नेपालमा मुख स्वास्थ्य सम्बन्धी जनचेतना तथा ज्ञानको अभावका कारण यसलाई प्राथमिकतामा राखेको पाइँदैंन। मुख स्वास्थ दोस्रो दर्जाको स्वास्थ्य हो भन्ने आम बुझाइ रहेको छ। आर्थिक रुपले सम्पन्न तथा शिक्षित वर्गले समेत यसलाई खासै प्राथमिकतामा राखेको पाइदैन। शिक्षित व्यक्तिहरुमा पनि दाँत तथा मुख स्वास्थ्य सम्बन्धि ज्ञान एकदमै कम रहेको अवस्था छ।
यद्यपि मुख तथा दन्त स्वास्थ्य हाम्रो संमग्र स्वास्थ्यको बलियो सूचक हो। मुख तथा दन्त स्वास्थ्यमा ख्याल गर्न सकेमा मधुमेह, मुटु रोग तथा अन्य दिर्घकालीन रोगको जोखिम कम हुने गर्छ। दाँतमा किरा लाग्दा हृदयघातको जोखिम बढ्ने विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ।
मुखको क्यान्सर बढी हुने क्यान्सरमध्ये तेस्रोमा
मुखको क्यान्सर नेपालमा सबैभन्दा बढी हुने क्यान्सरको तेस्रो सूचीमा पर्ने गर्छ। आर्थिक रूपमा विपन्न जनतामा मुख स्वास्थ्य एकदमै चिन्ताजनक अवस्थामा छ, विश्व स्वास्थ्य संगठनको २०१९ को तथ्यांक अनुसार २० वर्ष भन्दा माथिका करिब १.४ प्रतिशत व्यक्तिमा दाँत नरहेको छ।
दाँतमा किरा लाग्ने समस्या विपन्न वर्गका बच्चाहरूमा विकराल रहेको पाइएको छ। समयमा बच्चाहरूको मुख स्वास्थ्यमा ध्यान दिइएन भने पछि यसले अझै समस्या निम्त्याउने र बच्चाहरूको बृद्धि विकासमा समेत असर पर्ने देखिन्छ। समय अगावै दाँत नहुँदा पोषण तत्वको अभावमा कुपोषणको समस्या देखिन सक्छ।
नेपालमा विद्यमान समस्याहरु
-दाँतमा किरा लाग्ने
-गिजा सम्बन्धित समस्या
-मुखको क्यान्सर
-दाँत नहुनु
-डेन्टल फ्लोरोसिस
-दाँत बाङ्गो टिङ्गो हुनु
समस्याका कारणहरू
-खानेकुरामा अधिक मात्रामा चिनी तथा प्रशोधित टाँसिनु ,
-चुरोट तथा तम्माखु पदार्थको अत्यधित प्रयोग,
-अधिक मात्रामा रक्सी तथा एसिडिक पेय पदार्थको उपयोग ,
-मुख सफा राख्न अपनाइने गलत तरिका,
-पानीमा अधिक फ्लोराइडको मात्रा हुनु ,
-आवश्यक मात्रामा पानी नपिउनु,
-पोषणयुक्त खानेकुराको सेवन नगर्नु,
-बच्चाहरूको दाँतमा रहेको समस्या बेलैमा निदान नहुनु,
पछिल्लो समय मुख तथा दाँत सम्बन्धि समस्याहरु बढ्दो क्रममा छन् यद्यपी मुख र दन्त सेवाहरू सबै स्थानमा उपलब्ध हुन सकेको छैन।
बढ्दै दन्त उपचार सेवाको बोझ
दन्त सेवा उपलब्ध भएका स्थानहरुमा पनि दन्त विशेषज्ञभन्दा बढी दन्त सहायकहरुले सेवा दिँदै आएको पाइएको छ। जसकारण समस्याले झनै विकराल रुप लिने गरेको पाइएको छ।
शरीरमा दिर्घकालीन रोग जस्तै मधुमेह, मुटुरोग बढ्ने बितिक्कै मुखसम्बन्धी रोग बढ्ने खतरा हुन्छ र यी एकआपसमा गाँसिएको हुन्छ।
मुख स्वास्थ्यसम्बन्धी जनचेतना बढ्दा मानिसको औसत आयु बढ्न जान्छ। ६० वर्षपछि धेरैको दाँतमा समस्या आउने तथा झर्ने हुन्छ। त्यस्तै खानेकुरामा पोषणाको मात्रा नपुग्दा पनि दाँतमा समस्या आउन सक्छ। दाँतलाई बचाउन सकेमा मानिसको औसत आयु बढ्ने तथा स्तरीय जीवन पनि बढ्न जान्छ।
शहर र गाउँमा दन्त चिकित्सकको अनुपातको अन्तर धेरै रहेको पाइन्छ। दन्त उपचारका लागी गाउँ गाउँबाट सहर धाउनुपर्ने बाध्यता अझै पनि छ। स्वास्थ्य सेवाको पाउनका लागि यस्तो स्थिती रहिरहेको अवस्थामा आगामी दिनमा नेपालका स्वास्थ्य संस्थामा दन्त उपचार सेवा बोझ बढ्दै जाने देखिएको छ।
सहरमा पनि दन्तरोग अन्तिम अवस्थामा पुगिसके पछि बल्ल दन्त अस्पताल क्लिनिक आदिहरूमा सम्पर्क गरिएको पाइन्छ। शहरी जनतामा दन्तरोग सुरुवाती अवस्थामा देखाउनु तथा दन्त चिकित्सकहरू सँग सम्पर्कमा आउनु पर्छ भन्ने ज्ञानको आवश्यकता छ। नेपालमा प्राथमिक स्वस्थ चौकी बाटै दन्त चिकित्सकहरू मार्फत् रोगको रोकथाम र उपचार जस्ता सेवाहरू चलाउनु आवश्यक छ। देश विकासका लागि आर्थिक रुपमा समेत जनता सबल हुनु आवश्यक छ। जनता स्वस्थ्य रहे मात्रै देश बलियो हुन्छ। दन्त रोगका बोझ र यसले गर्दा जनतालाई पर्ने आर्थिक भार एकदमै भयावह हुने देखिएकोले समयमा नै यसलाई समाधान गर्नु अत्यावश्यक छ।