फिल्ममा एउटा दृश्य प्रायः दोहोरिएको पाइन्छ। कुनै व्यक्ति मृत्युसँग जुधिरहेको हुन्छ, ऊ आफ्नो प्रिय व्यक्तिलाई अन्तिम इच्छा सुनाउन पाउनासाथ प्राण त्याग गर्छ।
चर्चित क्यान्सर रोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बरालको जीवनमा यस्तै अप्रिय घटना घटेको छ।
त्यो घटनाको दृश्य यस्तो थियोः
डा बरालकी आमा वीर अस्पतालको बेडमा ‘ब्लड क्यान्सर’ सँग जुधिरहेकी हुन्छिन्। तर, उनलाई क्यान्सर भनिएको हुँदैन। एक दिन उनकी आमालाई लाग्छ– मलाई क्यान्सर भएको होला। त्यही भएर परिवारका सदस्यले अनेक बहाना बनाइरहेका छन्। उनले आफ्नो जेठो सन्तान डा बराललाई नजिकै बोलाएर भन्छिन्– मलाई क्यान्सर नै भएको हो। म धेरै बाँच्दिनँ। मेरो एउटा अन्तिम इच्छा छ, पूरा गरिदिन्छस् ?
डा बराल रोक्न सक्दैनन्। भन्छन्,, ‘के इच्छा छ आमा ?’
उनकी आमाले भन्छिन्, ‘तिमी क्यान्सर रोगको डाक्टर बन्नू।’
केही समयमै उनकी आमाको प्राणपखेरु उड्छ।
जिन्दगीका पानाहरु पल्टाउँदा भेटिएको यो दृश्य दुरुस्तै सुनाउँदा डा बरालका आँखामा आँसु छचल्किए। एकछिन भावुक बनेर मौन बसे। उनले भने, ‘आमाले मृत्युवरण गर्दागर्दै मलाई डाक्टर बन्ने प्रेरणा नदिएको भए म आजको ठाउँमा हुन्नथेँ।’
आमाले त्यस्तो समय छोरा डाक्टर बनोस् भन्ने चाहेकी थिइन्, जतिबेला डा बरालको आइएससीको पढाइ नै छुटिसकेको थियो। सिद्धार्थ बनस्थली स्कुबाट एसएलसी दिएका उनले सुरुमा अमृत साइन्स कयाम्पसमा आइएससी पढ्न थाले। २०३६ सालको राजनीतिक माहोलले हड्ताल नै हड्ताल हुन थालेपछि भारतस्थित क्विन्स कलेजमा पढ्न गए। तर, त्यहाँ पढ्दापढ्दै उनकी आमा बिरामी परिन्। आमा सिकिस्त बिरामी परेपछि उनलाई पढाइलाई निरन्तरता दिने वा आमाको सेवामा लाग्ने भन्नेमा धर्मसंकट प¥यो। उनले आमाको सेवा रोजे। पढाइ बीचमै छाडेर नेपाल फर्किए।
त्यतिबेला उपचार गर्ने चिकित्सकले उनकी आमालाई रगतको क्यान्सर भएको प्रमाणित गरे र उपचार (केमो) सुरु गरे। नेपालमा नपाइने क्यान्सरको औषधि भारतबाट मगाइन्थ्यो। तत्कालीन पर्यटनमन्त्री दीपक बोहराले उक्त औषधि ल्याउन सघाएको उनी सम्झिन्छन्। तर औषधिको कुनै प्रभाव देखिएन, उनकी आमाको मृत्यु भयो।
चार दाजु–बहिनीमध्येका जेठा उनीमाथि पारिवारिक दायित्व पनि थपियो। आमाकै सेवामा रहँदा पढाइ छुटेका उनीमाथि सबैभन्दा ठूलो दायित्व आमाकै अन्तिम इच्छा पूरा गर्नु थियो। उनको योग्यता थियो, जम्मा एसएलसी पास। पढाइ छुटेको ६ वर्ष भइसकेको थियो। उनकै भाइ एमएससी दोस्रो वर्ष पुगिसकेका थिए।
उनले आमाको अन्तिम इच्छा पूरा गरेर छाड्ने लक्ष्य लिए। २०३४ सालमा आइएससी पढ्दापढ्दै छाडेको अमृत साइन्स क्याम्पसमा फेरि २०४० सालमा भर्ना भए। उमेरले पाको भइसकेका उनी आफ्नै सहकर्मीमाझ ‘सान्दाइ’ कहलिए। ‘ठूल्दाइ’को उपमा भने सिपी र राधाकृष्ण मैनालीका भाइ मीनप्रकाश मैनालीले पाएका थिए।
