काठमाडौं- कीर्तिपुर, पाँगास्थित जनसेवा माविमा दिउँसो साढे १ बजे पुग्दा विद्यार्थीको खाजा खाने समय परेको रहेछ। केही विद्यार्थी कक्षाकोठाभित्रै बसेर घरबाट ल्याएका खाजा खाँदै थिए भने केही क्यान्टिनमा लाइन लागिरहेका। केहीचाहिँ सेमिनार हलभित्र छिर्न ढोकानेर जुत्ता खोल्दै गरिरहेका।
म पनि उनीहरु सँगसँगै भित्र पसेँ।
हलभित्र छात्राहरु थिए। ९ कक्षाका। प्रोजेक्टरमा महिनावारी शिक्षाका बारेमा पढाइँदै थियो। स्कुल नर्स निर्मला महर्जनले महिनावारी र त्यसको व्यवस्थापनबारे उनीहरुलाई सिकाइरहेकी थिइन्। करिब ४० जना छात्राको अनुहारमा महिनावारी शिक्षाबारेको उत्सुकता झल्किइरहेको थियो।
१४ वर्षीया सुसुम सुवेदीले किताबमा भन्दा यसरी भिडियोमा हेर्दा छिटो बुझ्न सकिने बताइन्। उनकी सहपाठी स्मृति मगर पनि प्रोजेक्टरमा हेर्दै सिक्न पाउँदा मक्ख थिइन्।
'नर्स मिसले महिनावारी शिक्षा मात्र नभई हात धुने तरिका पनि राम्ररी सिकाउनुभयो,' उनले भनिन्।
महिनावारी सम्बन्धी भिडियो देखाएपछि निर्मला आफ्नो कार्यकक्षमा गइन्। प्रिन्सिपल रुमको आडैमा छ उनको कार्यकक्ष। निर्माणाधीन भवनको संरचना पूरा भएपछि मात्रै उनले छुट्टै रुम पाउनेछिन्। साबिकको कोठामा उनको बेड छ। साइडमा रहेका दराजमा प्याड, फर्स्टएड बक्स, ज्वरो नाप्ने मेसिन लगायत छन्।
जनसेवा माविमा स्कुल नर्सको रुपमा कार्यरत २५ वर्षीया निर्मलाले काठमाडौं मोडेल हस्पिटल स्कुल अफ नर्सिङबाट पिसिएल गरिन्। त्यसपछि कीर्तिपुर अस्पतालमा साढे २ वर्ष काम गरिन्। कीर्तिपुर पाँगाकी स्थायी बासिन्दा उनले यही स्कुलमा १० कक्षासम्म पढेकी हुन्।
आफैंले बच्चैदेखि पढेको स्कुलमा नर्सको रुपमा काम गर्न पाउँदा एकदम खुसी अनुभव गरिरहेको उनले सुनाइन्।
OOO
स्कुल नर्समाथि रिपोर्टिङकै सिलसिलामा अर्को दिन म डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम मावि पुगेँ। स्कुल नर्स उर्मिला पुडासैनीको कार्यकक्षमा विद्यार्थीको भिड थियो। केही विद्यार्थी स्वास्थ्य परामर्शका लागि लाम लागेर बसिरहेका थिए।
कक्षा ८ की १५ वर्षीया समिता भुजेलले टाउको दुखेकाले पढ्न नसकेको समस्या बताएपछि उर्मिलाले प्रेसर जाँचिन्। प्रेसर 'लो' भएको रहेछ। उनले केही खाएर आराम गर्न सुझाव दिइन्।
त्यही क्रममा आइपुगिन्, शिक्षिक रमिता स्थापित। उनी आफ्नो तौल लिन र प्रेसर नाप्न आएकी रहिछन्। 'स्कुल नर्स आएपछि यस्ता ससाना कामका लागि मेडिकल धाउनुपरेको छैन,' उनले खुसी हुँदै भनिन्।
