नेपाली समाज सधैं यौनिकता र सुरक्षासँग सम्बन्धित विषयमा दोहोरो व्यवहार देखाउँदै आएको छ । एकातिर, यौनिक विषयमा सार्वजनिक रुपमा मौनता, परम्परागत संस्कार एवं धार्मिक प्रचलनहरूले बाधिएको छ भने, अर्कातिर व्यवहारमा आवश्यकता सँगसगै व्यक्तिगत सुरक्षा र गोपनीयताको बारेमा सचेत भएको देखिन्छ । विशेष गरी आन्दोलनका दिनहरू, ठूला मेला एवं पर्वहरू, तथा सामाजिक जमघटहरूमा कण्डम बिक्रीमा हुने आकस्मिक वृद्धि, भन्ने समाचारहरूले मौन यथार्थताको पुष्टी भएको देखाउँछ । तर, नेपाली समाजमा सुरक्षित यौन व्यवहार र यसको सामाजिक स्वीकृतिबारे गहिरो विश्लेषण गर्दा हामीले हाम्रो समाजको ऐतिहासिक विकास, सामाजिक मूल्य मान्यता, पारिवारिक संरचना, तथा धार्मिक आस्थासँग पनि टक्कर (अपाच्य हुने) लिनु आवश्यक हुन्छ।
नेपाली समाजको चरित्र: यौनिकता र लाजको संस्कार
नेपालको सामाजिक चरित्र परम्परागत, सामूहिक र धार्मिक मूल्यमा आधारित छ । पारिवारिक जीवन र सामुदायिक सम्बन्धहरूलाई प्रतिष्ठाको विषयको रुपमा अत्यन्त महत्त्व दिइन्छ । नेपाली समाजमा यौनिकतासँग सम्बन्धित संवादहरू प्रायः निषेधित र गोप्य राखिन्छ । अभिभावक–सन्तान सम्बन्धमा यौन शिक्षाको अभाव, विद्यालयस्तरमा स्वास्थ्य शिक्षा कमजोर र संस्कृतिमा 'लाज' र 'संस्कार'को संस्कारले गर्दा सुरक्षित यौन व्यवहारको सार्वजनिक स्वीकार्यता कमजोर देखिन्छ।
विशेषगरी:
• अविवाहित युवामा यौन सम्पर्कबारे खुला संवादको अभाव,
• महिलाहरुमा यौन सुरक्षाबारे निर्णय गर्न असमर्थता,
• गाउँघरमा यौन शिक्षालाई अनावश्यक विषय, छाडा कुरा, पापको रूपमा हेरिने
एवं समाजिक संस्कार विरुद्धको रुपमा लिइने चलन रहेको छ।
छोरा/छोरीको बिहे गर्ने बेला भयो भनेर जोडी खोज्न अविभावकहरू नै अग्रसर हुनुलाई व्यवहारमा समाजले यौनिक आवश्यकतालाई चुपचाप स्वीकार गरेको देखिन्छ । तर, यौन शिक्षाको अभावमा विवाहअघि तथा विवाहपछि पनि असुरक्षित यौन सम्पर्क हुने सम्भावना उच्च छ, जसले कण्डम वा अन्य सुरक्षात्मक साधनहरूलाई आवश्यक बनाउँछ।
कण्डमको नेपालमा प्रवेश र विकास
नेपालमा कण्डमको प्रयोग सन् १९७० दशकदेखि औपचारिक रूपमा सुरु भएको पाइन्छ। प्रारम्भमा यसको प्रमुख उद्देश्य परिवार नियोजन अर्थात् जन्म नियन्त्रण मात्र थियो। तर १९८० को दशकमा एचआईभी/एड्स महामारीको जोखिम बढेपछि सुरक्षित यौन सम्पर्कका लागि कण्डमको व्यापक प्रचार सुरु गरियो।
सरकारी तथा केहि गैरसरकारी नीकायहरुले नि:शुल्क र यस क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था एवं कम्पनीहरूले सस्तो दरमा कण्डम उपलब्ध गराउन थाले। 'ढाल, 'ओके', 'गोली' जस्ता ब्रान्डहरूले नेपाली बजारमा आफूलाई स्थापित गरे । सरकारको प्राथमिकताको कार्यक्रममा कार्यक्रम सञ्चालन गरेकोले तीब्र जनचेतना अभियानले शहरी क्षेत्रमा कण्डमको प्रयोगमा उल्लेखनीय वृद्धि ल्यायो।
