खाना, व्यायाम र व्यवहारबाट नै हाडजोर्नीको समस्या हटाउन सकिन्छ । दुर्घटनापछि कुन अस्पताल जाने भन्ने नीति छैन । नेपाली समाजमा ढाड वा मेरुदण्डको अप्रेसन गर्नु हुँदैन, कुँजो भइन्छ, कुप्रो भइन्छ भन्ने भ्रम व्याप्त छ । यसले समाजमा हाडजोर्नी तथा मेरुदण्डका बिरामी घट्न सकेका छैनन्।
चिकित्सा विज्ञानमा भइरहेको प्रविधि र ज्ञानको विकासले हाडजोर्नी तथा मेरुदण्डको समस्या निदान गर्न सहज र सुलभ बनाउँदै लगेको छ । धेरै दक्ष जनशक्ति र अस्पतालहरुमा सेवा पाइन थालेको छ । अर्कोतर्फ नेपालीहरुको खानपान र दैनिक जीवनशैलीले पनि संख्या घट्न दिएको छैन । अस्वस्थकर खाना र व्यायाम बिनाको भागदौडले हाडजोर्नी र मेरुदण्डको समस्या भएका बिरामी घट्न नसकेको विज्ञ चिकित्सकहरुले बताउँदै आएका छन् । नेपाल अर्थोपेडिक एशोसिएशनका अध्यक्ष डा. विमलकुमार पाण्डेले मानिसहरुले खाइरहेको खानाले हड्डी कमजोर बनाइरहेको बताए साथै नेपालीहरुको औसत आयु बढेको कारण पनि हाडजोर्नीको समस्या बढेको बताए। मानिसको हाडजोर्नीका समस्या नियमित व्यायाम र खानपानमा ध्यान दिनसके धेरै कम गर्न सकिने डा. पाण्डेले बताउनु भयो । नेपालमा दिनहुँ भइरहने दुर्घटनाले धरै हाडजोर्नी र मेरुदण्डको समस्या बढाएको पनि डा. पाण्डेले बताउँछन्। दुर्घटना भएपछि कस्तो अस्पताल जाने भन्ने स्पष्ट नीति नहुँदा समस्या परिरहेको बताउनु भयो । डा. विमलकुमार पाण्डेसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश :
प्रश्नः अर्थोपेडिक्सको समस्या अहिले बढेको हो कि उपचार गर्न आउने कारणले बढेको जस्तो देखिएको ?
जवाफः दुई वटै छ यसमा । मान्छेहरु पहिले गाउँघरमा नै रोगहरु पालेर बस्दथे । अहिले सुविधा सम्पन्न भएकोले दूरदराजबाट पनि आउन थालेकाले उपचार गर्न आउने उद्देश्यले आउने भएकाले एउटा कारण बढेको हो । अर्को कारण पहिले रोगहरु लाग्दा यो यस्तै हो भनेर सहेर बस्थे भने अहिले केही समस्या भयो भने म राम्रोसँग, राम्रो जिन्दगी जिउन चाहन्छु, मलाई कहीँ दुख्नुभएन, म स्वस्थ हुन चाहन्छु भनेर डाक्टरहरु कहाँ अथवा अस्पतालमा आउने बढेको छ । जतिपनि देश विकास हुँदै जान्छ, सवारी साधनहरु बढेपछि दुर्घटनाहरुको संख्या पनि बढेको हुन्छ, त्यसले गर्दा पनि अर्थोपेडिकको केसहरु बढेको हो।
त्यो बाहेक अरु इन्डिकेटरहरु के–के हुन् बढेको हो भन्नेमा?
पहिले दुई, चारवटा अस्पतालहरु मात्रै थिए । अहिले पूर्व मेचीदेखि महाकालीसम्म धेरै अस्पतालहरु बनेका छन् । अर्थोपेडिक सर्जनहरु पनि धेरै नै बढेका छन् अहिले । ७÷८ सयको हाराहारीमा पुगिसकेका छन्,अर्थोपेडिक सर्जन । सबैजना नै प्रायः व्यस्त हुनुहुन्छ । जति जनतामा पहुँच पुग्छ, स्वास्थ्यको बिरामीको संख्या बढ्ने भयो । उपचार खोज्ने बिरामीहरुको संख्या बढ्ने भयो नि त।
समाजमा स्पाइनसम्बन्धी समस्या धेरै छन्, भौतिक/शारीरिक रुपमा पनि यो देखिन्छ वा के हुन्छ?