उर्मिलाले डाँछीको अल्पाइन एकेडेमीबाट एसएलसी पास गरेकी हुन्। नेपालगन्ज नर्सिङ क्याम्पसबाट पिसिएल नर्सिङ गरेकी उनले इनोभेटिभ कलेज अफ हेल्थ साइन्सबाट साइक्याट्रिक नर्सिङमा बिएन सिध्याएकी छिन्। यसअघि नेपाल अर्थोपेडिक अस्पताल र काठमाडौं शिक्षण अस्पतालमा काम गरेको अनुभव छ उनीसँग।
‘अस्पतालमा काम गरिरहेको मान्छे, स्कुलमा नर्सकै रुपमा पाइला टेक्दा नयाँ अनुभव गरिरहेकी छु,' उनले भनिन्।
थोरै मानिसबीच एउटा युनिटमा काम गरेकी उनलाई त्यति धेरै विद्यार्थी देख्दा सुरुमा अप्ठ्यारो महसुस भएछ। 'कसरी काम गर्ने भनेर सुरुमा आत्तिएँ पनि,' उर्मिला भन्छिन्, 'अहिले बानी परेको छ, सहजीकरण गर्न सजिलो भएको छ।'
धेरै विद्यार्थीलाई एक्लै कसरी सम्झाउने/बुझाउने भन्नेबारे उनले सुरुमा सोच बनाइन्। पछि स्वास्थ्य इकाइ गठन भएपछि स्वास्थ्य विषय पढाउने शिक्षकहरुलाई पनि राखेर छलफल गराइन्। यसपछि भने उनलाई निकै सहज भयो।
जनसेवा माविकी निर्मलालाई पनि अस्पतालमा काम गरिरहेकाले स्कुलमा आउँदा छुट्टै खालको अनुभव भएको रहेछ। उनी भन्दै थिइन्, 'हुन त जहाँ गए पनि सेवा गर्ने नै हो। मैले चाहिँ आफ्नो समुदायमा केही गरौं भनेर स्कुल नर्स बन्ने इच्छा गरेँ।’ एक स्कुल नर्सका कारण १४ सय विद्यार्थीको स्वास्थ्यमा केही परिवर्तन ल्याउन सके त्यो नै ठूलो उपलब्धि हुन सक्ने उनी ठान्छिन्।
सरसफाइमा कमी, दाँत किराले खाने समस्या बढी
नर्सले प्रत्येक विद्यार्थीहरुको स्वास्थ्यबारे दैनिक जानकारी लिनुका साथै उनीहरुका घरपरिवारलाई पनि स्वस्थ रहने तरिकाबारे सिकाउँछन्। तर, उर्मिला र निर्मलाको अनुभवमा व्यक्तिगत सरसफाइ विद्यार्थीहरुमा एकदमै कमजोर छ।
'व्यक्तिगत सरसफाइमा कमी छ नै,' उर्मिला भन्छिन्, '८० प्रतिशत विद्यार्थीमा दाँत किराले खाने समस्या छ।'
उनको दैनिक स्वास्थ्य जाँचले देखाउँछ– ५ कक्षाका हरेकजसो विद्यार्थीको दाँत किराले खाएको छ। 'एक सयमा १० देखि १२ जनामा डिप्रेसनको लक्षण र ५–६ जनामा रक्तअल्पताको समस्या देखेको छु,' उनले सुनाइन्।
निर्मलाले पनि धेरै विद्यार्थीमा दाँतको समस्या पाउनुका साथ एक जनामा बौद्धिक अपांगता भएका बच्चा पनि फेला पारेकी छिन्।
जनसेवा माविकी नर्स निर्मलाले पनि विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्दा लगभग उर्मिलाको जस्तै समस्या भेटाइन्। 'हेल्थ हाइजिन एकदम नराम्रो छ। म पढ्दा जस्तो समस्या थियो, अहिले पनि त्यस्तै पाएँ,’ उनले भनिन्।
यहाँ पढ्ने धेरैजसो विद्यार्थी मजदुरुका छोराछोरी हुन्। बिहान-बेलुका हातमुख जोड्नुपर्ने बाध्यताले उनीहरुलाई 'चाइल्ड केयर'मा फुर्सद नै छैन। घरबाटै जंक फुड नपठाउनु भनेर पटकपटक आग्रह गरिरहनुपर्छ।
