चितवन– खेतबारीमा रासायनिक विषादीको प्रयोग बढ्दै गएको छ। विषादीको प्रयोग गरी उत्पादन गरिने तरकारी, अन्नबाली र फलफूल अस्वस्थ्य हुने हुँदा अपाङ्गता, सुस्त मनस्थिति भएका बालबालिका जन्मनुका साथै क्यान्सर, मधुमेह, उच्च रक्तचापजस्ता नसर्ने रोगहरुको समस्या पनि बढिरहेको विभिन्न अध्ययनले देखाएका छन्।
यसै अवस्थालाई मध्यनजर गरी नेपाल जनस्वास्थ्य प्रतिष्ठानले चितवनमा कृषक, विषादी छर्कने व्यक्तिहरु, विषादी बिक्रेताका लागि जनचेतनामूलक कार्यक्रम गर्दैआएको छ। विषादी न्यूनीकरण अभियानलाई महिला स्वास्थ्य स्वयंसेविकाले सघाइरहेका छन्।
विगत २ महिनादेखि स्थानीय सरकारसँगको साझेदारीमा उक्त संस्थाले चितवनका सय महिला स्वास्थ्य स्वयंसेविकालाई ४ वटा समूहमा विभाजन गरी विषादीको प्रयोगले स्वास्थ्यमा हुने असर र रोकथामबारे तालिम दिएको छ।
महिला स्वास्थ्य स्वयं सेविकाहरु आफैं पनि कृषक भएकाले उक्त तालिमले स्वस्थ्य उत्पादनका लागि प्रोत्साहन हुने बताउँछन् प्रतिष्ठानका परियोजना अधिकृत उषा न्यौपाने।
यस तालिम कार्यक्रममा विषादीको परिचय, नेपाल र चितवनमा विषादी प्रयोगको अवस्था, विषादीले मानव र वातावरण स्वास्थ्यमा पार्ने असर, सुरक्षित र खतरनाक विषादी छुट्याउने विधि, विषादीको पर्खनुपर्ने समय, रासायनिक विषादीका विकल्पहरु र रासायनिक विषादी प्रयोग गर्नैपरेमा अपनाउनुपर्ने सावधानीबारे अन्र्तक्रियात्मक शैलिमा प्रशिक्षण दिइएको थियो।
तालिमको अन्त्यमा विभिन्न स्वास्थ्य संस्थाका महिला स्वास्थ्य स्वयं सेविकाहरुले आगामी ३ महिनामा समुदायमा रासायनिक विषादी न्यूनीकरणका लागि आफ्नो कार्ययोजना पनि तयार पारी प्रस्तुत गरेका थिए।