अस्पतालको व्यवस्थापनमा सूचना प्रणाली जति प्रविधियुक्त बनाउन सकियो त्यति नै फाइदाजनक हुन्छ। सूचना प्रविधिको प्रयोगले नै तथ्यांकीय सूचनाको पूर्णता, एकरुपता, शुध्दता र सर्वस्वीकार्यता सम्भव हुने गर्छ। तथ्यांकीय सूचनाहरु सुरक्षित राख्न र आवश्यक परेको अवस्थामा विस्तृत विवरणसहित तत्कालै प्रिन्ट पेपरमा उपलब्ध गराउन सूचना प्रविधिकै सहारा लिनुपर्ने हुन्छ। सूचना प्रविधिको प्रयोगले अस्पतालका सेवाहरुको वर्तमान अवस्था र त्यसको विश्लेषणत्मक मूल्यांकन गरी तत्कालै सुधारात्मक कार्यहरु लागू गर्न सम्भव हुन्छ।
अस्पताल व्यवस्थापनलाई दैनिक रुपमा प्रयोग भइरहेको जनशक्ति, बजेट, मेसिन तथा उपकरणहरु, औषधि तथा अन्य आवश्यक कार्य सन्चालन सामग्रीको मापन गरी आवश्यकताअनुसार भए–नभएको एकिन गर्नुपर्ने हुन्छ। त्यसैका आधारमा अस्पतालको बजेट खर्च हुने गर्दछ।
अर्कोतर्फ हरेक अस्पतालले बिरामीको उपचार प्रक्रिया सहज तुल्याई नागरिकको क्षमताअनुसार सेवा स्वीकार गर्नसक्ने शुल्कमा सेवा उपलब्ध हुनुपर्छ। अस्पतालमा बिरामी तथा अभिभावक प्रवेश गरेपछि उपचार प्रक्रिया सम्पन्न भई घर जाने बेला उचित परामर्शसहित सन्तुष्ट तुल्याउनु पर्नेहुन्छ। यी सबै कार्यको सहज सन्चालनको लागि अस्पतालको व्यवस्थापन सूचना प्रणाली प्रविधियुक्त बनाई व्यविस्थित गर्नुपर्ने हुन्छ।
अस्पतालले उपलब्ध गराएको सेवा दिने क्षेत्रका सेवाग्राहीहरुको मागलाई ध्यानमा राखी बजेट तर्जुमा गर्नुपर्ने हुन्छ। सेवाकै मागका आधारमा जनशक्ति योजना, मेसिन तथा उपकरण खरिद योजना तथा आवश्यक औषधि तथा कार्य सन्चालन वस्तु एवं सामाग्रीको बन्दोबस्त गर्नुपर्ने हुन्छ। आवश्यक भौतिक पूर्वाधारतर्फ जमिन, भवन, एम्बुलेन्स तथा सवारी साधनको व्यवस्था गर्नु पर्दछ। अस्पताल व्यवस्थापनका चार पिलर अर्थात् ४ एमको माग बमोजिम सन्तुलन मिलाउनुपर्ने हुन्छ।
बजेट सही ठाउँमा प्रयोग भए–नभएको, सेवा सन्चालनमा कतै कुनै शीर्षकमा बढी बजेट र कतै कुनै शीर्षकमा अति न्यून बजेट प्रयोग भई असन्तुलित भए–नभएको यकिन गर्नुपर्छ। कतै सेवाभार बढी तर जनशक्ति नितान्त कमि छ कि, खरिद योजना मागका आधारमा नभएको छ कि, त्यस्तै उपलब्ध सेवाहरुको विगत तथा वर्तमानका तथ्यांकहरु विश्लेषण नगरी बजेट खर्च योजना पास गरिएको छ कि भन्ने विषयमा पनि यकिन गर्नु आवश्यक छ।
सेवा माग न्यून भएको तर तत्कालै प्रयोग हुन नसक्ने खर्चिलो मेसिन तथा उपकरणहरु खरिद गरी भित्राइएको छ कि, मेसिनहरुको चालू अवस्था भए–नभएको, नभएको भए कुन मेसिन कति संख्यामा रहेको र तिनीहरु मर्मत गरी चालू गराउन सक्ने अवस्थामा भए–नभएको एकिन गर्नु पर्दछ।
