चितवन– चितवनमा खाद्यन्न एवं तरकारीमा हुने विषादीको अवषेशको मात्रा मापन गर्नका लागि प्रयोगशाला स्थापना हुने भएको छ।
जिल्ला समन्वय समितिको कार्यालय, सम्पूर्ण नगरपालिकाको पहलमा र नेपाल जनस्वास्थ्य प्रतिष्ठानसँगको सहकार्यमा चितवनमा विषादी मापन प्रयोगशाला स्थापना हुने भएको हो।
जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटी, नेपाल जनस्वास्थ्य प्रतिष्ठानका कार्यकारी निर्देशक एवं चीनका लागि पूर्व राजदूत डा महेश कुमार मास्के, भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय हेटौडाका उपसचिव नारायण प्रसाद ज्ञवाली, राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, रत्ननगरका प्रमुख नारायण वम लगायत चितवन जिल्लाका सम्पूर्ण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, कृषि र स्वास्थ्य शाखा प्रमुखको शुक्रबार भएको कार्यक्रमले उक्त निर्णय भएको हो।
चितवनमा प्रयोगशाला स्थापनाका लागि प्रदेश नं. ३ र नगरपालिकाको तहबाट आगामी वर्ष बजेट बिनियोजन गरी कार्यान्वयको प्रक्रिया समेत थाल्ने उक्त बैठकबाट निक्र्योल निकालेको छ।
साथै, चितवन जिल्लामा विषादी न्यूनीकरण अभियानलाई अझ प्रभावकारी बनाउन जिसस, सातवटै नगरपालिकाका कृषि वा स्वास्थ्य शाखा संयोजक र नेपाल जनस्वास्थ्य प्रतिष्ठानका विषय विज्ञ गरी ९ सदस्यीय ‘टास्क फोर्स’ समेत गठन हुने भएको छ। बैठकको निर्णयअनुरुप उक्त टास्क फोर्सले प्रयोगशाला स्थापनाको प्रक्रिया, विषादी न्यूनीकरण निर्देशिका एवं कार्यक्रम निर्माण लागि गृहकार्य गर्नेछ।
गएको वर्ष चितवन जिल्लामा नेपाल जनस्वास्थ्य प्रतिष्ठानले जिल्ला समन्वय समिति कार्यालयसँगको सहकार्यमा गरेको सर्भेक्षणले चितवन जिल्लामा विषादी प्रयोगको अवस्था भयावह देखाएकाले विभिन्न नगरपालिकाहरुले विषादी न्यूनीकरण अभियान अन्तर्गत समुदायमा आधारित विभिन्न कार्यक्रमहरु थालनी गरेका छन्।
समुदायस्तरका कार्यक्रम सँगसँगै विषादी प्रयोगलाई नियमन गर्ने संरचना र संयन्त्र पनि निर्माण हुनसके आगामी केही वर्षमा चितवन जिल्लामा विषादी प्रयोगमा कमी आउने नेपाल जनस्वास्थ्य प्रतिष्ठानकी प्रबन्धक सिमृन काफ्लेले जानकारी दिइन्।