विद्यार्थीहरूलाई अनुशासित, दक्ष र सीपयुक्त बनाई छिटोछरितो रूपमा रोजगारी प्राप्त गराउने उद्देश्यले सीटीईभीटीले मान्यता प्राप्त संस्था मार्फत शिक्षा प्रदान गरिरहेको छ।
प्रत्येक वर्ष सीटीईभीटीले प्रवेश परीक्षा लिएर परीक्षाको प्राप्ताङ्कको आधारमा भर्ना गर्दै आएकोमा यस पटक भने एसईईको ग्रेडको आधारमा भर्ना लिने निर्देशन जारी गरेको छ। यस निर्णयले एसईईपछिको निरन्तर अध्ययन गर्ने परिपाटीमा बाधा पुग्न सक्ने चिन्ता उत्पन्न भएको छ।
उदाहरणका लागि, मोरङ निवासी एक साथी रोजगारको लागि कतारमा बसिरहनुभएको छ। उहाँका छोराले एसईई दिएपछि विराटनगरमा कोठा लिएर फार्मेसीको प्रवेश परीक्षाको तयारी गरिरहेका थिए। तर यसपटक सीटीईभीटीले परीक्षा नलिने जानकारी पाएपछि पढाइ छोट्याएर घरमै बस्न थाले।
त्यस्तै, उदयपुर निवासी एक छात्रा एसईईमा करिब २ जीपीए ल्याएर पास भएकी थिइन्। भर्ना नपाइएला कि भन्ने डरले उनले खुबै मेहनत गरी सीटीईभीटीको प्रवेश परीक्षामा नाम निकालिन्, भर्ना पाइन् र काउन्सिलको परीक्षा पनि पास गरिन्। अहिले उनी एक निजी अस्पतालमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत छन्।
धेरै समयपछि ती छात्रासँग भेट भयो। उनले नमस्कार भनिन्। मैले पनि नमस्कार फर्काउँदै भनेँ, 'धेरै संस्कारी भएकी रहेछ्यौ, खुसी लाग्यो, सधैं यसैगरी रहनु।'
उनी थपिन्, 'तपाईंले केवल पाठ्यक्रम मात्र होइन, संस्कार पनि सिकाउनुभयो, अनुशासनमा बस्न सिकाउनुभयो। पढ्दा रिस उठ्थ्यो, तर अहिले सम्झिँदा सबै हाम्रै हितको लागि थियो।'
अनि प्रश्न गरिन्, 'सर, यसपाली सीटीईभीटीले प्रवेश परीक्षा नलिने रे? परीक्षा बिना कसरी मूल्यांकन हुन्छ त? के अब काउन्सिल पनि एसईईकै मार्क्सको आधारमा पास गरिने हो? चिकित्सा आयोग र सीटीईभीटीबीचको सम्बन्धले गर्दा ढिलो भएको हो?' मैले स्पष्ट उत्तर दिन सकिनँ। तर आफ्नो व्यक्तिगत विचार भने बाँडेँ।
प्रवेश परीक्षा नलिँदा के हुन्छ?
सीटीईभीटीले २०८२ को निर्देशिकाको परिच्छेद ३, बुँदा ६, 'क' मा स्पष्ट रूपमा लेखिएको छ कि एसईईको प्राप्त जिपीएको आधारमा उम्मेदवारको योग्यता सूची तयार पारिने छ र यही आधारमा छनोट गरिने छ। अर्थात् प्रवेश परीक्षा नहुने छ।
परीक्षा नहुँदा विद्यार्थीहरूले एसईईमै राम्रो परिणाम ल्याउन कसरत गर्ने छन् भन्ने सकारात्मक पक्ष देखिन्छ। तर एउटै परीक्षाको अंक अर्को तहको भर्नाको लागि उपयुक्त आधार होलान् भन्न सकिन्न।
परिकल्पना गरौं, एसईईकै आधारमा भर्ना भई, अन्तिम परीक्षा पास गरेपछि सम्बन्धित काउन्सिलले सोही प्रतिशत अनुसार लाइसेन्स दिँदा कस्तो अवस्था आउला? अनि चिकित्सा आयोगले स्नातक तहमा पनि यस्तै आधारमा भर्ना लिँदा गुणस्तरको अवस्था के होला?
सीटीईभीटीले सीपलाई प्राथमिकतामा राखेर परीक्षा नराखेको हुनसक्छ। तर प्रवेश परीक्षा बिना भर्ना गर्दा त्यसको महत्त्व कम हुनसक्छ। अन्तिम परीक्षा पास नहुँदा विद्यार्थीको समय र अर्थ दुबै बर्बाद हुने सम्भावना रहन्छ।
कसरी मूल्यांकन गर्ने?
नेपालको संविधान २०७२ को भाग ३, बुँदा ३१ मा शिक्षाको हकको ग्यारेन्टी गरिएको छ। माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनेछ भन्ने उल्लेख छ।
तर सीटीईभीटीको निर्देशिकामा सरकारी विद्यालयबाट एसईई पास गर्ने विद्यार्थीलाई १ अंक र निजी विद्यालयका लागि ०.८५ अंक दिनु अन्यायपूर्ण देखिन्छ।
०.१५ अंकको यो फरकले सरकारी विद्यालयका विद्यार्थीलाई निरुत्साहित तुल्याउँछ। निजी विद्यालयहरूले अधिक अंक ल्याउनका लागि विविध उपाय अपनाउँछन् भने सरकारी विद्यालयको अवस्था सर्वविदितै छ।
भर्ना सूचना ढिलो हुँदा के असर पर्छ?
धेरै उच्च माध्यमिक विद्यालयहरूमा कक्षा ११ सञ्चालन भइसकेको हुन्छ। तर सीटीईभीटी अन्तर्गतका स्वास्थ्य सम्बन्धी संकायहरूमा भर्ना अझै नटुंगिएको अवस्थामा विद्यार्थी अन्य संकायतिर मोडिन सक्छन्।
तीन वर्षीय नर्सिङ, एचए, फार्मेसीमा विद्यार्थी आकर्षित भए तापनि डिप्लोमा तहको ल्याब, रेडियोग्राफी, फिजियोथेरापी जस्ता विषयमा छात्र संख्या कोटा अनुसार पुग्न सक्दैन। यसले भर्ना प्रक्रिया नै कमजोर बनाउँछ।
सीटीईभीटी र चिकित्सा आयोगबीच समन्वय
सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच समन्वय अभावका कारण सूचना ढिलो हुने, पाठ्यक्रम परिवर्तन अनिश्चित हुने जस्ता समस्या आइरहेका छन्। समयमै सूचना नआएमा विद्यार्थी र अभिभावक दुवै तनावमा पर्छन्।
विद्यार्थी र अभिभावकको चाहना
विद्यार्थी र अभिभावक सबैको चाहना भनेको समयमै प्रवेश परीक्षा भएर गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनु हो।
परीक्षा नै ज्ञान, सीप र गुणको मापनको माध्यम भएकाले, प्रवेश परीक्षा लिएर भर्ना गर्दा मात्र योग्य र सक्षम विद्यार्थी छनोट हुने सम्भावना रहन्छ। प्रवेश परीक्षा नहुनु भनेको गुणस्तर घटाउनु हो, जसले शिक्षाको गरिमा खस्कन सक्छ।
शिक्षा भनेको केवल प्रमाणपत्र होइन, व्यक्तित्व निर्माणको माध्यम पनि हो। त्यसैले शिक्षा प्रणाली समयसापेक्ष, प्रभावकारी र पारदर्शी हुन आवश्यक छ।