भैरहवा- प्रदेश ५ का तीन जिल्ला औलोको उच्च जोखिममा रहेका पाइएको छ। प्रदेश ५ का बाँके, बर्दिया र कपिलवस्तु जिल्ला औलो रोगको उच्च जोखिममा रहेको सामाजिक विकास मन्त्रालयका स्वाथ्य सूचना अधिकृत शैलेन्द्र पाण्डेले जानकारी दिए।
उनले बाँकेको राप्ती सोनारी गाउँपालिका-३, बर्दियाको ठाकुरबाबा नगरपालिका-२ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-४ उच्च जोखिममा रहेको बताए।
प्रदेश ५ का अन्य जिल्ला भने औलोको जोखिममा नरहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले औलो दिवसको पूर्वसन्ध्यामा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएकाे हाे। विगतमा तराईका जिल्लामा बढी मात्रामा देखिने औलो पछिल्लो समय पहाडी जिल्लामा पनि देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशाशक केयरसिंह गोदारले जानकारी दिए।
उनले पहाडी जिल्लामा पनि तापक्रम बढ्दै जानु र भारतमा काम गरेर फर्किने व्यक्तिले मलेरियाको संक्रमण लिएर आएका कारण पहाडी जिल्लामा औलो देखा पर्न थालेको जिकिर गरे।
त्यस्तै रुपन्देहीका ३ नगरपालिका र २ गाँउपालिका अझै औलोको जोखिममा रहेकाे औंल्याइएकाे छ। रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवाका २ वटा वडा जोमिमा रहेका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहका अनुसार सिद्धार्थनगर नगरपालिकाका १३ वटा वडामध्ये वडा नम्बर १ र ३, देवदह नगरपालिकाको ९ र ११, लुम्बिनी सांस्कृतिक नगरपालिकाको ६, सम्मरीमाई गाँउपालिकाका ४ र कोटहिमाई गाँउपालिकाको ७ नम्बर वडा जोखिममा रहेका छन्।
खुला सीमा नाका, खाल्डाखुल्डीमा जम्ने पानी लगायतका कारण औलोको जोखिम बढेकाे जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
भारतबाट फर्किने नेपालीमा बढी संक्रमण
नेपालमा औलो रोग धेरै भारतबाट भित्रिने गरेको बताइएको छ। पछिल्लो तथ्याङ्कअनुसार भारतबाट रोजगारी गरी फर्किने व्यक्तिमा पनि औलोको संक्रमण फेला पर्ने गरेको छ।
जनास्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीमा भेटिएका २८ जना संक्रमितमध्ये ६ जना रुपन्देहीका र २२ जना भारतसहित अन्य देशबाट आएका बिरामी रहेको निरिक्षक साहले जानकारी दिए।
औलोको संक्रमण सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा र दोश्रोमा प्रदेश ५ मा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। नेपालका ६ हजार ७ सय ४३ वडा जोखिममा तथा ४९ वटा उच्च जोखिममा रहेको तथ्याङ्कले देखाएको छ।
सरकारले नेपाललाई सन् २०२५ सम्म औलोमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएकाे छ। जसअन्तर्गत सरकारले सन् २००७ देखि औलो विरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
औलो सरुवा रोग हो। स्वास्थ्यकर्मीहरुका अनुसार 'एनोफिलिस' जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा औलाे एक मान्छेबाट अर्को मान्छेमा सर्ने गर्दछ।
औलोका बिरामीमा प्लाज्मोडियम फाल्सिपारम र भाइभेक्स जातका परजीवी पाइन्छ। जसमध्ये प्लाज्मोडियम फाल्सिपारम सबैभन्दा घातक हो। यो सक्रमण लागेको लामखुट्टेले टोकेमा मानिसको ४८ घण्टा भित्रै मृत्युसम्म हुनसक्ने जोखिम समेत रहने भेक्टर कन्ट्रोल निरिक्षक केदार शाहले जानकारी दिए।
भारतमा कामको सिलसिलामा नेपालबाट गएका नेपालीहरुले संक्रमणपछि रगत परिक्षण गर्दा यस्तो अवस्था देखिने गरेको शाहले जानकारी दिए।
औलो रोग लागेमा बेलुकापख ज्वरो आउने, दाँयापट्टी पेट दुख्ने, रिंगाटा लाग्ने, वाकवाकी आउने तथा समयमा उपचार हुन नसके बिरामीको मृत्युसम्म हुन सक्ने भएकाले समयमै सचेत रहन पनि जनस्वास्थ्यले आम नागरिकमा अनुरोध गरेको छ।