कतै मेसिन उपकरण अभाव छ कि, आवश्यक बजेटको तर्जुमा गर्दा विश्लेषण नगरी अन्दाजको भरमा भएर न्यून भएको छ कि, औषधी तथा कार्य सन्चालन सामग्रीहरु कम बा धेरै छन् कि, सेवाको माग र विगतको तथ्यांकीय आँकडाका आधारमा विश्लेषण गरी निर्णय लिनुपर्ने हुन्छ। यस्ता तथ्यपरक कार्यहरुको लागि निश्चित अवधिको बजेट खर्च शीर्षकहरु, जनशक्ति बाँडफाँड विवरण, विस्तृत मेसिन उपकरण लागत विवरण, विस्तृत कार्य सन्चालन सामाग्री लागत, सेवा उपलब्ध तथ्यांकहरु र अस्पतालको आम्दानीका शीर्षकहरुको इलेक्ट्रोनिक्स प्रणालीमार्फत सूक्ष्म विश्लेषण गनुपर्ने हुन्छ।
बजेट खर्च कहाँकहाँ कुनकुन शीर्षकमा गर्ने भन्ने कुराको निर्णय लिँदा व्यवस्थापनसँग सम्बन्धित सूचनाहरुको संकलन र विश्लेषण गरी गरियो भने बजेट खर्च सही ठाउँमा प्रयोग हुन्छ, दुरुपयोग हुनबाट जोगिन्छ।
अर्कोतर्फ इलेक्ट्रोनिक्स मेडिकल रेकर्डिङको माध्यमबाट बिरामीको उपचारसँग सम्बन्धित सम्पूर्ण विवरण सफ्टवेयरमा एकत्रित गरी समेटिन्छ जसबाट मेडिकल रेकर्ड छुट्ने चान्स धेरै कम हुन्छ। मेडिकल रेकर्डसँग सम्बन्धित विवरणहरु पूर्ण हुन्छ। रेकर्ड भरपर्दो र वैज्ञानिक हुन्छ।
इलेक्ट्रोनिक मेडिकल रेकर्ड बिरामी, अस्पताल, सेवा उपलब्ध गराउने चिकित्सक तथा स्वास्थ्यकर्मी, उपचार विधिको प्रमाणको रुपमा, केस अध्ययन गर्न, अनुसन्धानमा संलग्न विद्यार्थी तथा राज्य सबै पक्षलाई भरपर्दो औजार मानिन्छ।
यस प्रणालीका फाइदाहरु यस प्रकार छन्:
–अस्पतालका दैनिक सेवाहरु र बिरामीको विस्तृत विवरणासहित तथ्यांक प्रविष्टि कम्प्युटरमार्फत
–सबै विभाग तथा शाखाहरुमा कम्प्युटर नेटवर्किङ सिस्टम
–तुरुन्तै रेसपोन्स गर्ने मेकानिजम
–छिटो छरितो प्रणाली
–बिरामीलाई लाग्ने उपचार समयमा कमी
–उपचार प्राणलीमा लाग्ने लागतमा कमी
–भरपर्दो पूर्ण तथ्यांक
–आजको सेवाको रिपोर्टिङ आजै सम्भव
–रोगले प्रभावित नागरिकको रोगको दैनिक मोरबिडिटी आँकडा स्थिति हेरी योजना बनाउन सहयोग
–निर्णयकर्तालाई ताजा सूचना लिई निर्णय लिन सजिलो
–पेपरबेसमा जस्तो रेकर्ड सुरक्षित गरी राख्न हैरानी नहुने
–सुरक्षित गरी राखेको रेकर्ड तुरुन्तै उपलब्ध गराउन सजिलो
–अस्पतालसँग सम्बन्धित सम्पूर्ण रेकर्ड, बिरामी भर्ना, रोगको अनुसन्धान रेकर्ड उपचार विस्तृत विवरण, उपचारको परिणाम पुस्ट्याइँ गर्ने रेकर्ड र रोग निदानको लागि प्रयोग भएको औषधिको विवरण विस्तृत रुपमा एउटै प्रणालीबाट सरोकार पक्षलाई उपलब्ध गराउन सम्भव