छात्रामैत्री शौचालय
स्कुल नर्स आएपछि पहिलेको तुलनामा विद्यार्थीहरुको अनुहारमा खुसीको मात्रा निकै देख्न सकिन्छ। आफूलाई स्वास्थ्य सम्बन्धी समस्याका साथै केही परामर्श लिनुपरे उनीहरु नर्ससँगै सल्लाह लिन्छन्।
'म यो स्कुलमा पढ्दा शौचालय एकदमै नराम्रो थियो, जानै मन नलाग्ने,' निर्मला भन्छिन्, 'यहाँ आएपछि नै शौचालय सुधार्ने मेरो लक्ष्य थियो। आज त्यसमा पनि सफल भएकी छु।'
जनसेवा माविका हरेक छात्रा शौचालयमा डस्टबिन राखिएका छन्। पहिले झाडीमा फाल्ने विद्यार्थीहरु अहिले आफैं सचेत भएका छन्। भित्र धारा जडान गरिएको छ भने सबैमा जग राखिएको छ। प्याड फाल्नका लागि डस्टबिन र र्याप गर्ने कागज पनि किला ठोकेर राखिएको छ।
उर्मिलाले पनि छात्रामैत्री सफा शौचालय बनाउन धेरै मेहनत गरेको बताइन्। उनी स्कुल नर्सका रुपमा पहिलो दिन आउँदा छात्रा शौचालयमा प्याड जथाभावी फालिएक थिए। डस्टबिन त छँदै थिएन। अहिले उनको अग्रसरतामा डस्टबिन राखिएको छ। प्याडलाई कसरी अन्यत्र असर नपर्ने गरी फाल्ने भनेर विद्यार्थीलाई उनले सिकाएकी छन्।
विद्यालयमा स्कुल नर्स आएपछि जंक फुड ल्याउने कुरामा पनि कमी आएको छ।
नर्सहरुले हरेक दिनको खाजा तालिका बनाइदिएका छन्। जसमा खीर, रोटी-तरकारी, चना-अण्डा जस्ता पोषिलो खानेकुराको विवरण छ। उर्मिला भन्छिन्, ‘पहिले यहाँ खाजा भनेकै चाउमिन, बिस्कुट चिया, चाउचाउ भन्ने थियो। तर अहिले घरबाटै पोषिलो खाजा ल्याउने भनेर सिकाएकी छु।'
स्कुल नर्सलाई दिनभर भ्याइनभ्याई हुन्छ। स्कुल आउनेबित्तिकै खानेपानी, सरसफाइका कुरामा ध्यान दिनुपर्छ। विद्यार्थीले जंक फुड ल्याएका छन्/छैनन् भनेर पनि चेक गर्नुपर्छ। परामर्श लिन आउनेलाई बुझ्नेगरी सल्लाह दिनुपर्छ। अहिलेसम्म महिनावारी सम्बन्धी समस्या बढी लिएर आउने गरेको दुवै नर्सको अनुभव छ।
बहकिने उमेर
शारीरिक र मानसिक रुपमा संवदेनशील समय हो स्कुले उमेर। उनीहरुका हरेक क्रियाकलापमा ध्यान पुर्याउन सकिएन भने ठूलो समस्या पनि आइलाग्छ।
यस्तै, समस्या भोगिन् पद्यकन्याकी नर्स उर्मिलाले।
एक छात्रालाई आत्महत्या गर्नबाट रोकेको सुनाइरहँदा उनका शब्दहरु गाँठो परेर निस्किइरहेका थिए।
पद्मकन्यामा छात्राहरु मात्र पढ्छन्। एकपटक परीक्षा चलिरहेको थियो। परीक्षा सिद्धिएपछि जाडो बिदा आउनेवाला थियो। 'बाल क्लबकी सीता मिसले चिठीको बारेमा सुरुमा मलाई सुनाइन्,' उर्मिला त्यो घटनाबारे बेलीविस्तार लगाउँदै गइन्, 'एक दिन ७ कक्षामा पढ्ने विद्यार्थीले ९ कक्षामा पढ्ने विद्यार्थीलाई तिमीबिना बाँच्न नसक्ने भन्दै प्रेम पत्र लेखिछन्। जाडो बिदा भएपछि भेट्न नपाउने र छुट्टिएर बाँच्नुको अर्थ नभएको भन्दै ती छात्राले बिहे गर्न जोड दिएकी रहिछन्।'