जवाफः स्पाइनका समस्याहरु बढेका कारणहरु एउटा कारण त मान्छेहरुको अहिले जीवनस्तरमा हेर्ने हो भनेदेखि आयु नै बढेको छ । पहिले सर्वसाधारण मान्छे ५७ वर्ष बाँच्दथे भने अहिले गएर ६०/६५, ७०÷८० वर्षसम्म मज्जाले बाँचेको हुन्छ । हाम्रो शरीर जन्मिएपछि खिइँदै जाने हो । हड्डीहरु खिइँदै जाने हो । ४०/५०/६० वर्षसम्म राम्रै रहन्छ । त्यसपछि खिइने प्रक्रिया शुरु हुन्छ । मान्छे जति लामो समयसम्म बाँच्दै गयो अर्थोपेडिकको समस्या बढ्दै जान्छ । खिइँदै जाने चिज हो नि । त्यसले गर्दा अर्थोपेडिकको समस्या बढ्दै गएको हो । अर्को कारण, पौष्टिक खानेकुराहरु अहिले छैन । बजारमा हेर्यो सबै मिसावट ।
विषादीहरु त्यत्तिकै छ । गुणस्तरीय खाना पाउँदैन । त्यसले प्रत्यक्ष रुपमा हड्डीलाई कमजोर बनाउँछ । प्रदुषण त्यत्तिकै छ । दिनप्रतिदिन थुपिँदै जाँदा हड्डी पातलो हुँदै जाने क्रमहरु बढ्दै गएको छ । अर्को कुरा, मान्छेहरु आजकाल विश्राम गर्दैनन् । पहिले जस्तो । किनभने प्रतिष्पर्धा बढी छ, बिहानदेखि बेलुकासम्म काम नै काममा खटेका हुन्छन् । दैनिक ४०/५० किलोमिटर यात्रा गरेको हुन्छन् । त्यसले शरीरलाई, हाडजोर्नीहरुलाई लोड बढी पर्छ । त्यसले प्रत्यक्ष हड्डीको समस्याहरु पर्छ।
यो हाम्रो जीवनशैलीको उपजमात्र हो वा अन्य कुनै कारणहरु पनि छन्?
जीवनशैलीको उपज पनि हो । र स्वस्थकर जिउने अवस्था अहिले छैन । खानादेखि बासको तौरतरिका राम्रो छैन । एक्सरसाइज छैन । दुई पाइला हिँड्नमा अहिले मोटरसाइकलमा जान्छ । गाडीमा जान्छ । दिनभरी टेबुलमा बसेर काम गर्छ । एक्सरसाइज छैन । एक्सरसाइज भएन भने हड्डी कमजोर हुने स्वभाविक नै हो । हड्डी कमजोर भएपछि विभिन्न हड्डीको रोगहरुले आक्रमण गरिहाल्छ । हाम्रो जीवनशैलीको उपज पनि हो । त्यसमाथि पनि यसलाई कमजोर पार्ने अन्य भौतिकहरु, खाद्यान्नहरु, खानाले नि असर परेको छ । वातावरण र खाद्यान्नको प्रदुषणले र हाम्रो जीवनशैलीले प्रभाव पारेको छ।
नेपालमा अर्थोपेडिक समस्यालाई कसरी हेरेको पाउनुहुन्छ, आम बुझाइ कस्तो पाउनुहुन्छ ?
