नेपालमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा डक्टर अफ मेडिसिन इन जनरल प्राक्टिस (एमडीजीपी) कार्यक्रम गम्भीर अवस्थामा छ। वर्तमान अवस्थामा यो कार्यक्रमले अस्तित्व संकटको सामना गरिरहेको छ।
केही वर्ष अगाडिसम्म ग्रामीण भेगमा विशेषज्ञ चिकित्सकको अभावमा कैयौं गर्भवती महिलाहरू उपचारको अभावमा मृत्युको सामना गरिराख्नु परेको थियो भने हाडजोर्नीका बिरामीहरू उपचार र सल्लाहको अभावमा अपाङ्गता र हातखुट्टा नै गुमाउनुपर्ने अवस्था पनि थियो।
तर, जब एमडीजीपी डाक्टरहरू ग्रामीण भेगमा जान थाले, आफ्नो सेवा विस्तार गर्न थाले। त्यसपछि ग्रामीण भेगमा देखिने गरी, महसुस हुनेगरी नै स्वास्थ्य सेवामा परिवर्तन आयो। यो परिवर्तनले केवल स्थानीय तहमा या जिल्ला स्तरमा मात्रै परिवर्तन नल्याई सम्पूर्ण देशको स्वास्थ्यको लक्ष्यहरू जस्तै: मातृ मृत्युदर, नवजात शिशु मृत्युदर, सर्ने र नसर्ने रोगहरूको सङ्ख्यामा कमी हुनुका साथै न्यूनतम सेवा मापदण्डको कार्यक्रमको सुरुवात, अस्पताल गुणस्तर सुधार जस्ता सूचाङ्कहरूमा नै उल्लेखनीय उपलब्धि हासिल गर्यो।
एमडीजीपी डाक्टरहरूको वर्णन गाउँगाउँ, ठाउँठाउँ, सामाजिक सञ्जालदेखि पत्रपत्रिकासम्म हुन थाल्यो। हरेक जिल्ला अस्पतालहरूमा सीईओएनसी सञ्चालनको लागि राम्रो पारिश्रमिक सहित एमडीजीपी डाक्टरको खोजी हुन थाल्यो।
चिकित्सा क्षेत्रका डाक्टरहरुले पनि यो क्षेत्र अति नै महत्वपूर्ण र सम्भावना बोकेको विशेषज्ञता रहेछ भनेर यो विषयको छनोट गरी पढ्न थाले।
नेपालको परिवेशको लागि माटो सुहाउँदो विशेषज्ञता भनी बेलाबेला गोष्ठी, सेमिनार र भेलाहरूमा सुनिन थाल्यो जुन अहिले पनि सुनिँदैछ। तर हालको समय, परिस्थिति र वास्तविकता भने फरक छ।
हाल स्त्री रोग विशेषज्ञ, जेनरल सर्जन, हाडजोर्नी जस्ता विभिन्न विशेषज्ञताका चिकित्सकहरू गाउँ-नगरसम्म पुगिसकेको परिप्रेक्ष्यमा एमडीजीपी विशेषज्ञहरूको भूमिका पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता देखिएको छ।
यस्तो चुनौतीपूर्ण समयमा हामीले एमडीजीपी विशेषज्ञताको आवश्यकता र महत्वमाथि पुनर्विचार गर्दै यसको भविष्य सुनिश्चित गर्न ठोस कदम चाल्नुपर्ने छ।
एमडीजीपी विशेषज्ञता किन संकटमा छ?
