अहिले किशोर/किशोरीहरू यौन तथा प्रजनन अधिकारका बारेमा खुलेरकुरा गर्न सक्ने भएका छन्। महिलाको मासिक धर्म महिनावारीका बारेमा निकै सचेत भएको थाहा पाउँछु।
हामीले अछाममा करिब २० वर्ष पहिले वातावरणीय कृषि तथा विकास केन्द्रकाको तालिमका लागि अछाम पुगेका थियौं। महिला तथा पुरुषहरूलाई कृषि र विकाससम्बन्धी तालिमहरु सञ्चालन गर्न गएका थियौं।
तालिमहरू दिने क्रममा विभिन्न अन्तरक्रियात्मक छलफल पनि भयो। कुरा गर्दै जाँदा के भयो भने महिनावारी भएको बेला आफूहरू छाउ बस्नुपर्ने र तालिममा आउन नसक्ने बताए। हामीले तालिम जोडीहरूको लागि बनाएका थियौं। त्यसैले उनीहरू अनिवार्य आउनुपथ्र्यो। महिलाहरूलाई महिनावारी भएको बेला रगत कसरी व्यवस्थापन गर्ने भन्ने कुराको सामान्य जानकारी समेत थिएन। त्यसैले हामीले तालिममा महिला प्रजनन अधिकार कार्यक्रम पनि सञ्चालन गर्ने सोच्यौं।
त्यहाँ जाँदा हामीसँग स्रोत साधन केही थिएन। हाम्रा पुरुष सहकर्मीहरूले त आफूसँग भएको लुगा र गञ्जी च्यातेर ‘ल यही कपडा राख्नुस्’ भनेर सल्लाह दिए। किनकि, उनीहरू जहाँ बस्यो त्यहीँ रगत लत्पतिने हुन्थ्यो। फरियाभरि रगत। व्यवस्थापन गर्ने नजानेका। कपडा त दियौं तर राख्ने केमा? अड्काउने चिज केही थिएन। त्यहाँका महिलामा कट्टु लाउने समेत चलन थिएन। गुन्यु मात्र लगाउने। महिनावारी भएको बेला गुन्युभरि रगत। अब यसरी भएन भनेर हामीले काठमाडौंबाट केही थान कट्टुको डिजाइन सिलाएर लग्यौं।
कट्टुभित्र कपडा पनि सिलाएका थियौं। त्यहाँ लग्दा उनीहरूलाई निकै सजिलो भएको बताए। त्यसपछि तालिममा पनि नियमित आउन थाले। पछि के सम्म सुनियो भने आफ्नो श्रीमान्को कट्टुसमेत सुकाएको ठाउँबाट सुटुक्क चोरेर लगाइदिने रहेछन्। छाउ बार्नेमा त त्यस्तो केही परिवर्तन आउन सकेन। तर उनीहरूले भित्री वस्त्र भने लगाउने सिके।
महिनावारीको मात्र समस्या होइन, त्यहाँ त महिलाहरूमा आङ खस्ने समस्या उत्तिकै रहेछ। महिनावारी भएका बेला सरसफाइमा ध्यान नदिँदा धेरै जना महिलाहरू आङ खसेको पाइयो। त्यसैगरी सानैमा बिहे गरिदिने,सानैमा बालबच्चा जन्माउनाले पनि उक्त समस्या आएको रहेछ।
अछाममा रहेको तुर्माखात, भैरवस्थान, तोषी, नाडा भन्ने ठाउँमा महिनावारीको बेला कसरी आफूलाई व्यवस्थापन गर्ने भनेर अभियान चलाएका थियौं। त्यतिबेला बाटोहरू थिएनन्। एकदम दुर्गम ठाउँ थिए।
सुदूरपश्चिममा विभिन्न ठाउँजस्तै डोटी, डडेलधुरा, अछाम आदि ठाउँमा हेर्दै जाँदा के लाग्छ भने त्यहाँ महिलाहरूलाई निकै तल्लो दर्जा दिइएको छ। महिलाहरू मान्छे नै होइनन् गरेको जस्तो भान हुन्छ। यसै त नेपालमा महिलाहरूलाई भू्रणदेखि नै विभेद त छ नै। त्यहाँको महिलाको एकदमै विकराल अवस्था छ। छाउपडी बस्नु आफैंमा पीडा हो, थप चरम विभेद हो। महिनावारी भएर ऊ स्कुल जान पाउँदैन। ऊ फोहोरमा बस्नुपर्छ।जनावरको टोकाइबाट पनि ऊ नै मर्नुपर्छ। बलात्कारको भागी ऊ स्वयम्हुन्छ। ऊ त्यो समाजमा हुर्किैँदै जाँदा यस्तै हुनेरहेछ यस्तै गर्नुपर्नेरहेछ भनेर दिमागमा त्यही नै भरिन थाल्छ।
त्यो भन्दा माथि उठेर जानै सक्दैन। आफ्नो देवता रिसाउँछन्, घरपरिवार बिरामी हुन्छन् भनेर ऊ त्यही नै चलन स्विकार्न बाध्य हुन्छ।
तराईमा पनि यस्तै समस्या देखिन्छ। फरक यति छ, त्यहाँ बार्नुपर्दैन तर उनीहरुले पनि अचार छुन पाउँदैनन्। पूजाआजा गर्न पाउँदैनन्, बोटविरुवा छुन पाउँदैनन्। महिनावरी भएका बेला स्कुल जान पाउँदैनन्। तराईका ९० प्रतिशत विद्यालयमा गतिलो शौचालय छैन, शौचालय भएपनि पानी हुँदैन, प्याड फेर्न पाउँदैनन् अनि कसरी जाउन् केटीहरू विद्यालय?