दुई प्रकारका मान्छे देखिन्छन् प्रायः । एक प्रकारका मान्छेहरु स्वस्थ रहन चाहन्छन् । केही समस्या भयो अस्पताल जाउँ, डाक्टरको सरसल्लाह लिउँ । म स्वस्थ तरिकाले बस्न चाहन्छु, ढाड दुख्यो, नसा च्यापियो, खुट्टा झमझम गर्न थाल्यो भनेदेखि मलाई यस्तो हुनुभएन, म स्वस्थ हुनुप¥यो भनेर उपचार खोज्दै हिँड्ने हुन्छ भने कतिपय चाहीँ उपचार गर्नुहुँदैन । नसा अप्रेशन गरियो भने झनै कुँजो भइन्छ । मेरो खिइने उमेरले दिएको हो । यसैगरी दुःख सहेर बाँच्नुपर्छ भन्ने एकथरी त्यस्ता जनसंख्या पनि नेपालमा पनि देखिन्छ । शिक्षाको अभावले र उहाँहरुलाई बुझाउन नसक्दा प्रायजसो ६०÷६५ वर्षपछिको मान्छेहरुमा हड्डीको समस्या देखिन्छ । जुन एक्सरसाइजबाट, खाना व्यवहार, अप्रेशनबाट उहाँहरुलाई स्वस्थ बनाउन सक्ने अवस्था हुँदाहुँदै पनि मान्छेहरुले चाहँदैनन् । यस्तै हो भनेर त्यसलाई स्वीकारेर बस्ने पनि देखिएको छ।
युवाहरुमा पनि यस्तो समस्या त देखिएको छ नि, हजुरको अनुभवले के भन्छ?
अब युवाहरुमा पनि धेरै देखिन्छ । हामी त स्कुलबाट घर पुगेपछि एक, दुई घण्टा खेल्थ्यौँ । उफ्रिन्थ्यौँ । अहिलेको बालबालिकाहरु दिनभरी स्कुलमा टेबलमा बसेको छ । टेबल वर्क गरेको छ । घर गएपछि ल्यापटप, आइप्याड चलाएर बसेको छ । गेम कम्युटरमा खेलेको छ । आजकालका युवाहरुमा एक्सरसाइजको कमी देखिन्छ । त्यसले असर हड्डीको स्वास्थ्यमा पर्छ । त्यसले गर्दा पछिल्लो पुस्तामा समस्या आउने हो कि भन्ने छ।
हाम्रोमा उपचार सेवा कस्तो छ ?
उपचारको त अहिले धेरै राम्रो भएको छ । अर्थोपेडिक्स र स्पाइनसम्बन्धीको धेरै राम्रो भएको छ । पूर्वदेखि पश्चिमसम्म अस्पतालहरु बनेका छन् । अर्थोपेडिक डाक्टरहरु महेन्द्रनगरमा पाउनुहुन्छ । जुम्लामा पनि सेवा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौंमा जस्तो किसिमको अप्रेसनहरु गरिन्छ, जटिल अप्रशन त्यहाँ गर्नुभएको छ । दक्ष जनशक्ति बाहिर गएर तालिम लिएर आउनुभएको छ । विभिन्न मेडिकल कलेजहरुमा वर्कसप भइरहेको छ । उहाँहरुले आफ्नो तर्फबाट सबैले प्रयास गरिरहनुभएको छ । त्यसकारण हाडजोर्नीको पछिल्लो दश, पन्ध्र वर्षमा राम्रो सुधार देखिएको छ जनशक्तिको हिसावले।
आम जनताको उपचारको पहुँचमा कत्तिको महंगो छ नेपालको हकमा ?
अरुको दाँजोमा हाम्रोमा धेरै सस्तो छ । तैपनि सर्वसाधारण जनताको आर्थिक अवस्थाले गर्दाखेरी सबैले गुणस्तरिय स्वास्थ्यको पहुँच पाउन सकेको छैनन् । दबाई त केही किनेर खाउँला । जब अप्रेसनको कुरा आउँछ, हाडजोर्नीको अप्रेशनको, घुँडा फेर्नुपर्यो । घुँडा फेर्ने मेसिन नै चाहियो । मेरुदण्डको नसा च्यापिएको छ । ढाड बाङ्गोटिङ्गो छ । सोझो पार्नुपर्यो । सामान नै चाहियो । ति चिज चाहीँ महंगो छ । बीमा पनि राम्रोसँग जनताले पाएका छैनन् । जसले पाउनुपर्ने तिनले पाएका छैनन् । खर्चको भार वहन गर्ने क्षमता बिरामीमा कम छ । ति सामग्रीहरु यहाँ उत्पादन हुँदैनन् । बाहिरबाट झिकाउनुपर्छ । त्यति गर्दा पनि सबैले एफोर्ड गर्न सक्दैनन् ति चिजहरु । बीमाको राम्रो कभरेज नभएर पनि स्वास्थ्य सर्वसुलभ रुपमा जनताले पाएका छैनन् । डाक्टरको क्षमता छ । सबै विशेषज्ञको क्षमता छ । अस्पतालहरुपनि धेरै बनिसकेका छन् । तैपनि गरिबीको कारणले गर्दा सबैले पाएका छैनन्।
हजुरकोमा बिरामीहरु आउँदा कस्तो अवस्थामा आउने गरेका छन् ?