सरकारी प्राथमिकता र अवसरको कमी
एमडीजीपी विशेषज्ञका लागि सरकारी अस्पतालहरूमा सेवा प्रवेशको लागि नवौँ र ११औँ तहमा उचित दरबन्दीको अभाव छ। लोकसेवा आयोगमा एमडीजीपी विशेषज्ञका लागि नयाँ पद सिर्जना नगरेको लामो समय भइसकेको छ।
त्यति मात्र होइन, भएको सिटमा समेत वर्षौंदेखि लोकसेवा आयोगबाट रिक्त दरबन्दी पदपूर्तिको लागि विज्ञापन खोलेको छैन। त्यस्तै संघ, प्रदेश अन्तर्गतको एमडीजीपीको दरबन्दी पनि कयौँ अस्पतालमा कटौती गरिएको छ।
वर्षौंदेखि दशौँ तहमा काम गरिरहेका एमडीजीपपी विशेषज्ञ चिकित्सकहरूको आफ्नो सेवा समूहमा सहज तरिकाले बढुवा हुन सकेको छैन।
वर्षौंदेखि नेपालमा ग्रामीण तथा शहरी क्षेत्रमा सेवा दिँदै आएका कयौं एमडीजीपी विशेषज्ञ चिकित्सकहरु आफ्नो देशमा उपयुक्त रोजगारी नपाएर विदेश पलायन भइसकेका छन् भने पलायन हुने क्रम जारी नै छ।
सायद यस्तै कारणहरूले गर्दा पनि एमडीजीपी विषय र शैक्षिक प्रणालीको आकर्षण घटाएको छ र नयाँ चिकित्सकहरूलाई यो क्षेत्रतर्फ आकर्षित गर्न कठिनाइ उत्पन्न भइरहेको छ।
शैक्षिक प्रणाली र पाठ्यक्रमको जटिलता
हालको एमडीजीपी पाठ्यक्रमले समय सुहाउँदो ग्रामीण, शहरी क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै स्वास्थ्य सेवाका तथा प्राथमिक स्वास्थ्य सेवामा प्रदान गर्ने चिकित्सकहरू उत्पादन गर्न सकेको छैन। उत्पादन भइसकेका चिकित्सकहरूको सही ठाउँमा सही उपयोग गर्न सकिएको छैन।
एमडीजीपीको पाठ्यक्रममा एउटा एमडीजीपी डाक्टरले शहरी क्षेत्रमा इमर्जेन्सी बाहेक अन्य कुनकुन क्षेत्रमा सेवा दिन सक्छन् भन्ने कुराको सुनिश्चितता हुन सकेको छैन। अन्य देशहरूमा जस्तै नेपालमा पनि सम्पूर्ण बिरामीहरूलाई पहिला एमडीजीपी डाक्टरकोमा गएर उपचार गराएपछि मात्रै आवश्यकताको आधारमा विशेषज्ञ र विशिष्टकृत चिकित्सककोमा रेफरल प्रणाली सुरु गर्न सकेमा पनि यो क्षेत्रको सम्भावना र महत्व बढ्छ। विशेषज्ञतामा आधारित पाठ्यक्रमले प्राथमिक स्वास्थ्य सेवा र समग्र स्वास्थ्य सेवाका उद्देश्यलाई पछाडि धकेल्दैछ।
सामाजिक र व्यावसायिक पहिचानको अभाव
एमडीजीपी चिकित्सकहरूलाई ‘सामान्य’ चिकित्सकको रूपमा मात्र हेरिन्छ। जबकि एमडीजीपी चिकित्सकहरू उच्च कुशलता, दायरा र क्षमता भएका कम साधन स्रोत भएको ठाउँमा पनि सेवा दिनसक्ने विशेषज्ञ चिकित्सकहरु हुन्।
एक जना एमडीजीपी चिकित्सक कुनै पनि विशेषज्ञ नभएको ठाउँमा पेट चिरेर बच्चा जन्माउने सिजिरेन सेक्सन अप्रेसन, आन्द्रा फुटेको अप्रेसन, एपेन्डिसाइटिसको अप्रेसनदेखि लिएर हाडजोर्नीको खुस्केको, भाँचिएको मिलाउनुदेखि लिएर, बिरामीलाई बेहोस बनाउने, बालरोग स्त्री रोग, हाडजोर्नीको उपचार, आकस्मिक सेवा, अल्ट्रासाउन्ड सेवा, मानसिक स्वास्थ्का प्रारम्भिक सेवाहरू, त्यस्तैगरी ओपीडीमा बिरामी जाँच गर्ने, गर्भवती जाँच गर्ने, परिवार नियोजनको सल्लाह-सुझाव र गर्भपतन समेतमा गर्नसक्ने क्षमताका विशेषज्ञ चिकित्सक हुन्।