महिनावारी तथा प्रजनन अधिकारका विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा ७० प्रतिशत किशोरी र ३० प्रतिशत किशोरहरूराखेर छलफल र अन्तरक्रिया गर्छौं।
सानै उमेरदेखि महिला र पुरुषप्रति दृष्टिकोण परिवर्तन फेर्नुपर्छ। अहिले किशोर र किशोरीदुवैलाई सँगै राखेर हामीले घरेलु प्याड बनाउन सिकाउँछौं। किशोरहरू पनि उतिकै चासो र लगनका साथ प्याड बनाउने काम गरिरहेका छन्। तालिम पाएपछि घरमा रहेका दिदी, भाउजु, आमाहरू पनि सिकाउने कुरा सुनाउँछन्।
मचाहिँ आफूलाई भाग्यमानी मान्छु। म मिश्रित समुदायमा हुर्किएँ। काठमाडौंको नेवार भएपनि म धरानमा हुर्किएाँ। गुफा बस्नु(नेवारमा छाउ बार्ने) परेन। १३ वर्षको हुँदा पहिलोचोटी महिनावारी भएको थियो। मलाई यसबारे कहिले पहिल्यै जानकारी थिएन। एकदम डर लागेको थियो। आमालाई भन्न नसकेर दिदीलाई सुनाएकी थिएँ।
मैले छाउ नबार्नु परेपनि म आफैंले प्रत्यक्ष रुपमा देखेको छु। छाउपडी खोज्न सुदूरपश्चिम नै जानुपर्दैन। यहीँ काठमडौंमै व्याप्त छ। किशोरी तथा महिलाहरू छाउगोठमा बसैजस्तै यहाँ असुरक्षित त नहोलान् तर कडीकडाउ र बानुपर्ने उस्तै छ।
एक गिलास पानी खान पनि अर्को सदस्यले नदिएसम्म खान पाउँदैनन्। नेवार समुदायमा पनि गुफा बस्ने चलन अझै छ।
महिनावारी स्वास्थ्यका कुरा मात्र होइन समाजबाट आउने कुरा पनि हो। सानै उमेरदेखि किशोरकिशोरीलाई स्वास्थ्य शिक्षा दिनुपर्यो, प्रजनन अधिकारको कुरा गर्नुपर्यो। शिक्षक, अभिभावकहरुले पनि यसबारे खुलेर कुरा गर्नुपर्यो।
जबसम्म दिमागबाट नै सकारात्मक कुरा आउँदैन केही पनि हुनेवाला छैन। छाउगोठ भत्काउनुपर्छ भनेर जुन कुरा उठिरहेको छ,जबसम्म दिमागको कंक्रिट सिमेन्टेड कुरा भत्किँदैन, तबसम्म केही पनि परिवर्तन हुने छैन।बाहिरी रुपमा छाउ नबार्नेहरू घरभित्र सिरक ओढेर सुत्न पाउँछन् होला। तर, स्वतन्त्रचाहिँ छैनन्।
महिलाहरूले पनि महिनावारी एक प्राकृतिक कुरा स्वकारेर त्यसलाई सहज रुपमा लिनुपर्छ। ताकि, अरुले पनि सहज रुपमा लिन सकुन्। व्यक्ति, परिवार, विद्यालयमा यसबारे छलफल हुनुपर्यो। त्यसैगरी नीतिगत स्तरमा पनि नेतृत्व लिनेहरू यस क्षेत्रमा लागिदिनुपर्छ। गाउँगाउँमा डाक्टर र अभियन्ताका कुरा भन्दा धामीलाई विश्वास गर्छन्। त्यसैले धामीलाई पनि यसबारे जनचेतना दिन जरुरी छ।
(समिता सेन्टर फोर एग्रो इकोलोजी एन्ड डेभेलेपमेन्ट(केड) की टिम लिडर हुन्)
- बुनु थारुसँगको कुराकानीमा आधारित