काठमाडौं- वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटा र ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा मधु घिमिरे नेपाली चिकित्सा क्षेत्रका अब्बल र नाम चलेका चिकित्सक हुन्। डाक्टर देवकोटाको निधन भइसकेको छ। डा देवकोटा र डा घिमिरेको नाम र कामको चर्चा अहिलेको नयाँ पुस्ताले पनि गर्ने गर्छन्।
चिकित्सकद्वय डा देवकोटा र डा घिमिरेले अन्य केही साथीहरुसँग मिलेर २८ वर्षअघि निजी क्षेत्रबाट उपचार सेवा दिन अस्पताल खोल्ने निर्णय गरे। उनीहरुको अगुवाईमा बहुविशेषज्ञ सेवा दिने उद्देश्यसहित सन् १९९७ मा त्रिपुरेश्वरमा नयाँ अस्पतालको जन्म भयो।
२८ वर्षअघि नै चिकित्सकिय अभ्यासका कारण नाम कमाएका डाक्टरद्वय डा देवकोटा र डा घिमिरेको टिमले स्थापना गरेको अस्पताल हो, हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स)। अस्पताल सञ्चालनमा आएको केही समयसम्म अस्पतालले राम्रो सेवा दियो। तर डा देवकोटा र डा घिमिरेको सहकार्य लामो समयसम्म चलेन। जसका कारण अस्पतालमा पनि संकट आउन थाल्यो। अस्पतालका सेवाहरु खुम्चिन पुग्यो।
डाक्टर देवकोटाले न्युरोमा केन्द्रित रहेर न्युरो अस्पताल सञ्चालन गरे भने २०६२/६३ पछि डाक्टर घिमिरे विश्व स्वास्थ्य संगठनमा काम गर्न गए। अस्पतालबाट नाम चलेका दुई प्रमुख खम्बाले नै छाडेपछि अस्पताल आर्थिक संकटमा पर्यो।
त्यसपछि अस्पताल त्रिपुरेश्वरबाट बुद्धनगरमा सर्यो। बुद्धनगरमा केही समय अन्य नाम चलेका चिकित्सकहरुका कारण अस्पताल चल्यो। तर त्यहाँ पनि अस्पतालले सोचेजस्तो प्रगति भने गर्न सकेन। नामी चिकित्सकहरुले नै अगुवाई लिएर सञ्चालन गरेको ह्याम्सको नाम चल्यो तर पूर्णकालिन सेवा दिने चिकित्सकहरुको संख्या कम हुँदा अस्पताल भने चल्न सकेन।अस्पताललाई समयअनुसार अपग्रेड गर्न नसक्दा समस्या झनै चुलिँदै गयो।
संकटमा रहेको ह्याम्स अस्पताललाई जोगाउँदै नयाँ उचाईमा पुर्याउने अठोटका साथ २०७३ सालमा अस्पतालको नेतृत्व लिए रामशरण (आरएस) भण्डारीले। 'दिग्गज चिकित्सकहरुको प्रयासबाट सुरु भएको अस्पताललाई नेपालको अग्रणी अस्पतालका रुपमा चिनाउँछु' अस्पतालको नेतृत्व लिँदै गर्दा उनले भनेका थिए। उनकै नेतृत्वमा अगाडि बढेको ह्याम्स अस्पताल अहिले नेपालका अग्रणी अस्पतालमध्ये एक पर्छ।
आरएस भण्डारीले अस्पताललाई बुद्धनगरबाट धुम्बाराहीमा ल्याए। नेतृत्व लिएको करिब ३ वर्ष भवन निर्माणमै खर्चिए। त्यसपछि उनले अस्पतालमा नेपाली नागरिकले विश्वास र भरोसा गरेका चिकित्सकहरु भित्र्याए। धुम्बाराहीबाट अस्पतालले पूर्णकालिन सेवा दिन थालेको पाँच वर्ष भयो। तर पाँच वर्षको छोटो अवधिमा नै आरएस नेतृत्वमा अगाडि बढेको अस्पताल अग्रणी संस्थाका रुपमा चिनिएको छ।
तर अस्पतालको नेतृत्व लिएर काम अगाडि बढ्दै गर्दा भने आरएसले पनि निकै चुनौतीको सामना भने गर्नुपरेको थियो। भन्छन्, 'अस्पताललाई अहिलेको स्थानमा ल्याउन मैले त्यतिबेला आफ्नो घर समेत बेच्नुपरेको थियो। टिम मिलाउन त्यस्तै समस्या परेको थियो। तर अहिले अस्पताल जुनस्थानमा आइपुगेको छ यसमा सम्पूर्ण अस्पताल टिमको हात छ।'
अस्पतालमा बिरामीको चाप पनि बढ्दो क्रममा छ। अस्पतालले एक वर्षमा एक लाखभन्दा बढी बिरामीलाई सेवा दिने गरेको छ। अस्पतालले वैशाखदेखि चैत तेस्रो सातासम्म एक लाख २६ हजार बिरामीलाई ओपिडी र अन्तरंग (आइपिडी) सेवा दिएको छ। अस्पतालमा यो वर्षको फागुनसम्म ३ हजार २ सय ६१ जनाले शल्यक्रिया सेवा लिएका छन्।
काठमाडौंमा छोटो समयमा नै अस्पताललाई एउटा उचाइमा पुर्याएका ह्याम्सका अध्यक्ष भण्डारीले भक्तपुरमा पनि अर्को अस्पताल टेकओभर गरेका छन्। नागरिक सामुदायीक अस्पताल खरिद गरेको ह्यामका अध्यक्ष भण्डारी भन्छन्, 'भक्तपुरमा ह्याम्स सरहकै सेवा दिने उद्देश्यले नागरिक अस्पताल लिइएको हो। यहाँ नयाँ भवन निर्माणय गरेर धुम्बाराहीको ह्याम्स सरहकै सेवा दिने छौं।'