कुनै पनि पदको कार्य सम्पादनसम्बन्धी वर्णन गर्ने शब्दावलीमा ‘काम, कर्तव्य र अधिकार’ लेखिएको हुन्छ, नकि ‘अधिकार, कर्तव्य र काम’ । यसको भाव बुझ्ने हो भने अर्थ निस्कन्छ–मूल्य, मान्यताको शब्दकोषमा मात्र होइन, नीति र कानुनको शब्दकोषमा पनि पदभारको पहिलो आसय र आशा काम र कर्तव्यपट्टि ढल्किएको हुन्छ, अधिकारपट्टि होइन।
आम बुझाइ र विश्लेषण भने पदमा पुग्नु अगाडिसम्म सबैले ‘वाह’ भन्दै तारिफ गरिरहेकै व्यक्ति पनि पद प्राप्तिको पत्र बुझ्नासाथ वा सपथ ग्रहण सकिनासाथ अहंकारको घोललाई हुँकारको खोलले ढाकेको व्यक्तिमा रुपान्तरित भइदिन्छन्। यही परिप्रेक्षमा रहेर अबका दिनमा एउटा ठूलै बहस छेडिनु जरुरी छ– पदभारको अर्थ शक्ति ग्रहण कि जिम्मेवारी बहन?
यस रोगबाट स्वास्थ्य क्षेत्र आफैं पनि गम्भीर थला परेको प्रतित हुन्छ। अहिले नेपालको स्वास्थ्य क्षेत्रका लागि ‘न भूतो न भविष्यति’ अवसर सिर्जित छ, यदि ‘प्रोएक्टिभ’ भएर स्वास्थ्य क्षेत्रको गियर अगाडि बढाउने हो भने।
जनस्वास्थ्य ऐन भर्खरै पारित भएको छ।, सरकार तीन तहमा वर्गीकृत भएको सन्दर्भमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र प्रष्ट खाकाको पर्खाइमा छ। स्वास्थ्य क्षेत्रका विषयमा राजनीतिक प्रतिवद्धता बढ्दै गएको छ। विश्व बुझ्ने अवसरसँगै आम नेपाली नागरिकमा स्वास्थ्य चेतनाको स्तर बढ्दो क्रममा छ र स्वास्थ्य बिमा क्रमशः विस्तारित भइरहेको छ।
यस्तो पृष्ठभूमिको बाँझो मैदानलाई नीति निर्माण, कार्यान्वयन र परिणामको बिरुवा र फलले हराभरा बनाउने अभूतपूर्व अवसर छ अहिले स्वास्थ्य मन्त्रालयसँग। आम बुझाइमा यतिखेर स्वास्थ्य मन्त्रालय र मातहत निकायका पदवाहकहरु हरेक दिन बिहान सात बजेदेखि बेलुकी ९ बजेसम्म काममा दत्तचित्त रहेको दृश्य देखिनुपर्ने हो। तर जब आम जनताको चित्त दुख्ने खाले समाचारका शृंखला मात्र बाहिरिन्छन् तब आशाको आकाशमा निराशाको बादल मडारिन पुग्छ।
स्वास्थ्य मन्त्रीको प्राथमिकता स्वास्थ्य क्षेत्र सुधार र थप कार्यक्रमहरुको सुरुवात हुनुपर्नेमा विदेश भ्रमणमा जोड हुुनु र कार्यसम्पादनमा शिथिलता देखिनु स्वास्थ्य क्षेत्रको शुभ संकेत पक्कै होइन। जाँगरिलो व्यक्तिको घर र अल्छी व्यक्तिको घर झट्ट हेर्दैमा छुट्टिएझैं अहिले स्वास्थ्य मन्त्रालयको बाहिरिरहेको समाचारहरुबाट नै मन्त्रीज्यूको इच्छाशक्तिको कमी प्रष्टै पढ्न सकिन्छ।
जनताको दैनन्दिनसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य जस्तो महत्वपूर्ण विषय बोक्ने रथको रुपमा रहेको स्वास्थ्य मन्त्रालयको सारथिको रुपमा रहने सचिवजस्तो गरिमामय पदमा जब चाकाचुली मात्र चलिरहन्छ र अनपेक्षित अन्योल देखिन्छ भने जनताको स्वास्थ्य सेवाको रथ सही दिशामा चल्छ भनेर कसरी आशा गर्न सकिएला र!