संयोग के थियो भने घरका कान्छा मीनप्रकाश ठूल्दाइ र घरका जेठा डा बराल सान्दाइका रुपमा परिचित भए। क्याम्पसमा यी ठूल्दाइ र सान्दाइको मित्रता र सत्रुता पनि उत्तिकै चर्चित बन्यो। दाजुहरु कम्युनिस्ट राजनीतिमा भएका कारण मीनप्रकाश सोही पार्टीका विद्यार्थी नेता थिए। तर, डा बराल कांग्रेस राजनीति रुचाउँथे। अरु समय मित्र यी दुई सान्दाइ र ठूल्दाइ विद्यार्थीमाझ हुने कार्यक्रममा भने विपरीत भएर भाषण गर्थे। उम्मेदवारी दिन्थे।
आमाको अन्तिम इच्छा पूरा गर्नैपर्ने दबाबले थिचिएका डा बरालले आइएससीमा आफ्नो ब्याच नै टप गरे। ब्याच टप गरेका उनले चिकित्सा पढ्न छात्रवृत्ति हासिल गरे। भारतको इलाहाबाद मेडिकल कलेजमा उनलाई छात्रवृत्तिमा एमबिबिएस गर्ने अवसर मिल्यो।
एमबिबिएसको पढाइ सकिएपछि इन्टर्न नेपालकै कुनै अस्पतालमा गर्न पाउने व्यवस्था थियो। त्यसैले उनी चार वर्ष त्यहाँ पढेपछि एक वर्ष नेपालकै वीर अस्पतालमा इन्टर्न गर्न चाहन्थे। घरका जेठा सन्तान उनलाई घरव्यवहारसमेत हेर्न जरुरी थियो। घरमा महिला कोही नहुँदा उनका बुबालाई गृहस्थी चलाउन समस्या भइरकेको थियो। एमबिबिएस चौथो वर्षमै पढ्दा सन्ध्या देवकोटासँग टीकोटालो गरिएको थियो।
तर, घर फर्किने अघिल्लो दिन उनी ज्वरोले थला परे। मनमा घरमा तय भइसकेको विवाहको लगन थियो। उनलाई उपचार गर्ने डाक्टरले भर्ना गरिदिए। ज्वरो आइरहेकै अवस्थामा उनी चिकित्सकसँग सल्लाह नगरी भागेर नेपाल फर्किए। यसलाई मेडिकल भाषामा ‘लामा’ अर्थात् ‘लेफ्ट अग्नेस्ट मेडिकल एड्भाइस’ भनिन्छ। उनलाई मातृकाप्रसाद कोइरालाका नाति डा कञ्चन कोइरालाले सघाए।
वीर अस्पतालमा इन्टर्नसिप गर्न पाउने व्यवस्था त मिलाए। तर, मनमा जसरी भए पनि क्यान्सर रोग विशेषज्ञ बन्नुपर्ने थियो। आफ्नो निकटस्थ कोही चिकित्सक नभएको अवस्थामा उनलाई त्यतातिर लाग्ने बाटो पहिल्याउनै सकस भयो। यही सन्दर्भमा उनले त्यो समय निकै कहलिएका डाक्टर अञ्जनी शर्मा नेपाल अर्बुद निवारण संस्थाका अध्यक्ष रहेको थाहा पाए। जुन संस्थामा अहिले डा बराल उपाध्यक्ष छन्।
उनले डा शर्मालाई खुसी पारेर क्यान्सरमा विशेषज्ञ हुने बाटो देखाइदिन आग्रह गर्न चाहन्थे। उनी सम्झिन्छन्, ‘नेपालकै पहिलो अन्नपूर्ण नर्सिङ होममा हुनुहुन्थ्यो उहाँ। म वीर अस्पताल, प्रसूति गृह र शिर मेमोरियलमा काम गर्थें। सबै छाडेर त्यहाँ आएँ।’
उक्त नर्सिङ होममा उनले निकै मिहिनेतका साथ काम गरे। एक आफूलाई अब्बल चिकित्सकका रुपमा अघि बढाउनु थियो। अर्को, डा शर्मालाई खुसी पारेर क्यान्सर रोगको विशेषज्ञ हुने बाटो पहिल्याउनु थियो।
डा अञ्जनी शर्मालाई उनी आफूलाई नजन्माएको पिताको उपमा दिन्छन्। किनभने उनकै सहयोगले डा बरालले आमाको अन्तिम इच्छा पूरा गर्न सकेका हुन्। हजारौं क्यान्सरका बिरामीको सेवा गर्न पाएका हुन् र क्यान्सर रोगको उपचारका लागि एक भरपर्दो विशेषज्ञको पहिचान बनाएका हुन्।
