चितवन- नेपाल जनस्वास्थ्य प्रतिष्ठान चितवनले राप्ती र कालिका नगरपालिकासँगको साझेदारीमा महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि विषादी प्रयोगले स्वास्थ्य पार्ने असर र रोकथामबारे जनचेतनामूलक तालिम कार्यक्रम संचालन गरेको छ।
विगत केही वर्षदेखि बढ्दो विषादी प्रयोगलाई मध्यनजर गर्दै यसको प्रयोगलाई न्यूनिकरण गर्दै लैजान प्रतिष्ठानले तालिम दिएको हो।
नेपाल जनस्वास्थ्य प्रतिष्ठानका परियोजना अधिकृत, उषा न्यौपानेका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाहरु आफैँ पनि कृषक भएका कारण उनीहरुलाई सुरक्षित र समुचित विषादी प्रयोगबारे जानकारी दिइएको हो। स्वयंसेविकालाई सिकाइएको ज्ञान आमा समुहलगायत समुदायमा संचार गर्न महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरुलाई तालिम दिइएको उनले जानकारी दिए।
उक्त तालिम कार्यक्रममा बोल्दै राप्ती नगरपालिकाका नगर प्रमुख प्रभा बरालले दैनिक खाने खाद्यन्न, तरकारी विषादीरहित हुनुपर्ने कुरामा कुनै अलमल हुननहुने बबताइन्। एनले उक्त अभियानलाई आत्मसात गर्दै नगरपालिकामा कृषकहरुलाई एकीकृत शत्रुजीव व्यवस्थापन तालिम र रासायनिक विषादीका विकल्पहरु अवलम्बनका लागि उनुदान कार्यक्रमहरु पनि भइरहेको जानकारी दिइन्।
तालिम कार्यक्रममा हाल चितवनमा विषादी प्रयोगको अवस्था के कस्तो छ, रासायनिक विषादीको विकल्पमा के कस्ता उपायहरु हुन्छन्, विषादीले स्वास्थ्यमा के कस्ता असर गर्दछ र आफ्नो परिवार र समुदायलाई यस विषयमा सचेतीकरण गर्न महिला स्वास्थ्य स्वयं सेविकाहरुले के कस्ता भूमिका निर्वाह गर्न सक्छन् जस्ता विषयवस्तुहरु समेटिएका थिए।
प्रतिष्ठानका परियोजना प्रबन्धक सिमृन काफ्लेका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि उक्त तालिम विषादी न्यूनीकरण अभियानका विभिन्न क्रियाकलापहरुमध्येको एउटा कार्यक्रम रहेको जानकारी दिइन्। एनले यस्ता कार्यक्रमहरु स्थानीय सरकारसँगको संयुक्त आयोजनामा चितवनलगायत् अन्य जिल्लाहरुमा पनि थालनी गर्ने योजना रहेको जानकारी दिइन्।