सन् २००९ मा इन्फ्लुएन्जा "ए" एचवानएनवान पिडिएम उत्पति भएपछि स्वाइन फ्लुको नामले परिचित फ्लुलाई नेपालमा चासोका साथ हेर्ने गरिएको पाइन्छ। त्यस बखत यो भाइरस विश्वव्यापी रुपमा फैलिएको र सँगसँगै सबैमा यसले त्रासको अवस्था सिर्जना गरेको थियो।
अहिले हरेक सिजनमा देखिंदै आइरहेकोले यो भाइरसलाई सिजनल फ्लुको नाम दिइएको छ। यो भाइरसलाई यसको उत्पति समयदेखि नै पंक्तिकारले विशेष सुक्ष्म तरिकाले नियाल्दै आहिरहेको छ। नेपालबाट पहिलो अनुसन्धान लेख पनि पंक्तिकारले अरु वैज्ञानिकहरुको सहकार्यमा सरुवा रोगको जर्नलमा प्रकाशित गरेको थियो।
विश्वव्यापी फैलावटपछि विशेष औषधि नहुने भएकोले यो भाइरसबाट बच्ने पूर्व उपायहरुमा बढी केन्द्रित हुँदै आइरहेको थियो, छ र आवश्यक पनि छ। बच्ने पूर्व उपायहरुको कुरा गर्दा पहिला यो एक व्यक्तिबाट अर्को व्यक्तिमा कसरी सर्छ भनेर बुझ्न जरुरी हुन्छ। संक्रमित भइसकेको अवस्थामा यसको सबैभन्दा बढी उच्च जोखिम कसलाई हुन्छ भनेर छुट्टाउनु पर्दछ।
तर यति गर्दागर्दै पनि किन र कस्ता संक्रमितहरु जटिल अवस्थामा पुगिरहेका छन् वा मृत्युवरण गर्नुपर्ने अवस्था नै सिर्जना भइरहेको छ भनेर नजिकबाट यो पंक्तिकारले नियाल्ने वा मृतकका परिवारजन वा आइसियूबाट फर्केका व्यक्तिसँग अलि गहिरिएर उनीहरुको इतिहास बुझ्ने कोशिस गरेको थियो।
गएको केहही हप्तादेखि फ्लुका कारणले अति जटिल अवस्थामा पुगेर स्वास्थलाभ गरिरहेका व्यक्तिहरुसँग कुराकानीसमेत भइरहेको छ। धेरैको बुझाइ रुघाखोकी भनेको सामान्य हो र यसको लागि घरमै आराम गरेर तातो पानी खाँदै बसे हुन्छ भन्ने रहेछ। तर यो उपाय भने सबैलाई लागू हुँदैन भन्ने कुराको हेक्का धेरैलाई छैन।
हाम्रो समाजमा एउटा यस्तो समूह पनि छ जो उच्च जोखिममा पर्छ। जस्तै उमेरले पाका, मधुमेह र उच्च रक्तचापका भएका बिरामीहरु, श्वासप्रश्वासका रोगीहरु, अरु दीर्घ रोगीहरु, बालबालिका आदि यो समूहमा पर्दछन्। तर यो समूहका मानिसहरु पनि आफ्नो परिवारका अरु सदस्यहरुले जस्तै तातो पानी मात्र पिउँदै स्वास्थलाभ गर्छु भन्ने भ्रममा रहँदा वा बेवास्ता गर्दा अचानक निमोनिया तिब्र गतिमा फैलिने गरेको र अस्पताल भर्ना भई आइसियूसम्मको यात्रा गर्नु परेका छन्।
अर्थात् जोखिम समूहमा पर्नेहरुले पनि फ्लुको बारेमा अरुले जस्तै सामान्य ठान्दा रहेछन् र त्यस कारण यस्तो अवस्था सिर्जना भएको देखिन्छ। तसर्थ आफूलाई फ्लुको सुरुका लक्षणहरु मात्र पनि देखिन थाले तुरुन्त चिकित्सकको सल्लाह लिन अति जरुरी हुन्छ। हाल संचार मध्यमहरुबाट फ्लुबारे जनचेतनामूलक जानकारीहरुमा यसको लक्षण र बच्ने उपायहरुको बारेमा मात्र विशेष प्राथमिकताका साथ प्रशारण गरिरहेका छन्।
संक्रमित भइसकेको अवस्थामा के गर्ने भन्ने बारेमा जानकारी छुटिएको वा प्राथमिकता नदिँदा नतिजास्वरुप जोखिममा पर्ने समूहकाहरु आफूलाई सम्भावित स्वास्थ जटिलताप्रति सचेत, र सजग बनाएको पाइँदैन। तसर्थ फ्लुका कारणले उत्पन्न हुने जटिलता वा मृत्युको क्रमलाई रोक्न लक्षण र बच्ने उपायहरु मात्र निरन्तर प्रशारण गरेर हुँदैन।
संक्रमण भइसकेपछि विशेष गरेर जोखिम समूहमा पर्नेहरुले के गर्ने भन्ने प्रशारणको खाँचो सबैभन्दा उच्च र बढी देखिएको छ, किनभने बच्ने उपायहरु जति सजिलो र सरल देखिन्छ, त्यति नै व्यवहारमा लागू गर्न भने गाह्रो देखिन्छ। फ्लु सामान्य रोग हो, तर स्मरण रहोस् जोखिम समूहकाहरुको लागि भने प्राणघातक पनि हुनसक्छ।