डा शर्माले एकपल्ट उनलाई क्यान्सरसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने मौका दिए। जुन कार्यक्रममा भारतको टाटा मेमोरियल अस्पताल क्यान्सर रोग विशेषज्ञ डा आरआर राव अतिथि थिए। उनले यो उपयुक्त अवसर छाडेनन्। प्रस्ताव गरे, ‘मलाई टाटामा क्यान्सर रोगमा विशेषज्ञता हासिल गर्ने अवसर दिनुप¥यो। म राम्रो विशेषज्ञ भएर देखाउँछु।’
उनीहरुले विदेशीलाई पढाउने प्रावधान नरहेको बताए। डा बरालको क्यान्सर रोग विशेषज्ञ बन्ने तीब्र चाहना बुझेपछि डा रावले भने, ‘परीक्षा दिने व्यवस्था म गरिदिन्छु। बाँकी आफैंले प्रमाणित गर्नु।’
तीन वटा कोटाका लागि ८ हजार चिकित्सकले जाँच दिएका थिए। त्यस्तो उच्च प्रतिस्पर्धामा डा बरालले दोस्रो नम्बरमा नाम निकाले। त्यहाँ पढ्नका लागि उनलाई ‘नो अब्जेक्सन लेटर’ चाहिन्थ्यो। जुन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दिन्थ्यो। यसका लागि उनी आफैंले कोसिस गरे, पाएनन्। त्यतिबेला उनी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका केन्द्रीय सदस्यका साथै विदेश विभाग प्रमुख थिए। उनको कांग्रेस नेताहरु गिरिजाप्रसाद कोइराला, शेखर कोइरालासँग राम्रो चिनजान थियो। पोखरामा कांग्रेस महासमितिको बैठक बसिरहेको थाहा पाएपछि धरानबाट रातारात पोखरा आइपुगे। नेताहरुले सहयोग गर्लान् भन्ने आशा थियो। तर, बधाई दिए, नो अब्जेक्सन लेटरका लागि सहयोग गरेनन्।
केही समयअघि काठमाडौंमा युवाहरुको एउटा अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो। भारतबाट जर्ज फर्नान्डिजलगायतका व्यक्ति उपस्थित थिए। उनीसँग डा बरालकोे चिनजान भयो। यहीँ बस्दा फर्नान्डिजलाई ज्वरो आयो। चिकित्सक भएका कारण उनले सिटामोल दिएका थिए। त्यसले ठिक भएपछि फर्नान्डिजले भनेका थिए, ‘केही अप्ठ्यारो परे मलाई सम्झिँनू।’ उनले त्यो समय फोन नम्बर लिएका थिए। नो अब्जेक्सन लेटर नपाएपछि डा बरालले फर्नान्डिजलाई फोन गरे।
उनले फोन गरेर नो परराष्ट्र मन्त्रालयमार्फत नो अब्जेक्सन लेटर टाटा मेमोरियलको डाइरेक्टरलाई उपलब्ध गराएपछि उनले त्यहाँ क्यान्सर रोगमा विशेषज्ञता हासिल गर्न पाएका हुन्। उनलाई आफ्नै देशका नेता र आफू संलग्न पार्टीले एउटा लेटर नबनाइदिएको कुराले पोलिरहन्छ। त्यसलाई उनी कांग्रेस नेताको कमजोरीका रुपमा बुझ्छन्। उनलाई लाग्छ, ‘नेपालकै अरु पार्टीका नेता चाहिँ यस्ता विषयमा निकै सहयोगी छन्।’