तर, ग्रामीण र दुर्गम क्षेत्रहरूमा उल्ल्खित कारणहरूले अझै कण्डमको पहुँच कमजोर देखिन्छ । राष्ट्रिय जनस्वास्थ्य सर्वेक्षण अनुसार, १५–२४ वर्षका युवकहरूमा मात्र ८ प्रतिशत कण्डम प्रयोग दर रहेको छ भने ग्रामीण महिलाहरूमा सुरक्षित यौन व्यवहार अपनाउने दर करिब ४ प्रतिशत मात्र छ।
विशेषज्ञहरू भन्छन्, नेपालमा कण्डम प्रयोगको विकास एवं विस्तार शारीरिक आवश्यकताको आधारमा हुनु पर्नेमा सांस्कृतिक अस्वीकार्यता, लाज र यौन शिक्षा अभावसँग गाँसिएको छ।
आज पनि, खुला संवाद, व्यापक शिक्षा, र सहज पहुँच विस्तार बिना कण्डम प्रयोगलाई सर्वसुलभ र सामान्य व्यवहार बनाउन चुनौती कायमै छ।
आन्दोलन र यौन सुरक्षा: एक मौन वास्तविकता
नेपालमा पछिल्ला दशकमा विविध स्वरूपका आन्दोलनहरू भइरहेका छन् । यस्ता आन्दोलनहरूले राजनीतिक, आर्थिक र सामाजिक संरचनामा असर त पारेकै छन्, तर लामो समय परिवारबाट अलग रहने बाध्यात्मक अवस्था वा सडकमा लामो समय प्रदर्शन धर्ना जुलुस आदिमा रहने व्यक्तिहरूको यौन स्वास्थ्य चेतनामा पनि उल्लेखनीय प्रभाव देखिएको छ।
आन्दोलन एवं प्रदर्शन हुने क्षेत्रका दर्जनौँ फार्मेसी सञ्चालकहरूसँग गरिएको अनौपचारिक संवाद अनुसार, आन्दोलनका दिनहरूमा कण्डम बिक्री सामान्य दिनको तुलनामा २ देखि ३ गुणासम्म वृद्धि भएको थियो । कतिपय फार्मेसीहरूले आन्दोलन चलिरहेको हप्तामा दैनिक २०–३० प्याकेटसम्म कण्डम बिक्री गरेको रिपोर्ट गरेका छन्।
नाम उल्लेख गर्न नचाहने एक फार्मेसी सञ्चालकले भने, 'हामीले आन्दोलनका समयमा कण्डमको माग उल्लेखनीय रुपमा बढेको देख्यौं, खासगरी बेलुकीपख।' अस्थायी आवास प्रयोग गर्ने र प्रदर्शनकारीहरूमा सुरक्षित यौन व्यवहारप्रति सचेतना बढेको प्रष्ट हुन्छ। यसबाट केवल यौन जन्य रोगबाट बच्ने मात्र नभएर गर्भ रहन बाट समेत कम गर्ने गरेको देखिन्छ।
विशेषज्ञहरूका अनुसार, सामाजिक तनाव र अस्थिरता बढ्दा व्यक्तिगत सीमाना र व्यवहारमा परिवर्तन आउन सक्छ, जसले आकस्मिक यौन सम्पर्कका सम्भावना पनि बढाउँछ । तर सकारात्मक पक्ष यो हो कि प्रदर्शनकारीहरू सुरक्षित यौन व्यवहार अपनाउनेतर्फ अग्रसर देखिएका छन्।
सडक आन्दोलनहरूले नकारात्मक मात्र होइन, यौन स्वास्थ्य र सुरक्षा चेतनाको रूपमा पनि नयाँ व्यवहारिक धारणा विकास गरेको देखिन्छ।
धार्मिक जमघट र सुरक्षित यौन व्यवहार
नेपाल बहुधार्मिक र बहुसांस्कृतिक देश हो, जहाँ वर्षैभरि विविध धार्मिक मेला, जात्रा र सांस्कृतिक समारोहहरू आयोजना भइरहन्छन् । पशुपतिनाथको महाशिवरात्रि, जनकपुरको विवाह पञ्चमी, वसन्तपुर र ललितपुरका ऐतिहासिक रथयात्रा, तराई क्षेत्रमा गंगा दशहरा पहाडि भेगका कालिन्चोक भगवती पाथिभरा जस्ता धार्मिक स्थल लगायतका जमघटहरूले लाखौं भक्तजन एवं दर्शकहरुलाइ आकर्षित गर्छन्। देश भित्रका बिभिन्न स्थानहरुबाट र विदेशबाट समत धेरै भक्तजनहरु आउने जाने एवं पर्यटकीय दृष्टिकोणले केही समय स्थानीय स्तरमा बिताउने पनि गर्छन् । यस्ता अवसरमा सामाजिक अन्तरक्रिया बाक्लो हुने भएकाले मानिसहरु आफ्नो सामान्य सामाजिक व्यवहारभन्दा स्वतन्त्र हुन सक्ने सामाजिक मनोविज्ञहरू बताउँछन्।
