क्यान्सर भन्नेबित्तिकै भयावह लाग्छ। सबैको मनमा डर पैदा हुन्छ । तर, क्यान्सर हुँदैमा डराइहाल्नुपर्ने अवस्था भने छैन। नेपालमै क्यान्सर रोगका विषेशज्ञ प्रशस्त छन्। यहीं बसेर यसको उपचार गराउन सकिन्छ। क्यान्सर उपचारका लागि घर–खेत बेचेर विदेश नै जानुपर्ने अवस्था अहिले छैन।
अक्सर सुन्नमा आउँछ– फलानालाई क्यान्सर रोग लाग्यो, फलानाको क्यान्सरबाट मृत्यु भयो। तर क्यान्सर रोग लागेर पनि समयमा उपचार भयो भने बाँच्न सकिन्छ भन्ने कुरा विरलै सुन्न पाइन्छ। क्यान्सरलाई जितेका व्यक्तिहरुको बारेमा पनि त्यति चर्चा हुँदैन।
नेपालमा पाठेघर र ब्रेस्ट क्यान्सरको चर्चा बढी हुने गरेको देखिन्छ। यस्तो क्यान्सरका बारेमा र रोग लागेर उपचारपछि सहज जीवनयापन गरिरहेका व्यक्तिहरुको बारेमा इन्टरनेटमा डकुमेन्ट्रीहरु पनि हेर्न सकिन्छ।
पाठेघर र ब्रेस्ट क्यान्सरको जति चर्चा हुन्छ, ब्लड क्यान्सरका बारेमा भने खासै चर्चा भएको पाइँदैन। न त कतै चेतनामूलक कार्यक्रम नै भएको देखिन्छ। यस लेखको मुख्य उद्देश्य रक्त क्यान्सरका बारेमा मेरो भोगाइका आधारमा जानकारी र जनचेतना फैलाउनु हो।
म गीता बराल (लक्की)। रक्त क्यान्सर भएर पनि विगत १४ वर्षदेखि सामान्य जीवन बाँचिरहेकी छु। आम मानिस जस्तै स्वस्थ जीवन बिताइरहेकी छु। अहिले कुनै औषधि पनि लिनु परेको छैन। आफ्नै खुट्टा उभिएकी छु। मेरो अनुभव र भोगाइले रक्त क्यान्सरसँग लडिरहेकाहरुलाई प्रेरणा मिल्न सकोस्।
रक्त क्यान्सर के हो?
रगतमा हुने क्यान्सरलाई रक्त क्यान्सर भनिन्छ। यो एक व्यक्तिबाट अर्कोमा सर्दैन। यो रोग जुनसुकै उमेरका व्यक्तिलाई पनि लाग्न सक्छ। यसको उपचार भक्तपुर क्यान्सर हस्पिटल, भरतपुरस्थित बिपी कोइराला क्यान्सर हस्पिटल र हरिसिद्धिमा रहेको क्यान्सर हस्पिटल लगायत अन्य केही अस्पतालमा हुने गर्छ।
रक्त क्यान्सरमा बोन म्यारोको ठूलो भूमिका हुन्छ। रक्त क्यान्सर हुँदा रगतमा सेता रक्तकोष, राता रक्तकोष र प्लेटलेट्सलाई असर गर्छ। सेता रक्तकोषको गडबडीले गर्दा रोग प्रतिरोधी क्षमतामा कमी आउँछ, जसले गर्दा टन्सिलेसन देखा पर्छ, ज्वरो आउँछ।
राता रक्तकोषको गडबडीले गर्दा थकान महसुस हुन्छ। त्यसैगरी प्लेटलेट्सको गडबडीले छालामा निला डाम देखा पर्छ। गिजाबाट रगत बग्न सक्छ। महिलामा महिनावारीको समयमा अधिक रक्तश्राव हुनसक्छ।
क्यान्सरलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ, एक्युट र क्रोनिक। एक्युटलाई एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) र एक्युट माइल्योड ल्युकेमिया (एएमएल) मा विभाजन गर्न सकिन्छ भने क्रोनिकलाई क्रोनिक लिम्फोब्लास्टिक ल्युकेमिया (सिएलएल) र क्रोनिक माइल्योड ल्युकेमिया (सिएमएल)मा विभाजन गर्न सकिन्छ।
मेरो क्यान्सरको प्रकार भने एएलएल हो, जुन हिमालयन हस्पिटलमा बोन म्यारो परीक्षण गरी थाहा भएको थियो। हिमालयन हस्पिटल लैजानुअघि मलाई नेपाल मेडिकल हस्पिटल जोरपाटी लगिएको थियो।