सन् २००६/०७ तिरको कुरा हो, सुरुको अवस्थामा निक साइमन इन्स्टिच्युटको सहयोग र पैरवीमा एमडीजीपी डाक्टरहरूको उत्पादन र जिल्ला अस्पतालहरूमा चिकित्सकको पोस्टिङ गर्दै आएको थियो र सेवा सुविधा राम्रो दिने भएकोले यस क्षेत्रमा आकर्षण बढेको देखिन्थ्यो।
तर, बीचको समयमा बिस्तारै विभिन्न अस्पतालहरुबाट फेज आउट हुँदै जाँदा, नयाँ एमडीजीपी चिकित्सक उत्पादन बन्द हुनु, सरकारी तथा निजीमा भएका सिटहरूबाट उत्पादित एमडीजीपीहरूले आफ्नो पुरानो ग्राजुएट वा पास भएका एमडीजीपी चिकित्सकहरुलाई लामो समयसम्म कसरी रोजगारी दिने र उहाँहरुबाट कसरी सेवा लिने भन्ने विषयमा ओझेलमा परेर यो कार्यक्रम पनि त्यति आकर्षक हुन सकेन।
तर, हाल पनि विभिन्न अस्पतालहरुमा सपोर्ट प्रोग्राम रहे तापनि पहिलेजत्तिको आकर्षक र आकर्षण छैन। किनभने हरेक चिकित्सा विशेषज्ञता पेसाप्रतिको सुनिश्चितता केवल नेपाल सरकारले मात्र गर्न सक्छ।
आफैंलाई र आफ्नो पेसालाई सम्मान नगर्ने प्रवृत्तिले पेसागत मनोबल घटाएको छ। साथीभाइबीच पनि एमडीजीपी चिकित्सकहरूलाई यो कुनै विशेषज्ञता होइन भन्ने संस्कारले यो क्षेत्रलाई अझै कमजोर बनाएको छ देखिन्छ।
लेखकको अनुभवमा कुनै पनि विशेषज्ञतालाई आकर्षक बनाउने भनेको नै आफ्नो पेसाप्रतिको लगाव, झुकाव र सम्मानले हो। यसलाई आकर्षक बनाउनमा नेपाल मेडिकल एसोसिएसन, जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन एसोसिएसन र हामी सबै एकजुट भएर लाग्नुपर्छ।
नीति निर्माण र लगानीको कमी
सरकार, चिकित्सा संस्थान र नीति निर्माणकर्ताहरूले एमडीजीपी कार्यक्रमको महत्त्वलाई प्राथमिकतामा राखेका छैनन्। यसले युवा चिकित्सकहरूलाई यो क्षेत्रमा प्रवेश गर्नबाट हतोत्साहित गरेको छ।
एमडीजीपी विशेषज्ञतालाई कसरी जोगाउने?
एमडीजीपीलाई फेमिली फिजिसियनमा रूपान्तरण गर्ने: विश्वका विकसित देशहरूको जस्तै एमडीजीपीलाई फेमिली फिजिसियनको रूपमा पुनः परिभाषित गर्नुका साथै मान्यता दिनुपर्छ।
यस्तो अभ्यासले ग्रामीण भेगमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन मद्दत गर्छ।
पाठ्यक्रम सुधार र कार्यक्षेत्रको पुनर्निर्धारण
एमडीजीपी पाठ्यक्रममा आधुनिक आवश्यकता अनुसार सुधार गरी शल्यक्रिया (सर्जरी) मा निर्भरता घटाउनु जरूरी छ।
प्राथमिक उपचारमा केन्द्रित फेमिली मेडिसिनको अवधारणालाई स्थापित गर्दै स्थानीय , प्रदेश र सङ्घीय अस्पतालहरूको प्राथमिक तथा आकस्मिक स्वास्थ्य सेवामा आबद्ध गर्न सकिन्छ। स्वास्थ्य बीमा कार्यक्रमको र सरकारी, अर्धसरकारी र गैरसरकारी मेडिकल कलेज तथा प्रतिष्ठानहरूमा समेत प्रथम सेवा प्रदायकको रूपमा विकास गर्न सकिन्छ।