अन्तर्राष्ट्रिय अनुभव हेर्दा, २०१६ मा भारतको गुजरात राज्यमा नवरात्रिको समयमा कण्डम बिक्रीमा २५–५० प्रतिशतले वृद्धि भएको तथ्य (इकोनोमिक टाइम्स, २०१६) देखिन्छ। नेपालमा यस्ता औपचारिक तथ्याङ्क नभए पनि काठमाडौँ, विराटनगर र नेपालगञ्जका केही औषधि व्यवसायीहरूले धार्मिक मेला पर्वहरुमा पनि कण्डमको माग बढ्ने गरेको बताएका छन्।
विशेषगरी युवा पुस्ताले लामो धार्मिक यात्रामा निस्कँदा स्वास्थ्य सुरक्षाका लागि कण्डम बोक्ने अभ्यासलाई सावधानीका रूपमा स्वीकार्न थालेका छन् । समाजशास्त्रीहरूका अनुसार, समूहगत यात्राको स्वतन्त्र वातावरणले आकस्मिक यौन सम्पर्कको सम्भावना बढाउन सक्छ, जसले सुरक्षित यौन व्यवहारको आवश्यकता झनै महत्वपूर्ण बनाएको छ।
धार्मिक आस्था र व्यवहारिक यथार्थबीचको यो दोहोरो सम्बन्ध नेपाली समाजको जटिलता झल्काउने दृश्य बनेको छ। एकातिर धार्मिक अनुशासनलाई महत्व दिइन्छ भने अर्कोतिर सुरक्षित यौन अभ्यासप्रति सचेतता बढ्न थालेको देखिन्छ। यस्ता जमघटहरूलाई स्वास्थ्य सन्देश फैलाउने अवसरको रूपमा प्रयोग गर्न सके, सुरक्षित यौन व्यवहार प्रवर्द्धनमा ठूला फड्को मार्न सकिने विज्ञहरूको सुझाव छ।
निष्कर्ष
नेपाली समाजमा यौनिक व्यवहार र चेतना खुलेर प्रकट हुने होइन, तर मौन र व्यवहारिक रूपमा विकसित हुँदै गएको छ। आन्दोलनका दिनहरू, धार्मिक मेलाहरू, र आकस्मिक जमघटहरूमा कण्डम बिक्रीमा देखिने वृद्धि यसको स्पष्ट प्रमाण हो । मानिसहरू यौनिकताबारे खुला संवाद गर्न नसके पनि, व्यक्तिगत सुरक्षालाई प्राथमिकता दिन थालेका छन्।
यौन स्वास्थ्य र सुरक्षालाई नेपाली समाजले विस्तारै आधुनिक जीवनशैलीको एउटा अभिन्न अङ्गका रूपमा स्वीकार्न थालेको देखिन्छ। तर लाज, संस्कार र सामाजिक दबाबका जरा अझै गहिरा छन्, जसले खुला संवाद र व्यवहारिक अभ्यासमा अवरोध गरिरहेको छ।
यदि सुरक्षित यौन व्यवहारलाई नेपालमा व्यापक बनाउनु छ भने शिक्षा, सेवा पहुँच, सामाजिक संवाद र धार्मिक तथा सांस्कृतिक संरचनासँग संवेदनशील रूपमा सम्बोधन गर्नु अत्यावश्यक छ।
सुरक्षित यौन अभ्यास अब केवल व्यक्तिगत सुरक्षा मात्रै होइन, सामाजिक उत्तरदायित्वको मुद्दा बन्न थालेको छ। नेपाली समाज सुस्त गतिमा भए पनि स्थायी परिवर्तनको बाटोमा उन्मुख देखिन्छ।
(अधिकारी यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा अध्ययन अनुसन्धान, प्रशिक्षण तथा शिक्षण गर्छन्)