विश्वभर इन्जुरीका कारण १ मिलियन बालबालिकाको मृत्यु हुने तथ्यांकहरु बताउँछन्। ‘सेफ किड्स’ नामक अमेरिकी संस्थामा ५५ वर्षीया मोर्याग म्याके रिसर्च डाइरेक्टरको रुपमा कार्यरित छिन्। यो संस्थाले चाइल्ड इन्जुरी प्रिभेन्सनमा काम गर्छ। नेपालमा भइरहेको कन्फेरेन्स इन इन्जुरी प्रिभेन्सनमा भाग लिन नेपाल आएको बेला स्वास्थ्यखबरका लागि बुनु थारुले गरेको कुराकानी :
तपाईंलाई बालबालिकाको क्षेत्रमा हात हाल्ने सोच कसरी आयो? कति वर्ष भयो यो क्षेत्रमा काम गर्न थालेको?
धेरै मानिसहरु बालबालिकाको क्षेत्रमा काम गर्न त्यति रुचि देखाउँदैनन्। मैले यस क्षेत्रमा काम गर्न थालेको २५ वर्ष भयो। मैले यो क्षेत्रमा हात हाल्दा धेरै कम पेसागत मानिस मात्र यसमा इच्छुक देखिन्थे काम गर्नका लागि। यो नयाँ विषय पनि थियो। मैले पब्लिक हेल्थमा मास्टर्स गरेको छु। इन्जुरी विषय पनि पढेको छु। सुरमा म क्यान्सर प्रिभेन्सनमा काम गर्थें तर पछि बालबालिकाको क्षेत्रमा मलाई बढी रुचि जाग्न थाल्यो।
बालबालिकाप्रति लगाव कसरी बढ्न गयो ? किन यही क्षेत्रमा नै लाग्छु भनेर सोच्नुभएको?
मेरा आफ्नै बच्चा त छैनन् तर म बच्चालाई धेरै माया गर्छु र अब त झन् एकदम नजिकको नाता भइसकेको छ उनीहरुसँग। क्यान्सर प्रिभेन्सको क्षेत्रमा काम गर्दा मानिसलाई एकदम धेरै हेरचाह गर्नुपर्छ र समय पनि बढी लाग्छ। तर बालबालिकाको हेरचाह गर्यो भने हामीले गरेको काम र योगदानको प्रतिफल पनि दीर्घकालीन रुपमा आउँछ। बालबालिका भनेका भविष्यका कर्णधार हुन्। अहिलेदेखि नै उनीहरुको क्षेत्रमा लगानी ग¥यो भने पछिलाई फाइदा पुग्छ। यसले पनि मलाई काम गरेको सन्तुष्टि दिन्छ।
बच्चाहरु जब जन्मिन्छन्, उनीहरुको केही रोजाइ हुँदैन। उनीहरुको आफ्नो दुनिया भन्ने नै हुँदैन। सबै वयस्कले उनीहरुको संसार निर्माण गरिदिन्छन्। उनीहरुले आफ्नो दुनियाँ आफैँ बनाउँदैनन्। त्यसैले त्यो वातावरण सिर्जना गर्दा उनीहरुलाई हामी जोखिममा राखिरहेका हुन्छौँ। बच्चाहरु जहाँसुकैका हुन्, धनी या गरिब राष्ट्रका सबै बालबालिकालाई आधारभूत सुरक्षित जीवन बाँच्न पाउने अधिकार छ। बालबालिका हरेक तरिकाबाट असुरक्षित छन्, जोखिममा छन्। बालमैत्री वातावरण हामीले सिर्जना तथा निर्माण गरिदिन सकेका छैनौँ। घरबाट स्कुल जानेसम्मको बाटो होस् या गाडी रोक्ने बस स्टपसम्मको दूरी होस्। या आफ्नो घरमा बच्चाहरु खेल्दा नै किन नहोस्, चोटपटक लागिरहेको हुन्छ। कसरी उनीहरुलाई हेरचाह गर्ने त? कसरी कम गर्ने त्यो जोखिम? यो विषय सोचेर नै म यो क्षेत्रमा लागेको हुँ।
सेफ किड्स कस्तो संस्था हो? यसले केके काम गर्छ?