त्यस्तैगरी जेरियाट्रिक, पेलिएटिभ केयर, किशोरकिशोरी क्लिनिक, प्रादेशिक अस्पतालको एसएनसीयू, आईसीयू, एचडीयू, डायलाइसिस, बालरोग र स्त्रीरोगको समग्र उपचारमा ध्यान केन्द्रित गर्नुपर्छ। एकद्वार संकट व्यवस्थापन केन्द्र, अस्पताल केन्द्रित खोप कार्यक्रम, कम्युनिकेबल र नन कम्युनिकेबल रोगका प्रशिक्षकको रुपमा जिल्लामा हुने अपरेसनहरूमा जस्तै: सिजेरियन सेक्सन, एपेन्डिक्सको अपरेसन, एनेस्थेसिया दिएर गर्ने हाडजोर्नीको उपचारहरू, पोइन्ट अफ केयर अल्ट्रासाउन्ड जस्ता विषयहरूमा नीतिगत रूपमा एमडीजीपीहरूलाई मान्यता प्राप्त विशेषज्ञताको रूपमा विकास गरिनुपर्छ। रुरल हेल्थ क्लिनिक्स र सामुदायिक स्वास्थ्य सेवामा एमडीजीपीको भूमिका बलियो बनाउनु आवश्यक छ।
सरकारी र निजी क्षेत्रको सहकार्य
स्वास्थ्य क्षेत्रमा देखिएको अन्तर जस्तै: प्रतिरोधात्मक उपचारात्मक र प्रवर्धनात्मक, प्रशामात्मक क्षेत्रको सेवा प्रवाहमा देखिएको भौगोलिक असमानता, सामाजिक र आर्थिक असमानता, स्वास्थ्यकर्मीको अभाव, बाल स्वास्थ्य, मानसिक रोग जस्ता कार्यक्रमहरूमा देखिएका ग्याप तथा अन्तरलाई सम्बोधन गर्दै समय अनुकुल जीपी कार्यक्रमलाई थप परिस्कृत गर्न आवश्यक छ। सरकारी दरबन्दी सिर्जना गर्न र निजी क्षेत्रमा क्लिनिक खोल्न सहज कानुनी व्यवस्था गरिनुपर्छ। एमडीजीपी चिकित्सकहरूले आफ्नै क्लिनिकहरू सञ्चालन गरेर पनि समग्र स्वास्थ्य सेवा दिन सक्ने वातावरण बनाउनुपर्छ।
सामाजिक सम्मान र पेसागत पहिचान प्रवर्द्धन
एमडीजीपी चिकित्सकहरूलाई समान अधिकार, सुविधा र सामाजिक सम्मान दिनुपर्ने बेला आएको छ। यसका लागि नेपाल चिकित्सक संघ, जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल र नीति निर्माणकर्ताहरूको सहकार्य अपरिहार्य छ।
नीतिगत पुनर्संरचना
सरकारी र निजी क्षेत्रका सबै सरोकारवालाहरू (आईओएम, बीपीकेआईएचएस, न्याम्स, पाटन एकेडेमी) जस्ता प्रतिष्ठानहरू मिलेर एमडीजीपीका लागि कार्यशालाहरू आयोजना गरी दीर्घकालीन योजना बनाउनु आवश्यक छ।
यो क्षेत्रलाई प्राथमिकतामा राख्न नीतिगत परिवर्तन आजको आवश्यकता हो।
यदि हामीले अहिले केही रणनीति तय गरेनौं भने एमडीजीपी कार्यक्रम निकट भविष्यमा समाप्त हुने निश्चित छ।
एमडीजीपी चिकित्सकहरूले जुनबेला कुनै पनि विशेषज्ञ चिकित्सकहरू दुर्गम जान हिच्किचाउँथे त्यो बेलामा दुर्गम क्षेत्रमा देखाएको अतुलनीय योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न, पाठ्यक्रम सुधार गर्न र यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बेला आएको छ।
अबका युवा एमडीजीपी विशेषज्ञ चिकित्सकहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्दै यस पेसालाई बचाउन र पुनः स्थापित गर्न ठोस कदम चाल्नुपर्छ। समस्याका समाधान खोज्दै एमडीजीपीको पहिचान बचाउन र यसको भविष्य सुरक्षित गर्न सबै सरोकारवालाहरूले एक भएर काम गर्नुपर्ने समय आएको छ।
नेपालको शहरी र ग्रामीण दुवै क्षेत्रमा सस्तो र प्रभावकारी सेवाको पर्यायवाची एमडीजीपी वा फेमिली फिजिसियनबाट समग्र, सस्तो र पहुँचयोग्य सेवामार्फत स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन र नतिजा ल्याउनमा महत्त्वपूर्ण भूमिका खेल्न सकिन्छ। यसलाई थप प्रभावकारी बनाउन स्पष्ट नीतिगत सहयोग, विशेषज्ञहरूसँगको सहकार्य र स्रोत व्यवस्थापन आवश्यक छ।