नेपालमा पेपरबेसमा आधारित अस्पतालको मेडिकल रेकर्डिङ प्रणालीमार्फत तथ्यांक संकलन गरी तयार पारिएको स्वास्थ्य संस्थाको मासिक प्रतिवेदनलाई अनलाइन तथ्यांक प्रविष्टी गरी एचएमआएस सफ्टवेयरमा पठाउने गरिएको छ। जनस्वास्थ्यका कार्यक्रमहरु दैनिक रुपमा सन्चालन नभई तोकिएको मितिमा वा पटकपटक गरी सन्चालन हुँदै आएको छ। जस्तै: खोप सेवा, गाउँघर क्लिनिक, स्थायी बन्ध्याकरण शिविर, पोषण कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेवक कार्यक्रम आदि।
अतः जनस्वास्थ्यका कार्यक्रमहरु चौबीसै घण्टा सेवा दिन आवश्यक नपर्ने हुनसक्छ तर अस्पतालका सेवाहरु नियमित रुपमा चौबीसै घण्टा बिरामीको अवस्था हेरी उपलब्ध गराउनुपर्ने हुन्छ। इमर्जेन्सी भर्ना, इमर्जेन्सी अपरेसन, आइसियू, एनआइसियू, तत्कालै जोखिम व्यवस्थापन, जोखिमपूर्ण सुत्केरी सेवा, जोखिमपूर्ण अवस्थाका नसर्ने रोगका बिरामीको तत्कालै व्यवस्थापन तथा सबै खालका रोगीहरुको तत्कालै उपचार गरी जीवन बचाउनुपर्ने केसहरुको प्राथमिक निगरानी अस्पतालले गरिराख्नुपर्ने हुन्छ।
अतः राज्यलाई संवेदनशील जोखिममा भएका बिरामीको ताजा तथ्यांकीय सूचना अनिवार्य पर्छ। आफ्ना नागरिकको स्वास्थ्य स्थिति बुझी राज्यको स्वास्थ्य नीति तथा स्वास्थ्य योजना बनाउन अस्पतालका सेवाको ताजा सूचनाको अपडेट नियमित दैनिक रुपमा राज्यलाई उपलब्ध हुने परिपाटी बसाउन सकियो भने स्वस्थ राज्य बनाउन पक्कै पनि सहयोग पुग्ने छ। त्यो परिपाटी भनेको अस्पतालको इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ नै हो।
स्वास्थ्य सेवा विभागको २०७३।०७४ को वार्षिक प्रतिवेदनअनुसार नेपालमा कुल सरकारी १ सय १८ अस्पताल र निजी ४ सय १५ गरी जम्मा ५ सय ३३ अस्पताल सन्चालनमा छन्। यसअनुसार जम्मा अस्पतालको २२ प्रतिशत सरकारी र निजी ७८ प्रतिशत उपस्थिति रहेको छ। सबै अस्पतालले उपलब्ध गराउँदै आएका सेवाहरुको सबै तथ्यांकीय विवरणहरु हालको प्रणालीमा आबध्द गराउन सकिएको छैन। सेवा दिने बेलामा रेकर्ड हुन छुट्ने, उपलब्ध रेकर्ड पनि अपूर्ण अवस्थाको हुन जाने र निजी अस्पतालहरुले पुर्याचउँदै आएका सेवाहरु पूर्ण रुपमा समेटिन नसकिएको अवस्था जगजाहेरै छ।
संघ तथा प्रदेशहरुमा अस्पतालको छुट्टै अस्पताल सूचना प्रणाली बनाउन सकियो भने राज्यलाई आफ्ना नागरिकको स्वास्थ्य स्थिति नियमित दैनिक रुपमा विश्लेषण गरी कहाँ कुनकुन कार्यक्रम लैजान आवश्यक छ भनी छुट्याउन सकिन्छ। यस्तो सहज इलेक्ट्रोनिक जमानामा अस्पतालहरुमा सूचना प्रविधिको प्रयोगका लागि राज्यले लगानी गर्न ढिला भएन र?