महिलालाई गर्भावस्था, शिशु जन्मने बित्तिकै र सुत्केरी अवस्थामा सेवा प्रदान गर्ने दक्ष स्वास्थ्यकर्मी 'स्किल्ड बर्थ एटेन्डेन्ट-एसबिए' हुन्। यसका साथै जटिलता पहिचान गरी व्यवस्थापन गर्नु वा रिफर गर्ने काम पनि एसबिएकै हो।
विश्व स्वास्थ्य संगठनका अनुसार जसले सफलतापूर्वक प्रसुति गराउनुका साथै प्रसुतिसम्बन्धि बेसिक तथा इमर्जेन्सी सेवा दिने न्यूनतम ज्ञान, सिप भएको स्वास्थ्यकर्मीलाई एसबिए भनिन्छ। एसबिएले जटिल अवस्थाका गर्भवती पहिचान गरी व्यवस्थापन गर्ने र सो काम गर्न नसके रिफर गर्ने काम गर्छन्।
मिडवाइफरी, नर्स, डाक्टर, दक्ष सुँडेनी, अनमीले महिलालाई बच्चा जन्माउन सहयोग गर्छन्। यी काम गर्ने सबै एसबिए हुन्। एसबिएको सहयोगमा बच्चा जन्माउनु भनेको मातृशिशु मुत्युदर न्यूनीकरण गर्नु हो।
नेपाल सरकारले राष्ट्रिय स्वास्थ्य प्रशिक्षण केन्द्रबाट एसबिए तालिम दिने व्यवस्था गरेको छ। नर्सिङ कलेजमा एसबिएमा आधारित पाठ्यक्रम पढेर विभिन्न अस्पतालमा गएर सुत्केरी गराउने धेरै छन् भने अर्कोतिर लाखौँलाख तिरेर नर्सिङ पढ्न बाध्य छन्। पढिसकेपछि पनि जागिर नपाएर भौतारिने, न्यून पारिश्रमिक र उस्तै परे स्वयंसेवक मात्रै भएर बिना पारिश्रमिक काम गर्न बाध्य हुनुपर्ने अवस्था समेत छ।
महिनामा ५० हजार तलब दिनेदेखि ८ हजारमा काम गराउने स्वास्थ्य समेत छन्। यस्तो विभेद हुँदा पनि न्यूनतम पारिश्रमिक लागू गराउनेतिर कसैको ध्यान गएको देखिंदैन। एसबिए तालिम नगरी प्रसुति कक्ष (लेबर रुम)मा प्रवेश गर्न नदिने स्वास्थ्य संस्थाको बाध्यात्मक अवस्थाले अब एसबिएको तालिम पनि लिनैपर्ने अवस्था सिर्जना भएको छ।
देश आफैंमा अस्तव्यस्त छ। सबैलाई आआफ्नो दुनो सोझ्याउन भ्याइनभ्याइ छ। लाखौँ लाख तिरेर नर्सिङ पढेर १० हजारको पारिश्रमिक लिने नर्स धेरै छन्। अनि सरकारले एसबिएको तालिम लिन चाहनेलाई ८८ हजार ९ सय ८८ रुपैयाँ लिने सूचना जारी गरेको छ।
वर्षभरि काम गरेर पारिश्रमिक लिन तालिम लिनैपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेपछि के गर्ने? यतातर्फ खै हाम्रा देशका नर्सिङ काउन्सिल, नर्सिङ संगठनहरुको ध्यान गएको? मातृ स्वास्थ्य र महिला स्वास्थ्यमा बिएन मिडवाइफरी र एमएन मिडवाफरी विज्ञ भएको सर्टिफिकेट बाकसमा थन्क्याएर विज्ञता र दक्षतालाई एउटा तालिमले अड्काउने? अनि प्रसुति कक्षमा काम गर्न नदिने कस्तो परिपाटी? विद्यार्थी हुँदा सयौं सुत्केरी गराउन मिल्ने अनि पढेर आएपछि आफ्नो विषेशज्ञताको उपयोग गर्न नदिने? यस्तो अवस्था भएपछि दक्ष जनशक्ति विदेश नगएर कहाँ जान्छन् त?
हाम्रो देशको सम्पूर्ण नर्सिङ पाठ्यक्रम एसबिए सम्बन्धित छ। यस्तो अवस्थामा नर्सिङ कोर्ष पढिसकेपछि फेरि किन तालिम लिनुपर्यो? तालिम लिनैपर्ने भए पनि विभिन्न समयमा न्यून शुल्क वा निःशुल्क नै तालिम प्रदान गर्न सकिँदैन? एसबिए तालिम केका लागि? मृत्युदर घटाउन कि पैसा कमाउन? यति महँगो एसबिए तालिम किन? स्वास्थ्य विषयका अरू तालिम सस्ता तर एसबिए किन महंगो?
अर्को कुरा, स्नातकोत्तर गरिसकेपछि पनि आफ्नो विषयमा पढाउन अनि सिप उपयोग गर्न नपाएपछि किन पढ्नुपर्यो उच्च शिक्षा? बिएन, मिडवाइफरी गर्नेलाई यो तालिम किन जरुरी छ? छ भने एसएलसीपछि एसबीए तालिम गराएर उक्त जनशक्तिलाई विज्ञ माने हुन्न?
यस विषयमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, नर्सिङ काउन्सिल लगायतका सम्पूर्ण नर्सिङ संस्थाको ध्यानाकर्षण हुनु जरुरी छ।