो प्रयास हो, यद्यपि उपचार खर्च बापत प्रदान गरिने उक्त रकम क्यान्सर उपचारका लागि पर्याप्त भने छैन। सरकारले क्यान्सर उपचारमा दिएको उक्त सहुलियत रकम मध्यम तथा निम्न वर्गीय मानिसहरुका लागि भने बढाउनुपर्छ। उक्त रकमलाई बढाएर न्यूनतम १० लाख बनाउन सकिएको अवस्थामा क्यान्सरका कारण पैसा अभावमा ज्यान गुमाउनेको संख्यामा धेरै घटाउन सकिन्छ।