काठमाडौं - गाइनोक्लोजिक अन्कोलोजिस्ट डा बीरेन्द्र भगतले प्रतिष्ठित फेलोसिप प्राप्त गर्न सफल भएका छन्। अमेरिकास्थित रोस्वेल पार्क कम्प्रिहेन्सिभ क्यान्सर सेन्टरबाट शशिकान्त लेले इन्टरनेशनल फेलोसिप इन गाइनोक्लोजिक अन्कोलोजी फेलोसिप प्राप्त गर्न सफल भएका हुन्।
उक्त फेलोसिप २०२५ मे ५ देखि जुन ५ सम्मका लागि प्रदान गरिएको हो। जस अन्तर्गत डा भगतले एक महिना अमेरिकी अस्पतालमा महिलासम्बन्धी क्यान्सर रोगको अवलोकन, अनुसन्धान प्रक्रिया, शल्यक्रिया र क्लिनिक कार्यको अनुभव लिने अवसर पाउनेछन्।
फेलोसिप अन्तर्गत डा भगतको यात्रा, आवास र खानपानका लागि ४ हजार ५०० अमेरिकी डलरसम्म प्राप्त गर्नेछन्। अमेरिकाको रोग निदान, उपचार प्रक्रिया, विभागीय गोष्ठी र अनुसन्धानको अवलोकनमार्फत महत्वपूर्ण अनुभव हासिल गर्न सकिने उनी बताउँछन्।
फेलोसिपबाट आफूलाई ज्ञानसीप निखार्न सहयोग पुग्ने डा भगतले बताए। उनले भने, 'यो अवसरले मलाई विश्वस्तरीय उपचार प्रविधि र अनुसन्धानलाई नजिकबाट बुझ्न सहयोग गर्नेछ, जसले भविष्यमा नेपालमा फर्केर उपचार सेवाका लागि थप योगदान पुर्यानउनेछ।'
रोस्वेल पार्क अमेरिकाकै प्रमुख क्यान्सर अस्पतालमध्ये एक हो, जसले विश्वभरका अनुसन्धानकर्ता र चिकित्सकलाई तालिमका अवसरहरू प्रदान गर्दै आएको छ।
डा भगतले ६ महिना पहिले फेलो अफ अमेरिकन कलेज अफ सर्जन्सको उपाधि पाएका थिए।