अछाम - बयालपाटा प्रादेशिक अस्पतालमा १ सय ६१ ठुला सफल शल्यक्रिया भएका छन्। गत भाद्र १ गतेबाट सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत आएपछि बयालपाटा प्रादेशकिमा उक्त शल्यक्रिया भएका हुन्।
३ महिनाको अवधिमा १ सय ३१ जनाको हाडजोर्नी, १४ जनाको जनरल सर्जरी गरिएको छ भने १३ जना महिलाले शल्यक्रिया मार्फत सुत्केरी सेवा लिएका छन्। अस्पतालका सर्भिलेन्स अधिकृत प्रशान्त पंगेनीका अनुसार ३ महिनामा ६३ सुत्केरीले सेवा लिएका छन् भने ८ सय ६१ साना शल्यक्रिया समेत भएका छन्।
सोही अवधिमा अस्पतालबाट ५ हजार ८ सय ९८ जनाले सेवा लिएका छन्। जसमध्ये ४ हजार १ सय ९१ जनाले बहिरंग, १ हजार ३ सय ६४ जनाले आकस्मिक र ३ सय ४३ जनाले अन्तरंग विभागबाट सेवा लिएका छन्।
बयालपाटा अस्पतालमा हाल ३ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । हाडजोर्नी विशेषज्ञ डा मन्दिप पाठक, डा विश्वबन्धु निरौला, जनरल सर्जन सरोज ढुंगाना, १ जना डेण्टल सर्जन र ७ जना मेडिकल अधिकृत कार्यरत छन् ।