त्यहीँ पढ्दा उनले बल्ल महसुस गरे कि आफ्नी आमाको मृत्यु ब्लड क्यान्सरका कारण नभएको हुनसक्छ। ‘मेरी आमालाई जुन औषधि त्यो समय दिइएको थियो, त्यो ब्लड क्यान्सरमा कहीँ उपयोगी हुँदैन। उपयोग गर्दा पनि कम्बिनेसनमा गरिन्छ। तर, त्यो समय सिंगल ड्रग दिइएको थियो। त्यो दिँदा पनि जीवनभर ७२०/७४० एमजीभन्दा बढी मिल्दैन। तर, मेरी आमालाई ९ दिन ९०० एमजीका दरले दिइयो। त्यो दबाईको मात्रा अत्यधिक हुँदा मुटु बिगार्छ। दबाई बढी परेकै कारण मुटु बिग्रेर आमा बित्नुभयो भन्ने मैले बुझेँ,’ उनले भने।
आफू पढेर आएपछि उनले सबैभन्दा धेरै यहीँनेर ध्यान पुर्याए। क्यान्सरका बिरामीका लागि औषधिका डोज सकेसम्म धेरै वा थोरै नपरोस् भनेर उनले आफैँ केमोथेरापी बनाएर उपचार सुरु गरेका थिए। यसमा उनी जीवनपर्यन्त संवेदनशील छन्। किनभने उनलाई लागिरहन्छ, ‘मेरो आमाले सही औषधि पाउनुभएको भए बाँच्नुहुन्थ्यो कि ?’ त्यो समय आफ्नी आमाको उपचारमा पनि लापरबाही भएको उनले देखेका छन्। त्यसैले सकेसम्म उनी बिरामीप्रति गर्ने व्यवहारमा सचेत हुन्छन्।
क्यान्सर उपचारका क्रममा उनले अनेकौँ बाधा–अप्ठ्यारा भोगेका छन्। कतिपय घटनाले सबक पनि सिकाएको छ। कतिपय घटना अविस्मरणीय बनेर दिमागमा बसेका छन्। सबैभन्दा ठूलो परिवर्तन क्यान्सरप्रतिको डर कम हुँदै जानु हो। कुनै समय ‘क्यान्सर’ भन्नेबित्तिकै होस्हवास् नै उड्ने गरेको उनले भोगका छन्।
उनी टाटा मेमोरियल अस्पताल मुम्बइमा पढ्दै गर्दाको एउटा घटना सम्झिन्छन्। उनी आफ्ना गुरुसँग अस्पतालमा थिए। एक नेपाली आफ्नी सासुको उपचारका लागि अस्पताल आइपुगेका थिए। उनकी सासुलाई क्यान्सर भएको जानकारी दिन उनलाई चिकित्सकको च्याम्बरमा बोलाइयो। जब डा बरालका गुरुले ती भलाद्मीलाई ‘तपाईंको सासुलाई क्यान्सर भएको छ’ भने। सासुलाई क्यान्सर भएको सुन्नेबित्तिकै उनी त्यहीँ डङ्रङ्ग ढले। उठ्दै उठेनन्। पछि मृत घोषणा गर्नुपर्यो। उनी सम्झिन्छन्, ‘मैले उनकी सासुलाई तपाईंको ज्वाइँ मेरो साथी हुन्। आज मैसँग बस्छन्। तपाईंलाई होटेलमा पुर्याइदिन्छु भनेँ। त्यसपछि उनका आफन्त पत्ता लगाएर फोन गरेँ। उनको निधन भएको बताएँ। पत्याएनन्। पछि करै लाग्यो। त्यतै दाहसंस्कार गरिदिन आग्रह गरे। नेपालीहरुसँग पैसा उठाएर दाहसंस्कार गरियो।’
क्यान्सरप्रतिको डरले उनको मृत्यु त्यसरी भएको थियो। त्यसपछि एक जना बिरामी उनलाई बिएन्डबिमा भेट्न आएका थिए। विदेशमै बस्ने उनी आफ्नो स्वास्थ्य रिपोर्टसहित एअरपोर्टबाटै उनलाई भेट्न आएका थिए। टाइसुटमा सजिएका उनी पढेलेखेका लाग्थे। अंग्रेजीमै कुरा गर्ने उनलाई स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी दिनु उपयुक्त लागेर डा बरालले क्यान्सर भइसकेको बताए। ती बिरामीले फेरि सोधे, ‘आर यु स्योर डक ?’ डा बरालले रिपोर्टले त्यही बताइरहेको भन्दै उपचारको कुरा गर्दै थिए। उनी ‘थ्यांक यु डक’ भन्दै बाहिरिए। केही समयपछि थाहा पाए कि उनले त आत्महत्या गरेछन्। उनलाई लाग्यो, ‘भिजिटरसहित आउनु भनेको भए हुन्थ्यो कि ? वा उपचार सुरु गर्दै गरेर आफन्त बोलाइदिएको भए हुन्थ्यो कि ?’