रोग लागिसकेपछि चाँडो अवस्थामा अझैपनि आइपुगेका छैनन् बिरामीहरु । पहिलेभन्दा अहिले फरक देखिएको छ । अहिले चाहीँ अलि चाँडो आउँछन् । तर पनि समयमै अस्पताल आउन सकेका छैनन् जनताहरु । अस्ति नै म मुगु गएको थिएँ । त्यहाँका जनता नेपालगञ्जसम्म पनि आउन सकेका छैनन् । काठमाडौं त परैको कुरा । आउन नसक्दा जुनबेला उपचार चाहिएको थियो, त्यो बेलामा पाउँदैनन् । पछि समस्या जटिल भइसकेपछि उपचार खोज्दाखेरी त्यसको उपलब्धी हुन सक्दैन ।
समाजमा यस्तो समस्याका बारेमा भ्रम त छैन, गलत बुझाइका कारण समस्या भोग्नुपरेको त होइन, के पाउनुभएको छ ?
अझैपनि मकहाँ ढाडको बिरामी आउनुहुन्छ । कतिको अप्रेशन गरेर राम्रो गर्न सकिन्छ । उहाँहरुले एक्सरसाइज केही समय गर्नुहुन्छ । औषधि पनि खानुभएको हुन्छ । ढाडमा सुई लगाउन कन्भिन्स गर्नुपर्छ । अहिलेपनि जनमानसमा ढाडको, मेरुदण्डको अप्रेशन गर्नुहुँदैन, गर्यो भने हातखुट्टो चल्दैन, प्यारालाइसिस हुन्छ भन्ने धारणा छ । त्यो कसरी भयो भने, विगतको समयमा विशेषज्ञहरुको अभाव थियो देशमा । र देशमा अप्रेसन गर्ने साधन, सुविधाहरु थिएन । सुविधा र विशेषज्ञ नहुँदा गर्ने उपचार र अहिले सुविधा र विशेषज्ञ सबै भएर, विश्वमा भएका कतिपय राम्रा टेक्नोलोजीहरु अहिले नेपालमा पनि छ । हामीले आफ्नो शैलीमा उपलब्ध स्रोत, साधनबाट हामीले गर्नसक्छौँ । मुख्य कुरो दक्ष जनशक्तिहरु अहिले प्रशस्त छ । त्यसकारण जहाँ दक्ष जनशक्तिले उपचार हुन्छ, त्यो ठाउँ पत्ता लगाएर उपचार गर्यो भने जटिल छैन । मेरुदण्डको उपचारबाट झन् फाइदा नै हुन्छ । यदि दक्ष जनशक्ति, अनुभव छैन भनेदेखि त्यो अवस्थामा जति आशा गरिएको हो उपचारपछिको उपलब्धि त्यो नहुन सक्छ।
स्पाइनको अप्रेसन गरेको बिरामी धेरै समय बाँच्दैन भन्ने आम बुझाइ आज पनि छ नि ?
