चितवन- पछिल्लो २३ वर्षदेखि क्यान्सरका बिरामीलाई विशेषज्ञ सेवा दिइरहेको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गएको मंसिरबाट शैक्षिक कार्यक्रमको थालनी गरेको हो। अस्पतालको हालै मात्रै १ सय ५० शय्याबाट ४ सय ५० शय्यामा स्तर वृद्धिसमेत भएको छ। बिरामीको चाप तथा चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक समिकरणको दायरा फराकिलो हुँदै गरेको समयमा शैक्षिक कार्यक्रम थालनी गरिए पनि यसका लागि निकै लामो समय कुर्नुपरेको अस्पतालले जनाएको छ।
स्पतालले सरकारीस्तरमा नेपालमा नै पहिलोपटक क्यान्सरका विषयमा नर्सिङको पढाइ सुरु गरेको छ। अस्पताल र पोखरा विश्वविद्यालय मिलेर संयुक्त रुपमा यो शैक्षिक कार्यक्रम सुरु भएको हो।
अस्पताल परिसरभित्र रहेको कलेजमा ३ वर्षको बिएनएस नर्सिङको कक्षा सञ्चालन भएको हो। कलेजमा पहिलो वर्ष २० जना विद्यार्थी अध्ययन गरिरहेका छन्। पिसिएल नर्सिङ गरेका र केही समय अनुभवसमेत बटुलिसकेका विद्यार्थी हाल कक्षा लिइरहेका छन्।
नेपालमा पहिलो पटक क्यान्सरका विषयमा अध्ययन गरिरहेका नर्सिङ विद्यार्थी के भन्छन् त ?
आत्मविश्वास बलियो भएको छ
प्रेचन थपलिया
खैरहनी नगरपालिका–८, पर्सा, चितवन
यहाँको पढाइको सम्बन्धमा मैले भरतपुर अस्पतालमा कार्यरत रहँदा थाहा पाएकी हुँ। अनलाइन न्युज पोर्टलबाट यस अस्पतालमा स्पेसलाइज्ड सब्जेक्ट अन्कोलोजी नर्सिङमा भर्ना खुलेको थाहा पाएपछि यहाँ पड्न आएकी हुँ।
यसअघि यही नै विषय पढ्छु भन्ने कुनै पूर्वनिर्धारित योजना थिएन। एकातर्फ नेपालमै पहिलो पटक पढाइ हुन लागेको विषय, त्यसमाथि जनरलभन्दा स्पेसलाइज्ड सब्जेक्ट नै किन नपढ्ने त भन्ने भयो। सँगसँगै नेपालसहित विश्वभर नै क्यान्सर रोगीको संख्या बढिरहेको अवस्था छ। हामी अहिले २० जनाले यो विषय पढिरहेका छौं भने यो पूरा भइसकेपछि त नेपालमै अन्कोलोजी नर्सिङमा २० जना स्पेसलाइज्ड नर्स उत्पादन हुने भए। यसबाट सेवाका क्षेत्रमा केही योगदान गर्न सकिन्छ भन्ने विश्वासका साथ यो क्षेत्रमा आएको हुँ।
पिसिएल नर्सिङ पढ्नुअगावै म स्वास्थ्य सेवाका क्षेत्रमा केही योगदान दिन्छु भनेरै यो नर्सिङ पढेको थिएँ। अहिले स्पेसलाइज्ड विषयमा ज्ञान हासिल गरेपछि त मेरो लक्ष्यमा झनै खरो रुपमा उत्रिनसक्ने अवस्था रहन्छ। त्यो आत्मविश्वास अहिले यहाँ आएर पढ्दा थप बलियो भएको छ।
नयाँ स्पेसलाइज्ड जनशक्ति उत्पादन हुने अवस्थामा उनीहरुको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्छ। नेपालमा विशेषतः तीन वटा मात्रै क्यान्सर अस्पताल भएको अवस्थामा अन्य अस्पतालहरु पनि खुलाउन पहल गर्नुपर्छ। जसबाट हामीजस्ता जनशक्तिको उचित व्यवस्थापन हुने र बिरामीले पनि सहज स्वास्थ्य सेवा पाउने अवस्था रहनसक्छ। अहिले देश–विदेशबाट उपचारका लागि यहाँ बिरामीहरु आउनुहुन्छ। कम्तीमा जिल्लाव्यापी रुपमै यो सेवा उपलब्ध हुने हो भने बिरामीलाई सहज हुने थियो। सरकारको यसतर्फ ध्यान जानु जरुरी छ।