सुरुमा मलाई थकान महसुस भएको भयो। हल्का ज्वरो आयो। घाँटीमा टन्सिलेसन भयो। गिजाबाट हल्का जमेको जस्तो रगत निस्कियो। खनामा रुचि घट्नुका साथै तौल पनि घट्दै गयो। जब मलाई रोगले धेरै च्याप्यो, हात–खुट्टामा निलो डाम देखाप¥यो।
धेरै कमजोर भएपछि मलाई नेपाल मेडिकल हस्पिटल जोरपाटी लगिएको थियो। त्यहाँ रगत जाँच गरियो, जसमा सेता रक्तकोष, राता रक्तकोष र प्लेटलेट्समा गडबडी देखियो। मलाई तुरुन्त ताजा रगत दिइयो। साथै टन्सिलेसनबाट जोगाउन एन्टिबायोटिकका साथै अन्य आवश्यक औषधि दिइयो।
अलि सन्चो भएपछि बोन म्यारो टेस्ट गर्न हिमालयन हस्पिटलमा रिफर गरियो र डा जंगबहादुर थापाद्वारा रक्त क्यान्सर भएको पक्का भयो। यसपछि पनि शिक्षण अस्पतालकी डा गीता सायमीबाट बोन म्यारो पुनः टेस्ट गरियो र सतप्रतिशत क्यान्सर भएको प्रमाणित भयो।
त्यसपछि उपचारका लागि नेपाल मेडिकल हस्पिटलले भक्तपुर क्यान्सर हस्पिटल, भरतपुर क्यान्सर हस्पिटल अथवा इन्डिया कहाँ जाने भन्ने प्रसंगमा मेरो परिवारले भक्तपुर क्यान्सर हस्पिटल रोज्यो।
डा. अन्जनीकुमार सरले भक्तपुर क्यान्सर हस्पिटलका डा सुदीप श्रेष्ठको टेबलमा मेरो फाइल राखिदिनुभयो। र डा श्रेष्ठ र डा राजेन्द्रप्रसाद बरालबाट मेरो उपचार सुरु भयो।
केमो थेरापी र रेडिएसन थेरापीबाट मेरो उपचार भयो। बेलाबेलामा रगत पनि चडाइरहन पर्ने। त्यतिबेला मेरो तौल ३५ किलो पुगेको थियो। राम्रोसँग उभिन सक्दिनथें। खाना खान मन लाग्दैनथ्यो। केमो थेरापी लिँदा झाडाबान्ता हुन्थ्यो। मेरो खानामा चिल्लो, पिरो, काँचो प्रतिबन्ध लगाएकाले ज्वरो आएन र जन्डिस पनि देखिएन।
मैले कडा अनुशासन पालना गरें, हिम्मत राखें। परिवारको पनि उपचारको समयमा सपोर्ट पाएँ र २४ महिनापछि मेरो उपचार पूर्ण भयो।
उपचार पूर्ण भइसकेपछि पनि सुरुमा साप्ताहिक रुपमा डाक्टर फलोअपमा रहनुप¥यो। विस्तारै मासिक फलोअप र अहिले वार्षिक फलोअपमा रहनुपर्छ। अहिले मलाई कुनै औषधि खानु पर्दैन। अरु मानिसहरुजस्तै समान्य जीवन बिताइरहेको छु।
भक्तपुर क्यान्सर हस्पिटलमा अहिले क्यान्सर सर्भाइभर्स क्लब सञ्चालनमा आएको छ। क्यान्सरको उपचार गराइरहनुभएका बिरामीलाई हौसला दिन र समस्या बुझ्न प्रत्येक हप्ताको सोमबार यस हस्पिटलमा जाने गरेको छु।
सोमबार १२ बजेदेखि २ बजेसम्मको समय बिरामीका लागि छुट्याएकी छु। बिरामीका जिज्ञासा सुनेर समाधानका उपाय पनि सुझाउने गरेकी छु। म ब्लड क्यान्सरका बिरामीका लागि खुला किताब हुँ।
अन्त्यमा, २०७२ मा जारी नेपाल संविधानको धारा ३५(३) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने उल्लेख छ। हालको स्थितिमा क्यान्सर बिरामीलाई अनुदानस्वरुप सरकारले एक लाख रुपैयाँ बराबरको औषधिउपचार खर्च बेहोर्दै आएको छ। यो रकम हात्तीको मुखमा जिराजस्तै हो।
अहिले दिइँदै आएको रकमलाई वृद्धि गरी पाँच लाख रुपैयाँ पु¥याउने आश्वासन दिइँदै आएको छ। यस अलावा हरेक क्यान्सर बिरामीले भत्तास्वरुप मासिक पाँच हजार रुपैयाँ पाउने भन्ने कुरा पनि अन्योलमै छ। यसमा राज्यले विचार गर्नु जरुरी छ।