क्यान्सर भनेपछि ‘मरिहाल्छ’ भनेर आफन्तले उपचार गर्न आनाकानी गरेको प्रशस्त घटना उनले भोगेका छन्। त्यसमध्यको एक पोखरातिरकी महिलालाई सम्झिन्छन् डा बराल। जसलाई ‘मल्टिपल मायोलोमा’ भएको थियो। बिरामीका आफन्तलाई उपचार गराउँदा निको हुनसक्ने सम्भावना उनले बताइदिएका थिए।
तर, बिरामीका आफन्तले वास्ता गरेनन्। पछि उनी थला पर्दै गएपछि पशुपति पु¥याइयो। घाटसमेत तयार पारियो। तर, उनको मृत्यु भएन। छोरा र छोरीले त्यसपछि सम्झे– डाक्टरले उपचार गराउँदा ठिक हुनसक्ने बताएका थिए। उपचार गर्दा ठिक पो हुन्छ कि ? त्यसपछि डा बरालकहाँ ल्याइपु¥याएका थिए। बिरामीको अवस्था एकदमै सन्देहपूर्ण भइसकेको थियो। त्यसैले डा बरालले समयमा उपचार नगराएको भन्दै उपचारक गर्न अस्वीकार गरे। कर गरेपछि उनले सबैको लिखित सहमति लिएर उपचार गरे। ६ साइकल केमो दिएपछि उनी ठिक भइन्। अहिले पनि फलोअपमा आइरहन्छिन्। उनी डा बराललाई भन्छिन्, ‘मेरा छोराछोरीले त घाट पु¥याइसकेका थिए। तपाईंले बचाइदिनुभयो।’
रोगले भन्दा रोगप्रतिको डरले आक्रान्त नेपाली समाजलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउन डा बरालहरुको ठूलो त्यागतपस्या छ। विज्ञान प्रविधिको विकासले पनि ‘क्यान्सर नो एन्सर’ बाट ‘क्यान्सर मल्टिपल एन्सर’ बनाएको छ।
उनी जता पुग्छन्, क्यान्सरसम्बन्धी जनचेतना प्रवाह गर्छन्। पछिल्ला दिनहरुमा उनी क्यान्सर हुन नदिन सूर्तिजन्य पदार्थको सेवन नगर्न जोड दिइरहेका छन्। पत्ता लगाइएको क्यान्सरको ठूलो कारक सूर्तिजन्य पदार्थ भएकाले यसको सेवन पूर्णतः नियन्त्रण गर्नुपर्छ भन्ने उनको मान्यता छ। कुनै समय नेपाललाई ‘टोबाको फ्रि’ भएको हेर्ने सपना उनको छ।
क्यान्सरबारे जनचेतना जसरी बढिरहेको छ, त्यसैगरी क्यान्सर रोगका बिरामी पनि बढिरहेको उनी बताउँछन्। त्यसैले पत्ता लागेका क्यान्सर गराउने कारण र सम्भावित कारकका विषयमा सचेत रहन आग्रह गर्छन्।
बिएन्डबि अस्पतालबाट क्यान्सर उपचार सेवा प्रारम्भ गरेका उनले त्यसपछि भक्तपुर क्यान्सर अस्पतालमा लामो समय सेवा दिए। त्यहाँ निर्देशकसम्मको जिम्मेवारी बहन गरेपछि बिदा भए। केही समयदेखि नर्भिक इन्टरनेसनल हस्पिटल र ओम हस्पिटलमा उनी विशेषज्ञ सेवा दिइरहेका छन्।
चिकित्सासँगै सचेतना र सामाजिक सेवा गर्न उनी सक्रिय रहन्छन्। पेशागत संघ/संगठनमा समेत विभिन्न जिम्मेवारी लिएर काम गरिरहेका हुन्छन्। सार्क फेडेरसन अफ अन्कोलोजिस्टका अध्यक्ष, सार्क फेडेरेसन अफ अन्कोलोजिस्ट नेपालका अध्यक्ष, नेसनल क्यान्सर सेन्टर कोरियाका भिजिटिङ प्रोफेसर, नेपाल क्यान्सर रिलिफ सोसाइटीका उपाध्यक्ष, नेपाल अन्कोलोजिकल सोसाइटीका महासचिव, एसियन नेसनल क्यान्सर सेन्टर एलाइन्सका कार्यकारी सदस्य, साउथ एसिया जर्नल अफ क्यान्सरका क्षेत्रीय सम्पादक र रोटरी क्लब अफ दरबारमार्ग डिस्ट्रिक्ट ३२९२ का चार्टर प्रेसिडेन्टका रुपमा कार्यरत छन् डा बराल।