यो संस्थाले चाइल्ड प्रिभेन्सनको क्षेत्रमा काम गर्छ। हामीले त्यसमा बढी जोड दिएका छौँ। यसमा म रिसर्च डाइरेक्टरको रुपमा कार्यरत छु। चाइल्ड इन्जुरी प्रिभेन्सको लागि मानिसहरुको व्यवहारमा कसरी परिवर्तन ल्याउने भन्ने हाम्रो सोचाइ रहन्छ। बच्चालाई सिकाउने होस् या आमा, शिक्षक वर्ग, प्रहरीलाई नै होस्, बच्चाको जोखिमको बारेमा पहिल्याउनका लागि सबैतिर हामीले ध्यान दिएका छौँ। हामी विभिन्न रिसर्च तथा संघसंस्थासँग यसको लागि सहकार्य गर्छौँ। हामीले एउटा निश्चित समस्याभन्दा पनि प्रणाली सुधारमा ध्यान दिने कोसिस गर्छौँ।
सरकारले यस क्षेत्रमा के गरिरहेको छ भन्ने कुरामा पनि हाम्रो चासो हुन्छ। हरेक दिन विभिन्न घाउ, चोटपटकबाट इमरजेन्सी वार्डमा ५ वर्षमुनिका सयौँ बच्चा भर्ना हुन्छन्। हामी रिसर्च, शिक्षा र जनचेतना कार्यक्रम र नीति निर्माणबाट परिवर्तन ल्याउनका लागि अगाडि बढिरहेका छौँ। अमेरिकामा समुदाय स्तरमा गएर विभिन्न कार्यक्रम आयोजना गर्छौं। अस्पताल, पब्लिक हेल्थ एजेन्सी, पुलिस डिपार्टमेन्ट, आइएनजिओ आदिसँग समन्वय गरेर विभिन्न प्रस्तुति, पम्पलेटिङ गर्ने गर्छौं। त्यसैगरी राष्ट्रियस्तरको अभियान पनि आयोजना गर्छौं। मिडियाको विभिन्न माध्यमबाट प्रचारप्रसार पनि गर्छौं।
के हो चाइल्ड सेफ्टी? कति प्रकारका छन्?
बच्चालाई सुरक्षित राख्ने नै चाइल्ड सेफ्टी हो। बस्ने वातावरण कस्तो छ र त्यसका लागि जोखिम पहिचान गरेर जोखिम कसरी घटाउने भनेर विभिन्न प्रिभेन्सनलाई खोज्ने काम गरिन्छ चाइल्ड सेफ्टीका लागि। हामीले चाइल्ड इन्जुरी ३ तहमा बाँडेका छौँ। घर, गाडी तथा सडक र खेलकुद।
घरमा जस्तै किचेनमा दुर्घटना हुनसक्छ। बच्चाहरु भर्याङबाट लड्न सक्छन्, नजिकैको पोखरी वा पुलमा डुब्न सक्छन्। त्यसैगरी गाडी तथा सडकमा हुने पार्किङ होस् या बाइकमा उनीहरुलाई जोखिम हुन्छ। सडकमा लड्ने, पैदल यात्रीलाई दुर्घटना हुने घटनाको बढी जोखिम देखिन्छ। गाडीका लागि प्राथमिकता होइन कि पैदल यात्रीको लागि सडक डिजाइन गरिनुपर्छ। खेल्दै, कुद्दै गर्दा पनि बच्चाहरु धेरै घाइते हुनसक्छन्।
बच्चालाई इन्जुरीबाट बचाउन के गर्नुपर्ला?
व्यक्ति, परिवारका हरेक सदस्यले बच्चामा हुने जोखिमको बारेमा पहिल्याउनु पर्छ। सानैदेखि शिक्षा हुनुपर्छ। त्यसैगरी घर र बस्ने वातावरणको संरचना र डिजाइन परिवर्तन हुनुपर्छ, परिमार्जन गर्नुपर्छ। त्यसैगरी नीतिगत व्यवस्थामा पनि यस क्षेत्रमा सोचिनुपर्छ। नियम तथा कानुन सबैतिर हुन्छ, तर कार्यान्वयन गर्न ढिलाइ हुन्छ। तर विस्तारै परिवर्त हुन्छ भन्ने विश्वास हुनुपर्छ।
तपाईंले अमेरिकामा यस क्षेत्रमा कत्तिको सहयोग पाइरहनुभएको छ? सरकारले कसरी सघाउनुपर्छ?
नेपाल प्रिभेन्सन सेन्टरले काम गरिरहेको रहेछ। विभिन्न पोलिसी लेभलमा तथा यस क्षेत्रको लागि विकासका कार्यक्रम तथा सम्मेलन आयोजना हुनुपर्छ। साथै यस क्षेत्रमा काम गर्ने संस्था र सरकारको राम्रो र बलियो समन्वय हुनुपर्छ । बालबालिका महत्वपूर्ण क्षेत्र हुन् तर अझै पनि सोचेजस्तो लगानी भएको छैन। ध्यान दिइएको छैन। अहिले हाम्रो सरकारले पनि यस क्षेत्रमा चासो देखाइरहेको छ। तर अझै पनि यस क्षेत्रका लागि स्रोतहरुको कमी छ। विभिन्न दुर्गम ठाउँमा पनि स्वयंसेवकहरु खटाएर कम्तीमा आधारभूत फस्ट एडको सुविधा सरकारले राख्नुपर्छ।