जवाफः अब त्यो छैन । स्पाइनको उपचार गरिसकेपछि झन उभिएर हिँड्न सकिन्छ त । मेरुदण्डमा नशा च्यापिएर हातखुट्टा नचल्ने बिरामी पहिले ओछ्यानमा पर्दथ्यो । ओछ्यानमा परेपछि विभिन्न समस्याले घाउ हुन्थ्यो र बित्थ्यो । अब त्यस्ता बिरामीहरुलाई हामी ओछ्यानमा सुताउँदैनौँ । त्यस्ता बिरामीहरुलाई जति सक्यो अप्रेसन गरेर ढाडलाई सिधा बनाएर कमसेकम ह्वीलचेयरमा बसाउने, डुलाउने गर्छौं । जब मान्छे खाटबाट उठेर आफ्नो काम आफैँ गर्न थाल्छ । तब आयु लम्बिन्छ । ढाडको अप्रेशन गरेपछि मान्छे मर्छन् भन्ने अहिले छैन त्यस्तो।
दुर्घटना पछि अस्पतालमा उपचार गर्न आउने क्रममा यहाँहरु उपचारमा संलग्न हुँदैगर्दा कस्ता खालका समस्याहरु यहाँहरुले भोग्नुपरेको छ, व्यवहारिक पाटो एउटा होला, नीतिगत पाटो अर्को होला त्यो चाहीँ कस्तो छ?
सबै कुरा आर्थिक भारमा आएर ठोक्किन्छ । हाडजोर्नीको धेरै रोगीहरु दुर्घटनाबाटै आउनुहुन्छ । ति बिरामीको उपचारमा आर्थिक समस्या पर्ने गरेको छ । मैले देखेको राम्रो बीमाको सिस्टम हुनुपर्छ । जबसम्म राम्रो बीमा आउँदैन, उपचार महंगो छ । जनमानसलाई आर्थिक भार परेको हुन्छ । डाक्टरलाई उपचार गर्न सिप जानेको छ, तर यो चिज चाहियो भने त्यो चाहीँ समस्या अहिलेसम्म देखिएको छ । सबै अस्पतालमा सबै चिजको सुविधा छैन । नेपालमा अझैपनि दुर्घटना भइसकेपछि यो अस्पतालमा जाने भनेर कुनै मापदण्ड छैन । जता पायो दौडियो । तर त्यहाँ के सुविधा छ त ? बिरामीलाई तुरुन्तै हुने उपचार उसको जीवन बचाउने क्षमता त्यहाँ पूर्वाधार छ कि छैन त्यो हेरिएको छैन । त्यस्तो नीति छैन । त्यसले गर्दा रुमल्लिएको छ।
अन्तिममा आम जनतालाई यहाँको सन्देश के छ ?
म के भन्छु भने रोग लाग्नुभन्दा अगाडी हामीले विचार गर्नुपर्छ । दुर्घटना हुनु अगाडी नै यसबाट बच्नुपर्छ । कुनै हाडजोर्नीको रोग छ भनेदेखि अस्पताल अवश्य जानुपर्ने हुन्छ । घरमै बसेर एकदुई दिन हेरौँ भनेर नबसौँ । आजकाल पाइलैपिच्छे अस्पताल छन्, गएर परामर्श लिन सकिन्छ । व्यायाम नितान्त जरुरी छ । सबैले दैनिक व्यायाम गर्नुपर्यो । दिनमा ४५ मिनेट कमसेकम हिँड्ने गर्नुप¥यो । स्वच्छ खानेकुराहरु खाने गर्नुप¥यो । बिहानदेखि बेलुकीसम्म काम मात्रै होइन । बीच बीचमा समय निकालेर व्यायाम गर्नुप¥यो । यि चिज ग¥यो भने हाडजोर्नीको रोग लाग्नुभन्दा अगाडी बच्नसक्छौँ । मध्यपान, धुम्रपान गर्नुभएन । धुम्रपान गर्नेको हड्डी जहिले पनि कमजोर हुन्छ । पान, गुट्खाले पनि हड्डी पातलो बनाउँछ । प्रोटिन र क्याल्सियममा जोड दिनुप¥यो जसले हाम्रो हड्डीलाई बलियो बनाउँछ । जंकफुड खानु भएन । त्यहाँ भएका रसायनिक पद्धार्थले हाम्रो हड्डीलाई पातलो बनाउँछ । महिलाहरुको महिनावारी रोकिइसकेपछि त्यसपछिको आठ, दश वर्षमा हड्डी धेरै पातलो हुँदै जान्छ । ति महिलाहरुले एक्सरसाइज गर्ने, क्याल्सियमयुक्त खानेकुराहरु खानुपर्छ । भिटामिन डि खान मेरो सुझाव छ ।