चितवन- अब विषादी बिक्रेता पनि विषादी न्यूनीकरणका अभियन्ता बनेका छन्। चितवन जिल्लाको भरतपुर महानगरपालिका, खैरहनी, राप्ती र कालिका नगरपालिकाका २५ जना विषादी बिक्रेताहरुलाई विषादीको सुरक्षित व्यवस्थापन र उचित बिक्रिसम्बन्धी साउन १४ देखि १६ सम्म ३ दिने तालिम दिइएकाे छ।
नेपाल जनस्वास्थ्य प्रतिष्ठान, कृषि, स्वास्थ्य र वातावरण नेपाल परियोजनाले उक्त तालिमकाे अायाेजना गरेकाे थियाे।
परियोजनाले वि.सं. २०७४ साल फागुनमा चितवन जिल्लामा गरेकाे सर्वेक्षणले विषादी बिक्रेताहरु नै विषादी न्यूनीकरण अभियानका महत्वपूर्ण अभियन्ताहरु हुन सक्ने विषय उजागर गरेको थियो।
उक्त सर्वेक्षणको प्रतिवेदनअनुसार ५० प्रतिशत भन्दा बढी कृषकहरु कृषि तथा बोटबिरुवाका रोगसम्बन्धी केही समस्या पर्दा विषादी बिक्रेताहरुलाई सम्पर्क गर्ने देखिएकाे थियाे।
तालिम कार्यक्रममा विषादी बिक्रेताहरुलाई विषादी बिक्रि वितरण गर्दा कृषकलाई विषादी प्रयोग गर्दा सुरक्षित पहिरन अनिवार्य लगाउनुपर्ने, विषादी छर्किँदा सकेसम्म बेलुका मात्र छर्कनुपर्ने, विषादीको पर्खनुपर्ने समयको पालना गर्नुपर्ने जस्ता सूचना अनिवार्य रुपमा दिनुपर्ने बारे जानकारी गराइएकाे छ।
त्यस्तै विषादी बिक्रेताहरु पनि धेरै समय विषादीको संसर्गमा रहनेहुँदा आफ्नो स्वास्थ्य प्रति सजग हुनुपर्ने र विषादी खरिद गर्दा देखि भण्डारण र व्यवस्थापनसम्म नेपाल सरकारको नियम बमोजिम सुरक्षित विधिहरु अवलम्बन गर्नुपर्ने बताइएकाे छ।
परियोजनाका प्रबन्धक एवं जनस्वास्थ्यकर्मी सिमृन काफ्ले यस्ता सचेतनामूलक कार्यक्रमहरु सरकारी निकायबाट राष्ट्रिय स्तरमै संचालन गरिनुपर्ने र विषादीको उचित बिक्रि र व्यवस्थापनका सम्बन्धमा कडा निर्देशन हुनुपर्ने बताउँछन्।