अनि, घरमुली आफ्नो जिम्मेवारीमा नबस्दा परिवारका अन्य सदस्यहरु भाँडिने सम्भावना रहेझैं स्वास्थ्य मन्त्रालय र मातहत निकायका अन्य पदाधिकारी र कर्मचारीहरु सक्रियताका साथ चलायमान रहलान् भनेर कसरी विश्वास गर्न सकिएला र!
राजनीतिक प्रतिवद्धता बढ्दै गएसँगै संविधानको प्राथमिकतामा स्वास्थ्यका विषय समेटिन पुग्दा आम नेपालीमा उत्साहको ग्राफ माथि चढ्दै गरेको अवस्थामा अहिले पुनः झाङ्गलझुङ्गलको स्थितिका कारण उक्त ग्राफ तल नओर्लेला भन्न सकिन्न।
स्वास्थ्य क्षेत्र पनि अछुतो रहन नसकेको नेपालको साझा रोगमै पर्दछ कि पदासीन व्यक्तिहरुले पदभारको वर्णन नै शक्ति ग्रहणको रुपमा गर्नु। यस रोगले चाहे राजनीति होस्, सरकारी निकाय होस वा अन्य संस्था र निजी क्षेत्र नै किन नहोस सबैतिर उत्तिकै गाँजेकै छ।
विश्वका विकसित मुलुकहरुको दृष्टान्त हेर्दा त्यहाँका राजनीतिज्ञ वा प्रशासकहरुले आफ्नो पदभारलाई जिम्मेवारी बहनको रुपमा बढी बुझेका हुन्छन् न कि शक्ति ग्रहणका रुपमा। आफ्नो कामबाट कस्तो परिणाम निस्कियो। आफ्नो कारणले राज्य र नागरिकलाई के कति फाइदा पुग्यो। आफ्ना निर्णयहरुले कति दूरगामी प्रभाव छाड्न सफल छन्, मेरो कार्यशैलीबाट सेवाग्राही खुसी छन् कि छैनन् भन्ने प्रश्नहरु उनीहरुका स्वविश्लेषणका आधारहरु रहेका हुन्छन्। त्यस्ता सज्जन एवं लोकप्रिय प्रशासकहरु आफ्नो पदको अख्तियारीको आडमा कति सरुवा र बढुवा गरियोे, कति शुभलाभ गरियो, कति जनाले आफूलाई नमस्ते र सलाम गरे, कुन प्रभावमा परी कति बजेट कता पारियो भन्ने विषयहरुलाई आफ्नो दिमागको वरपर समेत राख्दैनन्।
अहिले पनि समाजमा एकथरी सेवानिवृत्त प्रशासकहरु देखिन्छन्, जसले आफ्नो सेवा अवधिमा साँचो र प्रभावशाली काम गरेका कारण निवृत्तिको समयमा अझ धेरै सम्मान, ताली र नमस्ते कमाइरहेका हुन्छन् र उनीहरुलाई वृद्धावस्थामा झन् धेरै आनन्द आइरहेको हुन्छ वा भनौं झन मिठो निद्रा परिरहेको हुन्छ।
ठिक उल्टो, अर्का एकथरी दाउपेचधारी सेवानिवृत्त प्रशासकहरु हुन्छन्, जसलाई आफ्नै छरछिमेक र नातेदारले निवृत्तिको समयमा देखेर पनि नदेखेझैं गर्छन् किनकि उनीहरु आफ्नो सेवा अवधिमा पदभारलाई जिम्मेवारी बहनका रुपमा नभई शक्ति ग्रहणका रुपमा व्याख्या गरेर अहंकारको पोखरीमा पौडी खेल्न अभ्यस्त भएकामध्ये पर्दथे।
‘ड्युटी’ नै राजनीति र निजामती सेवाको ‘ब्युटी’ हो भन्ने वास्तविक धरातलमा कुद्नेहरुका समर्पणको मसीले नै इतिहास लेखिने हो, वास्तवमा। तसर्थ स्वास्थ्य मन्त्री र स्वास्थ्य मन्त्रालय अन्तर्गतका सम्पूर्ण अधिकारीज्यूहरुलाई विनम्र आग्रह छ– आजै केही समय निकालेर आफैंभित्र बहस छेड्नुहोस्, आफू—आफूमा बहस छेडनुहोस् कि पदभारको वास्तविक अर्थ के हो— शक्ति ग्रहण कि जिम्मेवारी बहन?