अन्कोलोजीमा स्नातक गरिसकेपछि स्नातकोत्तर पनि यही विषयमा गर्न पाए निक्कै नै राम्रो हुन्छ। यस सम्बन्धमा अस्पताल व्यवस्थापन सकारात्मक देखिएकोले हामीले यहीँ नै त्यो अवसर पाउँछौ भन्नेमा आशावादी छौँ।
अप्ठेरो महसुस भएको छैन
सरिता शर्मा
भरतपुर–१०, चितवन
पिसिएल नर्सिङ गरेपछि मैले २ वर्ष चितवन मेडिकल कलेज (सिएमसी) मा अनुभव लिएँ। सिएमसीको एनआइसियूमा काम गरेको थिएँ।
यसैबीच पोखरा विश्वविद्यालयको वेबसाइटबाट क्यान्सर अस्पतालमा बिएनएस अन्कोलोजीको पढाइ हुने जानकारी पाएको थिएँ। यो वर्ष २० जनाको लागि कोटा रहेछ भन्ने थाहा पाएपछि विश्वविद्यालयमै गएर फर्म भरेको थिएँ। इन्ट्रान्समा नाम निस्कियो र पढ्न आएको हुँ। म अहिले छात्रवृत्तिमा अध्ययन गरिरहेको छु।
नयाँ विषय पढ्दाको अनुभव फरक हुने रहेछ। अरुले के पढ्दैछस् भनेर सोध्दा बिएनएस अन्कोलोजी पढ्दैछु भन्न पाउँदा गर्वको अनुभूति हुन्छ। त्यसमाथि नयाँ विषय अप्ठेरो पनि हुने रहेछ। तर, यसलाई सहज ढंगबाट लिने र मिहिनेतका साथ पढेपछि पक्कै सजिलो हुन्छ भन्ने विश्वास छ।
कलेजले पढाइको हकमा जुन करिकुलम तयार गरेको छ, त्यसलाई मिट हुने हिसाबकै पूर्वाधारको व्यवस्था गरिएको छ। हामीलाई अध्ययनका क्रममा कुनै अप्ठेरो या कमी महसुस भएको छैन।
अध्ययनमा नयाँपन छ
सुजाता कौशल
ज्योतिनगर, चितवन
२०६६ मा एसएलसी पास गरेपछि मैले पिसिएल नर्सिङ पढ्न सुरु गरेको हुँ। २०१३ मा पास भएपछि मैलै सिएमसीमै पाँच वर्ष काम गरेँ। अहिले बिएनएस अन्कोलोजी पढ्दैछु।
नेपालमै पहिलो पटक यो विषय पढाइ हुँदैछ भन्ने थाहा भयो। अरु विषय प्रायः अध्ययन गरिरहने अवस्था हुन्छ। अन्कोलोजीको हकमा भने पहिलो पटक भएका कारण पनि विशेष हुन्छ भन्ने लाग्यो। त्यसमाथि क्यान्सर बिरामीहरुको सेवा गर्ने, क्यान्सर अस्पतालमा काम गर्ने पुरानो इच्छा पनि थियो। यदि त्यही विषय नै पढियो भने त थप पारंगत भइन्छ नि त। त्यसकारण पनि म आज यहाँ छु।
अहिलेकै अवस्थामा आफूले चाहेजस्तै गरी दक्ष बन्नेमा विश्वास छ। किनभने क्लास तथा हस्पिटल म्यानेजमेन्ट र कलेज दुवै विद्यार्थीप्रति समर्पित तथा साथ दिने खालको हुनुहुन्छ। हरेक कुरामा सुविधाको पहुँच छ। पढाइ पनि निरन्तर चलिरहेको छ। र, हामीले पनि उत्तिकै मिहिनेतका साथ पढिरहेका छौँ भन्ने लाग्छ। यसकारण पनि सफल हुनेमा विश्वास छ।
अध्ययनमा नयाँपन छ। ओभरहेड प्रोजेक्टरबाट क्वालिफाइड प्रोफेसरहरुले पढाउनुहुन्छ। प्राक्टिकलका लागि ल्याबको पनि उत्तिकै भरपर्दो व्यवस्था छ। यस क्रममा सोझै प्यासेन्टहरुसँग लिंक गर्न पनि पाइन्छ।
यो पनि :