'ती छात्राकी आमा पोइल गएपछि बुबाले पनि छोडेछन्। त्यसपछि उनी अरुको घरमा काम गर्न बसिन्। बाबुआमाको मायाबाट वञ्चित हुनुपर्दा र साथीबाट पनि छुट्टिनुपर्दाको मानसिक पीडाले आत्महत्याको सोच विकास भएको हुन सक्छ,' उर्मिला भन्छिन्, ' दुवै जना मिल्ने साथी छौ। यस्तो सोच्नुहुन्न भनेर धेरैबेर सम्झाएँ। अहिले उनमा त्यस्तो सोचाइ हटेको छ। पहिला जसरी नै स्कुल आउन थालेकी छन्।’
'सबै स्कुलमा स्कुल नर्स चाहिन्छ'
स्कुल नर्सको व्यवस्था गरेपछि अहिले विद्यार्थीहरुमा धेरै परिवर्तन आएको छ। विद्यालयले पनि यस कार्यक्रमलाई निकै सहयोग गरिरहेका छ। अभिभावकहरु खुसी छन्।
नर्सकै भनाइ अनुसार विद्यार्थीमा जंक फुडको सेवनमा कमी आएको छ। उनीहरु सरसफाइमा ध्यान दिनुपर्छ भन्नेमा सचेत बन्दै गएका छन्। नर्सहरुले पोषण सम्बन्धी पाठ पढाउनुका साथै स्वास्थ्य सेवाका साथै परामर्श पनि निःशुल्क पाइरहेका छन्, जसको फाइदा विद्यार्थी मात्र होइन अभिभावकलाई पनि पुगेको छ।
जनसेवाकी प्रिन्सिपल नन्दकुमारी महर्जन स्कुल नर्सको अवधारणाको प्रशंसा गर्छिन्। 'स्कुलमा पनि नर्स राख्ने कुरा पत्रिकामा पढेर थाहा पाएकी थिएँ,' उनले भनिन्, 'यो कार्यक्रम सबै स्कुलमा लागू हुनुपर्छ।'
सानो चोटपटक लाग्दा पढाइ छुटाएर विद्यार्थीलाई हेल्थपोस्ट पठाउनुपर्ने बाध्यता थियो। अहिले स्कुलमै नर्स हुँदा निकै सहज भएको छ।
पद्यकन्या स्कुलकी प्रिन्सिपल रीता तिवारी पनि यो कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउँछिन्। 'नर्सले विद्यार्थीका साथै स्कुल परिवर्तनमा प्रभावकारी भूमिका निर्वाह गरेका छन्। स्वास्थ्य चेतना अभिवृद्धि गराउनुका साथै उनीहरुले विद्यार्थीमा सरसफाइ सम्बन्धी ज्ञान बढाएका छन्,' उनको सुझाव छ, 'हरेक स्कुलमा स्कुल नर्स कसरी राख्न सकिन्छ। त्यसतिर कार्यक्रम बनाउनुपर्छ।' भने हो भने सबे स्कुलमा लागु हुनुपर्छ नर्सले धेरै परिवर्तन गरेका छन् विद्यार्थीहरुमा।
सरकारी अवधारणा
गगन थापा स्वास्थ्यमन्त्री हुँदा सरकारले स्कुल नर्सको अवधारणा ल्याएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा देशभरिका सामुदायिक साथै निजी विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम अघि सारिएको हो। हाल प्रदेश ३ सरकारले २० वटा स्कुलमा पाइलट प्रोजेक्टको रुपमा यो कार्यक्रम सुरु गरिएको छ।